बागलुङमा सशस्त्र द्वन्द्वको बेला बन्द भएको गुरुकुल पुनः सञ्चालनमा ल्याउन लागिएको छ। गुरुकुल सञ्चालनमा ल्याउन स्रोत जुटाउन थालिएको हो।
बागलुङ- सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनः सञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ शुरू गरिएको छ ।
काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे।
रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गरेको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो। गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो।
पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख संकल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए।
यही मंसिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ। झाँकी प्रदर्शनी, हेलिकोप्टरबाट पुष्पवृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन संकीर्तन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने महोत्सवका संयोजक सुवेदीले बताए। महोत्सवबाट संकलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिनेछ। “महोत्सव शुरू हुनुभन्दा अगावै करिब रु ६५ लाख जुटिसकेको छ भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ”, उनले भने।
महोत्सवबाट रु तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ । गुरुकुल पुनः सञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देश विदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको छ ।
संस्कृत पाठशाला पुनः सञ्चालन भएमा संस्कृत विद्या र सनातन संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । परमानन्द संन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकूल हुँदा गुरुकुललाई रामकोटधामबाट देवघाट लैजानुपरेको उल्लेख गरे ।
“अब फेरि रामकोटधाममा गुरुकुल पुनः प्रतिस्थापन गर्न सकिन्छ की भनेर यो शुभसंकल्प लिएका छौँ”, उनले भने, “सबैको साथ सहयोगको खाँचो छ ।” आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमा आउने उनको भनाइ छ । गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताए ।
“संस्कृतले नै संस्कृतिको व्याख्या गर्छ”, उनले भने, “धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिक शास्त्रको प्रवर्द्धनमा पनि गुरुकुल शिक्षाले टेवा पुर्याउँछ ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
