सेयर बजार बुझ्ने अर्थमन्त्री कुर्दै लगानीकर्ता, सातामा ४६ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्सेमा त्यसपछिका तीन कारोबार दिनमा लगातार गिरावट आयो।

काठमाडौँ– लगानीकर्ताहरू नयाँ सरकारको प्रतीक्षामा रहँदा सेयर बजारमा अन्योलता देखिएको छ। यो साता सेयर बजार परिसूचक नेप्से करिब ४६ अंकले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्सेमा त्यसपछिका तीन कारोबार दिनमा लगातार गिरावट आयो।

आइतबार नेप्से २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको  थियो। त्यसयता लगातार ओरालो लागेको बजार बुधबारसम्म आइपुग्दा ४५.९४ अंकले घटेर १९१७.२७ अंकमा ओर्लिएको छ।

तरलता अभाव, उच्च ब्याजदरसँगै लगानीकर्ताहरूले नयाँ सरकारलाई कुरिरहेको नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। लगानीकर्ताहरू बजारलाई बुझ्ने अर्थमन्त्रीको प्रतीक्षामा रहेकोले अहिले अन्योलको स्थिति रहेको उनको भनाइ छ।

आइतबार १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार नेप्से परिसूचक घटे पनि १ अर्ब ६७ करोड ४ लाखको कारोबार भयो। यस्तै, मंगलबार ९६ करोड ५२ लाख रुपैयाँमा कारोबार सीमित भयो।

यो साताको अन्तिम कारोबार दिन बुधबार १ अर्ब ६५ करोड ४६ लाखको सेयर किनबेच भयो। यो साताको अन्तिम कारोबार दिन बुधबार बजार पुँजीकरण २७ खर्ब ६१ अर्ब रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।