शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र ढुवानी शुरु गर्दै निर्वाचन आयोग

बिहीबार मनाङ र मुस्ताङका लागि आवश्यक मतपत्र हेलिकोप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको  आयोगले जनाएको छ।

तस्वीर : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो। 

बिहीबार मनाङ र मुस्ताङका लागि आवश्यक मतपत्र हेलिकोप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको  आयोगले जनाएको छ।

आयोगका अनुसार शुक्रबारदेखि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रदेश- १ को मतपत्र ढुवानी शुरु गरिँदै छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी भइसकेको छ।  

प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ। आयोगले अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी रहेको र शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने जनाएको छ। कात्तिक २५ गतेसम्म प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुग्ने आयोगको भनाइ छ।

सय मतदान केन्द्र अपाङ्गमैत्री
त्यस्तै, आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ। यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने आयोगले जनाएको छ।

चार वटा मतदान केन्द्र सारियो
आयोगले चार वटा मतदान केन्द्रलाई अस्थायी रूपमा सारेको छ। जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति मागबमोजिम चार वटा मतदान केन्द्र सारिएको आयोगले जनाएको छ। काठमाडौंका तीन वटा र डोल्पाको एउटा मतदान केन्द्र अस्थायी रूपमा सारिएको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४(३) बमोजिम अस्थायी रूपमा मतदान सार्ने निर्णय गरेको हो।