फिल्म साउथ एशिया: ‘देवी’ र ‘चड्दी कला’ले पाए जुरी अवार्ड

भारतका चर्चित फिल्मकर्मी आनन्द पटबर्द्धनको फिल्म ‘द वर्ल्ड इज फ्याम्ली’ले डकुमेन्ट्री स्टलवार्ट अवार्ड जित्न सफल भयो।

काठमाडौँ– फिल्म साउथ एशियाको १४ औँ संस्करण ललितपुरको पाटनमा आइतबार सम्पन्न भएको छ। 

नौ देशका ४७ फिल्मको प्रतिस्पर्धा रहेको फेस्टिभलमा रामबहादुर ट्रफी फर बेस्ट फिल्म ‘सिक्स–ए आकाश गंगा’ले प्राप्त गरेको छ। प्रसिद्ध संगीतकार रविशंकरकी श्रीमती अन्नपूर्णादेवी, जो आफैमा एक संगीतकार थिइन्, उनको जीवनीमा आधारित यस फिल्मको निर्देशन निर्मल चन्देर धन्द्रियालले गरेका हुन्। यो फिल्म साउथ एशियाको महत्वपूर्ण विधा मानिन्छ।  

फिल्म साउथ एशियामा अन्य पाँच अवार्ड छन्। फजाद नबी, अनिता पोट्टाकुलम र किरणकुमार श्रेष्ठ जुरीका रूपमा रहेका थिए। नेपालबाट सुबिना श्रेष्ठ निर्देशित ‘देवी’ र प्रतिक शेखरको ‘चड्दी कला’ले संयुक्त रूपमा जुरी अवार्ड प्राप्त गरेका छन्। 

त्यस्तै, बेस्ट स्टुडेन्ट डकुमेन्टी अवार्ड भारतकी समिक्षा माथुरको ‘हेलो गाइज’ले प्राप्त गरेको छ। द तारिख मसुद बेस्ट डेब्यु फिल्म अवार्ड मन्तहा अमिनको ‘सिज इन द एयर’ फिल्मले पाएको छ। बेस्ट फिल्म अन एन्थ्रोपोसिन एन्ड क्लाइमेट क्राइसिस विधातर्फ ‘अ फ्लेमिङ फरेस्ट’ सम्मानित भएको छ। फिल्मलाई सलमान जावेद, विवेकसिंह सन्वान र सत्या आम्बस्ताले निर्देशन गरेका हुन्।

फिल्म साउथ एशियामा यसपटक थपिएको नयाँ विधा हो, ‘डकुमेन्टी स्टलवार्ट अवार्ड’। यो अवार्ड आनन्द पटबर्द्धनको फिल्म ‘द वर्ल्ड इज फ्याम्ली’ले पाएको छ।

हरेक दुई वर्षमा हुने फिल्म साउथ एशिया मंसिर ७ देखि ९ गतेसम्म सञ्चालन भएको थियो।