सुन, चाँदी र पित्तलसहितको जलप राखेर तयार गरिएको थांकामा राजा श्रङ–चङ गम्पोको कथामा जोडिएकी नेपाली राजकुमारी भृकुटीको चित्रकथा छ। तिब्बती धर्मगुरु पन्चेन लामासम्मको विवरण समेटिएको छ।
छिङहाइ (सिनिङ)– छिङहाइको राजधानी सिनिङअन्तर्गत टङ्ग्रिन जिल्ला(काउन्टी)को एउटा कुनोमा रहेको लोकप्रिय रेबगंग थांका ओरिजिनल बेसमा हरिततारा, श्वेततारा, मञ्जुश्री सहितको मूर्ति पनि राखिएको छ।
बौद्ध थांकाचित्रमा तिब्बती राजा श्रङ–चङ गम्पोकी जेठी श्रीमती भृकुटीलाई हरिततारा र कान्छी वेन्चिङलाई श्वेततारा भनेर प्रतिस्थापन गरिएकाले सम्भवतः हरेक संग्रहालय तथा बौद्ध स्तुपामा यी दुवै मूर्ति राखिएको हुन्छ। “हामीसँग श्वेततारा, मञ्जुश्रीसहितका मूर्ति थिए,” ओरिजिनल बेसका प्रबन्धक चासी ताङचौले भने, “अनि खोजबिनका क्रममा हरिततारा भने ल्हासाको एक मूर्ति बिक्री केन्द्रबाट ल्याएका हौँ।” ताङचौका अनुसार, सन् २००२ मा ल्हासाबाट ५० हजार युआन (करिब १० लाख रुपैयाँ) तिरेर खरिद गरिएको हरिततारालाई यो संग्रहकै विशिष्ट प्रतिमा मानेर राखिएको छ।

यो प्रतिमाको उत्पत्ति थलो नेपाल (काठमाडौँ उपत्यका) भनेर ल्हासाका व्यापारीले भने पनि के, कहाँ हो र, कसरी तिब्बत ल्याइएको हो भन्ने आफूलाई जानकारी नरहेको उनले बताए। टङ्ग्रिन जिल्लामा रहेका एक लाख बासिन्दामध्ये २७ हजारभन्दा बढी थांकाको काममा जोडिएको र स्थानीयले तयार गरेका सबै थांकाचित्र यहाँका संग्रहालयले खरिद गर्ने गरेको उनले जानकारी दिए।

सिनिङको अर्को चिनारीमा जोडिएको रहेछ– संसारकै लामो थांकाचित्रको प्रदर्शनी। तिब्बतीयन कल्चर म्युजियममा राखिएको ६१८ मिटर लामो थांकालाई तिब्बती ‘इन्साइक्लोपेडिया’ मान्ने गरिएको रहेछ जुन गिनिज बुकमा समेत उल्लेखित छ। म्युजियमका सूचना अधिकृत तेन्जिन ट्रिन्लेका अनुसार, झण्डै ७ बिलियन युआन खर्चिएर र ४०० कलाकार लागी परेर यो थांकाचित्र तयार गरिएको हो।

तिब्बती कलाकार छोन्ड्रु रब्गेको नेतृत्वमा १५ वर्ष लगाएर तयार भएको (सन् २०१९ मा सम्पन्न) हो। एक हजार ५०० वर्गमिटरमा फैलिएको थांकाचित्रमा विभिन्न किंवदन्ती, धर्म–व्याख्या, भूगोल र राजनीतिभित्रको बयानमा एक लाख ८३ हजार पात्रको चित्र कोरिएको छ। सुन, चाँदी र पित्तलसहितको जलप राखेर तयार गरिएको थांकामा राजा श्रङ–चङ गम्पोको कथामा जोडिएकी नेपाली राजकुमारी भृकुटी समेतको चित्रकथा छ। यस्तै, तिब्बती धर्मगुरु पन्चेन लामासम्मको विवरण समेटिएको छ।

उक्त थांकाचित्र अवलोकनमा नेपालका पूर्वराजकुमार पारस शाह सिनिङ पुगेको विवरण म्युजियममा राखिएको छ। तर, उनलाई नेपालका राष्ट्रपति भनेर चिनाइएको गलत विवरणसमेत छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
