दशैँ के हो, के होइन?

आधा शताब्दीअघि नेपालमा दशैँको भिन्नै रूप, रङ र उत्सव हुन्थ्यो। याक्थुङ (लिम्बु भाषा) मा दशैँको अपभ्रंश शब्द ‘तसी’ हो। ‘दशैँ आयो’ भन्नु पर्दा ‘तसी ते’ भनिन्छ। तसी आएको आभास भद्रा चरीले संकेत गर्थ्यो।

हाइकिङ जाने मेरा साथी तिलमान तामाङ केही दिनअघि पानी पर्दा म्याग्दीको बेनीमा अड्किए। उनी उपल्लो ल्होमान्थाङ पुगेर फर्केका थिए। मैले मनाङको नार र फू जाने सोच बनाएकोले उनी पनि जान्छन् कि भनेर कल गरेँ। जान इच्छुक थिए तर दशैँको समयमा मन गरेनन्। सेवानिवृत्त लाहुरे। पुरानो घर सोलघर, ओखलढुंगा। छोराछोरी सबै बेलायत छन्। श्रीमान् र श्रीमती मात्र काठमाडौँ बस्छन्।

करिब आधा शताब्दीअघि नेपालमा दशैँको भिन्नै रूप, रङ र उत्सव हुन्थ्यो। याक्थुङ (लिम्बु भाषा) मा दशैँको अपभ्रंश शब्द ‘तसी’ हो। ‘दशैँ आयो’ भन्नु पर्दा ‘तसी ते’ भनिन्छ। तसी आएको आभास थाङ्लेकवा (भद्रा) चरीले संकेत गर्दथ्यो। बर्खाको बाढी, पहिरो, झरीबादल, हिलो थामिएर औलतिर खेतमा धान र पाखाबारीमा हराभरा कोदो, रक्ताम्य फुलेका लट्टे, फुल्न थालेका सयपत्री, पाक्न थालेका अम्बक, मुछे (बडहर) फल्न थाल्दा खन्यु र बडहरको बोटमा थाङ्लेकवा चरी असामान्य चिरिबिराउन थालेपछि तसी आएको आभास हुन्थ्यो।

नेपालमा 'हिन्दू अधिराज्यको महान् चाड' भन्दै बडा दशैँको रूपमा मनाउने चलन थियो। हिन्दू अधिराज्य वा सक्रिय राजतन्त्र (पञ्चायतकाल) को अन्तपश्चात् बडादशैँ मान्ने कि नमान्ने, मान्नेले कसरी मान्ने, नमान्नेले किन नमान्नेजस्ता विभिन्न विचार स्वाभाविक रूपमा उठे। बौद्धिक, सामाजिक तथा सांस्कृतिक डिस्कोर्स नै शुरू भएको छ, तर प्राज्ञिक बहस अझै छैन। आज हिन्दू राजतन्त्र छैन। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र छ। एउटा गतिशील समाजमा सामाजिक उतारचढावहरू भइरहन्छन्। यहाँ पनि दशैँ मान्नु, नमान्नु, बहिस्कार गर्नुजस्ता कुराहरू भइराखेका छन्। तर तिनको सैद्धान्तिक तथा वैचारिक पक्ष बहसको विषय बन्नुपर्छ, ताकि समाजले तत् विषयमा एउटा 'इन्फर्म्ड कन्सेन्ट'को लागि हर व्यक्ति, परिवार र समाजलाई तयारीमा राखोस्। 

दशैँ  मान्ने
दशैँ चाड मान्नुको मतलब के हो? रामले रावण (रामायण) र दुर्गाले महिषासुर (दुर्गा भगवती)को वध गरी विजय प्राप्त गरेको पौराणिक मतअनुरूप नेपालमा विशेषतः हिन्दू धर्मावलम्बीले राष्ट्रिय तथा धार्मिक महत्त्वका साथ दशैँ मनाउँछन्। नेपालबाहेक भारतमा पनि यो पर्व मनाइन्छ। चाडको अन्तर्यमा भारत र नेपालको उही नै हो तर भारतमा दशैँ भनिन्न। त्यहाँ दसेरा र दुर्गा पूजा भनिन्छ।  मनाउने तरिका पनि फरक छ। नेपालको हिमाली क्षेत्र र तिब्बती भोट संस्कृतिमा दशैँ चाड छैन। पहाडमा धूमधाम छ। मधेशमा पहाडभन्दा केही भिन्न छ। 

मधेशमा बडा दशैँलाई दुर्गापूजा वा दशहरा भन्ने गरिन्छ। बीबीसीले उल्लेख गरेअनुसार मधेशमा घरको अभिभावकले दुर्गा पूजा गरेर परिवारका सबै सदस्यलाई एकै दिन मात्र टीका लगाइदिने चलन छ, दक्षिणा दिने चलन छैन।  

पहाडमा हिन्दू सनातन संस्कृतिका धर्मावलम्बीहरूको घरघरमा आश्विन शुक्ल प्रतिपदाको दिन जमरा (धान, गौ, जौ र मकैका नयाँ आँकुरा) माटोमा उमार्न छरिन्छ। उक्त दिनलाई जमरे औँसी पनि भनिन्छ। त्यो दिनदेखि शुरू भई दश दिनसम्म पूजाआजा गरी मनाउने भएकोले पनि यसलाई दशैँ भनिएको हो। यी फरक दिनमा विभिन्न शक्ति स्वरूप देवीहरू  शैलपुत्री, ब्रम्ह्चारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्ने र त्यसो गर्दा शक्ति प्राप्त हुने विश्वास हिन्दू सनातन धर्मावलम्बीमा छ। प्रमुख तिथिहरूमा प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) हुन्। यी तिथिहरूमा देवीहरूको पूजापाठ आआफ्ना घर र मन्दिरहरूमा सम्पन्न गरिन्छ। 

दशमीको दिन टीका लगाउँदा दिने आशीर्वादको पाठमा, ‘द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो धनसम्पत्ति, रामको जस्तो शत्रुनाश, नकुलको  जस्तो ऐश्वर्य, हनुमानको जस्तो गति,  दुर्योधनको जस्तो मान, कर्णको जस्तो दानवीरता, बलरामको जस्तो बल, युधिष्ठिरजस्तो सत्यनिष्ठा र विदुरको जस्तो ज्ञान हुनू' भन्ने उल्लेख हुन्छ। यो आशिष् पुरुषका लागि प्रचलित छ। छोरी मान्छेलाई दिइने आशिषमा भने देवीको आराधना मात्र उल्लेख हुन्छ।  

दशैँमा परिवारका सदस्य, मान्यजनसित भेटघाट गर्ने, मिठोमसिनो खाने, नयाँ लुगा लगाउनेका साथै दशैँको महत्त्व सांस्कृतिक, आध्यात्मिक पनि छ। कैयौँले दशैँको बिदालाई ज्ञानगुन सिक्ने र  पूजापाठ गरेर शक्ति प्राप्त गर्ने अवसरका रूपमा पनि लिन्छन्। हिन्दू सनातन धर्मावलम्बीका लागि सांस्कृतिक, मनोवैज्ञानिक तथा बौद्धिक ज्ञान, शक्ति र प्रज्ञा प्राप्तिको लागि आफूलाई रिचार्ज गर्ने एउटा अवसर पनि हो। अन्य संस्कृति र धर्मावलम्बीका लागि भने तुलनात्मक सांस्कृतिक सन्दर्भ (रिफेरेन्स)को रूपमा दशैँले महत्त्व राख्ला। समाज निरपेक्ष कुनै संस्कृति, जाति, ज्ञान र विज्ञानले मात्र पूर्णता पाउन्न। विभिन्न जातजाति, जनजातिका भाषा, संस्कृति, धर्मको अवलोकन, अध्ययनबाट एकअर्कामा भरणपोषण हुँदै जाने हो। 

हिजो हिन्दू राजा र धर्मावलम्बीले मान्ने गरेको बडादशैँ, राष्ट्र र राज्यले नै प्रमुख चाड भनेर मान्ने गरेको अवस्थामा आफूले पनि मनाएर राजा, राजतन्त्र, राष्ट्र र राष्ट्रियता वा राज्यसितको सम्बन्धमा बफादार प्रदर्शन गर्नुले महत्त्व राख्थ्यो। अर्कोतिर राज्यले नै चाड मान्न आम नागरिक, परिवार र धर्मसंस्कृतिका लागि बिदा दिइन्थ्यो। पूजाआजा गर्नको लागि निर्देशनदेखि चाड माने नमानेको रेखदेखसमेत गरेको अवस्थाबाट आजको भिन्न अवस्थासम्म आउँदा दशैँको आफ्नो कथा र आफ्नै व्यथा नभएको होइन। तर एउटा लोकतान्त्रिक समाजमा विभिन्न जातजाति वा जनजातिको मात्र नभई दुनियाँको चाडबाडमा कसरी तादात्म्य ल्याउन ल्याउन सकिन्छ, एउटा बौद्धिक चिन्तन, मनन र कर्मको जरुरी रहन्छ।

दशैँ नमान्ने
नब्बेको दशकमा नै चाल पाएको हो, नुवाकोट बेत्रावतीबाट उकालो लागेपछि धुन्चे, स्याब्रु, लाङ्टाङ्, क्याङ्जिगोम्पाबाट फर्केर आएर गोसाईंकुण्ड, मेलम्चिघ्याङ्, तार्केघ्याङ्, सेर्माथाङ् हुँदै ककनी भन्ज्याङबाट तल झर्दा दुबाचौर, मेलम्ची बजारतिर पुगेपछि मात्र लिंगेपिङ लगाएको, दशैँ मान्नेको निधारमा रातो टीका र चहलपहल देख्न पाएँ। त्यति नै खेर मैले ‘दशैँ आम नेपालीको चाड हो भन्नु गलत रहेछ, हिमाली संस्कृतिमा दशैँ भन्ने चाड छैन रहेछ’ भनेर जान्ने मौका पाएको थिएँ।

सन् २०१२ तिरको कुरा हो, शैँको छेकमा ओलाङचुङगोला पुगियो। ओलाङचुङगोलाबाट टिपतला पास (करिब ५ हजार मिटरको उचाइ) जाने क्रममा उक्त स्थानको जानकारी लिन पुलिस चौकीमा पुगेँ। हवलदारसित भेट भयो। उनले टिपतला पास पुग्ने बाटो र पासवारि र पारिको अवस्था जानकारी दिए। चौकीका एक जना प्रहरी जवान हवलदारकहाँ आए। कागजको टुक्रामा सिँदुरजस्तो रङ निकाले र भने, “साप्, छैन, केही पनि भेटिएन। यो भ्याङ्लुङ् (भेडाको भुत्ला) रंग्याउने थोरै रङ भेटियो, यसले के अछेता मुछ्दो हो र?”

उक्त दिन दशमी रहेछ, चौकीमा टीका लगाउने रङको अभावमा प्रहरी जवानलाई खोज्न हवलदारले पठाएका रहेछन्। गोलामा दशैँको कुनै रौनक थिएन।

करिब ३० वर्षपछि सन् २०२२ तिर हेलम्बु जाँदा बेलुकीतिर नारकोटे पुगियो। त्यस भेगमा ‘ञ्युङ्ने’ पर्व मनाइँदै रहेछ। दशमीको दिन थियो। गुम्बामा पूजा सकिएर खाजा र खाना खाने समय भएको थियो। यो पर्व के हो भनेर स्थानीयबासीसँग बुझ्न खोजेँ। दशैँमा नवरात्रीको पूजा हुन्छ। बली चढाइन्छ। दशैँको लागि राँगा, खसी, सुँगुर, भेडा, बोका, भाले कुखुरा, हाँस आदि काटिन्छ र खाइन्छ। जीवहत्या गर्दा बगेको रगतले धर्ती सिँचिन्छ, जुन बौद्धमार्गीहरूको लागि असह्य पीडाको कुरो हो। मरेका पशुले मुक्ति पाउन् भनेर नारकोटे गाउँको ‘थोकतेन दोङाक छुलिङ’ गुम्बामा बर्सेनि ञ्युङ्ने कर्मको आयोजना हुने रहेछ। 

यो कर्ममा दशमीको पाँच दिनअघि विभिन्न ठाउँबाट आएका सयौँ भिक्षुहरूले तपस्या गर्ने रहेछन्। पछिल्लो ४८ घण्टा पानी पनि नलिईकन व्रत बसी चौथो दिनमा आराम गर्ने र पाँचौँ (दशमी) दिन पूजा गर्ने, प्रसाद खाने र खुवाउने रहेछन्। दशैँ पर्व नमान्ने मात्र होइन, दशैँको नाउँमा बलि दिने प्रथाबाट मानव जातिमा बोधिचित्त एवम् करुणा उत्पन्न होओस् र सबै प्राणीको उद्धार एवम् मुक्तिको लागि ञ्युङ्ने पर्वको आयोजना गरिने रहेछ।

दशैँ मान्न छाड्ने
वि.सं. २०४६/४७ सम्म लिम्बुवानका याक्थुङ (लिम्बू) समुदायमा दशैँ मान्ने चलन थियो। प्रजातन्त्रको पुनर्स्थापनापछि दशैँ नमान्ने अभियान लिम्बुवानमा पनि आयो। ऐतिहासिक दस्ताबेजको अध्ययनले भन्छ– पाँचथर याङरूपका बाउन्न सुब्बाहरू अंग्रेज सरकारको आक्रमणमा बारम्बार परेकाले हातहतियार, खरखजाना माग्न कान्तिपुरका राजा रणबहादुर कहाँ पुगे। राजाले ढाल, तरबार, त्रिशूल, कर्नाल, नरसिंगा, डमरु, शंख दिए। सुब्बाहरूले थर्पुको टुँडिखेलमा ५२ मौली निशानी गाडेर नगरा बजाएर दशैँ उत्सव मनाउने चलन बसाले। 

हिन्दू सनातन धर्मसंस्कृति 'शक्ति पुजारी' भएकाले हतियार भौतिक वस्तु भयो, त्यसमा आध्यात्मिक शक्ति पनि भर्न दशैँ संस्कृति चलाएको बुझ्न सकिन्छ। अर्को वि.सं. १८५१ मा राजेन्द्रविक्रम शाहले हिँवाखोला सिद्धिपुर बाघाखोला उत्तर श्री फागो, श्री देउ राईका नाउँमा जारी तसल्ली लालमोहरमा, “तेरा बाजे जिजुका खायल जमिन खेत प्रजा गाउँ मकवानी हिन्दू पतिले बक्स्याको दण्ड कुण्ड अपुताली चाक चुकाई छिनाहारी राहत बहता सब अंक माफ गरिबक्स्याको रहेछ, सो हामी पनि दशैँको भाग सुब्बा पिच्छे रू.५ साउन्या, फागुन्या समेत राज अंक बाहेक माफ गरि बक्सौँ ,” भनेको छ। सबै माफीका बाबजुद दशैँको अंक (कर) रू.५ राजेन्द्रविक्रम शाहले सुब्बाहरूलाई लिएको देखिन्छ। 

वि.सं. २०७५ को दशैँमा च्याङ्थापु पाँचथर तिम्तिम्बु, साँगाडाँडा पुगियो। अष्टमीको दिन दशैँको चहलपहल बिलकुल थिएन। सूर्यकिरण आधारभूत विद्यालय, याङ्वार-२, साँगा डाँडाको प्रांग्रणमा फुटबल म्याच हप्तादिन अघिबाट चलिरहेको थियो। पूर्वतिर दशैँको छेकोमा धेरै ठाउँमा फुटबल म्याचहरू आयोजना हुने गर्छन्। तिम्तिमुमा पनि फाइनल म्याच दशैँको टीकाको दिन परेको थियो। मेलामा सबैको अनुहार हेरेँ–बाहुन, क्षेत्री, नेवार र दलित समुदायको निधारमा रातो टीका छपक्कै भरिएको थियो। तर राई लिम्बु, सेर्पा वा तामाङको निधारमा टीका जमरा थिएन। एक जना याक्थुङ खद्धरखाँडीको दौरा शुरूवालमा सजिएका थिए। उनको निधारमा रातो टीका छपक्क थियो। 

२०७७ सालमा आएको समाचारअनुसार स्याङ्जाको तत्कालीन बिरुवा गाउँपालिका वडा नं २ गाबुडाँडा टोल निबासी च्हाक्ली खलकको ऐतिहासिक वृहत् भेला सम्पन्न भई च्हाक्ली खलककै ज्येष्ठ नागरिक धनसुब्बा गुरुङको संयोजकत्वमा भएको भेलाले दशै नमनाउने र सट्टामा ल्होसार मनाउने निर्णय गरेछ। सोही वर्षदेखि गाबुडाँडाबासीले दशैँमा टीका नलगाउने भन्दै बैठकमा माइन्युट गरेका रहेछन्। उक्त बैठकको उपस्थिति हेर्दा १९ जना सबै नै गुरुङ भएको देखिन्छ। 

यसरी विभिन्न कारणले वा स्वेच्छाले मनाउँदै आएको दशैँ चाड नमनाउने भनेर विशेषतः २००७ सालपछिको राजनीतिक क्रान्तिसँगै विभिन्न समुदायले दशैँ नमान्ने पहल गरेका छन्। 

एक प्रसंगमा इतिहासकार जगदीशचन्द्र रेग्मीले भनेका थिए, ‘‘हाम्रो परिवार राणा परिवारमा आश्रित थियो। राणा परिवारका गुरुजस्ता थियौँ।  हाम्रो सम्बन्ध भएको राणा परिवारबाट दशैँ खर्च भनेर लुगाफाटा, पैसा, भेटी र बलिका बोकोहरू पाउँथ्यौँ। उनीहरूलाई कति परिवार छन् भन्ने थाहा हुन्थ्यो। सबैलाई पुग्नेगरी त्यस्ता सामग्री दिन्थे। २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि हाम्रो संस्कृतिमा धेरै परिवर्तन भयो। सात सालले एकातिर शास्त्रसँग सम्बन्धविच्छेद गराउन थाल्यो भने अर्कोतिर कतिपय समूहले दशैँ बहिस्कार गर्ने र 'धर्म अफिम हो' भन्ने चलनले गर्दा दशैँ मान्ने चलन क्रमशः क्षीण भयो। दशैँको व्यापकतामा कमी हुँदै आयो। राणाकालमा पनि कर्मचारीलाई दशैँमा पेस्की दिइन्थ्यो र करिब १५ दिन त छुट्टी नै हुन्थ्यो। हिजोआज चाहिँ बिदा पनि कम बनाउँदै ल्याइएको छ। त्यसले मानिसमा अन्योल बढाएको छ। शास्त्रसँग सम्बन्धविच्छेद हुँदै गएको छ। दशैँ भनेको के हो भन्ने नै धेरैलाई थाहा हुन छाड्यो।"

दशैँको वैचारिकी
संस्कृतिविद् डा. जगमान गुरुङ भन्छन्, “हिन्दू सामाजिक व्यवस्थाको मूल आधार ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र चार वर्ण हो। यो दशैँलाई नेपालका शासक वर्गले देशको नीति बनाइदियो। त्यो नीतिमा छिर्ने जतिलाई अपग्रेड (बढुवा) गरिदिए। त्यो नीतिमा नछिर्नेलाई 'घटुवा' गरिदियो। त्यसकारण दशैँमा राजनीति छ। तामाङ र गुरुङ जातिमा फरक छैन। तर  गुरुङलाई दुवालबन्दी सिपाही राइफलमेन बनायो, तामाङलाई भारी बोक्ने पिपा बनायो। तामाङलाई सेनामा भर्ती हुन पर्‍यो भने गुरुङ भनेर ढाँट्नुपर्ने। मगर, राई र लिम्बुजस्ता गुरुङसँग रीतिथिति नमिल्नेले समेत गुरुङ भनेर आफ्नो परिचय ढाँट्नुपर्ने भयो। गुरुङले म बस्नेत, क्षेत्री, कार्की क्षेत्री भन्न नपर्ने, सोझै दुवालबन्दी सिपाहीको जागिर पाउने। गुरुङले दशैँ मानेकोमा तिनलाई अपग्रेड (बढुवा) गरिएको हो। त्यस कारणले दशैँमा राजनीति छ।” 

गुरुङ थप्छन्, “बाउ, छोरा, दाइ र भाइलाई मारेर राजा बन्ने क्षेत्री शासक वर्गको चाड हो दशैँ। खुँडा हान्ने क्षेत्रीको चाड हो।”  

“ऋषि पञ्चमी, जनै पूर्णिमा ब्राह्मणको चाड, दशैँ क्षेत्रीको चाड र होली पूर्णिमा शूद्रको चाड हो, जुन ऋतुअनुसार मनाइने पर्व हुन्। रामलीला, रावणको वध वा महिषासुरको कथा पछि थपिएका हुन्," इतिहासविद् दिनेशराज पन्तको भनाई छ।

दशैँ हिन्दू धर्मावलम्बीले जसरी मनाएका छन् र राज्यले जसरी राज्यको मूल धर्म भनेर राजकीय कर्महरूमा पजनी गरिरहेको छ, त्यसमा राज्यको नागरिक भएका कारण राज्यसितको समीप (लोयल्टी)मा मान्नु एउटा कुरा हो, तर त्यो साझा संस्कृति नभई एकल संस्कृतिमात्र हो। 

महिषासुरको वैचारिकी दशैँको मुख्य विषय नेपालमा मात्र नभई पछिल्लो समय भारतमा महत्त्वपूर्ण विषय बनेको छ। भारतीय पत्रकार प्रमोद रञ्जनको फरवार्ड प्रेसमा १ डिसेम्बर, सन् २०१५ मा छापिएको लेखमा भनिएको छ, "यो साल ३०० भन्दा धेरै ठाउँमा सहिद महिषासुरको स्मृति दिवसको आयोजना गरियो। देशको सीमाभन्दा पर नेपालमा पनि मनाइयो। जवाहरलाल नेहरु विश्वविद्यालयमा सहिद महिषासुर दिवस मुट्ठीभर पिछडा वर्ग र दलित विद्यार्थीले २०११ अक्टोबर २५ मा पहिलो पटक मनाउँदा यो यति धेरै बढोत्तरी हुन्छ भनेर शायदै कसैले सोचेको थियो। चार वर्षको अवधिमा पिछडा वर्ग, आदिवासी तथा दलित समुदायबीच सांस्कृतिक एकताको एउटा आधार बनेको छ महिषासुर दिवस।”

रञ्जन थप्छन्, “यसरी महिषासुरलाई शहीद भन्नेहरू ज्यादाजसो यादव, कुशवाह, कुम्हार, कुर्मी, निषाद, माझी, रजक, रवि दास आदि वञ्चित बहुजन समुदायका अधिकांश छन्।” रञ्जनको तर्क छ कि महिषासुरको सम्बन्ध भारतको आदिम जनजाति ‘असुर’ को प्राचीन संस्कृतिसित जोडिन्छ, जसको सङ्ख्या अब भारतभरमा केबल नौहजार मात्र पुग्छ। रञ्जनका अनुसार महिषासुर जन्मेको ठाउँ बुण्डेलखण्डको महोबामा हो। त्यहाँ उनलाई मैकासुर, कारस देव, ग्वालबाबा आदि नामले पुकारिन्छ। मैसुरमा उपस्थित बौद्धिक जनको भेलाले उनको दबाइएको व्यक्तित्वको स्मरण र पुनरुत्थानको लागि विभिन्न अभियानको आयोजना गर्ने सोच बनाएका छन्। 

त्यस्तै, पश्चिम बंगालको पुरुलिया जिल्ला, केकाशीपुर प्रखण्डको झालागौडामा महिषासुर दिवसमा विशाल कार्यक्रमको आयोजना हुने गरेको छ। सन् २०१५ मा यस्तो कार्यक्रममा झन्डै २० हजार मानिसको उपस्थिति थियो। उपस्थित हुनेहरू संथाल, बावरी, राजहंस, महाली आदि आदिवासी जनजाति र उत्पीडित जाति समुदायको उपस्थिति तियो। सन् २०११ यता जहावरलाल नेहरु विश्वविद्यालयबाट महिषासुर सहिद दिवसको आयोजना हुन थालेकोमा सन् २०१५ मा भारत र त्यसपछि सयभन्दा बढी स्थानमा कार्यक्रमहरू हुने गरेका छन्। 

५ अक्टोबर, सन् २०१७ मा झारखण्डमा महिषासुर स्मृति दिवस आयोजना गरिएको थियो। उक्त दिवसमा त्यहाँका पूर्व मुख्यमन्त्री सिबु सोरेनले एक सन्देशमा भनेका थिए, “असुर नायकहरूलाई किन अपमानित गरिन्छ? असुर नायकहरूविरुद्ध प्रयोग गरिएका दुष्ट र राक्षसजस्ता शब्द निषेध गरियोस्। शरद पूर्णिमाको दिन आयोजित महिषासुर स्मृति दिवस मनाऊँ। हामीलाई असभ्य भनियो, हामीलाई मान्छेसमेत मानिएन। तर म असुर भएकोमा गर्व गर्छु र मेरो भूमिको माया गर्छु।”

अन्तमा,
दशैँ मात्र होइन, नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक मुलुक भएको कारण नेपालमा मनाइने सबै चाडपर्वको यथोचित संरक्षण, सम्वर्द्धन र विकास गरिनुपर्छ। कतिपय चाडपर्व राज्यको नीतिसित जोडिएर आएको छ। राज्यको स्वरूप बदलिएसँगै ती चाडपर्वमा बदलाब आउनुलाई अन्यथा मान्नहुन्न। त्यसो त कति चाडपर्वहरू राज्यको प्रभाव, शोषण र अन्यायमा परेको पनि अनगिन्ती छन्। लोकतान्त्रिक समाजमा तिनीहरूको प्रस्फुटन गर्न गराउन राज्यले विशेष ध्यान पुर्‍याउन पर्ने हुन्छ। 

पुनः तिलमान तामाङजीको अनुभव यहाँ जोडौँ। लोमन्थाङको ट्रिपबाट घर फर्किएपछि उनको दशैँ अनुभवबारे हामीबीच कुरा भयो। उनले भने, “सानो उमेरमा दशैँमा टिको लगाउन बजैकोमा जान्थ्यौँ। बजैले सेतो टीका र लेखको सेतो बुकी फुल लगाइदिन्थिन्। बुकी फूल नहुँदा सेतो गोदावरी फुल भए पनि लगाइदिन्थिन्। गाउँमा भेजो हानेको राँगाको मासु बजैको घरमा ल्याएको हुन्थ्यो, त्यसैसित धानको भात खान पाइन्थ्यो। बजैको घरमा परिवार ठुलो, मासु नपुग्दा स्कुससित मिसाएर भए पनि सबैलाई भाग पुर्‍याउनु पर्थ्यो। बज्यैकोमा चेलीबेटीहरू खसी र भेडाका साँप्रोहरू कोसेली लिएर दशैँ मनाउन आउँथे। अलिक विपन्नले भने भालेको फिला लिएर टिको लगाउन आउँथे। तर जमरा राख्ने, देवीदुर्गाको पूजा गर्ने आदि कुनै कर्मकाण्ड थिएन। त्यसरी नै दशैँ चाड मनाउँथ्यो।” 

तिलमान भन्छन्, “म पल्टन गएँ। पछि मुलुकमा बहुदल आएपछि दशैँ नमनाउने होहल्ला गाउँघरमा आयो। त्यसपछि मान्दै आएको दशैँ मान्न छाडियो। दाजु ओखलढुंगाबाट मोरङ बेलबारीमा झर्नुभयो। उहाँले पनि दशैँ छाडेको छाड्यै भयो, मान्नुहुन्न। दशैँको दिन चेलीबेटी माइती आउँछन्। दिदीबहिनीहरू आजभोलि पूरै हिन्दू सम्प्रदायमा छन्। मलाई पनि सामेल गर्न जोड गरे। मैले मानिनँ, मन परेन। उनीहरू यतै काठमाडौँमा नै छन्। चेलीबेटीहरू दशैँ मान्न माइती आएपछि भन्छु– अब दशैँ मान्न आयौ, के गर्ने? अनि सेतो अक्षता र गोदावरीको फूल लाइदिन थाल्याछु। हामी सबै पहिलेदेखि नै बौद्ध धर्मावलम्बी हौँ र छौँ।” 

तिलमानको अनुभवले नेपाली समाजको धेरै हदसम्म चित्रण गर्छ। हिन्दू होइनन्, दशैँ मान्छन्। दशैँ मान्छन्, नवरात्रको पूजाअर्चना छैन। जमरा उमार्दैनन्। लेकको बुकी र गोदावरी फूल लगाउँछन्। रातो टीका लाउँदैनन्, सेतो लगाउँछन्। यिनले दशैँ मान्नुमा राम, रावण, देवी र महिषासुरको कुनै कथा जोडिएको छैन। उनीहरूका लागि कुनै धर्म मान्नु, छोड्नु, चाड मान्नु र नमान्नु पारिवारिक भेटघाट, रमाइलो र खानपान तथा साइनुसम्बन्धभन्दा बढी केही छैन। कुनै वैचारिकी त्यसमा भेटिन्न।