पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएर चौथो ठूलो पार्टी बनेको रास्वपामा समानुपातिक सांसद छनोटलाई लिएर विवाद भएको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक सांसद छनोटलाई लिएर विवाद भएको छ। रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकतर्फ १३ सिट पाएको छ। समानुपातिकतर्फको १३ सिट विभाजनको विषयलाई लिएर रास्वपामा विवाद सिर्जना भएको हो। रास्वपामा खस-आर्य क्लस्टरभित्र सिट बाँडफाँटलाई लिएर नेताहरूले असन्तुष्टि जनाएका हुन्।
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३३४ मत ल्याएको छ। चौथो ठूलो दल बनेको रास्वपाले खसेको कुल सदर मतको १० प्रतिशत कटाएको छ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसदको नामावली पठाउन भनेको छ। आयोगका अनुसार दलहरूले बन्दसूचीमा पेस गरेका नामहरू नै कलस्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ।
रास्वपाले सात जना महिला पठाउनु पर्नेमा दुई जना निर्वाचित भइसकेका छन्। अब रास्वपाले पाँच जना महिलाको नाम समानुपातिकबाट पठाउनुपर्ने हुन्छ। योसहित जातिगत क्लस्टर मिलाउन खस-आर्यबाट चार जना, आदिवासी जनजातिबाट तीन, दलित र मधेशीबाट दुई/दुई, थारू र मुस्लिमबाट एक/एक जना पठाउनुपर्ने हुन्छ।
रास्वपाले प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) र बन्दसूचीमा बुझाइएका नामको क्रमअनुसार नै सांसद चयन हुने भनेको छ। पार्टीमा समानुपातिक सांसद चयनको विषयलाई लिएर असन्तुष्टि देखिए पनि पार्टी सभापति रवि लामिछानेले विधानअनुसार र प्राइमरी इलेक्सनको मतपरिणामअनुसार नै सांसद चयन हुने बताएका छन्।
बिहीबार रास्वपाका सुनसरी जिल्ला सभापति तथा सुनसरी-२ बाट उम्मेदवार भएका लालविक्रम थापाले पार्टी केन्द्रीय कार्यालयमा पुगेर समानुपातिकतर्फ सांसद छनोट गर्दा विधि र विधान मिच्न नहुने भन्दै सचेत गराएका थिए। निर्वाचन आयोगमा पठाएको समानुपातिकको बन्दसूचीको क्रममा तलमाथि गर्न नहुने भन्दै उनले पार्टी कार्यालय पुगेर नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
खस-आर्य समूहमा विवाद
रास्वपाले समानुपातिक उम्मेदवार चयनका लागि प्राइमरी इलेक्सन गरेको थियो। उक्त इलेक्सनमा खस-आर्य खुलातर्फ १७ जनाको उम्मेदवारी थियो।
इलेक्सनमा डोलप्रसाद अर्यालले ९६२ मत, गणेश कार्कीले ६५९, दीपक बोहराले ६५५ मत ल्याएका थिए। खस-आर्य महिलातर्फ प्रा.डा. चन्दा कार्कीले १०८९, निशा डाँगीले ७४०, चन्द्र ऐर चाँदनीले ५७२ मत ल्याएका थिए।
स्रोतका अनुसार खस-आर्य क्लस्टरबाट गणेश कार्की र दीपक बोहोरा पठाउने कि डा. चन्दा कार्की र निशा डाँगीलाई पठाउने भन्नेमा विवाद सिर्जना भएको हो।
रास्वपाका प्रवक्ता मुकुल ढकालले समानुपातिक सांसद चयनको विषय केन्द्रीय समितिको बैठकबाटै टुंगो लाग्ने बताए। समानुपातिक सांसद चयन र निर्वाचनको समीक्षा गर्नका लागि शनिबार केन्द्रीय समिति बैठक बोलाइएको ढकालले जानकारी दिए।
सम्भावित समानुपितक सांसद, को कुन् क्लस्टरबाट?
रास्वपामा बन्दसूचीअनुसार नाम छनोट गरिएमा आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ सांसद बन्ने छन्। थारूबाट अशोक चौधरी, दलितबाट सन्तोष परियार र कल्पना रोक्का, मधेशीतर्फ मनीष झा र तपेश्वर यादव सांसद बन्ने निश्चित जस्तै छ। पिछडिएको क्षेत्रबाट विनीता कठायत, मुस्लिमबाट असिम साह, खस-आर्य समूहबाट डोलप्रसाद अर्याल, चन्दा कार्की र निशा डाँगी सांसद बन्ने देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
