सर्वोच्चमा धर्नारत वकिलमाथि जुत्ता प्रहार गर्ने महिला पक्राउ

सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका वकिलहरूप्रति लक्षित गर्दै जुत्ता प्रहार गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

तस्वीरहरू : अमित मचामसी

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसिरहेका वकिलहरूप्रति लक्षित गर्दै जुत्ता प्रहार भएको छ। तारा बरालले धर्नामा बसिरहेका वकिलहरूप्रति लक्षित गर्दै जुत्ता प्रहार गरेकी हुन्। जुत्ता प्रहारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ​

संघीय संसद् सचिवालयबाट महाभियोग निष्क्रिय भएको पत्र पाएपछि प्रधानन्यायाधीश जबरा सर्वोच्च आउने बताएका थिए। उनलाई रोक्न सर्वोच्च अदालत बारले धर्ना थालेको हो। धर्नामा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत सहभागी छन्।

बुधबार संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश जबरालाई पत्र पठाएर महाभियोग प्रश्ताव निष्प्रभावी भएको जानकारी दिएका थिए।