चिनियाँ कम्युनिष्ट पार्टीभित्रका केही गुटका कारण पछिल्लो समय ताइवान–चीनबीच सञ्चार कठिन बनेको ताइवानी विदेशमन्त्री जोसेप वुले बताएका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्न खोजेको बताए।
चीनले भविष्यमा ताइवानमाथि आक्रमण गर्ने आधार तयार गरिरहेको ताइवानी विदेशमन्त्री जोसेप वुले बताएका छन्। ताइवानमा सैन्य, आर्थिक, कूटनीतिक दबाब बढाएको चीनले यसवर्ष मात्रै अहिलेसम्मकै उच्च सैन्य खतरा र अतिक्रमण बढाएको उनले बताए।
चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकाल पनि चीनको नेतृत्वमै रहने भएपछि ताइवान र चीनबीचको सञ्चारसमेत पातलिँदै जानसक्ने विदेशमन्त्री वुको आशंका छ। द गार्डियनसँगको अन्तर्वार्ताका क्रममा ताइवानी विदेशमन्त्री वुले चिनियाँ सैन्य खतरा अहिलेसम्मकै गम्भीर अवस्थामा पुगेको बताए।
चीनले सीमा क्षेत्रमा सन् २०२० यता ताइवानको सुरक्षा क्षेत्रमा अतिक्रमणका लागि पाँच गुणा बढी लडाकु विमान तैनाथ गरेको वुले उल्लेख गरे। सन् २०२० मा ३८० वटा लडाकु विमान त्यस क्षेत्रमा रहेकोमा यसवर्ष १५ सय नाघेको उनले बताए। त्यहाँ दुर्घटनाको खतरा बढेको र यस्तो भए तनाव बढ्ने उनको भनाई छ।
ताइवानकी राष्ट्रपति साई इन–वेन सन् २०१६ मा निर्वाचित भए लगत्तै चीनले ताइवानसँगको आधिकारिक सञ्चार पूर्ण रूपमा काटेका थियो। यसअघि ताइवानी व्यापारी तथा केही बौद्धिक वर्गहरूमार्फत चिनियाँ पक्षसँग राम्रो सम्बन्ध राख्न कायम हुँदै आएको तर अब २० औँ चिनियाँ पार्टी महाधिवेशनपछि राष्ट्रपति सी तेस्रो कार्यकालका लागि पनि पदमै रहने र पार्टीभित्र नेताहरूको पदमा समेत व्यापक हेरफेर भएकाले अब त्यो ढोका पनि बन्द भएको विदेशमन्त्री वुले बताए।
“किनकि चिनियाँ सरकार प्रणाली निरंकुश बनिरहेको छ। पुराना दिनजस्तो समय छैन अहिले। त्यतिबेला बौद्धिक संस्था/वर्ग चिनियाँ केन्द्रीय सरकारसँग निरन्तर सम्पर्कमा रहन्थे र सुझावहरू लेखेर पठाउँथे। महत्त्वपूर्ण निर्णयकर्ता र प्रमुख नेताहरूको सोचाई के छ भन्ने कुराबारे हामीलाई जानकारी हुन्थ्यो”, उनी भन्छन्, “पछिल्ला केही वर्षमा चिनियाँ बौद्धिक क्षेत्र पनि चिनियाँ प्रोपोगन्डा बाहेक नयाँ कुरा भन्न डराउँछन्। उनीहरूलाई केन्द्रीय सरकारको सम्पर्कमा नरहेको कुरा हामीलाई प्रष्ट रूपमै भनेका छन्। चिनियाँ कर्मचारीतन्त्रसँग सम्पर्कमा रहेपनि चिनियाँ कर्मचारीतन्त्रले चीनको उच्च तहका नेताहरूलाई विश्वास गर्दैन।”
चीनले ताइवानलाई आफ्नो भूमिमा गाभ्ने खतरा बढेपछि ताइवान सरकारले पछिल्लो केही वर्षयता लोकतन्त्रमा समान विचारधारा राख्ने मुलुकहरूको अन्तर्राष्ट्रिय समर्थन जुटाउन लागि परेको छ।
विदेशमन्त्री वुका अनुसार अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले गरेको सैन्य अभ्यास ताइवानमा चिनियाँ सेना अहिले वा पछि पठाउँछौँ भन्ने संकेत हो। उनी भन्छन्, “पेलोसीको भ्रमणमा चीन यति आक्रामक बन्नसक्छ भने ताइवानलाई समर्थन गर्ने अन्य मुलुकहरूमा पनि यो लागू हुनसक्छ। यसले ताइवानलाई वास्तविक समर्थन भन्दा पनि ताइवानको राष्ट्रिय स्वार्थमा क्षति बढी पुर्याउँछ।”
ताइवानलाई समर्थन गर्ने कुनै पनि कार्यलाई बेइजिङले बारम्बार आक्रोशपूर्ण प्रतिक्रिया दिँदै आएको छ। चीनले यस्ता मुलुकहरूको द्विपक्षीय व्यापारलाई हतियार बनाउने गरेको छ। यसअघि लिथुवानियाले ताइपेईमा द्विपक्षीय प्रतिनिधित्व कार्यालय खोलेपछि चीनले ऊसँगको व्यापार बन्द गरेको थियो। यस्तै, ताइपेईलाई मान्यता नदिन केही मुलुकलाई दबाबसमेत दिएको थियो।
उनले बेइजिङले सो क्षेत्रमा आक्रामक र बिस्तारवादी व्यवहार प्रदर्शन गरिरहेको भन्दै ताइवानको समर्थनमा थप आवाजहरू निस्किने जनाए।
कोरोना महामारीका कडा मापदण्डहरू हटेसँगै ताइवानमा विदेशी पाहुनाहरूको भ्रमण समेत बाक्लिएको छ। गत साता मात्रै केही अमेरिकी समूह र बेलायती संसद्का उच्चाधिकारीहरू ताइवानी राष्ट्रपति साइलाई भेट्न गएका थिए। जसमा बेइजिङले कडा आलोचना गरेको थियो।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
