टी–२० विश्वकप : उपाधिका लागि इङ्ग्ल्यान्ड र पाकिस्तान भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्यान्डले भारतलाई पराजित गरेको छ। आइतबार हुने फाइनलमा इङ्ग्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि इङ्ग्ल्यान्ड र पाकिस्तान भिड्ने भएका छन्। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्डले फाइनलमा पकिस्तानसँको भेट पक्का गरेको हो।

भारतले दिएको १६९ रनको लक्ष्य इङ्ग्ल्यान्डले १६ ओभरमा बिनाक्षति १७० रन बनाएको हो। इङ्ग्ल्यान्ड लागि ओपनर एलेक्स हेल्सले सर्वाधिक ८६ रन बनाए। उनले ४७ बलमा ४ चौका र ७ छक्का प्रहार गरेका थिए।

यता, अर्का ओपनर तथा कप्तान जोस बटलरले ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रन बनाए।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले अलराउन्डर हार्दिक पान्ड्याको विस्फोटक ब्याटिङमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।

हार्दिकले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए। उनी अन्तिम बलमा 'हिट' विकेटका रूपमा आउट भएका थिए।

यता, विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाए। योसँगै कोहली टी–२० आईमा चार हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन्। कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८५३ रन बनाएका छन्। चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए।

रोहित शर्मा २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए। मध्यक्रमका सूर्यकुमार यादवले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

इङ्ग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। आदिल राशिद र क्रिस वोक्सले १/१ विकेट लिए।

भारत २००७ को च्याम्पियन टोली हो। भारत २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो।
यता, इङ्ग्ल्यान्ड २०१० को च्याम्पियन टोली हो। २०१६ को फाइनलमा इङ्ग्ल्यान्ड वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो।

अब इङ्ग्ल्यान्डले आइतबार फाइनलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ।