पूर्वाग्रह नराखी हेर्ने हो भने नेपालमा भएका परिवर्तन प्रस्टै देखिन्छन्। विगत तीन दशकको अवधिमा घर परिवारको जीवनस्तर, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार आदि क्षेत्रमा परिवर्तन भएका छन्।
नेपाल भन्नासाथ विश्वभर गौतम बुद्धको जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा भएको शान्तिपूर्ण देश भनेर चिनिन्छ। नेपाली भन्नेबित्तिकै हँसिलो मुहार भएका, अनुशासित, मैत्री, इमानदार, परिश्रमी तथा बहादुर आदि विशेषण जोडिन्छ। बर्सेनि प्रकाशन हुने ‘विश्वका खुशी राष्ट्र’ प्रतिवेदनअनुसार दक्षिण एशियाको सबैभन्दा खुशी राष्ट्र नेपाल हो। विश्वका ४१ राष्ट्रहरू हामीभन्दा कम खुशी छन् भने ९२ बेसी। खुशी राष्ट्रको अग्रपंक्तिमा रहेका राष्ट्रहरू उच्च आय हुने राष्ट्रको अग्रपंक्तिमा पर्छन्।
नेपाली अर्थतन्त्रको आकार ९५ राष्ट्रहरूभन्दा सानो छ। प्रतिव्यक्ति प्रतिवर्ष आयलाई मापदण्ड मान्दा संसारमा नेपालको स्थान १५५ औँमा पर्छ। अर्थात् १५४ अन्य राष्ट्रवासीको औसत आय नेपालीको भन्दा उच्च छ। केवल ४३ अन्य राष्ट्रवासीको आय नेपालीको भन्दा कम छ। नेपालको स्थान ५० सबैभन्दा विपन्न राष्ट्रको ४१औँ पंक्तिमा पर्छ।
संयुक्त राष्ट्रसंघले बर्सेनि मानव विकास प्रतिवेदन प्रकाशित गर्दै आएको छ। औसत राष्ट्रिय जीवन (आयु), शिक्षा तथा जीवनस्तरलाई आधार तुल्याएर निर्माण गरिन्छ त्यस्तो प्रतिवेदन। यस प्रतिवेदनअनुसार सन् १९९० मा मानव विकास सूचक ०.३७८ हुँदा नेपालको स्थान १२३ थियो। सन् २०२२ मा मानव विकास सूचक ०.६०२ पुग्दा हामी १४६औँ स्थानमा पर्यौँ। यस मापनअनुसार विश्वमा नेपालभन्दा १४५ राष्ट्र समृद्ध छन्।
सन् १९९० मा समस्त विश्वको ३६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि (दैनिक १.९०डलर) थिए। सन् १९९५ मा गरिएको अध्ययनअनुसार नेपालको ४० प्रतिशत जनसंख्या गरिबी रेखामुनि भएको अनुमान गरिएको थियो। वर्तमान कालखण्डमा विश्वको आठ प्रतिशत जनसंख्या गरिबीको (दैनिकी २.५ डलर) रेखामुनि रहेको अनुमान गरिन्छ। नेपालको भने २० प्रतिशत अनुमान गरिएको छ।
विगत ३३ वर्ष (सन् १९९० देखि २०२३) को अवधिमा विश्व अर्थतन्त्रको आकार पाँच गुणाले बढ्यो। यस अवधिमा प्रतिव्यक्ति वार्षिक औसत आय तीन गुणाले बढेको छ। उक्त अवधिमा नेपालको अर्थतन्त्रको आकार १२ गुणाले र प्रतिव्यक्ति प्रतिवर्ष आयचाहिँ आठ गुणा बढ्यो। सन् १९९० मा नेपालको प्रतिव्यक्ति प्रतिवर्ष १६४ अमेरिकी डलर थियो भने विश्वको औसत चार हजार ३११ थियो। सन् २०२३ मा नेपालीको औसत आय एक हजार ३२४ थियो भने विश्वको १३ हजार १३८ डलर पुग्यो।
विपन्नतामा पिल्सिँदा पनि खुशी हुनेमा नेपाल ठहरिन्छ। विपन्नताले खुशियाली खोस्न नसक्नुका अनेक कारणमध्ये भाग्यवादी मनोविज्ञान एक हो। पहिलेपहिले मुसुक्क हाँस्दै ‘भाग्यमा दुःख पाउनु लेखेको रहेछ’ भन्ने गर्थे धेरै मान्छेहरू। तर अहिले ‘कर्मको फल‘ अथवा ‘लेखेकै पाइने हो’ भन्ने भाग्यवादी सोचप्रति मान्छेको विश्वास घट्ने क्रममा छ। मिहिनेत तथा परिश्रमबाट भाग्य निर्धारण हुन्छ भन्ने धारणाले अन्धविश्वास आधारित पूर्वमनोविज्ञानलाई विस्थापित गर्दै छ।
एशिया फाउन्डेसनको सौजन्यमा सम्पन्न ‘ए सर्भे अफ दि पिपुल अफ नेपाल २०२२’का अनुसार सन् २०२० मा ६६ प्रतिशत नागरिक देश सही दिशातर्फ उन्मुख हुँदैछ भन्नेमा ढुक्क थिए। भविष्य उज्ज्वल हुनेमा दुई तिहाइ नागरिक आश्वस्त थिए। दुई वर्षपश्चात् अर्थात् २०२२ मा गरिएको अध्ययनले त्यसरी भविष्यप्रति ढुक्क हुनेको संख्या घटेर ४१ प्रतिशत पुगेको देखाउँछ। यस निष्कर्षलाई ‘विश्व खुशी राष्ट्र’को पंक्तिमा नेपालको स्थान खस्किएको पुष्टि गर्छ। सन् २०२३ मा नेपालको स्थान ७८औँ थियो। सन् २०२४ मा घटेर ९३औँमा पुगेको छ। खुशी महसुस गर्नेभन्दा दुखी हुने नागरिकको संख्या बढ्ने क्रममा छ।
धेरै हदसम्म विकास प्रक्रिया पारदर्शी हुन्छ। कुनै पनि राष्ट्र, शहर तथा ग्रामीण भेगमा पुग्नेबित्तिकै सामान्यतः त्यहाँको विकासको (संकेत) स्तर देखा पर्ने गर्छ। पूर्वाग्रहपूर्ण दृष्टि नराखी हेर्ने हो भने नेपालमा भएका परिवर्तन सराहनीय छन्, प्रस्टै देखिन्छन्। विगत तीन दशकको अवधिमा घरपरिवारको जीवनस्तर, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार आदि क्षेत्रमा परिवर्तन भएका छन्। समग्रमा भन्ने हो भने आजका दिनजस्तो नेपालीको जीवनस्तर विगतमा कहिल्यै थिएन।
नेपालले हासिल गरेको आर्थिक सामाजिक तथा भौतिक क्षेत्रका उपलब्धिलाई तीव्र उन्नतितर्फ अग्रसर हुँदै गरेको राष्ट्रहरूसँग दाँज्दा मात्रै हो ओठ लेब्रिने। विगत तीन दशकको अवधिमा धेरै राष्ट्रले हाम्रो दाँजोमा अत्यधिक उन्नति गरिसके। युद्धपीडित भियतनाम, कम्बोडियादेखि सोभियत साम्राज्यअन्तर्गत कुण्ठित अवस्थाका अजरबैजान, अर्मेनिया, जर्जियालगायत पूर्वी युरोपेली राष्ट्रहरूले अकल्पनीय उन्नति गर्न सफल भए।
छिमेकी राष्ट्र बांग्लादेश मात्र होइन, बिहार, झारखण्ड, उडिसा तथा उत्तर प्रदेशलगायत भारतका अत्यन्त कम विकसित राज्यले समेत हामीलाई पछाडि पार्दै छन्। अर्को कुरा, अधिकांश नेपाली अन्यत्र हुँदै गरेका उन्नतिका विषयमा अनभिज्ञ छैनन्। विदेशमा आवतजावत गर्ने नेपालीको संख्या बढ्दो छ। विदेश नपुगेकाले पनि टेलिभिजनको पर्दामा अन्य राष्ट्रको अवस्था देखेका हुन्छन्। अरूको तीव्र गतिमा भएको परिवर्तनको तुलनामा आफ्नो मुलुक पछाडि परेको देख्दा मन अमिलिनु स्वाभाविक हो।
देशको भविष्य उज्ज्वल तुल्याउने अभिभारा राजनीतिक नेतृत्वको हो। हिजोभन्दा भोलिका दिन उत्साहवर्द्धक हुनेछ भन्ने आशा जगाउने दायित्व बहन तिनले गर्नुपर्ने हो। नेपाली नेता आशाको दियो बाल्न तँछाडमछाड गरेर लागि पर्छन् तर दियोमा आगो सल्काएर तिनी हराउँछन्, एकैछिनमा दियो निभिसकेको हुन्छ। जनसमक्ष बाँडेको आश्वासनलाई वास्तविकतामा परिवर्तन गर्ने अग्रसरतामा उनीहरू चुक्दै आएका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा आकाशपाताल छुने गफ चुट्दै मतदातालाई मन्त्रमुग्ध तुल्याइदिन्छन्। ‘सम्भावना नै सम्भावना भएको देश’को रटान दिँदै लगातार दुई अंकको आर्थिक वृद्धिदर हासिल हुने सपना देखाउँछन्। एकै पुस्तामा निम्न आय भएको देशलाई उच्च आय भएको विकसित राष्ट्रमा परिवर्तन गर्ने ओठे वाचा गर्छन्। तर आफ्नै प्रतिबद्धताप्रति दायित्व बोक्ने नेताको सिलो पनि भेटिँदैन। यसो भएपछि ‘के–के नै होला’ भनेर अपेक्षा पाल्ने नागरिकको हातमा शून्य पर्छ। त्यसले निराशा फैलाउनु स्वाभाविक हो।
सेवाग्राहीलाई नियतवश हन्डर खुवाउने संस्कार हाबी हुँदै जाँदा स्वाभिमानी नेपालीका निमित्त देश ‘हन्डरल्यान्ड’मा परिणत भएको छ। सरकारलाई कुत तिर्नकै निमित्त समेत बिचौलियामार्फत ‘अतिरिक्त सुल्क’ नजराना बुझाउनु अनिवार्य हुन्छ। साधारणभन्दा साधारण काम फत्ते गर्न कतिपय सरकारी कार्यालयमा बिचौलियाको सेवाशर्त अनिवार्य हुन्छ। नियतवश सिर्जना गरिने ढिलासुस्तीको चक्रव्यूहमा फसेपछि जो कोही निराश हुनु स्वाभाविक हो।
राज्यले खरिद गरेका सियोदेखि हवाईजहाजसम्म प्राय: सबै विवादित हुने गर्छन्। निर्माणसम्बन्धी ठेक्कापट्टा भ्रष्टाचारकै कारण समयमा समापन हुँदैनन्। झाँगिएको भ्रष्टाचार, जबाफदेहिताविहीन शासनप्रणाली, जिम्मेवार (बहन गर्नेले) उत्तरदायित्व बहन नगर्ने संस्कारबाट नागरिक आजित छन्। राजनीतिक नेतृत्वको आडमा कानूनी राज्यप्रणालीको जग हल्लाई दिने घटनाका कारण देश समृद्धिको गन्तव्यतर्फ उन्मुख हुँदैछ भन्ने विश्वास समाजबाट लोप हुँदै गएको छ।
सामाजिक सञ्जाल तथा राज्यको चौथो अंग मानिइने सञ्चारमाध्यमको भूमिका देशमा निराशा फैलाउन सहयोगी (अग्रसर) हुँदैछ। सञ्चारमाध्यमले देशमा मत सिर्जना गर्छ, भाष्य निर्माण गर्छ। विडम्बना 'कागले कान लग्यो' भन्ने सुन्नासाथै कागको पछि लाग्ने संस्कार हाबी हुँदैछ। प्राप्त सूचनालाई सही तथा गलत मूल्यांकन गरेर मात्र प्रसारण गर्ने कार्य बिरानो हुन थालेको छ। घटनालाई सनसनीपूर्ण तुल्याउन सत्य लुकाउँदै, तोडमोड गर्दै सूचना प्रस्तुत गर्न सञ्चारमाध्यमको उपयोग हुन) थालेको छ।
पेसागत इमान छाडेर समाचार सम्प्रेषण गर्दा त्यसबाट समाजमा पर्ने असरबारे थोरै सञ्चारकर्मीहरूले ध्यान दिने गरेका छन्। नेतृत्वको इसारामा 'हँमाथि हँ' थप्ने पत्रकारको संख्या बढ्दो छ। बिहान बोलेको दिउँसो बिर्सने तथा दिउँसोको बचन घाम डुब्नुअगावै बदल्ने पात्रका भनाइले मिडियामा प्राथमिकता पाउँदा सर्वसाधारण नागरिक रनभुल्लमा मात्रै पर्छन्।
अध्ययनहरूले देशमा सबैभन्दा बढी निराश १५–४० वर्ष उमेरसमूहका व्यक्ति भएको देखाउँछ। त्यसो हुनाको प्रमुख कारण मडारिँदै गरेको कालो बादलमा चाँदीको घेरा देखा नपर्नु हो। प्राय: सबै युवालाई आफ्ना अभिभावकभन्दा आफूले बढी उन्नति गर्न सक्छु भन्ने विश्वास हुन्छ। नेपाली समाजमा त्यो विश्वास गर्ने वातावरण टाढिँदै गएको छ। चारछ लाख युवा बर्सेनि रोजगारीका निमित्त बजारमा उपलब्ध हुने गर्छन्। औसत वार्षिक नयाँ उत्पादनशील रोजगारीका अवसर भने ४०/५० हजारभन्दा कम हुने गर्छ। उत्पादनशील रोजगारीको अभावमा भविष्य उज्ज्वल देख्न कसैले पनि सक्दैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
