Thursday, May 02, 2024

-->

‘न्यायाधीश गिरीले बलात्कार र गर्भपतन गराइरहे, महिला आयोगले मिलापत्र गर्न भन्यो’

जिल्ला न्यायाधीश भुवन गिरीले सम्बन्धविच्छेद भइसकेको भन्दै ढाँटेर आफूसँग बिहे गरेको बताउने उनी भन्छिन्- श्रृंखलाबद्ध रूपमा कुटपिट, जबर्जस्ती करणी र गर्भपतनसमेत गराए, प्रहरीले जाहेरी लिएन।

‘न्यायाधीश गिरीले बलात्कार र गर्भपतन गराइरहे महिला आयोगले मिलापत्र गर्न भन्यो’

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीले जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको भन्दै ढाँटेर आफूसँग बिहे गरेको र पाँच वर्षदेखि आफूलाई  यातना दिइरहेको एक महिलाले बताएकी छन्। गिरीले श्रृंखलाबद्ध रूपमा कुटपिट, करणी र गर्भपतनसमेत गराएको उनको दाबी छ। 

आफूलाई बन्धक बनाएर लगातार बलात्कार गरेको र पटकपटक गर्भपतन गराउन लगाएको आरोप लगाउँदै उनले राष्ट्रिय मानवअधिकार आयोग र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीविरुद्ध उजुरी दिएकी थिइन् । तर न्यायाधीश भएकाले उनीविरुद्ध प्रहरीले समेत उजुरी दर्ता गर्न नमानेको ती महिलाको भनाइ छ। यसबारे उकालो लगायत विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको छ।

आफ्नो हत्या प्रयाससमेत गरेपछि भागेर काठमाडौँ आएको, तर महिला हिंसाविरुद्ध काम गर्ने सरकारी तथा गैरसरकारी कुनै संस्थाले सहयोग नगरेको उनले बताएकी छन्। महिला आयोग जाँदा अध्यक्ष कमला पराजुलीले मिलापत्र गर्न भनेको उनी बताउँछिन्।

उकालो कार्यालयमै आएर उनले सुनाएको घटना विवरण :

मेरो घर बाँके हो। सरकारी स्कूलमा कक्षा १० सम्म मात्रै पढ्न पाएँ। परिवारको आर्थिक अवस्था राम्रो थिएन। आयआर्जनका लागि कपडा पसल चलाएकी थिएँ। २०७४ सालतिर जिल्ला अदालतमा मेरो भाइविरुद्ध उनका साथीले चोरी मुद्दा हाले। भाइको न्यायका लागि अदालत धाइरहेका बेला तत्कालीन रजिष्टार भुवन गिरीसँग चिनजान भयो।

भाइलाई चोरी मुद्दामा सजाय तोकेपछि अदालतले हाम्रो जग्गा रोक्का गरेको थियो। जग्गा फुक्का गर्न गिरीले सहयोग गरे। यो उनले मलाई लगाएको गुनजस्तो लाग्यो। मलाई सहयोग गरेसँगै उनी मसँग नजिकिन खोजे। हामी फेसबुकमा साथी भयौँ र मेसेन्जरमा कुरा गर्न थाल्यौँ। एक दिन प्रेम प्रस्ताव राखे। मलाई पनि उनी मन पर्न थालेको थियो। 

तर, उनको प्रस्ताव स्वीकार्नुअघि विवाहित हुन् या होइनन् सोधेँ। आफू विवाहित भएको, तर पत्नीसँग सम्बन्धविच्छेदको तयारीमा रहेको बताए। मैले उनको कुरा पत्याइनँ। “तपाईं विवाहित हुनुहुँदो रहेछ। सम्बन्धविच्छेद नहुन पनि सक्छ। हामी नजिक हुनु राम्रो होइन”, भनेर सम्झाएँ। 

मलाई उनको परिवार र आफ्नो जीवन बर्बाद पार्नु थिएन। तर उनले मलाई पछ्याइरहे। जबर्जस्ती मेरो घरभित्र छिर्ने, ‘काम छ’ भन्दै परिवारकै अघि हात समातेर अपरिचित ठाउँमा पुर्याउने गरे। एक दिन जबर्जस्ती ‘आजदेखि तिमी मेरो’ भन्दै टाउकोभरि रातो रङ लगाइदिए। आफूलाई निरन्तर भेटिरहन र मोबाइल बन्द नगर्न धम्की दिन थाले। ‘मलाई छोड्यौ भने म आत्महत्या गर्छु, तिमीलाई आत्महत्या दुरूत्सान लाग्छ’ भन्दै धम्काउँथे। 

घरपरिवारले मेरो इज्जतमाथि प्रश्न उठाउन थालिसकेका थिए। सम्बन्धमा बसिरहुँ भने पनि जीवन बर्बाद हुने, नबसौँ भने पनि बर्बाद हुने सोचेँ। केही सीप नलागेपछि श्रीमतीसँग सम्बन्धविच्छेद गरे मात्र विवाह गर्ने बताएँ। उनले श्रीमतीसँग अंशबण्डा गरिसकेको सुनाए। अंशबण्डा गर्नु भनेको सम्बन्धविच्छेद गरेसरह भएको बताए। मलाई कानून थाहा थिएन। उनी त्यो बेला अदालतमा रजिष्ट्रार थिए। आफैलाई अप्ठ्यारो पर्ने काम किन गर्लान् र भन्ने लाग्यो। उनीबाट उम्किने परिस्थिति थिएन। मलाई भारतको एउटा मन्दिरमा लगेर विवाह गरे। 

विवाहपछि उनले मलाई झन् बन्धक बनाए। मलाई घर लैजान्छन् भन्ने ठानेको थिएँ। तर करिब एक सातापछि माइत गएर बस्न आदेश दिए। यो सुनेपछि म छानाबाट खसेझैँ भएँ। उनले भने, “मसँग विवाह गरेको नभन्नू। मेरो श्रीमान् प्रहरी भएको, उहाँ ६ महिनाका लागि तालिममा गएकाले माइत आएको भन्नू।” 

मसँग उनको आदेश पालना गर्नुको विकल्प थिएन। माइतमा उनले सिकाएअनुसार नै बोलेँ। तर, विवाहित महिला श्रीमानबिना आएर बसेको परिवार, समाज कसैले मन पराएन। खिसीट्युरी गर्नेहरू बढे। मलाई अपमान गरियो। तर पनि एक दिन श्रीमान आएर लैजान्छन् भन्ने आशामा बसिरहेँ।

विवाह दर्ता भनेर अंशबण्डा
विवाह गरेको लामो समय बित्दा पनि श्रीमानले मलाई घर लगेनन्। माइतमै गएर जबर्जस्तीकरणी गर्ने भने गरिरहे। माइतमा मेरो विवाहलाई लिएर प्रश्नमाथि प्रश्न उठ्न थालिसकेका थिए। उनले धोका दिने शंका लागेपछि माइतबाट मलाई विवाह दर्ता र नागरिकता बनाउन दबाब पर्यो। त्यसैअनुसार मैले पनि श्रीमानलाई आग्रह गरेँ। उनले यी दुवै कामबाट पन्छिन खोजे। मैले निरन्तर दबाब दिएपछि सहमत भए। तर, उनको चालबाजी अर्कै रहेछ। उनले मलाई सदाका लागि आफ्नो जीवनबाट हटाउन खोजेका रहेछन्। 

विवाह दर्ता गर्न लागेको भनेर झुक्काएर मलाई मालपोत पुर्याए। ‘श्रीमानबाट मैले १० लाख रूपैयाँ पाएको’ भनेर नक्कली अंशबण्डाको कागजमा हस्ताक्षर गराउन खोजेका थिए। त्यही बेला मामाको फोन आयो। सबै कुरा सुनाएँ। उहाँले कागजमा हस्ताक्षर नगरी भाग्न भन्नुभयो। मैले त्यसै गरेँ। 

भागेर जानु कहाँ थियो र? उनीसँगै बस्नु थियो। त्यसपछि मलाई झनै गालीगलौज र कुटपिट गर्न थाले। अनि म टाढिन खोजेँ। तर मलाई थप शारीरिक र मानसिक यातना दिएर बन्धक बनाए। बिहान मलाई कुटपिट गरेर अफिस जान्थे। साँझ जबर्जस्ती करणी गर्थे। म अस्वस्थ छु भन्दा झन् कुटपिट गर्थे। ‘दिनभरि मुद्दा हेर्छु, रिफ्रेस हुनुपर्छ’ भन्दै एकैदिनमा पटकपटक बलात्कार गर्थेँ। मैले उनीबाट उम्किन नसकेपछि फेरि विवाह दर्ता र नागरिकता बनाउन अनुनयविनय गरेँ। 

निकै रूवाबासी गरेपछि विवाह दर्ता गरे। नागरिकता पनि बनाइदिए। तर त्यसको कुनै अर्थ नभएको थाहा पाएँ। किनकि, उनकी जेठी श्रीमतीसँग सम्बन्ध कायमै रहेछ। त्यसैले मलाई घर नलगेका रहेछन्। जेठी श्रीमतीसँग अंशबण्डा गरेको भनेर झुट बोलेका रहेछन्। हाम्रो विवाह दर्ता गरेपछि जेठी श्रीमतीको नाममा जग्गा किनिदिए। आफ्नो तलब पनि जेठीलाई नै दिइरहेको थाहा पाएँ। त्यही बेला उनको सरुवा दिपायल भयो। भाग्छे भनेर होला मलाई सँगै लगे।

दुईपटक जबर्जस्ती गर्भपतन
मलाई उनले अनेक निहुँमा यातना दिइरहेका थिए। श्रीमानले हेला गरे पनि सन्तानको मुख हेरेर चित्त बुझाउँछु भन्ने सोचेँ। दिपायल पुगेपछि आफू गर्भवती भएको थाहा पाएँ। यसबाट म निकै खुसी थिएँ। तर, मेरो खुसी उनले क्षणभरमै चुँडाले। मलाई बच्चा फाल्नुपर्ने दबाब दिन थाले। यो सुनेर म अक्क न बक्क भएँ। 

पेटमा डेढ महिनाको बच्चा हुर्कँदै थियो। तर, मलाई औषधि खाएर नष्ट गर्न भने। मैले उनीसँग हारगुहार गरेँ। ‘म न्यायाधीश भएपछि मात्रै बच्चा पाउने हो’ भने। जबर्जस्ती औषधि खान लगाए। औषधि खाएपछि मलाई झन् गाह्रो भयो। रगत बगेको बग्यै भयो। उपचार गर्न दिपायलबाट नेपालगञ्ज आएँ। नेपालगञ्जमा डाक्टरले भने, “तपाईको आधा गर्भ भित्रै अड्केको छ। सबै सफा गरेको छैन।” म आफू केही गर्ने अवस्थमा थिइनँ। आलसतालस थिएँ। उनले जे–जे आदेश दिए त्यही गर्न बाध्य भएँ। रगत रोक्ने औषधि बोकेर फर्किएँ।

त्यसको चार महिनापछि फेरि गर्भवती भएँ। यसपटक त आमा बन्न पाउँछु भन्ने लागेको थियो। तर, उनले फेरि बच्चा फाल्न भने। मैले मानिनँ। मेरो पेटमा लात्तले हान्न थाले। म बेहोस भएँछु, अनि सेती अञ्चल अस्पताल लगेछन्। तर, आफ्नो बेइज्जत हुन्छ भनेर उनी अस्पताल भित्र गएनछन्। उनले आफ्नो नाम पनि झुट लेखाएका थिए। मलाई रगताम्मे अवस्थामा अस्पताल पुर्याइएको कुरा पछि डाक्टरले भनेका थिए। मेरो गर्भ खेर गयो।

अस्पतालबाट मेरो हात समातेर श्रीमानले घर लग्छन् भन्ने लागेको थियो, तर उनले आफ्नो चालकलाई मेरो हात समात्न पठाए। मैले उनीबाट दयासमेत पाइन। मेरो उपचारका सबै कागजपत्रहरू च्यातेर फालिदिए। यो सबै सहेर बसेँ। किनभने, मलाई अन्याय भयो भनेर माइत जाने अवस्था थिएन। 

मलाई ससुरा बिरामी हुँदा पनि भेट्न घर जान दिएका थिएनन्। जबर्जस्ती गएँ। ससुरा केही दिनमै बित्नुभयो। १२ दिनसम्म म पनि किरिया बसेँ। किरिया बस्दा उनकी जेठी श्रीमतीका आफन्त आएर मलाई गालीगलौज र कुटपिट गरे। त्यसअघि पनि उनकी जेठी श्रीमतीले पटकपटक मलाई भेटेर कुटपिट गरेकी थिइन्। किरिया बसेकै बेला मलाई त्यस्तो व्यवहार भएपछि म माइत गएँ। 

पछि उनको सरूवा धनगढी भएछ। फेरि मलाई धनगढी नै लगे। त्यहाँ केही महिना राम्रै व्यवहार गरे। तर, उनकी जेठी श्रीमती आएर कुटिपिट गर्न थालिन्। श्रीमानले पनि रक्सी खाएर कुटपिट गरे। कुटपिट गर्ने अनि फेरि जबर्जस्ती करणी गर्ने उनको स्वाभाव हटेको थिएन। म उनको शारीरिक र मानसिक यातनाबाट निकै अस्वस्थ भइसकेको थिएँ। उनको इच्छा पूरा गर्न नमान्दा मलाई ‘अरू केटाहरूसँग सुतिस् कि न्यायाधीशसँगै सुतिस्’ भन्थे। यस्तो आरोप लगाउँदा म मरेतुल्य हुन्थेँ। 

उजुरी दर्ता, तर मिलापत्र
श्रीमानले आफू बाहिर जाँदा धनगढीस्थित क्वाटरमा मलाई २२ दिन थुनेर राखे। मोबाइल पनि फुटाए। टेलिफोनको लाइन काटे। बाहिर निस्कन नदिनू भनेर कर्मचारीलाई भनेका थिए। २२ दिनसम्म भोकै भएँ। मेरो ज्यान नरहने स्थिति आएपछि उनको नियन्त्रणबाट बाहिर आएकी हुँ। शुरूमा मलाई कसैले सहयोग गरेन। मैले जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले पनि मानेन। तर, समाचार आइसकेपछि जाहेरी दर्ता भयो। पक्राउ पुर्जी पनि जारी गर्यो। 

तर, त्योभन्दा पहिले उनले सम्बन्धविच्छेदको मुद्दा अदालतमा दिइसकेका रहेछन्। प्रहरीले उनलाई पक्रिएको थिएन। माइतबाट आमाले बारम्बार ‘तिमीहरू मिल्नुपर्छ’ भनेर दबाब दिनुभयो। उनले पनि मेरो खुट्टा ढोगेर माफी मागे। ‘अबदेखि तिमीलाई नराम्रो व्यवहार गर्दिनँ’ भने। मैले पनि आमाको मुख हेरेर उनलाई माफी दिएँ। जाहेरी फिर्ता लिएँ। तनावैतनावमा आमा ढल्नुभयो र अहिले शरीरको आधा भाग नचल्ने अवस्थामा हुनुहुन्छ।

उनको व्यवहार सुध्रेन। मैले उनीसँग निकै असुरक्षित अनुभव गरिसकेको थिएँ। तर, भाग्न सकिनँ। भाग्ने ठाउँ थिएन। 

काठमाडौँ ल्याएपछि झन् हिंसा
धनगढीबाट सर्वोच्च आदलतमा उनको सरूवा भयो। मलाई पनि सँगै लिएर काठमाडौँ आए। म अझै आमा बन्नु पर्छ भन्ने माग उनीसँग गरिरहेको थिएँ। तर, उनले ‘म न्यायाधीश भएपछि तिमी आमा बन्ने हो’ भनिरहे। मलाई अध्ययन गर्नुपर्छ, तिम्रो र बच्चाको हेरचाह गर्न पाउँदिन भन्ने उनको बहाना थियो। 

महिनावारी भएका बेला पनि उनले मलाई जबर्जस्ती करणी गरिरहे। म निकै कमजोर हुँदा समेत मलाई बाघले झैं झम्टिन्थे। उनका कारण मेरो पाठेघरमा घाउ भएको थियो। दुईपटक काठमाडौँ मेडिकल कलेज गएर उपचार गरेँ। उनले मलाई दानवजस्तो व्यवहार गरिरहे। 

उनी न्यायाधीश भए। न्यायाधीश भएपछि कपिलवस्तु सरूवा भयो। मलाई त्यतै लगे। त्यहाँ पनि उनकी जेठी श्रीमती आएर मलाई कुटपिट गरिन्। “मेरो सौता हुन किन आइस्? किन मेरो श्रीमानको धनसम्पत्ति कब्जा गरिस्?” भन्थिन्। जबकि, श्रीमानले मलाई एउटा राम्रो कपाडासमेत किनिदिएको अवस्था थिएन। 

कपिलवस्तु पुगेपछि उनले मलाई थाहा नै नदिएर बन्ध्याकरण गरेछन्। पछि थाहा पाएपछि ‘किन यसो गरेको’ भन्दा ‘तलाईं बच्चा जन्माउन ल्याएको होइन, मेरो यौन चाहना मेटाउन ल्याएको हो’ भने। मप्रतिको उनको नियत स्पष्ट भयो। उनकी जेठी श्रीमतीको पाठेघरमा समस्या भएको पनि थाहा पाएँ। 

प्रहरीले उजुरी दर्ता गरेन
अब श्रीमानसँग बस्ने आधार सकिएको ठानेको थिएँ। पटकपटक भाग्ने कोशिश गरेँ। तर उनले मलाई ढोका थुनिदिएर ताल्चा लगाएर अफिस जाने र राति आएर जबर्जस्तीकरणी गर्ने गरिरहे। 

अब जे हुन्छ हुन्छ भनेर २०७९ मंसिर २ गते प्रहरीकहाँ पुगेँ। तर, मेरो जाहेरी दर्ता गर्न प्रहरीले मानेन। मलाई महिला इन्सिपेक्टरले सहयोग गर्छिन् भन्ने लागेको थियो, त्यस्तो भएन। उल्टै मलाई भनिन्, “हामीले जाहेरी दर्ता गरे तपाईंको श्रीमानले आत्महत्या गर्छु भन्नुभएको छ। त्यसैले तपाईंलाई सहयोग गर्न सक्दैनौं।” उनले मलाई मेडिकल पनि गर्न लगिनन्। जबकि म रगताम्मे भएर पुगेको थिएँ। 

भोलिपल्ट महिला आयोगमा फोन गरेँ। आयोगले मेरो मेडिकल गरेर रिपोर्ट राख्न प्रहरीलाई भन्यो। प्रहरीले मेरो मेडिकल त गर्यो, तर जाहेरी दर्ता गरेन।  न्यायाधीश भएकै कारण प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन।

त्यसपछि म भागेर काठमाडौँ आएँ। यहाँ पनि मलाई ज्यान जोगाउन मुस्किल परेको छ। लड्ने कसरी? श्रीमानले मलाई फोन गरेर धम्की दिइरहेका छन्। उनका आफन्त पनि मेरो पछि लागिरहेका छन्। मलाई मार्ने धम्की दिन्छन्। 

म काठमाडौँ आएर महिला हिंसाविरुद्ध काम गर्ने सबै संघसंस्थामा न्यायको लागि धाएँ। सबै न्यायाधीशको केस भनेर पन्छिन्छन्। प्रहरीले उजुरी दर्ता नगरी अनुसन्धान भइरहेको भन्छ रे। के आधारमा उसले अनुसन्धान गरिरहेको छ? मेरो उजुरी किन दर्ता गर्न मानेन? महिला आयोगप्रति पनि मलाई दुःख लागेको छ। आयोगकी अध्यक्ष कमला पराजुलीले ‘तपाईंहरू मिल्नुहोस्’ भनिन्। मैले प्रश्न गर्दा उनको जवाफ थियो, “तपाईंले मानो चामल लिएर मिलापत्र गर्नुहोस्।” 

म राष्ट्रिय मानवअधिकार आयोग पनि पुगेँ। श्रीमानविरुद्ध उजुरी दिएँ। न्यायको ढोका ढकढकाउँदै न्याय परिषद् पनि पुगेँ। तर, न्याय परिषद्का कर्मचारीले पनि चित्तबुझ्दो जबाफ दिएनन्।


भिडियो


सम्बन्धित सामग्री