जुनकिरीको संगीतको ‘गोडमेल संस्करण’ बजारमा

उपन्यासको मूल विषय र दृष्टिकोणलाई यथावत् राखी वर्णन र वृत्तान्त एवं संरचना र शैलीमा यसमा सानोतिनो गोडमेल भएको छ।

काठमाडौँ– साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको संगीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ। पर्वतको दलित बस्तीको यथार्थचित्रण, उत्पीडितको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक संघर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसनले ‘रजत–वर्ष संस्करण’का रूपमा बजारमा ल्याएको हो।

दोस्रो संस्करणलाई उपन्यासकार संग्रौलाले ‘गोडमेल संस्करण’को संज्ञा दिएका छन्। ‘‘उपन्यासको मूल विषय र दृष्टिकोणलाई यथावत् राखी वर्णन र वृत्तान्त एवं संरचना र शैलीमा यसमा सानोतिनो गोडमेल भएको छ,’’ संग्रौलाले उपन्यासबारे भने, ‘‘पहिलो संस्करणमा यसले फराकिलो हदसम्म पाठक र समीक्षकको परखको परीक्षामा बस्न पाएन। दोस्रो संस्करण बजारमा आएपछि यसको पाठकीय परखको परीक्षा हुने मेरो विश्वास छ।’’

उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ। परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको सम्पादक संगीतले बताए। ‘‘कथाले मात्रै होइन, भाषिक हिसाबले पनि यो उपन्यासले एउटा विशिष्ट आञ्चलिक स्वाद दिनेछ,’’ संगीतले भने, ‘‘आम पाठकले यस विशालकाय उपन्यासमा नौलो भाषिक स्वाद पाउनेछन् भने पर्वत–बागलुङका रैथाने पाठकले आफ्नो बोलीचालीको मौलिकता भेट्नेछन्।’

नयाँ संस्करण संग्रौलाका चयनित रचनावलीको पहिलो शृंखलाका रूपमा प्रकाशित गरेको बेला पब्लिकेसन्सका अध्यक्ष वन्दना ढकालले बताइन्। बेलाले संग्रौलाका सम्पूर्ण रचना चयन तथा सम्पादन–संयोजन गरेर तीन खण्ड र १५ ठेलीमा ‘संग्रौला समग्र’ प्रकाशन गर्ने भएको छ। संग्रौला समग्र शृंखलाका तीन खण्डमध्ये पहिलोमा आख्यान (उपन्यास र कथा), दोस्रोमा निबन्ध तथा संस्मरण र तेस्रोमा विविध रचना रहने छन्। 

समग्रको निबन्ध खण्डअन्तर्गत ‘आफू आफैतिर फर्केर’ पुस्तक यसअघि नै प्रकाशित भइसकेको छ।