ज्ञानेन्द्र मल्लको ब्याट यसपटकको राष्ट्रिय प्रतियोगितामा मात्र नभएर तीन वर्ष यताका घरेलु क्रिकेटमा चल्न नसक्दा राष्ट्रिय टोलीमा नयाँ खेलाडीले ‘ढोका ढक्ढक्याउन’ थालेका छन्।
काठमाडौँ– “ज्ञानेन्द्र मल्ल आउट अफ फर्ममा छन्, उनलाई राष्ट्रिय टोलीबाट हटाउनुपर्छ। उनी नेपाली राष्ट्रिय टोलीमा पर्न लायक छैनन्।”
क्रिकेट समर्थकहरूले करिब १ वर्षअघि सामाजिक सञ्जालमा बारम्बार ज्ञानेन्द्रको प्रदर्शनमाथि प्रश्न उठाइरहेका हुन्थे। यसको पछाडि ठोस कारण थिए। ज्ञानेन्द्रले तीन वर्षसम्म कुनै पनि घरेलु एकदिवसीय प्रतियोगितामा सम्झनलायक खेल प्रदर्शन गर्न सकेका थिएनन्। एक वर्षपछि बल्ल एकदिवसीय प्रतियोगिता हुँदा पनि ज्ञानेन्द्रको प्रदर्शन उस्तै रह्यो।
हरेक घरेलु प्रतियोगितामा उनले प्रहार गर्ने सट आकर्षक हुँदैन थिए। औसत स्ट्राइक रेट पनि लगातार घट्दै गइरहेको थियो। यो क्रम अझै रोकिएको छैन। कीर्तिपुर र मूलपानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको आँकडालाई नै हेर्ने हो भने उनी निरन्तर ‘फ्लप’ भइरहेको देखिन्छ।
जारी प्रतियोगितामा बागमती प्रदेशको कप्तानी गरेका मल्लले चार खेलमा ६६ रन मात्रै बनाउन सके। समूह चरणको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसविरुद्ध १० बल खेल्दै ४ रन बनाए। प्रदेश १ विरुद्धको खेलमा ४३ बलको सामना गरेका उनले २७ रन बनाएर क्रिज छोडे।
लुम्बिनी प्रदेशविरुद्धको खेलमा उनले यस प्रतियोगितामा आफ्नो उच्च रन बनाए। ४६ बल खेलेका उनले ३३ रन बनाएका थिए। उनको खराब लय यतिमै सीमित रहेन। उनले मधेश प्रदेशविरुद्धको अन्तिम खेलमा त दोहोरो अंक पनि छुन सकेनन्।
प्रतियोगितामा चार खेल खेलेका मल्लले ६६ रन मात्रै बनाउन सके। प्रतियोगितामा उनको औसत १६.५ मात्रै रह्यो। यसपटक मात्रै होइन, पछिल्लो चार वर्षको तथ्याङ्कलाई केलाउने हो भने १८ खेलमा १५ इनिङ्स ब्याटिङ गरेका उनको प्रदर्शन सन्तोषजनक छैन।
मल्लले निरन्तर खराब प्रर्दशन गरिरहँदा युवा खेलाडीद्वय देव खनाल र दीपेन्द्रसिंह ऐेरीजस्ता खेलाडीले भने घरेलु प्रतियोगितामा लगातार छाप छाड्दै आएका छन्। जारी प्रतियोगितामा लुम्बिनी प्रदेशको कप्तानी गरेका देवले चार खेलमा तीन अर्धशतकसहित २४९ रन बनाए।
८३.३ को औसतमा रन बनाएका देव प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहे। यद्यपि, उनको टीम लुम्बिनी लिग चरणबाटै बाहिरियो।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध हुने तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा पनि देवले स्थान बनाउन सकेनन्। जबकि, फर्ममा नभएका मल्ललाई भने राखिएको छ। टीममा अन्य सिनियर खेलाडी नरहेका कारण अनुभवका आधारमा उनलाई स्थान दिइएको क्यानका एक पदाधिकारीले बताए।
चार वर्षमा ३४७ रन, एक शतक
पछिल्लो चार वर्षमा खेलेको घरेलु एकदिवसीय प्रतियोगिताको तथ्यांक हेर्ने हो भने मल्लको लागि सन् २०१९/२० को प्रधानमन्त्री कप मात्रै सफल रहेको मान्न सकिन्छ। उक्त वर्ष पाँच खेलमा दुई इनिङ्स ब्याटिङ गरेका उनले ७१.५० को औसतमा एक शतकसहित १४३ रन बनाएका थिए।
तत्कालीन प्रदेश–३ बाट खेलेका उनले एपीएफविरुद्ध १११ बल खेल्दै आठ चौका र पाँच छक्कासहित ११७ रन बनाए। सो प्रतियोगितामा आर्मीका राजु रिजालले ६ खेलमा ३ अर्धशतकसहित ४३.५० को औसतमा २६१ रन बनाएका थिए। रिजाल प्रतियोगिताको सर्वाधिक रनकर्ता बनेका थिए।

त्यही प्रतियोगितामा नेपाल पुलिसका युवा खेलाडी अमित श्रेष्ठले एक शतक र एक अर्धशतकसहित ८८.६० को औसतमा २१० रन बनाएका थिए। त्यस प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीमा आठौँ स्थानमा रहेका मल्लको ब्याट त्यसपछिका घरेलु क्रिकेटमा चल्न सकेको छैन।
उनी सो वर्ष टी–२० खेलमा पनि जमेका थिए। जुलाईमा आईसीसी टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध २० बलमा अर्धशतक पूरा गरेका उनले नेपालका लागि तीव्र गतिमा अर्धशतक बनाउने कीर्तिमान कायम गरेका थिए। उनको यो ‘कमब्याक’मा नेपाली क्रिकेट टोलीका नयाँ प्रशिक्षक उमेश पटवालको सूत्रले काम गरेको बताइन्थ्यो। पटवालले विशेषगरी मल्ललाई खुलेर खेल्न र सटको छनोट गर्न अभ्यस्त बनाउन समय खर्चिएका थिए।
मल्लले सन् २००५ मा यू–१५ टोलीको लागि खेल्दा तत्कालीन प्रशिक्षक रोय डायसले ‘क्षमतावान खेलाडी’ भन्दै डेब्यू खेलमै प्रमुख ब्याटसम्यानको जिम्मेवारी दिएका थिए। त्यसपछि प्रशिक्षक बनेका पुबुदु दासानायकेले पनि उनलाई सधैँ महत्त्व दिए।
उमेर समुह हुँदै सिनियर टोलीसम्म आइपुग्दा उनलाई आक्रामक र प्राविधिक ब्याटसम्यानको रुपमा हेरिएको थियो। त्यसपछि लगातार घरेलु प्रतियोगितामा प्रमुख जिम्मेवारी सम्हालिरहेका मल्लले त्यसलाई न्याय भने गर्न सकेनन्।
सन् २०१९/२० को प्रधानमन्त्री कप पछिका दुई सिजनमा नौ इनिङ्स ब्याटिङ गरेका उनले १३८ रन मात्रै बनाउन सके। यस अवधिमा सन् २०२१/२२ को प्रधानमन्त्री कप टी–२० फर्म्याटमा खेलाइएको थियो। उनले उक्त प्रतियोगितामा पाँच इनिङ्स ब्याटिङ गर्दै १४.४० को औसतमा ७२ रन मात्रै बनाउन सके। उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा २३औँ स्थानमा थिए।
यही समयको तथ्यांक हेर्ने हो भने, युवा खेलाडी आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका छन्। आर्मीबाट खेलिरहेका उनले यी दुई सिजन ११ इनिङ्स ब्याटिङ गर्दै ४३३ रन बनाएका थिए। त्यस्तै, पृथु बास्कोटा सन् २०२०/२१ को सिजनमा पाँच इनिङ्समा ७१.६६ को औसतमा दुई अर्धशतकसहित २१५ रन बनाएर सर्वाधिक रन बनाउनेको शीर्षस्थानमा रहेका थिए।
एपीएफबाट खेलिरहेका प्रदीप ऐरीले पनि अघिल्लो सिजन ६ इनिङ्स ब्याटिङ गर्दै दुई अर्धशतकसहित २१३ रन बनाएका थिए। पछिल्लो समय आफूभन्दा जुनियर खेलाडीले लगातार राम्रो गरिरहँदा मल्ल आफ्नो प्रदर्शन खस्किएको स्वीकार गर्छन्।
आक्कलझुक्कलको प्रतियोगिता प्रदर्शनको बाधक!
मल्ल कोही पनि खेलाडीको प्रदर्शन एकनासले नजाने बताउँछन्। “खेलाडीको करिअरमा तलमाथि भइराख्छ। सधैँ राम्रो हुन्छ भन्ने हुँदैन। सधैँ नराम्रो पनि हुँदैन”, उनी भन्छन् ।
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्री घरेलु क्रिकेटको संरचना बलियो नहुँदा आशलाग्दा खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको बताउँछन्। नियमित प्रतियोगिता नहुने र प्रशिक्षण राम्रो पाउन नसक्ने कारण खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्न नसकेको उनको तर्क छ।
“ज्ञानेन्द्र मल्लजस्ता मात्रै होइन अन्य खेलाडीको प्रदर्शन खस्किँदै जानुको कारण हाम्रो कमजोर संरचना हो”, उनी भन्छन्, “नियमित प्रतियोगिता छैन। भएका प्रतियोगिता पनि लामो समय चल्दैन। जति बढी खेल खेलायो उति निपुण हुँदै जाने हो। तर, अहिलेको प्रतियोगिताबाट त्यो सम्भव छैन।”
मल्लले तीन वर्षयता जुन प्रर्दशन गरेका छन्, यसले उनी लयमा फर्किन नसकेको स्पष्ट हुन्छ। चार वर्षअगाडि प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गरेका उनले आगामी दिनमा त्यस्तै प्रर्दशनलाई निरन्तरता दिनुपर्ने चुनौती छ। त्यसो हुन नसके उनलाई राष्ट्रिय टिममा राख्ने क्यानको निर्णयमाथि पनि प्रश्न उठ्न थाल्ने एक पूर्व खेलाडीले बताए।
ती खेलाडीका अनुसार उमेर बढ्दै जाँदा फिट्नेस र अन्य शारीरिक अवस्थाले पनि खेलाडीको प्रदर्शनमा असर पर्छ। उनको प्रदर्शनले उनको खेलजीवन उत्तरार्धतिर पुगेको संकेत हुनसक्ने उनले बताए। मल्ल अहिले ३२ वर्षका भए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
