राखेप सदस्य–सचिव भएपछि सिंहले गरेका धेरै निर्णयले वाहवाही कमाएको थियो। राजनीतिक नियुक्तिबाट आएका र पद मात्र ओगटेका कतिपयलाई हटाउन थालेपछि भने आलोचना भयो। तर उनी न मात्तिए, न आत्तिएका थिए।
बुढ्यौली शरीर, ठम्याउन नसक्ने आँखा, चाल्न हिच्किचाउने पाइला। उनलाई पुराना कुरा सम्झिन पनि मुस्किल थियो। तर खरो बोली उस्तै थियो। जब खेल क्षेत्रमा भइरहेको विकृति र विसंगतिका कुरा सुन्थे, उनी करिब २० वर्षअगाडिको भोगाइ सुनाउन थालिहाल्थे। त्यो भोगाइ भने उनको दिमागमा नमेटिने गरी बसेको थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव भइसकेका सिंहको गएको मंसिर १५ गते निधन भयो। ७३ वर्षीय सिंहसँग अन्तिमपटक गएको भदौमा ताहाचलस्थित उनैको घरमा भेट भएको थियो।
उनको घर पुग्दा उनले तोकेको समयभन्दा १०–१५ मिनेट ढिला भएको थियो। शुरूमा त झोक्किए। समयको ख्याल गर्नुपर्ने सुझाव दिए। अनि छेवैको कुर्सी तानेर बस्न भने।
मैले खेलकुदबारे कुरा गर्न समय मागेको थिएँ। कुराकानीको शुरूआत उनैले गरे। शुरूमै खेलकुदको कुरा उठाए। “मेरो शरीरजस्तै खेल क्षेत्र त ध्वस्तै बिग्रिएको छ नि, हैन बाबु?”
मेरो आँखा भने भित्तामा झुन्डिएका तस्वीर, मेडल र प्रमाणपत्रमा गएर टाँसिएका थिए। तीबाहेक भित्तामा समाचारका ‘कटिङ’ पनि फ्रेम गरेर राखिएका थिए। अधिकांश कटिङ खेलक्षेत्रमा देखिएको अराजकता र विकृतिबारे थियो। संभवतः आफूलाई खेल क्षेत्रका विकृतिविरुद्ध लड्न प्रेरित गरिरहनका लागि यस्तो गरेका थिए।
उनले आफ्नो जीवन नै खेलकुदमा सुम्पिएका थिए। ७–८ वर्षकै उमेरदेखि आफ्नै दाजुसँग घरआँगनमा काठको ब्याट बनाएर ब्याडमिन्टन खेल्थे। ब्याडमिन्टनमै रुची बढेपछि उनी खेलाडी हुने बाटोमा गए। उनको ध्यान नै ब्याडमिन्टन खेलमा हुन्थ्यो।
विद्यालय, कलेजका प्रतियोगिता जित्दै उनी जिल्लास्तरीय प्रतियोगितामा पुगे। अनि, अञ्चल हुँदै राष्ट्रिय टोलीसम्म पुगे। उनले २०२९ सालपछि लगातार ६ पटक राष्ट्रिय प्रतियोगिताको उपाधि जितेर इतिहास रचे, त्यो पनि सिंगल, डबल्स र मिक्स डबल्समा। ब्याडमिन्टनमा लगातार ६ वर्ष सबै विधामा उपाधि जित्ने उनी एक्ला खेलाडी हुन्।
त्यस उपलब्धिका लागि आफूले ठूलो संघर्ष गरेको सिंहले बताएका थिए। “ब्याडमिन्टन धनीले मात्रै खेल्ने खेल थियो। कहाँ जो पायो त्यहीले खेल्न सक्थे र? काठको ब्याट बनायो, त्यसैले खेल्यो”, उनी भन्थे “यसरी खेल्दाखेल्दै लत लाग्यो र छाड्न मन लागेन। यही लतले राष्ट्रिय खेलाडीसम्म बनायो।”

विसं १९८० को दशकमा नेपालमा दरबार हाइस्कुल र केही अनौपचारिक शिक्षालयहरू थिए। दरिबारिया र हुनेखाने परिवारका छोराछोरी अध्ययनका लागि भारत जान्थे। उनीहरू उतैबाट ब्याडमिन्टन सिकेर आउँथे। उनीहरूले यता पनि खेल्न थालेपछि मध्यम वर्गीय परिवारका किशोरहरूमा त्यसको प्रभाव परेको थियो। दरबारियाबाहेक सेना र प्रहरीका अधिकृत, सरकारी कार्यालयका प्रमुखले पनि ब्याडमिन्टन खेल्न थाले। त्यतिबेला सुशीलशमशेर र बुद्धिशम्शेर राणालगायतलाई दिग्गज खेलाडी मानिन्थ्यो।
२००७ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन युवराज महेन्द्रको नेतृत्वमा यसको संस्थागत विकास गरियो। युवराजको अध्यक्षतामा नेपाल ब्याडमिन्टन संघ गठन भएपछि यो खेल खेल्ने पनि ह्वात्तै बढ्न थाले।
दरबारिया परिवारका नजिकैका नातेदार भएर पनि होला सिंहलाई यस खेलले छिट्टै आकर्षित गर्यो। तर, उनले राष्ट्रिय टोलीमा पर्न कुनै पहुँच लगाएनन्। मिहिनेत गर्दै गए। “हाम्रो पालामा खेलाडीलाई अहिलेको जस्तो भत्ता पुरस्कार दिने भन्ने केही थिएन। न त बन्द प्रशिक्षणमा राख्ने नीति नै थियो”, उनले भनेका थिए, “म ब्याडमिन्टनमा राष्ट्रिय च्याम्पियन हुँदा पाएको ६०० रुपैयाँ र एउटा सानो कप मात्र हो। त्यो समय त खूब खुसी लाग्थ्यो।”
खेलाडी जीवनबाट सन्यास लिएपछि पनि उनलाई ब्याडमिन्टनले तानिरह्यो। ब्याडमिन्टन संघको सदस्य, सचिव हुँदै अध्यक्षसम्म भए। २०५९ सालमा राखेपको सदस्य–सचिव भएपछि ब्याडमिन्टन संघबाट बिदा भए।
एक त माओवादी द्वन्द्वले देशमा परेको असर, अर्कोतर्फ राखेपमा बढी राजनीति हाबी हुनुले खेल क्षेत्र नै दुर्गन्धित भएको उनले बताएका थिए। यस्तो बेला एकपटक राखेप सदस्यसचिव बन्न धेरैले सुझाव दिएपछि उनी तयार भए। तर, त्यतिबेला राखेपमा राजनीतिक हस्तक्षेप धेरै थियो। २०५० सालपछि राखेप दलहरूको भर्तिकेन्द्र भएको थियो।

उनी सदस्य–सचिव बन्दा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल थियो। दरबारबाट राखेपमा हुने ठाडो हस्तक्षेपले बेला–बेला अप्ठ्यारो अवस्था सिर्जना गर्थ्यो। उनी दरबारको रोजाइमा परे पनि खेलकुद मन्त्रालयबाट नियुक्त भएका कारण अनावश्यक हस्तक्षेप रुचाउँदैन थिए। उनी राजनीतिबाट नभइ खेलक्षेत्रबाट नेतृत्वमा आइपुगेका थिए।
“मैले सदस्य-सचिवमा नियुक्त हुन निवेदन दिएको हो। उहाँ (तत्कालीन खेलकुदमन्त्री देवी ओझा)ले अन्तर्वार्ताका लागि पनि बोलाउनुभएको थियो। मैले दरबारका मान्छे भए उनैलाई बनाउनु पनि भनेको हुँ”, सिंहले भनेका थिए, “त्यो बेलामा चलन त्यस्तै थियो। तर, बाहिर हल्ला भएजस्तो कसैले टपक्क टिपेर (मलाई) ल्याएर राखेको भने होइन।”
राखेप सदस्य–सचिवको हैसियतमा गरेका उनका धेरै निर्णयले त्यतिबेला वाहवाही कमाएको थियो। उनले राजनीतिक नियुक्तिबाट आएका र पद मात्र ओगटेका कतिपयलाई हटाउन थालेपछि आलोचना पनि भएको थियो। तर, उनी वाहवाहीबाट हौसिएनन् र आलोचनाबाट अत्तालिएनन्। उनले दशौँ वर्षदेखि करारमा रहेका कर्मचारीको व्यवस्थापन र कर्मचारी कटौती गर्ने ‘बोल्ड’ निर्णयको अहिले पनि चर्चा हुन्छ।
कुनै बेला बिजुली र टेलिफोनको बिल तिर्न नसक्ने अवस्थामा पुगेको राखेपमा उनले आर्थिक पारदर्शिता कायम गर्ने प्रयास गरे। यसबीचमा उनलाई धेरैको रोजीरोटी खोसेको आरोप पनि लाग्यो। साहना प्रधानका छोरा तथा हक्की संघका तत्कालीन अध्यक्ष उमेशलाल प्रधानलाई समेत उनले पदमुक्त गरेका थिए। त्यसपछि भने सिंहमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लागेको थियो।
“म राजनीतिक रूपमा जोडिनेभन्दा पनि खेलकुदमा नै ध्यान दिइरहेको थिएँ। खेलकुदसँग सिधा सम्बन्ध भएको व्यक्ति भएको कारण विवादप्रति मलाई चासो थिएन। त्यसले पनि कठिन समयमा राखेप चलाउन सकेँजस्तो लाग्छ”, उनले भनेका थिए।
२०६२/६३ को जनआन्दोलनपछि देशमा लोकतन्त्र स्थापना भयो। त्यसपछि सिंह पदमुक्त भए। राखेपको करिब तीन वर्षे कार्यकाल कर्मचारी व्यवस्थापनमै बिते पनि उनले राम्रो शुरूआत गरेर बिदा भए। उनले नेतृत्व गर्दा राखेपमा आउने बजेट पनि निकै कम थियो। उनकै कार्यकालमा नवौँ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी गराउन खेलाडीलाई रेलमा नै पाकिस्तान पुर्याएको विषय पनि चर्चामा रह्यो। सो सागमा नेपालले सात वटा स्वर्ण पदक जितेको थियो।
सिंहको पहिलो सम्झना उनले खेल जीवनमा पाएको उपलब्धि नै हो। तर, उनलाई खेलक्षेत्रले राखेपमा गरेको सुधारका कारण सबैभन्दा बढी सम्झने छ। अलबिदा किशोरबहादुर सिंह।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
