‘अखबारमा लेख्ने एक हुल पत्रकारले शुरू गरेको फिल्म फेस्टिभल आज आएर विज्ञहरूसँग फिल्म मेकिङबारे जान्ने, बुझ्ने अवसर बनेको छ।’
सन् १९९७ मा शुरू भएको फिल्म साउथ एशियाको २७औँ संस्करण बिहीबार (आज) बाट पाटनस्थित यलमाया केन्द्रमा शुरू भएको छ। फिल्म साउथ एशियाकी मितु वर्मा एक दशकयता यस कार्यक्रमको निर्देशकका रूपमा छिन्। वर्मासँग फिल्म साउथ एशियाको विगत, वर्तमान र यस फेस्टिभलले उठाउने गरेको बहसका विषयमा उकालोकर्मी प्रबिता श्रेष्ठले गरेको कुराकानी:
यस पटकको फिल्म साउथ एशियाको नारा, ‘डकुमेन्ट्री इन एन्थ्रोपोसिन’ र म्यास्कट ‘नागकन्या’लाई परिभाषित गरिदिनुहोस् न।
एन्थ्रोपोसीन भनेको यस्तो समय हो, जहाँ मानवजातिका क्रियाकलापले सबैभन्दा बढी प्रभाव वातावरणमा पर्ने गर्छ। हामी सबैले अहिले त्यही भोगिरहेका छौँ। काठमाडौँ, दिल्ली, इस्लामावाद र लाहोरलगायत शहरमा बढिरहेको वायु प्रदूषण त्यसको बलियो उदाहरण हुनसक्छ। यसलाई नै हामीले थिमको रूपमा लिएका छौँ।
यतिखेर हामी एकपछि अर्को विपद् सामना गरिरहेका छौँ। मानवीय क्रियाकलापकै कारण विगतका केही वर्षमा यस्तो विपद् अझै बढेको छ। हामीले अझै केही गरेनौँ भने विपद् नियन्त्रणबाहिर जानेछ। शहर पनि हराउनेछन्। हाम्रो म्यास्कट नागकन्याले प्रकृति र मानवको थिमको उचित प्रतिनिधित्व गर्छ। नागकन्याले मानव र प्रकृतिसँग हार्मोनी (सामञ्जस्य) प्रतिनिधित्व गर्छ। र, यसले प्रकृतिबीचको सम्बन्ध जनाउँछ।
यस पटक कति वटा फिल्म प्रदर्शन हुँदै छन्?
हामीसँग नौ देशका ४७ फिल्म छन्। नवौँ देश मंगोलिया हो। मंगोलिया साउथ एशियामा नपरे पनि यो हाम्रो छिमेकी मुलुक हो। यस पटक मंगोलियाबाट हामीले ‘गोबी मरुभूमि’को जीवन हेर्ने छौँ। फिल्ममा मंगोलियाको ‘हिमालय प्लेटु’ र त्यहाँको घुमन्ते जीवनशैली छ। बदलिँदो युगमा समेत पुरानो सामाजिक मूल्यमान्यता अँगालेर बाँचिरहेकी, मिडियाको प्रभावसँगै नर्तकी बन्ने सपना पालेकी एक महिलाबारे छ। हाम्रो छिमेकमा के भइरहेको छ भन्नेबारे पनि महोत्सवबाट हामीले थाहा पाउँछौँ। कथा वस्तुसँगै यस्ता भूगोलको विषयमा फिल्म हेर्न पाउनु महत्त्वपूर्ण हो।
४७ फिल्मले तपाईंहरूको थिम र नारा बोक्छन्?
हामीले हाम्रो थिमलाई त्यतिसम्म कठोर बनाएका छैनौँ। महोत्सवमा अन्य थिमका फिल्म पनि छन्। संगीतकार ‘अन्नपूर्ण देवी’, जो प्रसिद्ध भारतीय संगीतकार रविशंकरका श्रीमती पनि हुन्, उहाँको सांगीतिक जीवनबारे पनि वृत्तचित्र छ। श्रीमान्लाई उनको संगीत क्षेत्रप्रतिको आबद्धता मन परेन। विवाहपश्चात् उनले संगीत छाडिन्। पछि उनीहरू छुटिए। तरै पनि उनी कहिल्यै संगीतमा फर्किनन्।

पछि आफूहरूलाई संगीत सिकाउन केहीले अनुरोध गरेपछि उनले सिकाउन थालिन् तर हल्लाखल्लाविहीन जीवन बिताइन्। प्रशिक्षार्थीमध्ये एकले उनको मृत्युपछि उनको जीवनी आधारित फिल्म बनाए। यो निकै सुन्दर फिल्म बनेको छ। अन्य फिल्म पनि छन्, जो एन्थ्रोपोसिनको नारासँग ठ्याक्कै टोकिँदैनन् तर मानव जीवनका विभिन्न आयामसँग सम्बन्धित छन्।
स्थापनाको २७ वर्षे अवधिमा फिल्म साउथ एशिया आफैचाहिँ कसरी विकसित भएको छ?
हामीले शुरू गर्दा अखबारमा एक हुल पत्रकार मात्र थियौँ। कनकमणि दीक्षितले बांग्लादेश, पाकिस्तान, भारत, श्रीलंकासहित सबै साउथ एशियाका पत्रकारलाई बोलाएका थिए। भक्तपुरमा ‘हट एयर बेलुन’को यात्रा गराएर हिमाल साउथ म्यागेजिनको उद्घाटन गरिएको थियो।
त्यसको एक वर्षपछि प्रिन्ट पत्रकारिताको अडियो–भिजुअल पत्रकारिता डकुमेन्ट्रीमार्फत हुनसक्छ भन्ने हामीलाई लाग्यो। त्यो बेला डकुमेन्ट्री निर्माताले एकदमै कम साथसहयोग पाउँथे। फिल्म मेकर्सलाई यस्ता डकुमेन्ट्री प्रदर्शन गर्ने स्थानसमेत थिएन। विदेश यात्रा सजिलो थिएन।
कोषमा पैसा जम्मा गर्न झनै असहज थियो। इन्टरनेटको सुविधा थिएन। त्यो हुँदा दक्षिण एशियालीलाई आफ्नै छिमेकीसँग भेटघाट, चिनजान, फन्डिङ र प्रदर्शनीको ठाउँ बन्यो फिल्म साउथ एशिया।
त्यो बेला ‘ओभरफ्लाइट’मा समस्या थिएन र पाकिस्तान, बांग्लादेश, भारतका सबै फिल्मकर्मी एकै ठाउँमा आएर बस्न सक्यौँ। फिल्म प्रदर्शन र बस्नकै लागि पनि दक्षिण एशियामा नेपाल सबैभन्दा उपयुक्त देश बन्यो।
विकाश हेरौँ न, पहिलो फेस्टिबलका सहभागी फजाद नबी अहिले जुरी सदस्य छन्। उनले पहिले नसुरत फतेह अलि खानको जीवन, सुफी संगीत र उनको संगीतको कमर्सियलाइजेसनबारे फिल्म बनाएका थिए।
किरणकृष्ण श्रेष्ठको, ‘भेडाको ऊन’जस्तो फिल्म सायद सन् २००० मा प्रदर्शनी भएको थियो। उक्त गीतको वास्तविक आवाज/शब्द खोज्न हिमाली क्षेत्रमा गरिएको यात्राबारे नै फिल्म थियो। हामी यीलगायत अन्य हाम्रो 'प्याकेजका फिल्म' बेलाबेला अशोक युनिभर्सिटी, हरियाणा र मिसिगन युनिभर्सिटी अमेरिका पुगेर देखाउने गर्छौं।

वातावरण परिवर्तनसम्बन्धी फिल्म छन् हामीसँग। सो प्याकेजका केही फिल्म क्यानडाको युनिभर्सिटी अफ योर्क र विन्जरमा केही समयअघि मात्र प्रदर्शन भए। यस्ता प्रयासले हामीलाई विकसित हुन सहयोग गरेको छ। केही फिल्म कान्स पुगेका छन्, केही सन्डान्स। पहिले फिल्म मेकर्सलाई फिल्म बनाउन र प्रदर्शन गर्न बिरलै सहयोग हुन्थ्यो। फिल्म साउथ एशिया उक्त प्ल्याटफर्म बनेको थियो। ‘साना ठाउँ’मा हुने यस्ता स्क्रिनिङले विश्वभर ठूलो फिल्म फेस्टिभलमा आफ्नो स्थान बनाएका छन्। पहिलेका सहभागी कोही अहिले जुरी भइसकेका छन्, कोही ठूला निर्देशक/निर्माता भइसके।
यसबीच, सिनेमा हलमा पनि हामीले फिल्म साउथ एशियाका केही फिल्म देखायौँ। सिनेमा हलमा प्रदर्शन गर्दा सेन्सरका अनेकन् प्रणाली बाधक देखिए। त्यसो हुँदा हामीले आफ्नै भेन्यु बनाएर फिल्म देखाउन थाल्यौँ। यो पनि हामी विकसित हुँदै गएको संकेत हो।
गत वर्ष ‘वुमन एन्ड सेक्सुअल भाइलेन्स’मा हामीले ६ जना नयाँ फिल्ममेकर्सका लागि ६ जना मेन्टरसहित फेलोसिप कार्यक्रम पनि गरेको थियौँ। फिल्म साउथ एशियाको नौलो प्रयास थियो त्यो।
फिल्म मेकर्सका फिल्म साउथ एशिया कतिको लाभदायी हुने गरेको छ?
साउथ एशियामा रहेका पुरानादेखि नयाँ फिल्म मेकर्सले आफूले बनाएका फिल्म प्रदर्शनी गर्ने साझा थलो हो यो। फजाद, जो यस पटक जुरी सदस्य हुनुहुन्छ, उहाँको एउटा फिल्म पाकिस्तानबाट ओस्करको लागि समेत पुगेको थियो। सञ्जय भर्नोला अहिले फिल्म निर्देशन पढाइरहनुभएको छ। हाम्रो फिल्म फेस्टिबल उहाँहरूका लागि पहिलो अन्तर्राष्ट्रिय फिल्म स्क्रिनिङको अवसर थियो ।
कबीर खानकृत ‘सुवासचन्द्र बोस’सम्बन्धी पहिलो डकुमेन्ट्री फिल्म साउथ एशियामा नै प्रदर्शनी भएको थियो। अहिले बलिउडमा उहाँ स्थापित निर्देशक हुनुहुन्छ, उहाँले बजरंगी भाइजान, न्युर्योक, ट्युबलाइट, काबुल एक्सप्रेसजस्ता फिल्म बनाउनुभएको छ। यस पटक उहाँ हाम्रो प्रमुख अतिथि हुनुहुन्छ। उहाँले यहाँ फिल्म निर्देशनबारे कार्यशाला पनि चलाउनुहुनेछ।
अखबारमा लेख्ने एक हुल पत्रकारले सुरु गरेको फिल्म फेस्टिभल आज आएर विज्ञहरूसँग फिल्म मेकिङबारे जान्ने, बुझ्ने अवसर बनेको छ। हाम्रो उद्देश्य फिल्म क्षेत्रका लागि यो प्राज्ञिक थलो बनोस् भन्ने हो। यस्ता बहस र जमघटले फिल्ममार्फत 'साउथ एशिया सेन्सबिलिटी' बलियो बनाएको छ।
दक्षिण एशियाली मुलुक सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध पक्षबाट धेरथोर हरेक कुरामा उस्तै छन्। यस अर्थमा, यस क्षेत्रका फिल्म उस्तै भएर पनि कसरी एकअर्कामा फरक छन्?
भूगोल फरक फरक भए पनि सांस्कृतिक पृष्ठभूमिका आधारमा दक्षिण एशियालाई एउटा भूगोल मान्न सकिन्छ। त्यसो भन्दाभन्दै, यस क्षेत्रमा सांस्कृतिक विविधता धेरै छन्। भारत आकारमा ठूलो छ। भारतभित्र नै पनि सांस्कृतिक रूपमा फरकपन छ। त्यसो हुँदा काश्मीर, चेन्नई र ब्यांग्लोर फरकबाट फरक फरक फिल्म आएका छन्। त्यस्तै, बांग्लदेश, नेपाल, मंगोलिया, पाकिस्तान, श्रीलंकाजस्ता देशबाट पनि मौलिक अवधारणाका फिल्म आएका छन्। तर फिल्मका सार झन्डै उस्तै छन्। हामी कुनै निश्चित राजनीतिक नक्सालाई भन्दा पनि स्थान र त्यहाँको मूल्यमान्यतालाई मान्यता दिन्छौँ।

सोही फरकपनअनुसार फिल्म चयन हुन्छन्। यस पटक हामीले म्याप बनाउन भ्याएनौँ, नत्र हरेक वर्ष कुन कुन स्थानबाट फिल्म आएका हुन् भनेर नक्सा नै बनाइन्थ्यो। देशका सिमाना निकै फ्लुइड (लचकदार) अवधारणा हो, जसलाई सैन्य निगरानीले छुट्याएको छ। कुनै पनि मौसम, नदी र समग्र प्रकृतिले बोर्डरको कुरा गर्दैन। दिल्लीको वायु प्रदूषण लाहोरदेखि काठमाडौँसम्म पुग्छ। यसलाई पनि हामी एन्थ्रोपोसिनका रूपमा लिन सक्छौँ।
साउथ एशियामा साहित्य, राजनीति, आर्थिक समृद्धिदेखि लिएर फिल्म निर्माणमा भारतको प्रभुत्व हुने बताइन्छ। के भन्नुहुन्छ?
भूगोलदेखि जनसंख्यामा भारत ठूलो छ। तर भारतकै दक्षिण भाग उत्तरसँग पूर्ण रूपमा फरक छ। यस क्रममा भारतबाट र भारतप्रति नै पनि धेरै किसिमका भाष्य छन्। 'फिल्म साउथ एशिया, हिमाल'मा हामी भूगोल र सीमानाका प्रभावमा रहँदैनौँ।
२७ वर्षको अवधिमा नेपाली दर्शक परिवर्तन भएका छन्, कसरी?
फिल्म साउथ एशियामा फिल्म हेर्न आउने ‘वन्डरफुल अडियन्स’ छन् नेपालमा। हामीसँगै अहिले काम गरिरहनुभएका आलोक हुनुहुन्छ, जसलाई उहाँको परिवारले पहिले यहाँ फिल्म हेर्न ल्याउनुहुन्थ्यो। उहाँलाई देख्दा हाम्रा दर्शकहरू हामीसँगै हुर्किएझैँ लाग्छ।
५० रुपैयाँको टिकट काटेर फिल्म हेर्न आउने नेपाली दर्शकहरू, त्यसमा पनि युवा हाम्रा लागि सधैँ प्रेरणादायी हुनुहुन्छ। फिल्म देखाउन, हेर्न र चर्चाका लागि नेपाल उर्वर भूमि हो।
दर्शकहरूलाई केही सल्लाह अथवा उहाँहरूबाट अपेक्षा?
आउनु होस्, हाम्रो थिमसँग रमाउनुहोस्। अन्य दक्षिण एशियाली दर्शक र डेलिगेसनसँग चिनापरिचय गर्नुहोस्। दक्षिण एशियालीहरूबिच यो राम्रो भेटघाट र चर्चाको अवसर हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
