बुटवल उपमहानगरपालिकामा खुला रूपमा दूधको बिक्री वितरणमा रोक

दुग्धजन्य पदार्थलाई स्वस्थकर बनाउन र बिक्रि वितरणलाइ व्यवस्थित गर्न गुणस्तर परीक्षण किट मसिनसहितको ल्याब स्थापना गर्ने निर्णयसमेत भएको छ।

तस्वीर: उकालो

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा खुला रूपमा दूधको बिक्री वितरणमा रोक लगाइएको छ। उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्याल र दुग्ध व्यवसायीसहितको बैठकले यस्तो निर्णय गरेको हो।



दूध उत्पादक किसान र व्यवसायीलाई अनिवार्य रूपमा दर्ता हुन र खुला रूपमा दूधको बिक्री वितरण नगर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। 

दूग्धजन्य पदार्र्थ गुणस्तरीय र स्वस्थकर बनाउन दूध बिक्रेता, किसानसहित दूधको कारोबारमा संलग्न सबैले पालना गर्नुपर्ने आचारसंहिता बनाई कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदलसमेत गठन गरिएको छ।

 

बैठकमा दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउन दूग्धजन्य पदार्थको गुणस्तर परीक्षण गर्न किट मसिनसहितको ल्याब स्थापना गर्ने निर्णयसमेत भएको उपप्रमुख अर्यालले बताइन्। दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय बैठकले गरेको अर्यालले बताईन्।



रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायी कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा र संजोग श्रेष्ठ सदस्य र उपमहानगरपालिकाका पशुपक्षी विकास शाखाप्रमुख सदस्यसचिव छन्।