उपत्यकाको परम्परागत इँटा संस्कृति र वर्तमानको विकृति

संरचनाको आवरण दाचि अप्पाको भएपछि 'सम्पदा' भइहाल्ने मानसिकता बन्दै गएको छ। भूकम्पपछि निर्माण जगतमा भएको दाचि अप्पाको माग र खपत निकै उच्च रह्यो। 

निर्माण जगत‍्मा इँटाको आविष्कारलाई मानव पुर्खाको उल्लेख्य उपलब्धि मान्न सकिन्छ। टेराकोटा (मृणमय कला) प्रविधिको अभ्यास नवपाषाणकालीन मानिसबाट थालिएको ठम्याइ विद्वानहरूको छ। सर्वसुलभ माटो, जुन आकारमा पनि ढाल्न मिल्ने र पोलेपछि कडा बन्ने गुणका कारण हजारौँ वर्षयता मानिसले टेराकोटा प्रविधि अँगाल्दै आए। प्राय: सबै पुरातात्त्विक उत्खननमा अत्यधिक प्राप्त हुने मानवनिर्मित वस्तु टेराकोटा सामग्री नै हुन्। इँटा यसै प्रविधिबाट निर्मित निर्माण सामग्री हो, जुन विश्वभर रुचाइयो।

भक्तपुर तुमलाछेँस्थित घरको टेराकोटा झ्याल।

नेपाल मण्डलको सभ्यतालाई पनि इँटमाथि उभिएको सभ्यताभन्दा फरक नपर्ला। यहाँको स्थापत्यकलामा सबैभन्दा बढी प्रयोग भएको वस्तु इँटा नै हो। नेवा: बस्ती इँटका वास्तु संरचनाको समुच्चय रूप थियो। बस्तीभित्र घरका अतिरिक्त दरबार, मन्दिर, बाहा, बही, फल्चा, सत्तल आदि संरचना मूलतः इँटाकै प्रयोगबाट बनेका थिए। बस्तीका प्रायः सबै संरचनाका मोहडा भागमा देखिने इँटाको तहलाई सकभर सुन्दर तवरले जडान गर्ने प्रयत्न हुँदै गयो। 

दाचि अप्पा
मोहडा भागमा सुन्दरता वृद्धि गर्ने चेष्टाबाटै दाचि अप्पाको सिर्जना भएको हो। चिल्लो, चम्किलो र जोर्नीतह नदेखिने भएकाले मोहडा सिँगार्न मल्लकालदेखि दाचि अप्पाको अत्यधिक प्रयोग भएको पाउँछौँ। संरचनालाई थप सुन्दर पार्न इँटामा पनि आकार, कोण, बुट्टा आदिमा विविधता देखा पर्न थाले। उदाहरणार्थ, माअप्पा, बाँअप्पा, कुंअप्पा, तुँअप्पा, बेपाअप्पा, त्वाअप्पा, कचिअप्पा, प्याःअप्पा, दुथाँअप्पा, म्वःअप्पा, फ्यःअप्पा, क्वपूपा, प्वलंपा/आँय्‌पा, न्याकुंचा, भौप्वाः, ग्वंगःअप्पा, ल्वहंअप्पा, ल्हाःप्पा, कःसिम्वःप्पा, धलिंम्वःप्पा, लिबिंचा, नाःग्वःअप्पा, पलेस्वांप्पा, खालपा, बातुपा, ख्वःसिंग्वःअप्पा, सिलिंलुपा, चःपा, किलाय्‌पा आदिलाई लिन सकिन्छ। भूकम्पबाट बुंगमतीको मत्स्येन्द्रनाथ मन्दिर भत्किँदा करिब १३० थरि भिन्नाभिन्नै आकार र बुट्टाका इँटा भेटिएका थिए। इँटामा यति धेरै विविधता विश्वका अन्य निर्माण परम्परामा सायदै होला।

मध्यकालमा यी विविध खाले इँटा पोल्ने समूहले छुट्टै जातको अस्तित्व लियो। पुस्तैनी इँटा उत्पादन गर्दै आएका यो समुदायलाई ‘आवाले’ भनिन्छ। अत (इँटा) र वाइम्ह (कार्य गर्ने) समास प्रक्रियाबाट ‘अवाले/अःवाः’ भएको हो। इँटा उत्पादक मात्र नभई डकर्मीको काम पनि अवालेबाटै हुने गर्थ्यो। उत्पादक र डकर्मी स्वयं आफै भएबाट निर्माणकार्यमा सामञ्जस्य हुने नै भयो। संरचना बनाउने क्रममा आवश्यक देखिएका जुनसुकै आकारप्रकार र रुचिअनुसार नौला डिजाइनको छुट तिनलाई थियो। मोहडालाई सुन्दर तुल्याउने लक्ष्यले अवालेबाट इँटाजन्य प्रयोगहरू हुँदै जान थाले। 

यस्ता प्रयोगको उत्कृष्ट नमूनाका रूपमा भक्तपुरको विश्वकर्मा आगम घर र पाटनको महाबौद्ध मन्दिरलाई लिन सकिन्छ। उत्तर मल्लकालमा भक्तपुरको तुछिमला टोलमा अवाले समुदायको आगम घर बन्दै थियो। एक प्रसिद्ध आर्किटेक्टलाई आफ्नै घर बनाउने कार्य ठूलो पेसागत परीक्षा बन्ने गर्छ। इँटा छाप्ने, पोल्ने र डकर्मी काम गर्दै आएका अवाले समुदायको सामुदायिक घर निर्माण पनि यस्तै परीक्षा थियो। इँटाकारिता गर्दै आएका समुदायले आफ्नै भवन बनाउँदा केही अतिरिक्त प्रस्तुति दिनुपर्ने दबाब रहने नै भयो। पेसाकर्मकै देवता विश्वकर्मालाई लक्षित गरी बनेको घरमा तत्कालीन अवाले समुदायले पेसागत कुशलताको अब्बल उदाहरण पोखेका छन्।

परम्परागत घरको मोहडा भनेकै इँटाको तह र काष्ठ झ्यालढोकाको संयोजन हो। कलात्मक काष्ठझ्यालको बुट्टामा जुन गहिराई र मिल्दो अनुपात रहन्छ, सोही स्तरमा टेराकोटाका झ्याल प्रयोग हुनु विश्वकर्मा आगम घरको विशिष्ट पक्ष हो। यहाँ झ्यालको सिंगो स्वरूप शुरूमा माटोबाट तयार पारी पक्की तवरले पोल्न सम्भव हुनुलाई टेराकोटा जगत‍्को एक अद्भुत प्रयोग मान्न सकिन्छ। यसका साथै यस घरमा अन्त कतै नपाइने टेराकोटाकै टुँडालहरूको प्रयोग छ। यसरी इँटाकारिताबाट अभूतपूर्व उदाहरण प्रस्तुत गर्न सक्नु अवाले समुदायको ठूलो सफलता थियो र आज पनि यस क्षमताप्रति उक्त समुदायमा गौरवभाव भएको पाउँछौँ। 

पाटनस्थित महाबौद्ध मन्दिरलाई पनि टेराकोटा क्षेत्रमा 'मास्टरपिस' मानिन्छ। प्रत्येक इँटाको सतहमा बुद्धको मूर्ति भएको यस मन्दिरमा तीन हजारभन्दा बढी बुद्धमूर्ति भएको दाबी भिक्षु सुदर्शनले गरेका छन्। नेपाल संवत् ६८५ (सन् १५६५) देखि अभयराजले निर्माण थालेको यो मन्दिरलाई उनका नाति र पनातिले पूर्णता दिएका थिए। तीन दशकभन्दा लामो समय खर्चेर बनेको यो मन्दिर नेपाली टेराकोटा कलाको अद्वितीय नमूना हो। 

भारतको बोधगया मन्दिरलाई आदर्श मानी यो मन्दिर बनेको थियो। बोधगयामा ५–६औँ शदीतिर गुप्त राज्यकालमा इँटाको भव्य शिखर मन्दिर बनेको थियो। पाटन, ओकुबाहाः निवासी अभयराज शाक्यले १६औँ सदीमा उक्त मन्दिरको भ्रमण गरेका थिए। त्यहाँबाट प्रभावित भई आफ्नो घरछेउ उनले भव्य मन्दिर उठाउने कार्य प्रारम्भ गरे, जसलाई उनका नाति र पनाति जीवराज र जयमुनिले पूर्णता दिए। प्रत्येक इँटामा बुद्धमूर्तिसहित क्लिष्ट बुट्टा भएको मन्दिरमा बाह्य तोरण एवं अन्य दैवी पात्रहरू टेराकोटाबाटै निर्मित छन्। मध्यकालमा टेराकोटाको अभूतपूर्व प्रयोग थियो। तीन दशकभन्दा बढी समय खर्चेर बनेको मन्दिरको उद्घाटन समारोहमा राजा शिवसिंह मल्ल उपस्थित थिए। मन्दिर शाक्य समुदायको वर्चश्वस्थलमा बनेको छ। 

ओकुबाहाःका शाक्य खलक सदिऔँ अघिदेखि पाटनमा मूर्तिकलाको विरासत थाम्दै आएका समुदाय हुन्। मन्दिरको ठीक पश्चिममा भने अवाले समुदायको बसोबास छ। सम्भवतः मन्दिर बनाउने सिलसिलामा मन्दिरसमीपै अवाले समुदायले कार्यशाला बनाई बस्न प्रारम्भ गरेका थिए। आफ्नै घरछेउ पहिलेदेखि अवाले समुदाय बस्दै आएबाट अभयराजले टेराकोटाको मन्दिर बनाउन आँटेको हुन सक्ने सम्भावनालाई नि नकार्न सकिन्न। जे होस्, यी दुई समुदायको परम्परागत सीपबीच भएको असल तालमेलबाटै यो मन्दिरको जन्म भएको हो। मन्दिर बनाउन प्रयोग भएका विशिष्ट इँटाका साँचाहरू (मोउल्ड) हालसम्म पनि मन्दिर छेवैको चोकमा सुरक्षित तवरले गाडिएको स्थानीय लोकविश्वास छ।

यी दुई उदाहरणका अलावा भक्तपुरको छुमाःगणेशको द्यःछेँमा पनि इँटाजन्य प्रयोग पाइन्छ। द्यछेँको पहिलो तलाको उँचो तहमा चन्द्रसूर्यसहित करिब ४० देवदेवी अंकित २१ वटा ठूला इँटाका फलक छन्। यसका अलावा द्यःछेँको दायाँबायाँ दुई दम्पतीका टेराकोटा प्रतिमा स्थापित थिए, जुन चोरी भइसकेका छन्। टेराकोटाका मूर्ति अन्यत्रसमेत धेरै पाइए तापनि लौकिक जीवनलाई झल्काउने नृत्यमग्न अवस्थाका मानव प्रतिमाको यो नै एकै मात्र नमूना हो। द्यःछेँ निर्माणमा अब्बल सीपका अवालेहरूको सहभागिता पुष्ट्याउने प्रमाण बनी ती प्रतिमा द्यःछेँ दायाँबायाँ उभिएका थिए। यसै द्यःछेँको ठिक विपरीत छुमाः गणेशको मन्दिरमा पनि अन्त नपाइने टेराकोटाको त्रिखाझ्याल छ। यस झ्याल र मन्दिरका अन्य एकमुखे झ्यालका कीर्तिमुख तोरण टेराकोटा कलाका उल्लेखनीय नमुना हुन्। 

आर्यघाटको विष्णुमूर्ति र राष्ट्रिय संग्राहलयका मातृका मूर्तिचाहिँ टेराकोटा अन्तर्गतका मूर्ति कोटीका अब्बल उदाहरण हुन्। सन् २०१९ मा वान्नेनेस आर्ट अक्सनमा बेचिएको एक हाथुभैरवको मुखाकृति भने हालसम्म देखिएको एकै मात्र टेराकोटाको हाथु भैरव हो। वसन्तपुर दरबार क्षेत्रमा राजा जयप्रकाश मल्लले भव्य कुमारीघर बनाएका थिए। उक्त घरको चोकभित्र रहेको चतुष्कोणाकार पेटीमा राजकीय सिकार हुँदै गरेको लौकिक दृश्य देखाइएका टेराकोटा फलक (स्ल्याब) हरू लहरै राखिएका छन्। यी फलक पनि नेपाली टेराकोटा कला जगत‍्का आकर्षक नमुना हुन्। 

इँटाकारिताको अर्को उत्कृष्ट प्रयोगका रूपमा कीर्तिपुरस्थित चिलन्च्व चैत्यलाई लिन सकिन्छ। बीचमा मुख्य र त्यसको चौतर्फी गरी त्यहाँ पाँच चैत्य छन्। चैत्यका मोहडामा हुने क्लिष्ट तहगत आकार यहाँ इँटाबाट प्रस्तुत गरिएको छ। बौद्धशास्त्रले निर्दिष्ट चैत्यको वास्तुलाई सयौँ आकार-प्रकारका इँटाबाट पूर्णता दिई भव्य संरचना उठाइएको छ। तत्कालीन इँटाकर्मीमा भएको प्रौढ क्षमता यस चैत्यबाट अभिव्यक्त भइरहेको छ। आधुनिक नेपाल निर्माणपछि पनि दाचि अप्पाको समान परिमाणमा प्रयोग भई नै रह्यो, तर मल्लकालमा भएजस्ता विशेष खाले प्रयोग भने  देखा पर्न छाडे।

इँटाका मोहडामा पाइने अर्को विशेषता भनेको पक्षीका खातिर छाडिने दुला हुन्। मानिसका साथै इँटाका घरमा पक्षीको पनि वंशक्रम चल्ने गर्थ्यो। भँगेरा र परेवाका खातिर मोहडामा आकार मिलाई दुला अनिवार्य छाडिन्थ्यो। यस्ता मोहडाले मानिस र पक्षीको मैत्रीपनको झल्को दिन्थ्यो। आजभोलि यो परम्परा हराएसँगै मानिसमाझ बस्ने भँगेरा लोप हुनसक्ने विश्लेषण पक्षीविद्हरू गर्छन्।

इँटा छोप्ने लहर
मोहडामा इँटा छोपी प्लास्टर र रङरोगनको प्रारम्भ भीमसेन थापाबाट १९औँ सदीको शुरूतिर भएको हो। उनले बाग दरबार निर्माणको क्रममा सर्वप्रथम नयाँ वास्तु र प्रविधि भित्राए। मोहडामा सुर्कीले प्लास्टर गरी सेताम्मे बनाउने प्रविधि राणाकालीन दरबार, मन्दिर, आवासीय घर एवं सत्तलहरूमा तीव्र गतिमा अनुसरण हुँदै गयो। घरमा प्लास्टर हुनु कुलीनताको प्रतीक बन्यो। 

समाजमा प्रतिष्ठा बढ्ने भएकाले पहिल्यै भएका निजी घरका इँटामाथि सुर्कीको प्लास्टर थप्ने साहू-महाजन थुप्रै देखा परे। मल्लकालीन दरबार, कुमारी घर एवं वसन्तपुरका मन्दिरहरूमा दाचि अप्पालाई छोपी सेताम्मे परिए। यो कालखण्डमा सुर्की अर्थात् इँटाको धुलोबाट प्लास्टर गरी किनारा भागमा फूल एवं पातका लहराले सजाउने लहर नै चल्यो। सुर्कीबाट मोहडाको केन्द्र भागमा नारी प्रतिमा, सिंहमुख वा घरपेटीको नाम उल्लेख गर्न सक्नुलाई समाजमा प्रतिष्ठाको विषय ठानियो। 

प्रधानमन्त्री चन्द्रशमशेरका निकट पात्रले घरको उँचो भागमा अंग्रेजीको सी वर्ण लेखी आफ्नो प्रशासनिक पहुँचको हवाला दर्साएको रोचक नमुना पाटनमा थियो। सुनधारास्थित उक्त घर दुर्भाग्यवश केही वर्षपूर्व भत्काइयो। मोहडामा मानिसको प्रतिमा, प्राणी वा फूलबुट्टाको चलन चलेपश्चात् प्लास्टरबिनै इँटा मात्रको प्रयोगले पनि यस्ता आकृतिले भित्ता भर्नेहरू देखा परे। इँटालाई फलामे औजारको प्रहारले आवश्यक आकारमा ल्याई कलश, पशुपक्षी एवं फूलबुट्टा चित्रबाट मोहडा सजाइएका दर्जनौँ राणाकालीन घरहरू पाइन्छन्। प्लास्टर संस्कृतिले ठाउँ लिए तापनि खर्चिलो यो प्रविधि कमै मात्रले अँगाल्न सकेका थिए। अधिकांश इँटाकै मोहडा भएका घरहरूको प्राधान्य नेवाः बस्तीभित्र रह्यो।

घरको मोहडा सजाउन इँटाकै टुक्राबाट बनाइएको पंक्षी आकृति।

परम्परागत इँटामा आधुनिक प्रयोग
आवासीय, धार्मिक एवं लौकिक संरचना इँटाबाट बन्नु र भुँइमा समेत तेलीया इँटा (टायल) बिच्छाइने भएकाले नेवा बस्तीमा रातोपनको प्रधानता (रेडिस इम्प्रेसन) रह्यो। यसरी बाह्य सतह इँटामुखी भएको वास्तुगत विशेषतालाई आदर्श मानी अस्ट्रियाका वास्तुविद् कार्ल प्रुस्चाले उपत्यकामा केही आधुनिक भवनको डिजाइन गरेका थिए। सन् १९७० को दशकमा नेपाल आएका उनले यहाँको मौलिकपन भनेकै अनेक खाले इँटाको कलात्मक बाह्य आवरण मानेका थिए। प्लास्टर वा रङबिना मोहडालाई इँटाले सजाउने नेपाली वास्तुलाई उनले निकै रोचक मानेका थिए। आफूलाई परेको प्रभावबाट हौसेर उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरको सेडा भवन, कीर्तिपुरको तीनकुने भवन, तारागाउँ भवन, लाजिम्पाट र महाराजगन्जको आवासीय घर डिजाइन गरेका थिए। 

यी भवनका डिजाइन पक्षको मर्म इँटाबाट सुन्दर मोहडाको प्रदर्शनी थियो। त्यसैगरी अर्का आर्किटेक्ट निल्स गुत्स्चोको नेतृत्वमा जर्मनीका विद्यार्थीले दाचि अप्पाका नौला डिजाइनको सम्भाव्यता अध्ययन गरेका थिए। परम्परागत दाचि अप्पामा के कस्ता नौला डिजाइन सम्भव छन् भन्ने ध्येयले चलेको कार्यशालाबाट दर्जनभन्दा बढी नमूना इँटा उत्पादन भएको थियो। सिर्जनात्मक कार्यशालाबाट उत्पादित ती विविध खाले दाचि अप्पा सदुपयोग गरी निजी परिसरभित्र लाम्चो भवन चाँगुनारायण नगरपालिकाभित्र निर्माण गरिएको थियो। उक्त संरचनालाई जर्मनीकै एक शहरको नामबाट ‘फ्याङ्फर्ट टावर’ नाम दिइएको छ।

दाचि अप्पामा मर्मस्पर्शी प्रयोग
पछिल्लो महाभूकम्पपश्चात् हजारौँ निजी घर एवं सम्पदामा पुनर्निर्माणको श्रृंखला चल्यो। कतिपय सम्पदा यद्यपि पुनर्निर्माणकै चरणमा छन्। महाभूकम्पमा परेका हजारौँ सम्पदा एकैसाथ उठाउनुपर्ने ठूलो चुनौती आइलागेको थियो। यो विषम समयमा दाचि अप्पाको गुणस्तर, परम्परागत निर्माण पद्धति, पुरातात्त्विक इँटाको पुनः प्रयोग र मोहडामा पाइने विविध प्रयोग आदि छलफलको विषय बन्नै पाएन। मोहडामा दाचि अप्पा मात्र नभई माँअप्पा, नाअप्पा, कचिअप्पा र भुवामा म्हासुचा (पहेँलो माटो) देखाइने प्रवृत्ति पनि उत्तिकै संख्यामा थियो। भूकम्पपछि निर्माण जगत‍्मा दाचि अप्पा मात्रै निर्विकल्प भएसरह एकात्मक रूपमा हाबी भयो। 

दाचि अप्पाबाहेक अन्य इँटाका मोहडालाई कमैले अनुसरण गरेको पाइयो। संरचनाको आवरण दाचि अप्पाको भएपछि 'सम्पदा' भइहाल्ने मानसिकता बन्दै गएको छ। भूकम्पपछि निर्माण जगत‍्मा भएको दाचि अप्पाको माग र खपत निकै उच्च रह्यो। यसले पनि दाचि अप्पाको एकोहोरो छनोट देखाउँछ। सयौँ निजी घर एवं सम्पदामा सदिऔ पुराना अब्बल गुणस्तरका दाचि अप्पा थिए। ती आउँदो सयौँ वर्ष टिक्ने खालका भए तापनि तिनलाई पुनः प्रयोगमा नल्याई नयाँ उत्पादन हाल्ने होड चल्यो। स्मरणीय छ, पाटन दरबार क्षेत्रका सम्पदा; यक्षश्वर मन्दिर, छुमाःगणेशको द्यःछेँ, अकिबाहाः (पाटन) आदि सीमित सम्पदामा भने पुरानै दाचि अप्पालाई सुरक्षित गरी फेरि सदुपयोग गरिएको छ। सम्पदा पुनर्निर्माणमा सम्भव भएसम्म पुरातात्त्विक सामग्रीको पुनः प्रयोग गर्नुपर्ने मान्यता छ। तर इँटा मात्र नभई आउँदो शदीसम्म पनि सजिलै टिक्न सम्भव काठका थामा र अन्य काष्ठसामग्रीमा पनि यो संवेदना नदेखिनु उदेकलाग्दो छ।

निर्माण जगतमा दाचि अप्पा नै सम्पदाको सूचक हो भन्ने भ्रम परेको छ। दाचि अप्पाको निश्चित परम्परागत प्रयोजन छ। सम्पदापन झल्काउने नाममा जुनसुकै कंक्रिट संरचनामाथि आङ ढाकेसरह दाचि अप्पाको आवरण दिने प्रवृत्ति उपत्यकामा व्याप्त छ। नेपालमण्डल संस्कृतिको प्रभाव रहेका नेपालका अन्य भागमा पनि यो चलन पुगेकै छ। जस्तोसुकै पेटी, पर्खाल, चौतारादेखि सार्वजनिक शौचालयका भित्तासमेत 'दाचि अप्पाकरण' हुनु हास्यास्पद छ। 

उपत्यकाका केही नगरपालिकाले ऐतिहासिक बस्तीभित्र घरका मोहडा परम्परागत तुल्याउँदा केही सुविधाको व्यवस्था गरेको छ, जुन स्वागतयोग्य छ। त्यसै पनि आम जनमानसमा दाचि अप्पाको भूत सवार छ भने पालिकामा पनि दाचि अप्पा भए मात्र सहजै खर्च मूल्याङ्कन भई तोकिएको रकम हात पर्ने स्थिति छ। पुरानै इँटाको प्रयोग र अन्य प्रकृतिका परम्परागत मोहडा बनाउने आँट गरेको खण्डमा पालिकाको अस्पष्ट कार्यविधिका कारण समस्या पर्ने देखिन्छ। यो अवस्थाले भक्तपुरका सयौँ घरका गुणस्तरीय इँटा मिल्कन पुगी नयाँ दाचि अप्पाबाट पुनर्निर्माण भएका छन्। 

केलाएर हेरेमा नयाँ र पुराना दाचि अप्पाको गुणस्तरमा ठुलो अन्तर भेटिन्छ। बढ्दो व्यावसायिक प्रतिस्पर्धामाझ रातो-पहेँलो रङ र आकार मिल्नेबित्तिकै दाचि अप्पा भइहाल्ने बुझाई स्थापित छ। प्राय: पुराना दाचि अप्पा गाढा रातो र सतह चमकदार भएको पाउँछौँ। यसको चमककै कारण यो ‘तेलीया इँटा’का नामले पनि चिनिएको छ। नयाँ उत्पादित दाचि अप्पामा सादा रातोपना र सतहमा पर्याप्त चमक देखिँदैन। अहिले आएर यसको सतहमा लेपिने लाँचा (वनस्पतिको रस)को साटो हाल रसायनको प्रयोग हुने गरेको छ। कमसल र गुणस्तरीय दाचि अप्पा छुट्याउन नियमन गर्ने संयन्त्र बन्न सकेको छैन। 

नेवारीमा एउटा उखान छ, “लुँयात खोल म्वाः” अर्थात् सुनमाथि थप आवरण ओढाउनु पर्दैन, त्यसको सतह आफैँमा पूर्ण छ। ठिक यस्तै, दाचि अप्पाको सतहमा भएको चमक आफै पूर्ण हो। तर दाचि अप्पामाथि गाढा चप्रा पालिसको लेप नलाए निर्माणकार्य अपुरो हुने मानसिकताले जरा लिइरहेको छ। दाचि अप्पाबाट निर्मित प्राय: सबै घर एवं सम्पदाका मोहडामा चप्रा पालिसको लेप पोतिएका पाइन्छन्। 

यसले घर र सम्पदा दुबैमा झल्कने परम्परागत भावमा (क्लासिकल इम्प्रेसन) मा गिरावट ल्याएको छ। भक्तपुरमा पालिकाले बढवा दिएअनुरूप दाचि अप्पाका घर क्रमशः बढ्दो छ। त्यसै त नयाँ इँटा, त्यसमाथि फेरी चप्रा पालिसको ओभर मेकअप! यस्ता घरहरू आँखामा पर्दा 'सम्पदापन' कम, झिल्केपन ज्यादा लाग्छ। यही गति र नियति कायम रहे आउँदा दशकमा भक्तपुर झिल्केपुर नबन्ला भन्न सकिँदैन। आजभोलि जात्रापर्व हुने देवस्थलका मन्दिर एवं पाटीपौवा जात्राको समय चप्रा पालिस वा रंगरोगनले अनिवार्य सजाउनु पर्ने अभ्यास बढ्दै गएको छ। जात्रापर्व एवं मेलापात भर्न आएका जमातले पुराना काठ र इँटाका मोहडा देखे स्थानीय प्रतिष्ठा घट्ने भान वडाहरूलाई पर्न थालेको छ। 

पुरातात्त्विक संरचनाको संवेदनशीलता बुझाइ तिनलाई रोक्ने कसले? प्रत्येक वर्ष चप्रा पालिस र रङका लेप थपिँदै जाँदा सम्पदा क्षेत्रका अभिलेख पढ्नै नसकिने गरी दुरावस्थामा पुगेका सयौँ उदाहरण छन्। सम्पदाको संख्यात्मक व्यापकता नियाल्दा पुरातत्त्व विभागले पनि यस विषयमा ध्यान पुर्‍याएर थेग्न सक्ने अवस्था छैन। हाल विभागमा भएको जनशक्ति र स्रोतसाधनले समग्र पक्षको नियमन र रेखदेख असम्भव प्राय: छ। स्थानीय सरकारबाट खास गरी साना वा मझौला आकारका पुरातात्त्विक संरचनाको पुनर्निर्माण वा जीर्णोद्धार कार्य जताततै भइरहेको देखिन्छ। सम्पदा क्षेत्र यसरी प्राथमिकतामा पर्नु सुखद हो, तर सम्पदालाई छुनुपूर्व जुन हदको बहस र समवेदना अपनाउनु पर्ने हो, त्यो हुन नसक्नु भने दुखद छ।