प्रत्यक्षतर्फ ४४ हजार मतपत्र छापियो

निर्वाचन आयोगले प्रत्यक्षतर्फ ४४ हजार मतपत्र छापिसकेको छ। समानुपातिकतर्फको मतपत्र छापेर २८ वटा जिल्लामा ढुवानी भइसकेको पनि आयोगले जनाएको छ।

निर्वाचन आयोग। तस्वीर-उकालो

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४४ लाख २१ हजार मतपत्र छापिसकेको जनाएको छ।

आयोगले प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र छापिसकेको जनाएको हो।

आयोगले प्रत्यक्षतर्फको मतपत्र असोज २७ गतेबाट छाप्न सुरु गरेको हो। प्रत्यक्षतर्फ उम्मेदवारको मात्र चुनावचिह्न रहने गरी मतपत्र छापिँदै छ। प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सकिएर ढुवानी भइरहेको छ। आयोगले चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ वटा जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी गरिसकेको जनाएको हो।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ २ करोड १ लाख ८४ हजार तथा प्रतिनिधिसभातर्फ २ करोड चार लाख मतपत्र छापिएको छ। आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको हो।