इलाम-१ मा पुनः मतदानको माग गर्दै झलनाथ खनाल सर्वाेच्चमा

नेता खनालले पुनः मतदानको माग गर्दै निर्वाचन आयोग, इलामका मुख्य निर्वाचन अधिकृत, संघीय संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।

फाइल तस्वीर

काठमाडौँ– इलाम निर्वाचन क्षेत्र नम्बर १ मा पुनः मतदान गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन्। निर्वाचनमा धाँदली गरी प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै उक्त निर्णय बदर गर्न माग गर्दै खनालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।

नेपालको संविधानको धारा १३७ को २ (ख) बमोजिम संघीय संसद् वा प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र संघीय संसद्का सदस्य वा प्रदेश सदस्यको अयोग्यतासम्बन्धी मुद्दा संवैधानिक इजलासबाट सुनुवाइ हुने व्यवस्था रहेको छ। यही व्यवस्थामा टेकेर खनालले सर्वाेच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दर्ता गराएका हुन्। 

खनालले निर्वाचन आयोग, इलाम-१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, इलाम, जिल्ला निर्वाचन अधिकारी एवं संघीय संसद् सचिवालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा इलाम-१ मा नेकपा एमालेका महेश बस्नेतले खनाललाई झिनो मतान्तरले हराएका थिए। बस्नेत २५ हजार ७५३ मत पाएर निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत पाएका थिए।