किन बनाइन्छ 'मान्नै नपर्ने' निर्वाचन आचारसंहिता?

आउँदो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले भोट बटुल्न 'अनेकौँ हतकण्डा' अपनाउँदा निर्वाचन आयोगले स्पष्टीकरण सोध्नेबाहेकका कारबाही गर्न सकेको छैन।

काठमाडौँ- आसन्न निर्वाचनको तयारीस्वरूप गत भदौ १३ बाट आयोगले निर्वाचन आचारसंहिता जारी गरेको थियो। त्यसपछि असोज २३ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले डडेल्धुराको एक सार्वजनिक कार्यक्रममा आम मतदातालाई ‘फ्री भिसा फ्री टिकट’ विदेश पठाइदिने आश्वासन दिएकी थिइन्।

गएको स्थानीय तहको चुनावमा पनि सुदूरपश्चिमका केही जिल्लामा भएका चुनावी कार्यक्रममा उनले यस्तै अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उनले नेपाली कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउनेसमेत बताएकी थिइन्।

यो निर्वाचनमा देउवा समानुपातिक उम्मेदवार छिन्। २०७४ सालको निर्वाचनमा उनी कैलाली–५ बाट पराजित भएकी थिइन्।

२०७४ सालको संसदीय निर्वाचनमा गरिएका बाचा र दिइएका आश्वासन अलपत्र रहँदा पनि ठूला दलका नेताहरूले सार्वजनिक कार्यक्रम र प्रचारप्रसारका नाममा मतदाता प्रभावित पार्न अनेकौँ तिकडम अपनाइ मत बढाउने भाषण दिइरहेका छन्। मत बटुल्न नेताहरू निर्वाचन आचारसंहितालाई बेवास्ता गर्दै हिँडेपछि आचारसंहिताको औचित्यमाथि प्रश्न उठ्न थालेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयन दर्ताका लागि असोज २३ मा आरजु डडेल्धुरा गएकी थिइन्। मनोनयन दर्तापछि आरजुले ४०० भन्दा बढी बेरोजगार युवाहरूलाई फ्री भिसा र फ्री टिकटमा विदेश पठाइदिने बताएकी थिइन्।

मतदाता प्रभावित हुने यस्ता कार्य निर्वाचन आचारसंहिता विपरीत छ। तर, आचारसंहिता विपरीत भएपनि उनलाई आयोगले स्पष्टीकरणसमेत सोधेन। सामाजिक सञ्जालमा भाइरल भएको आरजुको उक्त बयान 'नोटिसमै नआएको' निर्वाचन आयोगको भनाइ छ।

"आरजु देउवाको केस आयोगको नोटिसमा आएको छैन, आयोगले सो विषयमा अध्ययन गरिरहेको होला तर हालसम्म आरजु देउवाको केसबारे आयोगबाट कुनै निर्णय भएको छैन," निर्वचन आयोगका प्रवक्ता शालिग्राम शर्माले उकालोसँग भने।

यस्तै, कात्तिक २ गते रौतहट-१ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पनि आरजुकै शैलीमा निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी भाषण गरे। नेता नेपालले चुनावी सभालाई सम्बोधन गर्दै बेरोजगार युवाहरूलाई ‘फ्री भिसा फ्री टिकट’ मा विदेश पठाइदिने भाषण गरेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचनासमेत भएको थियो।

सामाजिक सञ्जालमा उनले गरेको भाषण भाइरल भएपछि निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरणसँगै अनुसन्धान गर्न प्रहरीलाई समेत आग्रह गरेको छ। 

आरजु देउवालाई स्पष्टीकरणसमेत नसोधेको आयोगले नेता नेपाललाई कारबाहीको प्रक्रिया अघि बढाएपछि आयोगको भूमिकामाथि सन्देह पैदा भएको छ।

त्यस्तै, अर्का समाजवादी नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले पनि देउवा र नेपालले जस्तै ‘फ्री भिसा फ्री टिकट’ को प्रलोभन देखाएका थिए। बारा क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका श्रेष्ठले पनि मतदाता प्रभावित गर्न गरेको भाषण सार्वजनिक भएपछि आयोगले उनलाई निर्वाचन अधिकृतको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनेको थियो  । 

आचारसंहिता कार्यान्वयनमा आयोग एकाएक निर्मम देखिएपछि नेकपा एसका महासचिव बेदुराम भुसालले भने आयोगले आचारसंहिताको नाममा प्रचारप्रसार गर्न नदिएको आरोप लगाए। "निर्वाचनमा उम्मेदवारी दिइसकेपछि नेताहरूले जनताहरूलाई म निर्वाचित भए यो काम गर्छु भनेर भन्न नपाउने हो?" भुसालले आयोगलाई प्रश्न गरे। त्यस्तै, उनले आयोग आचारसंहिताबारे आफैँ स्पष्ट नभएको जिकिर गरे। उनले भने, "प्रचारप्रसार गर्न नदिएर आयोगले आफैँ उल्लंघन गरिरहेको छ। आयोग आचारसंहिताबारे आफैँ स्पष्ट छैन, आफैँ अलमलिएको छ।"

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि मतदाता प्रभावित पार्न आचारसंहिता उल्लंघन गरेको आरोप छ। उनी यसपटकको निर्वाचनमा गोरखा-२ बाट उम्मेदवार बनेका छन्। उनले उम्मेदवारी दर्ताको क्रममा बाजागाजाको प्रयोग गरेको देखिएको छ। जुन निर्वाचन आचारसंहिता विपरीतको कार्य हो। उनलाई पनि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। आयोगले स्पष्टीकरण सोधेपछि प्रचण्डले "आयोगले मलाई माइक्रोस्कोप लगाएर हेरिरहेको छ" भन्दै गुनासो गरेका थिए।

आयोगले पूर्वघोषित रूपमा आचारसंहिता कार्यान्वयन गरिरहँदा पनि उम्मेदवारहरू किन टेरिरहेका छैनन् त? राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार राजनीतिक दलका नेताहरू आफूलाई दबंग साबित गर्न निर्वाचन आचारसंहिता उल्लंघन गर्न उद्यत छन्। "नेताहरू आचारसंहिता जानीजानी नै उल्लंघन गर्ने गरेका छन्। जसलाई आचारसंहिताको चेतना छैन उसले भूलवश गर्छन् तर जसलाई चेतना छ त्यो चैँ जानीजानी नै गरेको हो।" 

कतिपय उम्मेदवारले त उम्मेदवारी दिन जाँदा बन्दुकसमेत पड्काउने गरेको उनी सम्झिन्छन्।  उनले भने, "जानीजानी आचारसंहिता उल्लंघन गरेको त म आफैँ देखेको छु । कतिपय पूर्वमन्त्रीहरू त उम्मेदवारी दिन जाँदा बन्दुक पडकाँउथे, जुन गैरकानुनी हो।"

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवारी दिएका पुकार बम पनि चुनावी प्रचारप्रसारको क्रममा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ। बमलाई चुनावी प्रचारप्रसारका क्रममा आफू र आफूसँग रहेका मान्छेहरूले पुकार बम लेखिएको टिसर्ट लगाएर मतदाता प्रभावित गर्न खोजेको आरोप लागेको थियो।

त्यस्तै, बझाङ जिल्लाबाट प्रतिनिधिसभाको उम्मेदवारी दिएका नेकपा एमालेका ऐनबहादुर महरमाथि पनि निर्वाचन आचारसंहिता उल्लंघन आरोप छ। महरले आयोगको आचारसंहिता विपरीत जिल्लास्तरीय खेलकुद प्रतियोगितामा ४१ हजार नगद सहयोग गरेका थिए। निर्वाचन आचारसंहिता दफा १३ को खण्ड (झ)मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आर्थिक साहायता, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान गर्न, चन्दा, पुरस्कार, निर्वाचन वा बुथ खर्च दिन वा घोषणा गर्न नहुने’ व्यवस्था छ।

आचारसंहिता उल्लंघन गर्नेको सूचीमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि छन्। शर्माले झापाका आगलागी पीडितलाई पैसा बाडेका थिए। शर्माले आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेका थिए। उनी झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेदवार हुन्।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरि कुनै कार्य गर्न नहुने’ पनि उल्लेख छ।

आचारसंहिता उल्लंघन भइरहँदा पनि आयोगले स्पष्टीकरण सोध्नुबाहेक अरू कुनै कारबाही गर्न सकेको छैन। यद्यपि, आयोगसँग आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने अधिकार भने छ। कानुनको सर्टेन प्रक्रियालाई ध्यानमा राखेर मात्र आयोगले थप कारबाहीको प्रक्रिया अगाडी बढाउन सक्ने निर्वाचन आयोगका प्रवक्ता शर्मा बताउँछन्। "आचारसंहिता उल्लंघन गर्नेलाई पनि सफाइको मौका दिनुपर्ने भएकोले आयोग त्यसमा थप अनुसन्धान गरिरहेको छ", प्रवक्ता शर्माले भने, "यदि सम्बन्धित मान्छेबाट कुनै जवाफ आएन र गल्ती पुष्टि भएको देखियो भने आयोगले थप कारबाहीको प्रक्रिया अगाडी बढाउँछ।"  
 
यस्तो छ आयोगले जारी गरेको निर्वाचन आचारसंहिताः