अध्ययन वा कामका लागि बिदेसिएकाहरू दशैँमा घर फिर्ने चलन छँदैछ। तर यस्ता अभिभावक पनि छन् जो विदेशमा भएका आफन्तलाई दशैँको टीका लगाइदिन चाडको मुखमा आफैँ बिदेसिन्छन्।
काठमाडौँ— चितवनकी राधिका कँडेलको दशैँ प्रायः घरमा एक्लै बित्ने गर्थ्यो। उनका छोराबुहारी र छोरीज्वाइँ सबै जापानको टोकियोमा बस्छन्। उनी सात वर्षदेखि घरमा एक्लै थिइन्। यसपालि भने छोराबुहारी र छोरीज्वाइँसँग दशैँ मनाउन जापानतिर उडिसकेकी छन्।
छोराछोरी जापानबाट दशैँ मनाउन आउन मुस्किल हुँदा आफू जान बाध्य भएको जापान उड्नुअघि राधिकाले उकालोसँग बताइन्। कहिले पढाइ र कहिले कामका कारण छोराछारी लामो समयदेखि दशैँमा घर आउन नपाएको उनको भनाइ छ।
छोराछोरीको निधार सधैँ खाली भइरहेको कारण यसपटक आफू नै उता जान लागेको उनले बताइन्। “उनीहरू आउँदा धेरै जना आउनुपर्छ, समय मिल्दैन र खर्च पनि पुग्दैन। म त एक्लै जाँदा हुन्छ। खर्च थोरै लाग्ने भयो,” उनी भन्छिन्।
देशमै भने जस्तो शिक्षा र रोजगार भइदिएको भए सात वर्षसम्म आफू दशैँमा एक्लो हुने अवस्था नहुने कँडेल बताउँछिन्। “दशैँको मुखमा देश छाडेर विदेशी भूमि जाने रहर कसलाई हुन्छ र?” उनी भन्छिन्, “नेपालमै परिवार सबै मिलेर दशैँ मनाउन मन थियो तर सम्भव नभएपछि परदेशी भूमि जानुपर्यो। त्यैपनि सन्तानलाइ भेट्न पाउने हुँदा खुशी नै छु।”
अध्ययन, रोजगारी तथा विभिन्न सिलसिलामा विदेश गएका नेपालीहरू दशैँ मनाउनकै लागि आफ्नो थातथलो फर्किरहँदा त्रिभुवन विमानस्थलमा विदेश जाने अभिभावकको लर्को उस्तै छ। विदेश पुगेका सन्तान र अन्य आफन्त फर्किने अवस्था नभएपछि कतिपय अभिभावक आफैँ विदेश जाने चलन बढ्दो छ। प्रायः अमेरिका, अस्ट्रेलिया, जापान, सिंगापुर, क्यानडा, कोरियालगायत देशमा दशैँ मान्न जानेहरू धेरै छन्।
काभ्रेका राजु अधिकारी र श्रीमती कविता अस्ट्रेलिया जान त्रिभुवन विमानस्थलको लाइनमा थिए। उनीहरू छोराछोरीको साथमा दशैँ मनाउन अस्ट्रेलिया जाँदै थिए। उनीहरूका छोरा पनि अस्ट्रेलिया गएको सात वर्ष भयो। छोरी तीन वर्षदेखि उतै छिन्। यसबीचमा सबै परिवार बसेर दशैँ मनाउन नपाएको कविता बताउँछिन्।
अरू बेला भेट्न आए पनि दशैँमा समय नमिल्दा टीका लगाइदिन नपाएको उनले गुनासो गरिन्। यस वर्ष पनि छोराछोरी नेपाल आउन नसक्ने भएपछि आफूहरू जानुपरेको उनी बताउँछिन्।
“पहिले दशैँ मनाउन विदेशमा भएकाहरू फर्किन्थे, अहिले चलन उल्टो भएको छ। छोराछोरी खोज्दै बाउआमा आफैँ जानुपरेको छ। एक प्रकारको बाध्यता नै भनौँ,” उनी भन्छिन्, “यतिका वर्ष छोराछोरीसँग दशैँ मनाउन पाइएन, हरेक पटक खल्लो भयो। फेरि छोराछोरीले उतै बोलाउन थाले। नजाँदा बाउआमा हँुदाहुँदै निधार खाली हुने भयो।”
काभ्रेमा आमाबुबालगायत सबै आफन्तहरू छन्। दशैँको बेला घरमा पनि रमाइलो वातावरण हुन्छ। तर आफ्नो हात र छोराछोरीको निधार खाली हुनेहुँदा सधैँ खल्लो लाग्ने कारण यसपटक अस्ट्रेलिया नै जान थालेको कविताको भनाइ छ।
सुनसरीका गुलाब चन्द चौधरी श्रीमतीसहित अस्ट्रेलिया जान त्रिभुवन विमानस्थलमा कागजपत्र मिलाउँदै थिए। जेठो छोराबुहारीले बोलाएपछि दशैँ, तिहार र छठ मनाउन जान लागेको गुलाबले बताए। घरमा अरू छोराबुहारी, छोरीलगायत छन्। तर विदेशमा रहेका छोराबुहारीले कर गरेपछि उतै हिँडेको उनको भनाइ छ।
उनका जेठा छोराबुहारीले बाबुआमाको हातको टीका नलगाएको सात वर्ष भयो। “यता परिवारसँग त प्रत्येक वर्ष दशैँ मनाइन्छ। यसपालि जेठा छोराबुहारीसँग मनाउँ भनेर जान लागेको। उता पनि सबै नेपाली मिलेर मनाउने रे। त्यसैले रमाइलो हुन्छ होला,” गुलाब भन्छन्।
विभिन्न सिलसिलामा विदेश जाने र त्यहीँको नागरिक भएर बस्नेको संख्या पनि बढिरहेको छ। उनीहरूका कारण पनि अभिभावकहरू दशैँमा विदेश जाने गरेका छन्। कतिपय देशमा भने नेपालीहरू सामूहिक रूपमा समेत दशैँ मनाउँछन्।

चाडपर्व मानिसको आर्थिक, समाजिक र व्यवहारिक परिवेशअनुसार मनाइने भएकाले दशैँ मान्न विदेश जानुलाई सामान्य रूपमा लिनुपर्ने मानवशात्री जनक राई बताउँछन्। मौलिक रूपमा मनाउने दशैँ समयक्रमसँगै परिवर्तन भए पनि चाडपर्व जहाँ रहेर पनि मनाउन सक्ने उनको भनाइ छ।
“मानिसहरू भौगोलिक, आर्थिक र समाजिक प्रणालीको चुनौतीले छरिएका छन्। त्यसैले अहिले चाहेर पनि एकीकृत हुन सक्दैनन्। दशैँ परिवारजनसँग मनाउने चाड हो। जहाँ परिवार छ, त्यहीँ गएर मनाउनुलाई समान्य मान्नुपर्छ,” उनी भन्छन्।
पहिलेझैँ गाउँघरमा पनि दशैँ मौलिक र पारम्पारिक नभएको उनी बताउँछन्। विदेश जाने सन्तान र आफन्तको प्रभाव गाउँघरमा पनि परेको र त्यहीकारण घरैमा जम्मा भएर मनाउनुपर्ने धारणा परिवर्तन भएर जहाँ भए पनि भेट हुने अवस्था आएको राईको भनाइ छ। चाडपर्व यसरी नै मनाउनुपर्छ भन्ने कुनै नियम पनि नभएको उनी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
उद्धव ठाकुर
