नेप्से १६.६५ अंकले बढ्यो, १ अर्ब ३६ करोडको कारोबार

सोमबार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ– साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। सोमबार नेप्से परिसूचक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.५७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२९ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकमसमेत बढेको छ। आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमा बैंकिङ उपसमूह बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। जसमा सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ६.१४ प्रतिशतले बढेको छ। अन्य बाँकी उपसमूहको १ प्रतिशतभन्दा बढीले बढेको छ भने बैंकिङ उपसमूहको ०.५८ प्रतिशतले घटेको छ।

सोमबार सिवाइसी लघुवित्त र समिट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ। 

यता, मैलुङ्ग खोला हाइड्रोपावरको सेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशतले घटेको छ। आज नबिल बैंकको २१ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।