नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डुआना लामाले ९ स्वर्ण र १ कास्यसहित १० पदक जितेर कीर्तिमान कायम गरेकी छन्। यो प्रतियोगितामा गौरिकाले भने ५ स्वर्ण र १ रजतसहित ६ पदकमा चित्त बुझाइन्।
कास्की- करिब ३ वर्षसम्म महिला पौडीको कथा फरक थियो। हरेक बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता र स्पर्धामा एकै 'पौडीबाज'को नाम चम्किन्थ्यो। उमेरले १६ वर्ष टेकेकी एक किशोरीले नेपालको पौडी पोखरीमा हरेक दिनजसो नयाँ-नयाँ कीर्तिमान बनाउँथिन्। पदक र गतिमा भेटाउनु त कता हो कता अन्य खेलाडी त उनको आसपास नै पुग्दैनन् थिए। धेरैले भन्थे- उनीजस्तो पौडीबाज नेपालमा कमै जन्मिन्छन्। उनी अर्थात् गौरिका सिंह।
बेलायतमा बसेर पौडी अभ्यास गरिरहेकी गौरिकाले नेपालगञ्जमा आयोजना भएको आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीबाट सहभागिता जनाउँदै १० व्यक्तिगत र दुई टिम इभेन्ट गरी १२ स्वर्ण जित्दै सनसनी मच्चाएकी थिइन्।
अर्को संयोग के भने राष्ट्रिय खेलकुदमा एकै खेलाडीले एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने पौडीकै करिष्मा कार्कीको कीर्तिमाननजिक थिइन्, गौरिका। सिन्धुपाल्चोक लामेसाँधुकी कार्कीले काठमाडौँमा आयोजना भएको पाँचौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ सर्वाधिक १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी थिइन्। छरितो र फुर्तिलो शरीर भएकी गौरिकाले पनि आठौं राष्ट्रिय खेलकुदमै समग्रमा १२ स्वर्ण जितेर उनको कीर्तिमान भंग गर्ने छाँटकाँट देखाइसकेकी थिइन्।
गौरिकाले करिष्माको उक्त कीर्तिमान पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहजै ‘ब्रेक’ गर्ने धेरैको आकलन थियो। गौरिकाले पनि प्राय: सबै इभेन्ट्समा सहभागिता जनाउन नाम टिपाएकी थिइन्। तर, भइदियो ठीक उल्टो। ‘सर्ट ब्रेक’मा बेलायतबाट पोखरा उत्रिएकी गौरिकाले कीर्तिमान भंग गर्नु त कता हो कता करिष्माको कीर्तिमाननजिक पनि पुग्न सकिनन्।
मंगलबार अन्तिम दिन पोखरामा रहेको फिस्टेल एकेडेमीको (सर्ट कोर्स) स्विमिङ पुलमा विभागीय टोली त्रिभुवन आर्मीकी डुआना लामाले ९ स्वर्ण र १ कास्यसहित १० पदक जितिन्। एनआरएनएबाट सहभागिता जनाएकी एस्लि सापकोटा डंगोलले ६ स्वर्ण र २ रजतसहित ८ पदक जित्दा आर्मीकी गौरिकाले ५ स्वर्ण र १ रजतसहित ६ पदकमा चित्त बुझाइन्।

पौडी प्रशिक्षक शंकर कार्की यस प्रतियोगितामा गौरिकाको खेल निकै खस्किएको स्वीकार गर्छन्। गौरिकाका प्रशिक्षकसमेत रहिसकेका कार्की उनमा यस प्रतियोगितको लागि हुनुपर्ने पर्याप्त तयारी नै नभएको तर्क गर्छन्। "एक पौडीबाजको प्रतियोगिताको बेला जस्तो शरीर हुनुपर्ने थियो, त्यो थिएन। उनको शरीर भद्दा र फिट नभएको देखियो। उनी प्रतियोगिताको लागि तयार नै थिइनन्," उनले उकालोसँग भने।
परिवारिक स्रोतका अनुसार गौरिका ‘सर्ट ब्रेक’मा रहेको कारण नवौं खेलकुदको लागि भनेर कुनै प्रशिक्षण नै गरेकी थिइनन्। यो प्रतियोगितालाई चीनमा अर्को वर्ष आयोजना हुने एसियाली खेलकुद (एसियाड)मा सहभागिता जनाउने खेलाडीको छनोटको रूपमा समेत लिइएको कारण उनी बाध्यताबस पोखरा झरेकी थिइन्।
गौरिकाले केही स्पर्धाबाट नाम फिर्ता लिएर आफूले जित्ने इभेन्ट्समा मात्रै सहभागिता जनाइन्। उनले अस्वस्थताको कारण देखाउँदै १०० मिटर ‘फ्री स्टाइल’ र २०० मिटर ‘ब्याक स्ट्रोकको इभेन्ट्समा सहभागिता जनाइनन्। यद्यपि, गौरिका महिलातर्फ १०० मिटर ‘फ्री स्टाइल’ र २०० मिटर ‘ब्याक स्ट्रोक’को फाइनल चरणमा पुगेकी थिइन्।
तर, राष्ट्रिय कीर्तिमान र स्वर्णभन्दा पनि खेल्न पाउनु नै खुशीको कुरा भएको बताउँछिन्, गौरिका। "बिरामी थिएँ। गाह्रो भयो तर आर्मीको प्रतिनिधित्व गरेर खेल्न पाउनु नै मेरो लागि खुशीको कुरा हो," उनले भनिन्।
५/६ वर्षको अवधिमा नेपाली पौडीमा गौरिकाले बनाएको कीर्तिमान यस पटक तोडिएका छन्। गौरिकाले यसलाई नेपालको पौडीमा भएको विकाशको रूपमा लिएकी छन्। "नेपालमा स्विमिङ झनझन् राम्रो हुँदै गएको देख्दा खुशी लागेको छ। अहिले धेरै नयाँ खेलाडी आएका छन्, सबै खेलाडी राम्रा छन्। प्रतिस्पर्धा बढेको छ," उनले भनिन्।

डुआनाको उदय
गौरिकाको खेल खस्किँदा त्यसको फाइदा आर्मीकै अर्की खेलाडी डुआनाले उठाइन्। कुनै बेला गौरिकासँगै अभ्यास गरेकी १६ वर्षीय डुआनाले ६ व्यक्तिगत र ३ टिम स्पर्धामा स्वर्ण जितिन्। यस्तै, उनको नाममा एक कास्य पनि रह्यो।
उनले धेरै स्पर्धामा आफ्नै कीर्तिमान सुधार गरिन् भने २ सय मिटर व्यक्तिगत मिड्लेमा गौरिकाले आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा बनाएको २ मिनेट ६.३२ सेकेन्डको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भइन्। डुआनाले निर्धारित दूरी २ मिनेट ३०.६७ सेकेन्डमा पूरा गरिन्।
"हामी सानैदेखि सँगै खेलेका हौँ। उनको नाममा सबै कीर्तिमान थियो। त्यो कीर्तिमान तोड्छु भनेर सोचेकी पनि थिइनँ। तर, ममा राम्रो गर्छु भन्ने चाहिँ थियो," डुआना भन्छिन्।
डुआनाले आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाएकी थिइन्। उनले उक्त प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमानसहित ५ स्वर्ण जितेकी थिइन्।
हाल थाइल्यान्डमा बसेर अभ्यास गर्दै आएकी डुआनाको त्यसयता भने प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको पौडीका पूर्वमुख्य प्रशिक्षक तथा राष्ट्रिय खेलाडी ईश्वर कार्की बताउँछन्।
"उनी र एलेक्स शाह अहिले थाइल्यान्डमा बसेर अभ्यास गर्दै आएका छन्। बाहिर बसेर सिक्दा उनीहरूले खेलमा सुधार पनि गरेका छन्। यसले नेपाली पौडीमा प्रतिस्पर्धा बढाएको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पदक मिल्ने आशा पनि जताएको छ," उनी भन्छन्।
डुआनाले सन् २०१८मा १२ वर्षको उमेरमा सिंगापुरमा भएको फिना पौडी विश्वकपमा महिला ५० मिटर ‘ब्रेस्ट स्ट्रोक’मा ३५.८२ सेकेन्ड र १ सय मिटर ‘ब्रेस्ट स्ट्रोक’मा १ मिनेट १६.९९ सेकेन्ड राष्ट्रिय कीतिमान बनाएकी थिइन्। त्यसपछि उनले फिना विश्व जुनियर च्याम्पियनसिपसहित थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
