थोरै फिल्मले यस्तो सौभाग्य पाउँछन्, जहाँ मिडियाबाजीले नभएर दर्शकले दर्शक ल्याउँछन्–पठाउँछन्। फिल्म–कथाको तुनाइबुनाइले नै यस्तो सम्भव भएको हो।
मानिसले दैनन्दिन यात्रामा सडकका कति गोलाइ (घुम्ती)हरू काटी हिँड्ला? गनिसाधे र भनिसाधे छैन। त्यही घुम्ती दोहोरिन्छ या अन्तिम हुन्छ, अनिश्चित छ। जीवन यसै पनि अनिश्चित र अकल्पित छ।
जीवनका अस्थिरता, उग्रता, उत्सुकता र उल्झनलाई दार्जिलिङको पछिल्लो फिल्म ‘लिप्स्टिक गोलाइ’ले कैद गर्ने यत्न गरेको छ। विवेक राईको लेखन र निर्देशनमा रहेको फिचर फिल्म यतिबेला दार्जिलिङका विभिन्न स्थानमा प्रदर्शनरत छ।
हलिउड, बलिउड र कलिउडका फिल्म हेर्न अभ्यस्त दार्जिलिङ पहाडका दर्शक क्षेत्रीयस्तरमा निर्मित फिल्म हेर्न उस्तो जाँदैनन्। जानेहरू पनि फिल्मबाट खासै अपेक्षा राख्दैनन्। जान्छन् त केवल ‘हाम्रो ठाउँबाट बनेको नेपाली फिल्म हो, हेर्दिऊँ न त’ भन्ने सोचले। चिनेजानेको सर्कल भित्रकाले बनाएको अवस्थामा ‘कस्तो खेलेछन्, हेरिदिऊँ न त!’ भन्ने धारणाले।
दार्जिलिङको चलचित्र क्षेत्रमा केवल व्यक्तिगत साइनोसम्बन्धको आलेटालेमा जाने लर्को नै अधिक हुन्छ, जसलाई फिल्मप्रति कुनै चासो,आशा र उत्सुकता नै हुँदैन। तर यो सबै धारणाको धारलाई तोडिदिन्छ फिल्म ‘लिप्स्टिक गोलाइ’-ले। यो फिल्म शतप्रतिशत दार्जिलिङे ‘फ्लो र फ्लेबर’मा छ।
दार्जिलिङे समाजको आम रहनसहन, भाषा र भूगोल टेकेको यस फिल्म दार्जिलिङ जिल्लास्थित खरसाङ महकुमा र वरपरका क्षेत्रमा छायाङ्कन गरिएको छ। खरसाङ सिलगढी कुद्ने (खेप्ने) ड्राइभर (चालक) मोहन र बाटो गोलाइमा दोकान (पसल) थाप्ने सीमा दुवैको कथालाई कुँदेर कुदेको फिल्मले दर्शकसमक्ष दार्जिलिङे परिवार, समाज, प्रशासन र सत्ता सबै भेटाउँछ।
पात्र र कथा
मध्यम वर्गीय परिवारको कथा भएको यस फिल्ममा स्थानीय कलाकारहरूले अभिनय गरेका छन्। सीमाको भूमिकामा सतिका गुरुङ, सीमाको भाइको भूमिकामा पदम तामाङ, चालक मोहनको भूमिकामा रहेका राजु हिमांसु, पुलिस एसआईको भूमिकामा केवल सुब्बा छन्।
राजनीतिक मामलाका कारण सरकारी कामबाट वञ्चित भएपछि मोहनले ड्राइभर पेसा अपनाएको हुन्छ। खरसाङबाट सिलगढी जाँदा-आउँदा बाटोको गोलाइछेउ रहेको सीमाको दोकानमा उसको रासोबासो हुन्छ।
कमान भेक (चियाबारीहरू) बाट शहरचोकमा आएर सडक छेउको गोलाइमा दोकान थापेकी सीमाको देखिँदो रूपमा बेचिएको म:म हो भने नदेखिएको रूपमा बेचिएको चाहिँ रक्सी हो, त्यो पनि अर्ग्यानिक। दार्जिलिङको लोकल भाषामा भन्ने हो भने सेन्तेरेम। त्यही सेन्तेमा सेन्टी हुँदै आउनेहरूमध्ये हो ड्राइभर मोहन।
सीमा उसलाई 'मोर दा' भन्नेर बोलाउँछे, जसले अल्पपठित सीमाको दोकानको हरहिसाबको खाता मिलाइदिन्छ। त्यसको साटो आफूलाई भने रक्सीमा मिसाइदिन्छ। सडकको गोलाइ छेउ बसेकी सीमा सधैँ आफ्नो ओठको बैँशालु डिलमा चकिलो लिप्स्टिक दलेर सजिएकी हुन्छे। कवि/गीतकार दिनेश अधिकारीको यो गीत सीमाको सन्दर्भमा मिल्न आउँछ:
“धेरै भयो खोजिराछु बाँच्ने एउटा बाटो
आफ्नो ठाउँ छोरीलाई बस्न दिने हो कि
कहाँ टेक्न आइएछ जता पनि आगो
छोप्न खोजे एकातिर डढ्छ अर्को पाटो
भट्टी भन्नू त्यस्तै रैछ
चल्दो रैछ वैँश।”
कताकता सीमालाई देख्दा रूपनारायण सिंहकी 'धनमती' यस्तै पो थिइन् कि जस्तो पनि लाग्छ, जोसित मोहनबाहेक ग्राहकहरू रक्सीमा भन्दा उनको जवानीको मादकतामा बढी मातेर जान्छन्। पैसा 'मासेर' जान्छन्। सीमाले यसैबाट सङ्ग्रहित पैसाबाट आफ्नो घर धान्नु छ। गाउँ फर्किएर होमस्टे व्यवसाय गर्दै परिवारसित बाँकी जीवन बिताउनु छ।
जीवन जान्नुमा भन्दा धेरै नजान्नुमा नै बाँच्छ, बित्छ। फिल्ममा चित्रित जीवनहरू पनि यसरी नै अनेक मोडहरूमा मोडिँदै जान्छ। बालकृष्ण सम नियमित आकस्मिकताको कुरा गर्थे। जीवन नियमित आकस्मिकतामा नै ओहोरदोहोर गरिरहन्छ। फिल्मको कथामा त्यही आकस्मिकतालाई निर्देशकले सूक्ष्म रूपले देखाएका छन्।
रक्सीको अधिक सेवनले मोहनको कलेजो बिग्रन्छ, उसको परिवार बिग्रन्छ। आखिर उ नै बित्छ। रक्सीको अवैध बिक्रीले मोहनको मृत्युसँगै सीमाको व्यवसाय र व्यक्तिगत जीवन नै अप्ठ्यारोमा पर्छ।
तर समय समयमा सीमाको दोकानमा पेसाले भन्दा धेर सीमाप्रतिको मोहले आइरहने पुलिस आदर्शको अव्यक्त प्रेमले सीमाको जीवनको थप घुम्ती अलि सहज बन्छ, जसले फिल्मको कथालाई निराशामा होइन, आशाको घुम्तीमा पुर्याई छाड्छ।
परिवारको जिम्मेवारी काँधमा बोकेकी सीमालाई जसरी भए पनि अधिक पैसा कमाउनु छ। रक्सी बेचेर मात्र त्यो सम्भव छ र उ त्यसमा सफल पनि छे। आर्थिक रूपमा उसको प्रगति छ। उसले राखेको आर्थिक चाहना उसको आवश्यकता हो। तर अन्यको प्रगति देख्न नसक्ने मानवीय गुण र आवश्यकताभन्दा धेर आर्जने प्रवृत्तिको द्वन्द्व फिल्ममा चुस्त दुरुस्त रूपमा देखाइएको छ।
सबल पक्ष
भनिएका कथा जति छन्, त्योभन्दा धेरै नभनिएका कथा छन्! नभनिएको एउटा कथा हो फिल्म। फिल्मले हाम्रै कथा हामीलाई भनेको छ, देखाएको छ। फिल्मले दर्शकलाई आदर्शबाट निकालेर यथार्थको पराकाष्ठामा पुर्याएर फर्काएको छ। यसले समाजको विद्यमान नैतिकतामाथि प्रश्न गरेको छ।
रक्सी कसैको व्यवसाय हो, जसमा बाध्यता जोडिएको छ। रक्सी कसैको लत हो, जससित नसा जोडिएको छ। रक्सी कसैको बहाना हो, जससित पीर-पीडा जोडिएको छ। रक्सी कसैको ऐसआरम हो, जससित फुर्सद र फुर्मास जोडिएको छ। पदार्थ मात्र नभएर रक्सी लोक संस्कृतिको द्योतक पनि हो। फिल्मले रक्सी राम्रो हो या नराम्रो, केही भन्दैन।
गाउँबाट शहर आएर व्यवसाय गरिरहेकी सीमा र सीमाको भाइले गरेको कुराको सार यस्तो छ, "आखिरमा मान्छेलाई चाहिएको गान्धी नै त रहेछ।" गान्धी यहाँ पैसाको नोटको बिम्बमा आएका हुन्। भारतीय नोटमा गान्धीको तस्बिर हुने कुरो धेरै नेपाली नागरिक र नेपालीभाषीलाई पक्कै थाहा छ। उनीहरूको मूल कोठाको दैलोमा पनि गान्धीकै फोटो टाँसिएको छ।
सीमाको माध्यमबाट फिल्म निर्देशक बिस्तारै शहर, समाज र समयका वास्तविक पत्रहरू खोतल्दै जान्छन्। पहाडमा छेकिएर र हेपिएर बसेको चियाकमान हो। दार्जिलिङका ८०% मानिसको बसोबास चियाबारीमा छ। उनीहरूका कथा मूलधारबाट सधैँ टाढा छ। फिल्मले यस प्रकारको किनाराकृत समाजको पाखा-पीडालाई सीमाको माध्यमबाट गम्भीरतासँग सम्बोधन गरेको छ। शहरका ठालुहरूले 'कमाने'हरूलाई हेयको दृष्टिले हेर्ने सङ्कीर्ण मनोवृत्ति फिल्ममा सांकेतिक रूपमा व्यक्त छ।
फिल्ममा एउटा दृश्य छ, जहाँ सीमाको भाइले झुसुलकिरालाई खाताले हानेर मार्न आँटेको हुन्छ, जसलाई सीमाले रोक्छे। झुसुलकिरालाई उठाएर झ्यालबाहिर पारिदिन्छे। यसप्रकारका गूढ गम्भीर कुरालाई निक्कै संवेदनशीलतासहित फिल्ममा देखाइएको छ। चलचित्रमा घुमाउरो तरिकाले दार्जिलिङको राजनीति पनि देखिन्छ, जसको प्रभाव र परिणाम अप्रत्यक्ष रूपमा फिल्मका पात्रहरूमा परेको छ।
समाजको आम मनोविज्ञान टपक्कै झिकेर सिनेमामा निर्देशकले प्रस्ट देखाएका छन्। 'आउटसाइडर' र 'इन्साइडर'बीचको तनाव छ। आशा, आत्मसम्मान र प्रेम छ। फिल्मका घटना र परिवेश मौलिक छन्। 'पलायन' र पहिचानका मुद्दा प्रतिकात्मक रूपमा फिल्ममा प्रस्तुत छन्। फिल्म व्यङ्ग्यै व्यङ्गको रङ्गसज्जा जस्तो पनि लाग्छ त कतै विम्ब नै विम्बको अड्डाजस्तो पनि।
कसिलो संवाद र कुशल अभिनयले दर्शकलाई अन्त्यसम्म बलियोसित बाँधिराख्छ।
कमजोर पक्ष
फिल्ममा पार्श्व संगीत बेतुकपूर्ण लाग्छ। केही भागमा क्यामेरा-मोसन हल्लिएको छ, जसले कतैकतै मोबाइल सर्टकोजस्तो 'हेजी' अनुभूति दिन्छ। प्राविधिक रूपमा फिल्ममा कमीकमजोरी देखिन्छन्। सिनेम्याटोग्राफी र साउन्डमा केही त्रुटि प्रस्टिन्छ।
पुलिस आदर्शले आफ्नो घरको कोठामा पिएको चियाकप र अफिसमा अफिसरसित पिएको चियाकप एउटै छ। फिल्ममा यी र यस्ता केही प्राविधिक भुलचुक भएको छ।
अभिनय पक्ष
सीमाको भूमिकामा रहेकी सतिका गुरुङको अभिनय जबरजस्त छ। सतिकाको 'बोल्ड' नायिका रूप पात्र सुहाउँदो छ। सीमाको भाइको भूमिकामा रहेका पदम तामाङको अभिनयले फिल्ममा हास्य रोचकता थपेको छ। डेनीजस्ता देखिने मोहनको भूमिकामा रहेका राजु हिमांसुको अभिनय अब्बल छ। गम्भीर हुँदाको भावमा उनी जँचेका छन् भने कहीँ कतै हँसाउने भूमिकामा उनी अलिक चुकेका छन्।
नाटकमा पोख्त अभिनय गर्ने हिमांसुको अभिनयमा निखार छ। पुलिसको भूमिका निभाएका केवल सुब्बा अभिनयमा खप्पिस देखिएका छन्, सहायक हवल्दारको संवाद खुबै सुहाएको छ। फिल्ममा थोरै पात्र छन् र सबैले आफ्नो भूमिकालाई न्याय गरेका छन् । सीमाको आमा र छोरीको भूमिका उल्लेखयोग्य छ। यस फिल्मको सबैभन्दा सशक्त पक्ष पनि अभिनय नै हो।
भाषा
फिल्ममा दार्जिलिङकै मौलिक भाषाको प्रयोग पाइन्छ। पात्रहरूले विशेष गरेर अङ्ग्रेजी अधिक मिश्रित नेपाली भाषा बोलेका छन्, जसले यहाँको स्थानीयता समेटेको छ। विशेष गरेर ऐच्,आम्बो,अन्तजस्ता दार्जिलिङे रैथाने लवज फिल्मले लपक्कै लिएको छ।
विचार पक्ष
शहर र कमानको विभेद फिल्ममा देखाइएको छ, जसले नयाँ डिस्कोर्स सिर्जना हुनसक्छ। ग्रामीण जीवनका पीँधका पीडा समेटिएको फिल्ममा भावना र विचारको सन्तुलित संयोजन छ। पुँजीवादी पहुँच र शक्तिमाथि सवाल उठेको छ। भाषा, प्रतीक, विम्बको सूक्ष्म प्रयोगले क्यानभासको आयतनलाई अझ गुरुत्वपूर्ण बनाएको छ। फिल्मले पुरातन मूल्य विनिर्माण गर्दै नयाँ मूल्य अन्वेषण गर्छ।
अन्त्यमा
मिडियामा यस फिल्मको हल्लाखल्ला उस्तो छैन। तरै पनि मानिसहरू माउथ पब्लिसिटीमार्फत् नै फिल्म हलसम्म मानिसहरू तानिँदै आइरहेका छन्। थोरै फिल्मले यस्तो सौभाग्य पाउँछ, जहाँ मिडियाबाजीले नभएर दर्शकले दर्शक ल्याउँछन्-पठाउँछन्। फिल्म कथाको तुनाई बुनाइले नै यस्तो सम्भव भएको हो।
फिल्मले भावनात्मक रूपमा बहकिनभन्दा विचारात्मक तौर तरिकाले अडिन आग्रह गर्छ। व्यवहारिक र सापेक्ष सत्यको उद्घाटन छ। फिल्मको अन्त जीवन्त र यथार्थपरक छ। भारतबाट निर्मित नेपाली फिल्ममध्ये छुट्टै उचाइको दार्जिलिङे चलचित्र जीवनमा 'लिप्स्टिक गोलाइ' एउटा उचाइको फिल्म हो भन्न धक मान्नुपर्दैन।
वियोगी मिरिक,दार्जिलिङमा रहेर फिल्म र राजनीतिबारे लेख्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
