Thursday, April 25, 2024

-->

डोटी भूकम्प : ५१७ वर्षयता ठूलो भूकम्प नगएको पश्चिम नेपाललाई ‘अलार्म’

भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात् ५१७ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन।

डोटी भूकम्प  ५१७ वर्षयता ठूलो भूकम्प नगएको पश्चिम नेपाललाई ‘अलार्म’

काठमाडौँ– बुधबार राति खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण डोटी जिल्लास्थित पूर्वचौकी गाउँपालिकामा घर भत्केर ६ जनाको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार त्यो भूकम्पमा आठजना घाइते भएका छन्। 

घाइतेहरूमध्ये दुई जनालाई उपचारका लागि हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। 

त्यसअघि मंगलबार साँझ सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ९ बजेर ७ मिनेटमा ५.७ म्याग्निच्युड र ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएका थिए। 

अधिकारीका अनुसार २०३७ साउन १४ गते बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएयता सुदूरपश्चिम पहाडमा पहिलोपटक यति ठूलो भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु रहेको त्यो भूकम्प ६.५ म्याग्निच्युडको थियो। मापन भएअनुसार बुधबार राति गएको, त्यो क्षेत्रमा रेकर्ड भएको (६.६ म्याग्निच्युड)को भूकम्प नेपालको पश्चिम (पोखराभन्दा पश्चिम) क्षेत्रमा अहिलेसम्म गएको सबभन्दा ठूलो भूकम्प हो। अधिकारी भन्छन्, “२०३७ सालको भूकम्प मापन फरक थियो, त्यो भूकम्प अहिलेको भन्दा ठूलो थियो।”

२०३७ सालको भूकम्पमा १७० जनाको मृत्यु भएको थियो। एक हजारभन्दा धेरै घर भत्केका थिए। त्यसपछि २०५३ पुस २१ गते बैतडीलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो। 

जानसक्छ ठूलो भूकम्प
भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात् ५१७ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.८ म्याग्निच्युडको भूकम्प छुट्टै ‘टेक्टोनिक प्लेट’मा गएको थियो। त्यसकारण पनि पोखराभन्दा पश्चिम, भारतको देहरादूनसम्मको भू–भागमा कुनै पनि समय ठूलो भूकम्प जान सक्ने भूकम्पविद्हरू बताउँछन्। “भूकम्प कहिले जान्छ भन्ने पूर्वानुमान गरेर भन्न सकिन्न। तर, पोखरादेखि पश्चिम भारतको देहरादुनसम्मको भू–भागमा ठूलो भूकम्प नगएको लामो समय भएकाले कुनै पनि समय ठूलो भूकम्प जानसक्छ”, अधिकारी भन्छन्, “हामीले थाहा नपाउने खालको सयौँ भूकम्पहरू दिनहुँ गइराखेका हुन्छन्। त्यो भनेको हामी भूकम्पको जोखिमपूर्ण क्षेत्रमा छौँ भन्ने संकेत हो।”

नेपालको भूकम्पीय इतिहासमा ७५ देखि एक सय वर्षमा एक महाभूकम्प र प्रत्येक ५० वर्षमा मध्यम खालको भूकम्प गएको देखिन्छ। भूकम्पविद्का अनुसार नेपाल भूकम्पीय क्षतिको जोखिममा हुनुका मुख्य कारणहरूमा चाहिँ नेपालको भौगर्भिक अवस्था र मानवनिर्मित भौतिक संरचना मुख्य जिम्मेवार छन्।

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा बर्मासम्म फैलिएको हिन्द–कुश हिमालय शृंखलाको अति संवेदनशील मानिने तीन हजार पाँच सय किलोमिटर भूकम्पीय क्षेत्रको आठ सय किलोमिटर नेपालमै पर्दछ। र, नेपाल यसको मध्यखण्डमा पर्छ।  

भूगर्भविद्हरूका अनुसार भूकम्प निम्त्याउन सक्ने ९२ वटा ‘फल्टलाइन’ नेपालकै भू–भागमुनि छन्। त्यसकारण नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममा रहेको छ। 

भूगर्भविद् एवं त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक बसन्तराज अधिकारीका अनुसार हिमालय पर्वत शृंखला बन्ने क्रममा इन्डियन प्लेट यूरेसियन प्लेटभित्र हरेक वर्ष करिब २ सेन्टिमिटरका दरले भित्र दबिरहेको छ। यसरी दुईवटा प्लेटबीच एकापसमा घर्षण उत्पन्न हुँदा शक्ति उत्पन्न हुन्छ र निश्चित समयपछि उक्त सञ्चित शक्ति बाहिर निस्कन्छ। त्यो शक्ति तरङ्गका रूपमा यात्रा गर्छ जसले पृथ्वीलाई कम्पन गराउँछ। भूकम्प त्यही कम्पनकै रूप हो। 

डोटी भूकम्प : अर्को चेतावनी  
भूकम्पको पूर्वानुमान गर्न नसकिए पनि पूर्वतयारी मार्फत भूकम्पबाट हुने क्षतिको न्यूनीकरण गर्न सकिने विज्ञहरू बताउँछन्। भूकम्पीय दृष्टिले संवेदनशील भएपनि भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि नेपालको पूर्वतयारी भने कमजोर छ। त्रिभुवन विश्वविद्यालय, भूगर्भ विभागका सह–प्राध्यापक रञ्जनकुमार दाहाल डोटीको भूकम्पले भौतिक संरचना बलियो बनाउन चेतावनी दिएको बताउँछन्। “डोटी भूकम्पले भूकम्प प्रतिरोधी संरचना बनाउन राम्रो चेतावनी दिएको छ। गाउँघरमा गरिबी छ। मानिसहरूले बलिया घर बनाउन सक्दैनन्। अब त्यहाँका स्थानीय सरकारले आफ्ना जनता जोगाउन भूकम्पलाई थेग्ने खालका घरहरू बनाउन पहल लिनुपर्छ,” उनी भन्छन्। 

भूकम्पविद् लोकविजय अधिकारी दुर्गम क्षेत्रमा गरिबीका कारण कच्चा र गुजारा गर्ने किसिमका मात्र घरहरू भएकाले नयाँ घरहरू भूकम्प प्रतिरोधी बनाउनुपर्नेबारे पनि नसोचिएको बताउँछन्। “अहिलेसम्म बनाएका घरहरूले त भूकम्प थेग्न सक्दैनन्। तर, अब बनाउने घरहरू कसरी भूकम्प प्रतिरोधी बनाउन सकिन्छ, त्यस बारेमा योजना बनाउनुपर्छ”, अधिकारीले भने, “स्थानीय सरकारले यसको योजना बनाएर कार्यान्वयन गराउन सक्छ।”


सम्बन्धित सामग्री