लोकतन्त्रलाई व्यापक रूपमा अघि बढाउनुपर्छ, पार्टीगत सङ्कुचनबाट माथि उठ्नुपर्छ, समावेशी सोचसाथ लैजानुपर्छ भन्ने विचार अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो दमननाथ।
दमननाथ ढुंगानालाई २०१५ सालमा त्रिचन्द्र कलेजमा आईए पढ्दाताका भेटेको थिएँ। त्यसयता जीवनभर हामी साथीकै रूपमा रह्यौँ। उहाँमा विलक्षण क्षमता थियो। विचारलाई पर्गेलेर विश्लेषण गर्न सक्नुहुन्थ्यो। राम्रो वक्ता पनि हुनुहुन्थ्यो। मान्छेलाई सहजै विश्वास दिलाउन सक्ने क्षमता थियो।
उहाँ कलेजको राजनीतिमा पनि संलग्न हुनुभयो। २०१७ सालमा राजाले प्रजातान्त्रिक अधिकार खोसेपछि हामी पञ्चायतविरोधी भयौँ। लोकतन्त्र र स्वतन्त्रताका लागि दमनजीसहित हामी एकातिर लाग्यौँ। एमए पास गरेपछि म विश्वविद्यालयमा राजनीतिशास्त्र पढाउन थालेँ। उहाँ कानूनी पढाइ सकेर वकालततिर लाग्नुभयो। विद्यार्थी हुँदै प्रजातान्त्रिक अभियानमा कांग्रेसमार्फत जोडिनुभएको उहाँ पछि राजनीतिमा पनि सक्रिय रहन थाल्नुभयो। कांग्रेसको सदस्य नरहे पनि २०१७ सालपछिको प्रजातन्त्रको लडाइँमा हामी एउटै बाटोमा थियौँ।
उतिखेर लोकतन्त्र भन्नेबित्तिकै कांग्रेसलाई नै जोड्ने गरिन्थ्यो। त्यो नाताबाट कतिले मलाई पनि पूर्वकांग्रेस भने तर पार्टीको सदस्य कहिल्यै भइनँ। दमनजीचाहिँ कांग्रेसको पक्का नेता हुनुभयो। कांग्रेसबाटै २०४६ को जनआन्दोलनपछिको चुनाव (२०४८) मार्फत सांसद चुनिनुभयो। उहाँलाई पार्टीले मन्त्री बन्न अनुरोध गर्दा मान्नुभएन र सभामुख हुनुभयो।
सभामुखको जिम्मेवारीमा रहँदा सत्तासीन दलभन्दा पनि प्रतिपक्षलाई बढी महत्त्व दिएको आरोप उहाँमाथि लाग्यो। उहाँदेखि कतिपय कांग्रेसी रिसाए। सभामुख हुँदाताका गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)सँग उहाँको खटपटसमेत भयो। कांग्रेसबाटै सांसद बनेर, कांग्रेसकै मतले सभामुख चुनिँदासमेत सोही पार्टीलाई असहयोग गरेको, स्वतन्त्र रूपले संसद् चलाउन खोजेको आरोप उहाँमाथि लाग्यो। ढुंगाना हुनलाई कम्युनिस्टविरोधी व्यक्ति हुनुहुन्थ्यो।
त्यतिखेर कांग्रेस सरकारमा हुँदा एमाले प्रमुख प्रतिपक्षी दल थियो। ढुंगानाले कम्युनिस्टलाई बढी महत्त्व दिएको भन्दै कांग्रेसीहरू चिढिन्थे। फरक विचार राख्नेबित्तिकै मान्छेलाई खेद्ने, अनि आग्रह राख्नेलाई चाहिँ पुरस्कृत गर्ने अभ्यास त अहिले पनि चलिरहेकै छ।
पार्टीको नेताहरू संकीर्ण सोच राख्थे, आफ्नो पार्टी/आफूले निर्देश गरेअनुसार ढुंगानाले संसद् चलाइदिए हुन्थ्यो भन्ने ठान्थे। तर ढुंगाना व्यापक सोच राख्नुहुन्थ्यो। प्रतिपक्षलाई पनि भूमिका दिनुपर्छ भन्नुहुन्थ्यो। उहाँ त्यसो किन पनि गर्नुहुन्थ्यो भने मनैदेखि लोकतान्त्रिक मूल्य अँगाल्नुहुन्थ्यो। संसद् प्रतिपक्षको हो र सरकार बहुमतप्राप्त पार्टीको हो भन्नुहुन्थ्यो उहाँ। त्यहीअनुसार व्यवहार पनि गर्नुभयो।
तर लोकतान्त्रिक अभ्यासको अभाव थियो समाज र दलमा समेत। शायद तिनै कारण होला, माओवादीका कतिपय सामान्य प्रगतिशील अजेन्डाप्रति सहमति व्यक्त गर्दा मलाईसमेत कतिपय साथीहरूले ‘यो व्यक्ति त माओवादी भएछ’ भन्थे, जबकि म कहिल्यै माओवादी भइनँ।
उतिखेर मधेशबाट प्रतिनिधित्व गर्ने सांसदले संसद्मा हिन्दीमा आफ्ना कुरा राख्दा त्यसमा आपत्ति जनाउनेहरू थिए। अहिले पनि आफूलाई कट्टर राष्ट्रवादी भन्ने त्यस्ता मान्छेहरू छन् हाम्रो राजनीति र समाजमा। संसद्मा हिन्दीमा बोल्दा बरबादै हुन्छ भन्ठान्थे संकुचित सोच राख्नेहरू, तर ढुंगानाजी 'आखिर भाषाको कुरा हो। धेरैले बुझ्छन् हिन्दी, त्यसमा बोल्दा के फरक पर्छ र?' भन्दै संसद्मा बोल्न रोक्नुहुन्थेन।
त्यसबाट उहाँको फराकिलोपन देखिन्छ। संसदीय प्रजातन्त्रको स्वच्छ अभ्यासका लागि ढुंगानाले मनैदेखि प्रजातान्त्रिक भएर काम गर्नुभयो भनेर बुझ्नुपर्छ। तर उहाँले संसद्मा रहेर लामो समय योगदान गर्न पाउनुभएन। उहाँ साढे तीन वर्ष सभामुख रहनुभयो।
पछि गिरिजाबाबुले संसद् विघटन गर्नुभयो। मध्यावधि चुनाव भयो। त्यस चुनावमा दमनजी उठ्नुभयो र विद्यादेवी भण्डारीसँग पराजित हुनुभयो। मनमोहनजी प्रधानमन्त्री हुनुभयो र बिस्तारै सम्पूर्ण राजनीति नै अलग भयो। ढुंगानाजी पनि गैरसरकारी अभियानमार्फत मानव अधिकारका मुद्दामा बढी सक्रिय हुन थाल्नुभयो। भूमिगत रहेर जनयुद्धमा रहेको माओवादीलाई मूलधारमा ल्याउने अभियानमा समेत लाग्नुभयो। त्यसपछि भित्री राजनीतिमा उहाँ पस्न सक्नुभएन। कांग्रेसका विशेग गरी गिरिजाप्रसाद कोइरालासँग राम्रो सम्बन्ध नहुनुले पनि उहाँलाई अप्ठ्यारो पर्यो।
ढुंगाना लोकतन्त्रप्रति समर्पित त्यस्ता व्यक्ति थिए, जसले आफ्नो सिद्धान्तमा कहिल्यै सम्झौता गरेनन्। बरु लोकतन्त्रलाई व्यापक रूपमा अघि बढाउनुपर्छ, पार्टीगत सङ्कुचनबाट माथि उठ्नुपर्छ, समावेशी सोचसाथ लैजानुपर्छ भन्ने विचार अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो। लोकतान्त्रिक आचरणलाई व्यवहारमै उतारेर देखाउनुपर्छ भन्ने व्यक्ति हुनुहुन्थ्यो। त्यो नै उहाँले हाम्रो समाज र राजनीतिमा पुर्याएको योगदान हो।
त्यसो हुँदा ढुंगानास्तरको सभामुख अहिलेसम्म अर्को भएनन्। कतिपयले सुवास नेम्वाङलाई पनि ढुंगानासँग तुलना गर्छन् तर ढुंगाना साढे तीन वर्ष मात्र सभामुखका रूपमा काम गर्न पाउनुभयो, जबकि नेम्बाङले त १० वर्षजति नै सभामुखका रूपमा काम गर्नुभयो। मेरो दृष्टिकोणमा, त्यति छोटो समय काम गर्दा पनि संसद्को बैठक सञ्चालनमा सन्तुलन अपनाउनेदेखि सबैलाई बराबर भूमिका दिनुपर्छ भन्ने हकमा दमनजी नै अघि देखिनुहुन्छ।
व्यक्तिगत जीवनको स्मरण गर्दा, उहाँले काठमाडौँको गौशालामा आयोजना गरेको एउटा कार्यक्रमको याद आउँछ। त्यस्तै, २४/२५ सालतिर हुनुपर्छ। त्यतिबेला म भर्खरै विश्वविद्यालयमा लेक्चरर भएको थिएँ। त्यतिखेर राष्ट्रिय पञ्चायतमा चार जना प्रतिनिधि 'ग्र्याजुएट इलेक्सन'का माध्यमबाट छानिन्थ्यो। भोट दिने पनि स्नातक (बीए, शास्त्री या एमबीबीएस) र उम्मेदवार पनि स्नातक पास भएको हुनुपर्ने व्यवस्था थियो। यो प्रत्यक्ष चुनाव थियो। अरूहरूले पनि त्यसमा उम्मेदवारी दिए। शंकर घिमिरे, निर्मल लामाले चाहिँ ‘निर्दलीय व्यवस्था चाहिँदैन, लोकतन्त्र नै चाहिन्छ’ भन्ने अजेन्डा अगाडि सार्दै आफूलाई चुनावमा उतारे।
मेरै अध्यक्षतामा दमनजीले दल माग्नेहरूका पक्षमा गौशालामा सभा आयोजना गर्नुभयो। यस्तो सभा त्यतिखेर हामीले गरेका थियौँ, जतिखेर पञ्चायतको विरोध गर्नेहरूलाई अराष्ट्रिय तत्त्व र देशद्रोहीलगायत ‘रेडिमेड बिल्ला’ लगाइन्थ्यो। त्यसो हुँदा पनि शंकर घिमिरे र निर्मल लामाले दलीय व्यवस्था माग गरे। त्यतिखेर सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। चुनावमा उम्मेदवारी दिएका घिमिरे र लामालाई जेल हालेर थापाले चुनावै लड्न दिएनन्। 'रोमाञ्चित जीवन' नामक मेरो पुस्तकमा यी विषयहरू समेटेको पनि छु।
आफू सभामुख हुँदा मात्र नभई पछिल्लो समयसमेत मसँग जोडिने अधिकांश कार्यक्रममा आइरहनुहुन्थ्यो दमनजी। जानेदेखि उहाँले लोकतन्त्र, स्वतन्त्रता, मानव अधिकारका लागि सधैँ लडिरहनुभयो। मेरा मित्र, २०४६ को प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो संसद्का सभामुख, लोकतान्त्रिक आचरणलाई व्यवहारमै उतारेर देखाउने उहाँप्रति हार्दिक श्रद्धाञ्जली।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
