समूह 'ए' : लयमा रहेका नेदरल्यान्ड्स र सेनेगललाई इक्वेडर र कतारको डर!

विश्वकप फुटबलमा कुनै न कुनै रूपले वर्चस्व कायम राखे पनि नेदरल्यान्ड्स र सेनेगलकाे प्रदर्शन एकनासकाे छैन। त्यसैले समूह चरणमा कतार र इक्वेडरले यी दुई टाेलीलाई अप्ठयाराे पार्न सक्नेछन्।

काठमाडौँ– कतार विश्वकपमा नेदरल्यान्ड्स र सेनेगलका लागि समूह चरणका खेल प्रतिष्ठाको विषय बन्नेछन्। किनभने यी टोलीले विश्वकपमा वर्चस्व कायम राखे पनि एकनासकाे प्रदर्शन गर्न सकेका छैनन्।

त्यसैले समूह 'ए' का अरू दुई टाेली कतार र इक्वेडरले अप्ठयाराे पार्न सक्नेछन्। नेदरल्यान्ड २०१८ रसिया विश्वकपमा छनोट भएको थिएन। सेनेगल छनोट भए पनि समूह चरणबाट अगाडि बढ्न सकेन। समूह चरणको खेलमा एसियाली पावर हाउस जापानसँग २–२ गोलको बराबरीमा रोकिएर दोस्रो चरणमा पुग्न सकेन।

तर, अहिले दुवै टोली बलिया छन्। सेनेगलले यो वर्ष पहिलोपटक अफ्रिका कप अफ नेसन्स जित्यो, एडवार्ड मेन्डीको गोलमा। चेल्सीका स्टारले राष्ट्रका लागि २३ खेलमा १० गोल गरेका छन्। अर्का फरवार्ड साडियो मानेले पनि जर्मन क्लब बायर्न म्युनिखबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै मञ्चका विजेता मानेले सेनेगललाई सन् २०२२ को अफ्रिकी कप अफ नेसन्स जिताएका छन्।

यो सेनेगलले जितेको पहिलो ठूलो उपाधि हो। मानेले यो सफलता लिभरपुलका आफ्नै साथी इजिप्टका मोहमद सलाहविरुद्ध प्राप्त गरेका थिए। त्यसैले उनी लगातार दोस्रो पल्ट अफ्रिकी वर्ष खेलाडी भए। बालोन डी’अरमा भने उनी दोस्रो स्थानमा रहे। उनकै नेतृत्वमा सेनेगल विश्वकपका लागि पनि छनोट भयो। त्यो पनि फेरि इजिप्टविरुद्ध नै।

लिभरपुल छाडेर बायर्न गएका मानेको अबको ध्यान विश्वकपमा हुनेछ। सेनेगलले विश्वस्तरमा भने कमै मात्र उपलब्धि हात पारेको छ। अहिलेसम्म पनि विश्वकपको सेमिफाइनल पुगेको छैन। कतार उत्रिनुअघि मानेले भनेका छन्, ‘सेनेगल उपाधिको प्रत्याशी होइन, किनभने अरू धेरै बलिया टिम छन्। तर, हामी कतारमा सक्दो खेलेर देखाउन जाँदैछौँ।’

यता, मिडफिल्डर फ्रेन्की डी जोङजस्ता अनुभवी र युवा खेलाडीको मिश्रण रहेको डच टोली पछिल्लो १५ खेलमा अपराजित छ।म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षकसमेत रहेका लुइस भ्यान गालले आफ्नो राष्ट्रिय टोलीलाई उत्कृष्ट लयमा राखेका छन्। जसलाई जुनमा बेल्जियमलाई ४–१ ले हराएको प्रमाणले पुष्टी गर्छ। 

यद्यपि, डच टोलीको लय जुनसुकै बेला खस्किन सक्छ भन्ने प्रमाण पनि नभएको होइन। पोहोर इङ्ल्यान्डमा भएको युरोकपमा उत्कृष्ट लयमा हुँदाहुँदै पनि चेक रिपब्लिकसँग २–० ले स्तब्ध भएको थियो। नेदरल्यान्ड्स फरवार्ड मेम्फिस डिपे र मिडफिल्डर फ्रान्क डी जोङमा निर्भर देखिन्छ। डिपेले विश्वकप छनोटका १२ खेलमा १० गोल गरेका थिए। ६ गोलका लागि मौका जुराइदिएका थिए। तर, राष्ट्रिय टोलीमा उच्च लयमा देखिएपनि उनी व्यवसायिक फुटबल करिअरमा यस सिजन चम्किन सकेका छैनन्। 

क्याटलान क्लब बार्सिलोनाबाट फुटबल खेल्दै आएका डिपेले पछिल्लो समय बेन्चमै समय बिताएका छन्। सन् २०१८–१९ को सिजनमा अयाक्स टोलीलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याएका डी जोङ हुनुले पनि नेदरल्यान्ड्स बलियाे छ। बर्सिलोनाका मुख्य मिडफिल्डर डी जोङ पिनपोइन्ट पासिङ र गोलको अवसर सिर्जना गर्न सक्षम छन्।

सेनेगल र नेदरल्यान्ड्सलाई यस समूहबाट राउन्ड अफ १६ मा पुग्ने टोलीका रूपमा हेरिएको छ। तर, इक्वेडर बाधक बन्न सक्छ। ६० वर्षे प्रशिक्षक गुस्ताभो अल्फारोको प्रशिक्षणमा रहेको इक्वेडरले उपाधि दाबेदार अर्जेन्टिना र ब्राजिललाई घरेलु भूमिमा १–१ गोलको बराबरीमा रोक्दै कतार विश्वकप २०२२ मा स्थान बनाएको थियो। 

इक्वेडर कतार विश्वकपमा दोस्रोपटक नकआउट चरणमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छ। यो टोली फरवार्ड इनर भ्यालेन्सिया र विंगर गोन्जालो प्लाटाजस्ता उत्कृष्ट खेलाडीमा निर्भर छ। ३३ वर्षीय भ्यालेन्सियाको प्रदर्शन कुनै युवा खेलाडीको भन्दा कम छैन। इङ्लिस क्लब वेस्ट ह्याम र एभर्टनबाट खेलिसकेका भ्यालेन्सिया अहिले टर्किस सुपर लिगको टोली फेनेरबासेका लागि खेल्दै आएका छन्।

उनी राष्ट्रिय टोलीका उच्च गोलकर्तासमेत हुन्। २०१२ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ७५ खेलमा ३५ गोल गरेका छन्। उनीसँग विश्वकपको राम्रो अनुभव छ। २०१४ को ब्राजिल विश्वकपमा ३ गोल गरेका थिए। २२ वर्षीय विंगर प्लाटा पछिल्लो समयको उत्कृष्ट खेलाडी हुन्। उनले राष्ट्रिय टोलीका लागि ३ गोल गरिसकेका छन्। तीव्र गतिमा दौडिने क्षमता भएका प्लाटाले कम गतिका डिफेन्डरलाई सहजै समस्या निम्त्याउन सक्छन्। 

यता, आयोजकका रूपमा कतार पहिलो पटक विश्वकपका लागि स्वतः छनोट भयो। तर, कतारी फुटबलको इतिहास पनि त्यति कमजोर छैन। ४६ वर्षे फेलिक्स सान्चेजको प्रशिक्षणमा रहेको कतारले सन् २०१९ मा एसियन कप जितेको थियो। अहिले उनी कतारलाई विश्वकपमा पहिलोपटक समूह चरण पार गराउने योजनामा छन्।

सान्चेजले २०१४ मा कतारलाई एसियन यू–१९ को उपाधि दिलाएका थिए। त्यही टोलीका धेरै खेलाडी अहिले राष्ट्रिय टोलीबाट विश्वकप यात्रामा छन्। कतारको धेरै भरोसा विंगर अक्रम अफिफमा छ। २६ वर्ष पुग्न लागेका उनले कतारी लगानी रहेको बेल्जियन क्लब युपेनसहित स्पेनिस टोली स्पोर्टिङ गिजोनबाट खेलिसकेका छन्।

अल सादमा आएपछि उनले टोलीलाई २०२१ र २०२२ मा कतारी च्याम्पियन बनाएका थिए। उनको प्रमुख क्षमता भनेको काउन्टरमा गोल गर्न सक्नु हो। सन् २०१४ मा कतारको यू–२० टोलीमा डेब्यू गरेका उनले ९ खेलमा ३ गोल गरेका छन्। यू–२३ टोलीबाट उनले ७ खेलमा ६ गोल गरेका छन्।

२०१६ मा मात्रै कतारको सिनियर टोलीमा उक्लिने मौका पाएका उनले ८५ खेलमा ४२ गोल गरिसकेका छन्। इतिहास हेर्दा दक्षिण अफ्रिकाबाहेक विश्वकप आयोजक देश नकआउट चरणमा पुगेका छन्। २०१० को विश्वकप आयोजक दक्षिण अफ्रिका मात्रै समूह चरणबाट बाहिरिएको थियो।

त्यसैले कतार र इक्वेडरलाई पन्छाएर अघिल्लो चरणमा पुग्न नेदरल्यान्ड्स र सेनेगललाई त्यति सहज भने छैन।