पर्यटन भिसामा इथियोपिया प्रवेश गर्ने नेपालीको संख्या वार्षिक हजार हाराहारी हुन्थ्यो। ‘तल्लो बाटो’ अमेरिका हिँडेका नेपाली त्यहाँबाट दक्षिण अमेरिका पुग्थे, तर अहिले इथियोपियाले भिसा दिनै रोकेको छ।
काठमाडौँ– इथियोपिया, गृहयुद्धले तहसनहस भएको गरिबमध्येको अफ्रिकी मुलुक। यस्तो पीडाबाट भर्खर–भर्खर तंग्रिन प्रयत्न गरिरहेको त्यही मुलुकले नेपालीलाई भिसा दिन बन्द गरेको छ। नेपाली कुटनीतिक वृत्तमा अहिले ‘इथियोपियाले पनि नेपाललाई पत्याएन, भिसा दिएन’ भन्ने गुनासो व्याप्त छ।
के अफ्रिकी देश इथियोपियाले पनि नेपालीलाई भिसा दिन रोकेकै हो? यदि हो भने, किन नदिएको हो, साँच्चिकै नपत्याएकै हो त?
कुनै बेला विश्वकै गरिब देश भनेर चिनिने इथियोपिया बेलाबेला गृहयुद्धको चपेटामा पर्ने गरेको छ। पछिल्लो समय दुई वर्ष चलेको टाइग्रे युद्ध २०२२ नोभेम्बरमा शान्ति सम्झौता भएर टुंगियो। अहिले छिटपुट संघर्षबाहेक ठूलो युद्ध छैन। इथियोपिया अहिले आर्थिक उन्नतिको पथमा बढिरहेको छ।
तर मानवतस्कर तथा दलालहरूले अमेरिकी महाद्वीप प्रवेशका लागि इथियोपियालाई प्रयोग गर्दै आएका छन्। ‘तल्लो बाटो’ भएर अमेरिका जाने सपना बोकेर नेपालीहरू पनि केही समय अघिसम्म यही देश छिर्ने गर्थे।
आफ्नो देश ‘मानवतस्करी मार्ग’ बन्न थालेपछि युरोपेली युनियन र संयुक्त राष्ट्रसंघबाट सहयोगका लागि ‘डिल’ गर्न इथियोपियालाई अप्ठ्यारो पर्यो। त्यसैले अहिले आफ्नो आप्रवासन नीतिमै कडाइ गरेको छ।
इजिप्टको कायरोस्थित नेपाली दूतावासले इथियोपिया पनि हेर्छ। राजदूत सुशीलकुमार लम्सालका अनुसार नेपालीलाई सहजै ई–भिसा दिने इथियोपियाले केही महिनायता रोकेको छ। तर कुनै औपचारिक निर्णय गरेर रोकेको होइन।
“अर्को देशलाई हामीले भिसा दिन किन रोक्यौ भन्ने अधिकार भएन, उनीहरूको इच्छाको कुरा हो। तर हामीले औपचारिक रूपमा भिसालाई सहज बनाइदिनू भनेर आग्रह चाहिँ गरिरहेका छौँ,” उनी भन्छन्।
लम्सालका अनुसार इथियोपियामा जम्मा डेढ–दुई सयको संख्यामा नेपाली छन्। तीमध्ये १५–२० जना व्यावसायिक क्षेत्रमा र बाँकी कूटनीतिक तथा अन्तर्राष्ट्रिय संघसंस्थामा संलग्न छन्।
वैदेशिक रोजगारीका लागि संस्थागत (म्यानपावर कम्पनी) मार्फत त्यहाँ पठाउन नेपाल सरकारले खुला गरेको छैन। तर व्यक्तिगत तवरमा श्रम स्वीकृति लिएर वार्षिक दुईचार जना जाने गरेको विभागको तथ्यांकले देखाउँछ।
त्यसबाहेक ‘तल्लो बाटो’ अमेरिका जाने उद्देश्यले पर्यटन भिसामा इथियोपिया प्रवेश गर्ने नेपालीको संख्या वार्षिक हजारको हाराहारीमा हुन्थ्यो। अहिले भिसा नै नपाइने भएपछि त्यो संख्या ह्वात्तै घटेको छ।
तल्लो बाटो अमेरिका हिँडेका नेपाली भिजिट भिसामा यूएई हुँदै इथियोपिया पुगेर त्यहाँ एजेन्टमार्फत ल्याटिन अमेरिका पस्थे। इथियोपियाले भिसा रोकेपछि यसरी प्रवेश गर्नेहरू पनि रोकिएको लम्साल बताउँछन्। “तर यसको असर काम विशेषले इथियोपिया आउने नेपालीलाई परेको छ, कूटनीतिक र व्यावसायिक क्षेत्रमा संलग्न उहाँहरूले आफ्नो परिवारसमेत भेट्न पाउनु भएको छैन,” उनी भन्छन्।
अन्तर्राष्ट्रिय संस्थामा कार्यरत एक जना नेपालीले आफ्नो परिवारलाई छिमेकी देश केन्यामा बोलाई त्यहीँ भेटे। त्यहीँबाट परिवारलाई नेपाल फर्काएर आफू इथियोपिया आएको उनले सुनाए।
नेपालीहरूले अमेरिका प्रवेशका लागि इथियोपियाको बाटो मात्रै प्रयोग गर्दैनन्। त्यहाँ पुगेर अमेरिका जाने टुंगो नलागेसम्म इथियोपियामै बस्न दलाललाई पैसा तिरेर फर्जी स्वीकृति बनाउँछन्।
फर्जी कागज बनाएर अवैधानिक ढंगले बसेको स्थानीय प्रहरीले थाहा पाएपछि केही व्यक्ति पक्राउ परेका थिए। यस्तै, कतिपय भिसाको म्याद लिएको भन्दा बढी समय बसेका कारण (ओभरस्टे) कारबाहीमा परेका थिए।
राजदूत लम्सालका अनुसार त्यसरी अवैधानिक भएकाहरू नेपाल फर्किन जरिबाना तिर्नु पर्छ, नत्र जेलसजाय भोग्नु पर्छ। सन् २०२३ मा ५–७ जना नेपाली जेलमै परेका थिए। पछि उनीहरू जरिबाना बुझाएर छुटे।
अमेरिका जान पाउने प्रलोभनमा परेर यसरी धेरै नेपाली इथियोपियामा फस्ने गरेका थिए। २०–२५ जनाले त इजिप्टमा रहेको नेपाली दूतावासमै सम्पर्क गरेका थिए। तीमध्ये कतिले जरिबाना मिलाउन त कतिले राहदानी नवीकरणलगायत कामका लागि सम्पर्क गरेको राजदूत लम्साल सम्झन्छन्।
उनका अनुसार इथियोपियाले प्रशासनिक जरिबाना भनेर ओभरस्टेको दुई हजार डलर तोकेको छ। प्रत्येक दिन १० डलर थपिन्छ। एक्जिट भिसाका लागि १०० डलर लाग्छ। कोही एक वर्ष पनि ओभरस्टे भएका थिए। त्यसरी पाँच हजार डलर जरिबाना तिरेर पनि इथियोपियाबाट नेपाल फर्केका छन्।
अमेरिकाको लागि मात्रै नभएर घरेलु काममा लगाइदिने भन्दै एजेन्टले नेपाली महिलालाई भारतको बाटो हुँदै इथियोपिया लैजाने गरेका थिए। मध्यपूर्वसहित अफ्रिका–युरोपलगायत विभिन्न देशमा घरेलु कामदारमा लगाउन उनीहरूले इथियोपियालाई ट्रान्जिट बनाउँथे।
नेपाल सरकारले घरेलु महिला कामदारका रूपमा मध्यपूर्वमा पठाउन रोक लगाएपछि एजेन्टहरूले भारतको बाटो हुँदै इथियोपियालगायत देशको प्रयोग गरेका थिए। २०२३ जनवरीमा भारतको जयपुर अन्तर्राष्ट्रिय विमास्थल प्रयोग गरी एजेन्टले इथियोपिया हुँदै दुबई लैजान लागेका १२ नेपाली महिलालाई नयाँ दिल्लीस्थित नेपाली दूतावासको आग्रहमा त्यहाँको प्रहरीले उद्धार गरेको थियो।
राजदूत लम्सालका अनुसार इथियोपियाले नेपालीलाई भिसा दिन कडाइ गर्नुका पछाडि नेपालीहरूका यस्तै गतिविधि पनि कारक बनेका हुन सक्छन्।
किन गुम्दै छ विश्वास?
विश्वभरको पासपोर्ट वरीयता सूचीमा नेपाली राहदानी विश्वकै कमजोरमध्ये पर्छ। पासपोर्ट वरीयता तयार पार्ने हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार सन् २०२४ मा नेपाली पासपोर्ट इथियोपियाको भन्दा कमजोर छ। विश्वकै कमजोरमध्ये सातौँ स्थानमा छ।
इथियोपियाले ४६ स्कोरसहित ९४औँ वरीयता प्राप्त गर्दा नेपाल ३९ स्कोरसहित १०१ वरीयतामा छ। इथियोपियासहित प्यालेस्टाइन, उत्तर कोरिया, लिबियालगायत देशको पासपोर्ट वरीयता नेपालको भन्दा बलियो छ।
यस सूचीमा सबैभन्दा बलियो सिंगापुर छ। त्यसपछि फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, जापानलगायत छन्। छिमेकी देश भारत ५८ स्कोरसहित ८४औँ वरीयतामा छ। भुटान ५२ स्कोरसहित ९०औँ वरीयतामा छ।
वैदेशिक मामिलाका जानकार तथा कूटनीतिज्ञ निश्चलनाथ पाण्डे पासपोर्टको अन्तर्राष्ट्रिय वरीयताले पनि त्यो देशका नागरिकलाई अन्य देशले भिसा दिने व्यवहारमा फरक पर्ने बताउँछन्। नेपालको पासपोर्ट धेरै कमजोर भएकाले विश्वको जुनसुकै देशले हेप्ने उनको तर्क छ।
“इथियोपियाले समेत नेपालीलाई भिसा नदिनु राष्ट्रिय लज्जाकै विषय हो,” उनी भन्छन्, “बलियो पासपोर्ट भएको देशले कमजोर पासपोर्ट भएको देशलाई कतै न कतै भिसा प्रवाहमा हाबी भएको देखिन्छ, कतिपय अवस्थामा हाम्रै कूटनीतिक पहल पनि नपुगेको होला।”
इथियोपियाले नेपाललाई ई–भिसा दिन्थ्यो। यो ‘अन–अराइभल’ जस्तै हो। अन–अराइभल भिसा भनेको कुनै देशको विमानस्थलमा प्रवेश गरिसकेपछि प्राप्त गरिने भिसा हो, शुरूमै भिसा लिइरहन आवश्यक पर्दैन।
अहिले नेपालले इथियोपियासहित नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया गरी १२ देशका नागरिक (राहदानीवाहक)लाई अन–अराइभल भिसा दिँदैन। यीबाहेक विश्वका जुनसुकै देशका राहदानीवाहकले नेपालमा अन–अराइभल भिसा पाउँछन्।
यस्तै, नेपाललाई २२ देशले मात्र अन अराइभल भिसा दिन्छन्। नेपालीहरू पर्यटन तथा रोजगारका लागि धेरै जाने देश थाइल्यान्ड, यूएई, मलेसियामै पनि अन–अराइभल भिसा नदिनु दुःखद कुरा भएको कूटनीतिज्ञ निश्चलनाथ पाण्डे बताउँछन्।
“कुनै समय जर्मनीमा पनि अन–अराइभल जान सकिन्थ्यो, म आफै गएको छु। तर अहिले भुटानलाई अन–अराइभल दिने देशले पनि नेपाललाई दिएका छैनन्,” उनी भन्छन्।
भिसा प्रवाह गर्ने अधिकार सम्बिन्धित देशको हुन्छ। तर विभिन्न सूचक र देशको अवस्थाले पनि भिसा प्रवाह नीति निर्धारण गर्छ। युरोपेली युनियले नेपाली वायु सेवालाई कालो सूचीमा राखेदेखि नेपाली राहदानी झन् खस्किएको पाण्डे बताउँछन्।
यस्तै, नेपाली नागरिक आफैले पनि भिसाको दुरूपयोग गर्ने, भिजिट तथा पर्यटन भिसा बोकेर रोजगारी गर्ने, ओभरस्टे गर्ने गरेका छन्। पाण्डे भन्छन्, “यसरी हामी नेपालीले नै अन्तर्राष्ट्रिय तहमा आफ्नो छवि घटाएका छौँ, कुनै देशले हामीलाई दिने भिसामा पनि त्यसकै रिफ्लेक्सन देखिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
