सर्प घरपालुवा कि जंगली जीव?

प्रकृतिमा खाद्यचक्र हुन्छ। कञ्चनजङ्घा क्षेत्रमा प्रशस्तै नाउर पाइन्छ, यस कारण त्यस भेगमा हिम–चितुवा चाहिन्छ नै। खाद्यचक्र र प्रकृति सन्तुलनका हिसाबमा पनि यो महत्त्वपूर्ण हो।

नेपालमा पाइने सर्पको संख्या र जातबारे कतै बोल्नु वा लेख्नुपर्दा वैज्ञानिक र प्राज्ञिक रूपमा कहीँ कसैलाई उद्धृत गर्नै पर्ने हुन्छ। यस दिशामा केही अध्ययन र सर्वेक्षण भए पनि यो समग्रमा हुन सकेको छैन। तर ८९ जातका सर्प नेपालमा पाइएको छ भन्दै अधिकांशत: यही तथ्यांकलाई सबैतिर उल्लेख गर्ने गरेको पाइएको छ। ‘भेनमस् स्नेक्ज अफ् नेपाल: अ फोटोग्राफिक गाइड’मा पनि यही तथ्यांक उल्लेख छ। यो निर्णायक र निर्विकल्प तथ्यांक भने होइन।

नेपालमा सर्प र सर्पदंशबारे केही अध्ययन तथा सर्वेक्षणका काम बढी जसो तराईका जिल्लामा मात्रै भएको छ। पहाडी र हिमाली क्षेत्रमा पनि सर्पदंशको मुद्दा छ। तर त्यसको तथ्यांक र अध्ययन पनि छैन, कुनै विवरण उपलब्ध छैन। प्रारम्भिक अध्ययनमा मध्यपहाडी भूभागमा करेत सर्पको टोकाइ निकै पाएका छौँ।

‘इकोसिस्टम’ पनि हो सर्प। जैविक चक्रमा सर्प–भ्यागुता, कीरा–फट्याङ्ग्रा सबै पर्छन् नै। तर अझै पनि धेरैथोरैलाई मात्रै ज्ञान छ कि सर्प पनि प्रकृति चक्रको अभिन्न अंग हो भनेर। 

एकदम सामान्य रूपमा बुझ्ने हो भने पनि करेत सर्पले टोकेमा त्यसको उपचारमा चाहिने ‘एन्टी–भेनम’चाहिँ त्यही करेत सर्पमै पाइन्छ। तर सर्प मारेर यो जैविक चक्रको निरन्तर प्रक्रियालाई घात पुर्‍याउने काम मात्रै भइरहेको हुन्छ। सर्पले कहिल्यै पनि खेदीखेदी वा पछ्याएर मान्छेलाई टोक्ने होइन। आफूलाई अप्ठेरो परेका बेला, आफ्नो जीवन रक्षाका लागि मात्रै मानिसलाई टोक्ने हो। अझ सर्पमा पनि किंङ–कोब्राले प्रायः ‘थ्रेट’ मात्रै दिन्छ, टोकिहाल्दैन। त्यसमा पनि अध्ययनअनुसार, तराई भेगमा झुलसमेत नलगाई भुईंमा सुत्ने मानिसलाई सर्पले टोक्ने गरेको पाइएको छ। (सर्प उद्धारक प्रेम विष्टको हकमा भएको यही हो।) त्यसो हुँदा पनि हामी सबैले इकोसिस्टमको ख्याल गर्नै पर्ने हुन्छ। यो चक्र खलबलिनु भएन। 

प्रकृतिमा खाद्यचक्र हुन्छ। जस्तो, कञ्चनजङ्घा क्षेत्रमा प्रशस्तै नाउर पाइन्छ, यस कारण त्यो भेगमा हिम–चितुवा चाहिन्छ नै। खाद्यचक्र र प्रकृति सन्तुलनका हिसाबमा पनि यो महत्त्वपूर्ण हो। तर तत्कालै फाइदा भइहाल्ने विषयमा मात्रै धेरैको रुचि जान थालेको देखिन्छ। यो विधामा रुचि राख्ने अध्येता र विद्यार्थीको संख्या पनि क्रमशः कम हुँदै गएको छ।

हाल सांसद रहेका डा. कालुराम खम्बुजस्तै विज्ञहरूको निकै कमी छ। केही विज्ञ नामहरू करनबहादुर शाह, देवप्रसाद पाण्डे, सन्तोष भट्टराई, कमल देवकोटा आदि मात्रै यो विधामा खटिएर अध्ययन–अनुसन्धानमा लाग्दै आएका छन्। भर्खरै लुम्बिनी प्रदेशका सर्प, भ्यागुता, माछा (हर्पेटोलोजी) आदिमा अध्ययन गरेका डा. पितबहादुर नेपाली पाल्पाको त्रिभुवन क्याम्पसमा प्राध्यापनरत छन्। तर अहिले प्राणीशास्त्रअन्तर्गत सर्प विषय अध्ययन गर्ने विद्यार्थीको संख्या निकै न्यून छ।  

अर्कातिर, एन्टी–भेनम औषधि भारत वा बांग्लादेशले हामीलाई नदिने हो भने यहाँ के हालत हुन्छ? एन्टी–भेनम उत्पादन गर्नेबारे हामीकहाँ एकदमै अन्योल छ। एन्टी–भेनम उत्पादन गर्ने भनेर यहाँ बढी राजनीतिक कुरा हुँदै आएको छ, व्यवहारतः केही पनि काम भएको छैन। विश्व स्वास्थ्य संगठनको सूचीमा सर्पदंश नेग्लेग्टेड ट्रपिकल डिजिज (एनटीडीएस) मा परिसकेको छ। ओझेलमा रहेको सर्प विषयमा अध्ययन–अनुसन्धान हुन सकेकै छैन। 

बरु पछिल्ला वर्षमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत केही विषयविद्ले गर्दै आएको अध्ययन र सर्प चेतनाका शिविर निकै अर्थपूर्ण रहेका छन्। यसबाहेक, नेपाली सेनाको सर्पदंश उपचार केन्द्रले पनि निकै सराहनीय काम गर्दै आएको छ। तर सर्प विषय अध्ययन गर्दै गरेका वा आफैँ उद्धारक/उपचारक बनेका भर्खरका सिकारुले सर्प समातेर ‘स्टन्ट’ देखाउने, भिडिओ बनाउने र युट्युब–ट्रेन्डिङ गराउने काम भने उपयुक्त होइन। यसले निम्त्याउन सक्ने घातक परिणामबारे सोच्नु जरुरी छ।   

सर्पसम्बन्धी अध्ययन, अनुसन्धान र सरोकारको विषयमा अवस्था कतिसम्म दयनीय छ भने हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको एक कार्यशालामा वन मन्त्रालयकी अधिकृत सवनम पाठकले दिएको जानकारीमा वन मन्त्रालय र वन विभागसँग अहिलेसम्म एक जना पनि ‘सर्पविज्ञ’ राखिएको छैन। कतिसम्म भने वनक्षेत्र आसपास सर्पदंशका घटना भएमा ‘उद्धारक’ भेटिन हम्मे पर्छ। सरकारी तहको यो अभ्यास टिठलाग्दो छ।   

यसरी विषयगत बहस गर्ने र अजेन्डा उठाउने अवस्था नरहेकै कारण सर्पबारे रहे/भएका कतिपय नीतिगत प्रबन्ध पनि फितला छन्। जस्तो, सर्पलाई सरकारले वन्यजन्तु (जीव) भनेर सूचीकृत गरे पनि व्यवहारमा भने यो कागजी मात्रै देखिन्छ। हाम्रोमा बाघ, चितुवा, हात्ती र भालुले मार्नेको सर्वसाधारणको संख्या बढीमा वार्षिक ५० भन्दा नहोला, तर सर्पको कारण मर्नेको संख्या तीन हजार जति छ। भारतमा वार्षिक ५० हजार व्यक्ति सर्पदंशबाट मर्छन्। 

नेपालमा कुनै जंगली जीवजन्तुका कारण व्यक्तिको मृत्यु भएमा बढीमा १० लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने गरिएको छ। शायद यो तोकिएको प्रबन्ध हो कि? तर सर्पले टोकेमा उपचार निःशुल्क भए पनि कुनै प्रकारको क्षतिपूर्ति वा पीडितलाई सहुलियतको व्यवस्था छैन। यो सोचनीय विषय हो। 

(डीग्री क्याम्पस, विराटनगरको प्राणीशास्त्र विभागमा प्राध्यापनरत लिम्बूले ‘पूर्वी नेपालका सर्पहरू’ विषयमाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन्।)