Thursday, April 25, 2024

-->

खुलामञ्चमा पार्किङ बनाउने बालेनको योजना विवादमा, ब्युँतिदै ‘अकुपाई टुँडिखेल’

काठमाडौँ महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने प्रक्रिया थालेपछि त्यसविरुद्ध आन्दोलनको तयारी गरिरहेका ‘अकुपाई टुँडिखेल’ अभियन्ताहरूले बालेन शाह ‘विद्यासुन्दर पथ’मा गएको आरोप लगाएका छन्।

खुलामञ्चमा पार्किङ बनाउने बालेनको योजना विवादमा ब्युँतिदै ‘अकुपाई टुँडिखेल’

काठमाडौँ– त्यो दिन थियो २०७६ कात्तिक २३ गते। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता गगन थापा, भीमसेनदास प्रधान, काठमाडौँ महानगरकी तत्कालीन उपप्रमुख हरिप्रभा खड्गी, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, गायक योगेश्वर अमात्यलगायत सबेरै खुलामञ्चमा जम्मा भएका थिए। उनीहरूलाई साथ दिन सर्वसाधारण पनि त्यहाँ पुगेका थिए। 

त्यो दिन टुँडिखेललाई ‘मानव साङ्लो’ले घेर्ने कार्यक्रम थियो। त्यही दिनदेखि शुरू भएको थियो अतिक्रमणविरुद्धको ‘अकुपाई टुँडिखेल’ अभियान। 

टुँडिखेललाई मानव साङ्लोले घेर्दै अभियन्ता। तस्वीर: अमित मचामसी/उकालो

२०७२ सालको भुकम्पपछि टुँडिखेल अतिक्रमणले गति लिएको थियो। त्यतिबेला अस्थायी रूपमा प्रयोग गर्ने गरी खुलामञ्चका केही भाग विभिन्न संघ संस्थालाई दिइएकोमा स्थायी प्रकृतिकै संरचना बन्न थालेका थिए। 

वीर अस्पतालको भण्डारकक्षदेखि गाडी पार्किङको थलो खुलामञ्च नै भएको थियो। पुरानो बसपार्कमा भ्युटावरसहितको पार्किङ बनाउन थालिएपछि बसपार्क पनि अस्थायी रूपमा खुलामञ्चमै सारिएको थियो। पुरानो बसपार्कमा भ्यु टावरको ठेक्का पाएको कम्पनीले कामदारको बस्ने व्यवस्था खुलामञ्चमै गरेको थियो।

त्यसविरुद्ध सम्पदा बचाउ अभियन्ताहरूले अकुपाई टुँडिखेल अभियान चलाएका थिए। विभिन्न क्षेत्रमा कहलिएका व्यक्ति र सर्वसाधारणले झन्डै तीन महिनासम्म हरेक मानव साङ्लोले घेरेर अतिक्रमित खुलामञ्च खाली गराउन दबाब दिएका थिए। सो अभियानका कारण खाली गरिएको खुलामञ्चलाई काठमाडौँ महानगरले फेरि मास्ने योजना ल्याएको छ।

काठमाडौँ महानगरले गएको कात्तिक २९ गते खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी ‘रिचार्ज पीट’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। महानगरपालिकाको १०औँ कार्यपालिका बैठकले वडा नंं. २८ मा रहेको खुलामञ्चमा संरचना बनाउने निर्णय गरेको हो।

‘अकुपाइ टुँडिखेल’ अभियान ब्युँतिने
खुलामञ्चलाई लिएर काठमाडौँ महानगरले बनाएको योजना गलत रहेको सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन्। श्रेष्ठ टुँडिखेल बचाउने आन्दोलनमा निरन्तर सहभागी अगुवा हुन्। खुलामञ्चमा बनाएको अस्थायी बसपार्कमा ढलान गर्दा उनी घन बोकेर फुटाउनसमेत गएका थिए। खुलामञ्चभित्र रहेको दुईमाजु मन्दिर र गुठीको क्षेत्र अतिक्रमण गरी चलाइएको व्यापारको पनि उनले विरोध गरेका थिए।

खुलामञ्चमा बसपार्कका लागि ढलान गरिएपछि भत्काउन पुगेका अभियन्ताहरू।

प्रविधियुक्त पार्किङ भवनहरू अन्यत्रै बनाएर खुलामञ्चलाई खाली छाड्नुपर्ने उनी बताउँछन्। “पार्किङ भवनहरू आवश्यक छ। तर, अन्यत्रै बनाउनुपर्छ”, उनी भन्छन्, “खुल्लामञ्चलाई बिगार्न हुँदैन। खुलै छाड्नुपर्छ।”

काठमाडौँ महानगरले खुलामञ्च मास्ने योजना ल्याएपछि तीन वर्षअघि भएको ‘अकुपाई टुँडिखेल’ अभियान ब्युँतिने भएको छ। अभियानले २८ वडा कार्यालय र काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गर्न पत्र तयार गरिरहेको अभियन्ता श्रेष्ठले बताए।

“केही दिनअघि स्काभेटर चलाएर खुलामञ्चमा रहेको कंक्रिटको संरचना हटाएको देख्दा खुशी लागेको थियो, तर त्यो खुशी क्षणिक भयो। पूर्णरूपमा खुलामञ्च मास्ने योजना बनाएर पो सफा गरिएको रहेछ”, उनी भन्छन्, “त्यसैले अकुपाइ टुँडिखेल अभियानका साथीहरु फेरि एकपटक क्रियाशील हुँदैछौँ। खुलामञ्चको प्राकृतिक स्वरुपलाई नबिगार्नको लागि ध्यानाकर्षण गर्न हाम्रो साथीहरूले पत्र तयार गर्दै हुनुहुन्छ।”

ध्यानाकर्षणपछि प्रमुख शाहले खुलामञ्चको विकल्प खोजीको निर्णय गर्नेमा उनी आशावादी छन्। तर, विश्वास भने हराएको बताउँछन्। “काठमाडौँ महानगरको प्रमुखमा उम्मेदवारी दिएपछि नै बालेनले खुलामञ्चमा संरचना बनाउने योजना ल्याएका थिए, त्यतिबेला वास्ता गरिएन। जनप्रतिनिधि भइसकेपछि खुलामञ्चमा पार्किङ बनाउने र रिजर्भ बोरिङ गर्ने पहिलेदेखिकै योजना कार्यान्वयन गर्न थालेका हुन्”, श्रेष्ठले भने।

आफूले मेसेन्जरबाट प्रमुख शाहलाई खुलामञ्चको जमिनमुनि अथवा माथि संरचना बनाउन नहुने बताएको श्रेष्ठले बताए। शाहले ‘भेटेरै कुरा गरौँ’ भने पनि खबर नआएको उनको भनाइ छ।

तीन वर्षअघि अकुपाई टुँडिखेल अभियानमा सक्रिय भएका अधिवक्ता सञ्जय अधिकारी महानगरको योजना सही नभएको बताउँछन्। उनका अनुसार खुलामञ्च राजनीतिक चेतनाको मात्रै नभएर प्राकृतिक र सांस्कृतिक प्रतीक पनि हो। रानीपोखरीको पानी रिचार्ज प्रक्रियामा समेत खुलामञ्चको भूमिका हुन्छ।

“महानगरले नयाँ प्रविधि प्रयोग गरेर पानी रिचार्जको काम पनि निरन्तर गर्ने भनेको छ। तथापि, शुरूको फेजमा यो गलत नै हो भन्ने छ”, अधिकारीले भने, “अब हामी अध्ययनको लागि सूचना माग्नेलगायतको काममा अगाडि बढ्छौँ।”

विद्यासुन्दर पथमा बालेन!
विद्यासुन्दर शाक्य २०७४ सालमा काठमाडौं महानगर प्रमुख निर्वाचित भएको केही समयपछि नै पुरातात्त्विक सम्पदामा ‘मनपरी काम गरेको’ भन्दै विवादित भएका थिए। रानीपोखरी, बागदरबार, शिलखाना, रत्नपार्क, द्यो छेँ (भगवानका घरहरू), महर्जन कम्प्लेक्स, दमकलको भवन, कमलपोखरी मात्र नभइ खुलामञ्च र दुइमाजुमा समेत उनले कंक्रिटका संरचना बनाउने जस्ता निर्णय गरेर विवादमा आएका थिए। कार्यकालको अन्त्यतिर हनुमान ढोकामा झन्डा राख्न कंक्रिटको संरचना बनाउन अनुमति दिएका थिए। 

शाक्य प्रमुख निर्वाचित हुनुअघि २०७३ साउन ३० मा खुलामञ्च तीनवर्षको लागि काठमाडौं महानगरले ‘जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स’लाई भाडामा दिएको थियो। यो मनोज भेटवाल स्वामित्वको कम्पनी हो। तर बिल्डर्सले टुँडिखेल अन्तर्गतको खुलामञ्च थप कब्जा गर्न थाल्यो। अतिक्रमित १३ रोपनी क्षेत्रमा ५२ वटा सटर बनाएर भाडामा लगाएको थियो। 

उता पुरानो बसपार्कमा २९ तले भ्यु टावर बनाउन पार्किङ सारिएपछि खुलामञ्च खुम्चियो। बसपार्कका लागि अस्थायी रूपमा दिइए पनि खुलामञ्चमा कंक्रिटको ढलान गरिएपछि अभियन्ताहरूले भत्काइदिएका थिए। टुँडिखेल कब्जा गरेर विभिन्न व्यक्ति र संस्थाले संरचना बनाउँदा पनि महानगर मौन रह्यो। 

त्यसको विरोधमा अभियन्ताहरू महानगर कार्यालय पुगेका थिए। तत्कालीन महानगर प्रमुख शाक्यले अभियन्ताहरूलाई ती संरचना ‘डोजर लगाएर भत्काउने’ वाचा गरेका थिए। तर, उनले भत्काउन आलटाल गरेका थिए। पछि अभियन्ताको दबाबपछि मात्र भत्काइएको थियो।

लकडाउन शुरू भएलगत्तै ‘हन्ड्रेड्स ग्रुप’ले खुलामञ्चमा २०७६ चैत १४ बाट अलपत्र परेकाहरूलाई निःशुल्क खाना खुवाएको थियो। खाना खुवाउन थालेको आठ महिनापछि २०७७ कात्तिक १७ काठमाडौँ महानगरले यो अभियान रोक्न आदेश दियो। ‘खुलामञ्चमा खाना खुवाउँदा काठमाडौँको सौन्दर्यमा आँच आउने’ अभिव्यक्ति दिएपछि शाक्य फेरि विवादमा तानिएका थिए।

सम्पदा अभियन्ता श्रेष्ठका अनुसार तत्कालीन प्रमुख शाक्य योजना बनाउँदा सम्बन्धित पक्ष वा विज्ञसँग छलफल गर्दैनथे। अहिलेका प्रमुख शाहले पनि छलफल गर्ने नगरेको उनको दाबी छ। “शाक्य बुझकी भएर बुझ पचाएको जस्तो लाग्थ्यो। अहिलेका मेयर शाह अबुझ नै हो कि जस्तो लाग्छ,” उनी भन्छन्, “शाहलाई काठमाडौँवासीले मौका दिएको छ, उहाँले त राम्रो काम गरेर अगाडि बढ्ने युवालाई प्रेरणा दिनुपर्ने थियो। तर काठमाडौँका सम्पदाको मर्म नै बुझ्नुभएको रहेनछ।”

महानगर प्रमुख शाह दूरदर्शी नभएको समेत उनले बताए। फोहोर व्यवस्थापन, अन्डरग्राउन्ड पार्किङ, होर्डिङबोर्ड र फुटपाथ व्यवस्थापन तथा टुकुचा उत्खनन्मा अच्कल्टो काम गरेको उनको भनाइ छ। “उहाँले अहिलेसम्म दूरदर्शी भएर निर्णय गरेको देखिँदैन। कुनै पनि विषय टुंगोमा पुर्याएको पनि देखिँदैन”, उनले भने, “हामीलाई चाहिएको दूरदर्शी नीति हो। हात हाल्नुपर्ने छाँयादेवी कम्प्लेक्स, सिभिल मलले पोखरी मासेको विषय चाहिँ छुन हिम्मत गरेको देखिँदैन।” 

डेढवर्षअघि खुला
खुलामञ्चलाई खाली गराउन काठमाडौँ महानगरले २०७७ फागुन ५ गते अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको थियो। त्यतिबेला महानगरले बसपार्क क्षेत्रबाहेकमा बनाइएका संरचना हटाएको थियो। खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माणका सामग्री राखिएका थिए। त्यहाँ काम गर्ने केही कामदार अस्थायी टहरा बनाएर बस्दै आएका थिए। दुवै भवन निर्माण सम्पन्न भइसके पनि न निर्माण सामग्री हटाइएको थियो, न कामदार नै हटेका थिए।

खुलामञ्च २०७८ वैशाख १५ बाट पूर्णरूपमा खाली भएको थियो। महानगरले खुलामञ्चमा रहेको बसपार्क बन्द गरेर सवारी साधन प्रवेशमा रोक लगाएको थियो। सवारी साधन रोक्न वीर अस्पताल र विद्युत प्राधिकरणतर्फका फलामे ढोकामा ताला लगाइएको थियो। 

खाली मैदान मात्र होइन खुलामञ्च
खुलामञ्चसँग नेपालको राजनीतिक तथा सामाजिक इतिहास जोडिन्छ। पछिल्लो एक शताब्दीभित्र नेपालमा भएका ठूला राजनीतिक आन्दोलन खुलामञ्चसँग जोडिन्छन्। २०४६ सालमा जनआन्दोलनको केन्द्र खुलामञ्च नै थियो। प्रजातन्त्र आएपछि दलहरूले यहीँ नै पहिलो खुला संयुक्त सभा गरेका थिए।

२०४६ सालको आन्दोलनपछि दलहरूले खुलामञ्चमा सभा गर्थे। तस्वीर: मीनरत्न बज्राचार्य

खुलामञ्च विशाल टुँडिखेलको एउटा अभिन्न हिस्सा हो। नेपालभाषामा टुँडिखेललाई ‘टिँ ख्य’ भनिन्छ। सम्पदा बचाउ अभियानमा लागेका आलोकसिद्धि तुलाधरका अनुसार टुँडिखेलको इतिहासका लिखित प्रमाण धेरै नभेटिए पनि यससँग जोडिएका विभिन्न किंवदन्ती अझै छन्। लिच्छवीकालदेखि आधुनिककालमा कान्तिपुर शहर निर्माण गर्दासम्म वातावरणीय सन्तुलन कायम रहने गरी टुँडिखेलको प्रारूप तयार गरिएको उनको भनाइ छ। टुँडिखेलले आकाशको पानी जमिनमुनि सञ्चय गर्न सघाइरहेको पनि उनको भनाइ छ। 

तुलाधरका अनुसार काठमाडौंको टुँडिखेलको दोहन भने जंगबहादुर राणाको पालादेखि शुरू भएको हो। जंगबहादुरको पालासम्म सेनाको कवाज छाउनीमा हुन्थ्यो। उनी युरोप भ्रमणबाट फर्केपछि सेनालाई छाउनीबाट टुँडिखेलमा सारे। त्यहीँबाट टुँडिखेल मासिने क्रम शुरु भएको हो। डेढ सय वर्ष पहिलेको तुलनामा अहिले २५ प्रतिशत टुँडिखेल मात्र बाँकी रहेको तुलाधरको दाबी छ। 

“यो ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, पुरातात्त्विक र सामाजिक रूपमा काठमाडौंवासीसित जोडिएको धरोहर हो”, उनी भन्छन्, “वातावरणीय हिसाबले यो काठमाडौवासीको फोक्सो हो। तर, यसको दुरूपयोग हुने क्रम रोकिएको छैन। हुँदाहुँदा संरक्षकको भूमिकामा रहेको स्थानीय सरकार नै दोहनतर्फ आकर्षित भएको छ।”


सम्बन्धित सामग्री