घनश्याम भुसाल र प्रभु साहलगायतलाई पार्टीबाट हटाउने एमालेको निर्णय

नेकपा एमालेले निर्वाचनका बेला पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा घनश्याम भुसाल र प्रभु साहलगायतका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

काठमाडौँ– नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न रहेको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका आरोपमा नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

यसैगरी, बैठकले सोही अभियोगमा उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रीत राम, बद्री न्यौपाने, रीता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

एमालेले चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पार्टीको जिम्मेवारीबाट हटाएको छ।

चुनावमा पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउन निर्णय गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए। एमालेले निर्वाचनविरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरूलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ।