सञ्चालन भएको दुई दशकपछि हिले–खाल्सा सडक कालोपत्रे

धनकुटा सहिदभूमिको खाल्सा क्षेत्रमा २०५८ सालदेखि सञ्चालनमा आएको सडककाे १० किमी कालाेपत्रे गर्ने कार्य ७० प्रतिशत सकिएकाे छ।

तस्वीर : रासस

धनकुटा– शिलान्यास भएको २१ वर्षपछि धनकुटा सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्रे भइरहेको छ। उक्त सडक २०५८ सालदेखि सञ्चालनमा आएको थियो। 

सडकले सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङलाई जोड्छ। प्रदेश १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजार लागतमा कालोपत्रे हुन लागेको हो।

मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को पहिलो चरणमा व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी कालोपत्रे भइरहेको छ। रायमाझी आजद जेभी काठमाडौँले २०२३ मार्च २२ मा सक्नेगरी ठेक्का लिएको छ। हालसम्म ७० प्रतिशत काम पूरा भएको निर्माण कम्पनिका प्रमुख प्रेम मगरले बताए। 

यो सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरीसँग जोड्ने छ। सडक निर्माण सकिएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने पालिका अध्यक्ष मनोज राईले जानकारी दिए।

सडक कालाेपत्रे भएपछि गाउँमा उत्पादित कृषि उपज बजार लान विशेष सहयोग पुग्ने उनको भनाइ छ।