काठमाडौँका सामुदायिक कुकुरको आहारा : फोहोर र पशुसेवकहरूको भर (भिडियो कथा)

काठमाडौँ उपत्यकामा ५० हजार र काठमाडौँ महानगरमा २२ हजार हाराहारी सामुदायिक कुकुर छन्। यी कुकुरको खानाको स्रोत मानिस नै हुन्। फोहोरको थुप्रो उधिन्नु र खानेकुरा दिने पशुसेवक कुर्नु यी कुकुरको दैनिक हो।

काठमाडौँ– टेकुस्थित फोहोर संकलन केन्द्रमा कुकुरहरूको हुल कहिल्यै कम हुँदैन। सामुदायिक कुकुरहरू फोहोरकै थुप्रोमा खानेकुरा खोज्छन्, यहीँ बास बस्छन्।

कतिपय कुकुर छिमेकी जिल्लाबाट भित्रिएका छन् भने केहीलाई घरधनीले सडकमा छाडिदिएका हुन्। कतिपय चाहिँ खुला ठाउँमै जन्मिएका हुन्। यी कुकुर समुदाय बनाएर बस्छन्। 

विभिन्न होटल, रेष्टुरेन्ट तथा घरबाट उठेको खानासहितको फोहोर टेकुमा संकलन हुन्छ। त्यहाँ खानेकुरा नभेटे वा पर्याप्त नभए यी कुकुर सडकमा भौतारिन्छन्। तर सडकतिर निस्कँदा मानिसको आक्रमणमा पनि पर्छन्। कति त घाइते नै हुन्छन्।

कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउनमा यी कुकुर पनि प्रभावित भएका थिए। त्यसबेला काठमाडौँ लोकल्स नामक संस्थाले यस क्षेत्रका कुकुरलाई खाना खुवाएको थियो। संस्थापक समन श्रेष्ठका अनुसार यो संस्थाले सामुदायिक कुकुरलाई चार वर्षदेखि निरन्तर खाना खुवाइरहेको छ। 

फोहोर संकलन केन्द्रको पश्चिम क्षेत्र मएलबारी बस्ने निरन श्रेष्ठ पनि करिब १० वर्षदेखि सामुदायिक कुकुरहरूलाई खाना खुवाइरहेकी छन्। उनको घरदेखि उनले काम गर्न कार्यालयको दूरी करिब १०० मिटर मात्रै छ। बिहान १० बजे कार्यालय जाँदा बाल्टीमा खाना बोकेर निस्किन्छिन् र बाटोमा भेटिएका कुकुरलाई खुवाउँदै कार्यालय पुग्छिन्।

नेपाल पशु कल्याण तथा अनुसन्धान केन्द्रका अध्यक्ष आनन्द दाहालका अनुसार काठमाडौँ उपत्यकाभित्र ५० हजार हाराहारीमा सामुदायिक कुकुर छन्। काठमाडौँ महानगरपालिकामा मात्रै झन्डै २२ हजार सामुदायिक कुकुर छन्।

थप कथा भिडियोमा