दशैँघरमा राखियो जमरा

नवरात्रको पहिलो दिन सोमबार हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ।

तस्वीर : उकालो

काठमाडौँ- काठमाडौँको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत् रूपमा जमरा राखिएको छ। सोमबारबाट विधिवत रूपमा शुरु भएको नवरात्रको पहिलो दिन सोमबार घर-घरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिएको हो।



हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०:२३ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ।



दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घर-घरमा जमरा राख्ने प्रचलन छ। सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ।



घटस्थापना गर्दा पूजाकोठा वा दशैँघरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ। नवरात्रिभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।



नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ।



जमरा राखेपछि हनुमान ढोका दरबारका पूजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताए। उनका अनुसार विशेषतः जमरा जौ को राख्ने गरिन्छ। तर, आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ।