Monday, May 06, 2024

-->

पुरातत्त्वको प्रारम्भिक निष्कर्ष : टुकुचाको सुरुङ संरचना वीरशमशेरकै पालाको

पुरातत्त्व विभागले बनाएको अध्ययन समितिले टुकुचा खोलामा वीरशमशेरको शासनकालमै सुरुङ बनेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

पुरातत्त्वको प्रारम्भिक निष्कर्ष  टुकुचाको सुरुङ संरचना वीरशमशेरकै पालाको

काठमाडौँ- पुरातत्त्व विभागले टुकुचा खोलामा वीरशमशेरको शासनकालमै सुरुङ बनेको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले बनाएको अध्ययन समितिका प्रमुख तथा पुरातत्त्वविद् भास्कर ज्ञवालीले आफूहरूको प्रारम्भिक अध्ययनले उक्त संरचना वीर शमशेरको शासनकालमा बनेको निष्कर्ष निकालेको बताए।



मंगलबार विभागले खठाएको अध्ययन टोलीले जयनेपाल हलदेखि हात्तीसार क्षेत्रमा अध्ययन गरेको थियो। अध्ययनका क्रममा श्री ३ वीरशमशेर लेखिएको इँटा फेला पारेको छ।



यद्यपि, ती इँटा गुम्बज शैलीमा बनेको सुरुङका नभई त्यसमाथि छोप्न बनाएको संरचनामा भेटिएको ज्ञवालीले बताए। सुरुङका लागि प्रयोग भएको इँटा भने ‘मआपा’ इँटा हो, जुन मल्लकालीन समयमा बढी प्रयोग हुने गरेको थियो।

यसले टुकुचा राणाकालीन समयमै सुरुङ संरचनामा ल्याई व्यवस्थित बनाइएको हुनसक्ने अनुमान अध्ययन टोलीको छ।



त्यस्तै, सुरुङ निमार्णमा सुर्कीको प्रयोग भएको छ। सुर्कीको प्रयोग अधिक रूपमा राणाकालमा भएको थियो। टुकुचामाथि बनेको गुम्बज शैलीको संरचना र सुर्कीको प्रयोग गरिएअनुसार वीरशमशेरको पालामै बनेको हुनसक्ने विभागको प्रारम्भिक निष्कर्ष छ।



"सम्भवतः टुकुचामा सुरुङ वीर शमशेरकै पालाका बनेको थियो। किनकि राणा शासनमा यस्ता जलस्रोत क्षेत्र अतिक्रमणमा परेका थिए," उनले भने, "यसबाहेक अन्य कुनै पनि ऐतिहासिक शिलालेख अथवा प्रमाण भेटिएको छैन।"



सामाजिक सञ्जालमा भाइरल भएको टुकुचासम्बन्धी ऐतिहासिक कागजातको पनि विज्ञबाट अध्ययन भइरहेको उनले बताए। "हाल भेटिएका तथ्य-प्रमाणलाई आधार बनाइ अध्ययनलाई निरन्तरता दिने भएका छौँ। पूर्ण प्रतिवेदन आउन केही समय लाग्छ," ज्ञवालीले भने।



भत्किएका संचरनालाई पुनर्निर्माण गर्न सकिन्छ 

काठमाडौँ महानगरपालिकाले टुकुचा उत्खननका लागि गत बिहीबार पहिलो दिन जयनेपाल हल परिसरमा डोजर चलाएको थियो। डोजर चलाउँदा गुम्बज शैलीमा बनेको सुरुङमा केही क्षतिग्रस्त पुगेको छ। 



नेपालको प्राचीन स्मारक ऐन-२०१३ ले सय वर्ष पुराना संरचनालाई पुरातात्त्विक महत्त्वको सूचीमा राख्ने गरेको छ। यद्यपि, यसमा आतिनु पर्ने अवस्था नरहेको ज्ञवाली बताउँछन्। उक्त संरचनालाई पुनः पुरानै स्वरूपमा ल्याउन सकिने उनको आशय थियो।



पुरातात्त्विक सम्पदाका विषयमा महानगर तथा अन्य सम्बन्धित निकायले पुरातत्त्वविज्ञ टोलीसँग समन्वय र सल्लाह गरेर उत्खननजस्ता कार्य गर्दा उचित हुने उनको भनाइ छ।



सम्बन्धित सामग्री