रुसी सेनामा मारिएका ७३ नेपाली : खबर मात्र आयो, शव आएन

युक्रेनसँग लड्न रुसी सेनामा भर्ती भएका ७३ नेपालीको युद्धका क्रममा मृत्यु भइसकेको सरकारले नै पुष्टि गरेको छ। तर अहिलेसम्म एउटा पनि शव नेपाल ल्याइएको छैन।

काठमाडौँ– रसुवाको नौकुण्ड गाउँपालिका–५ की ६० वर्षीया पवित्रा तामाङको खुशी त्यही दिन खोसियो जुन दिन उनले परदेशको युद्धभूमिमा छोरा सुन्दर मोक्तान मारिएको खबर सुनिन्। उनका कान्छा छोरा सुन्दर आमालाई झुक्याएर रुसी सेनामा भर्ती हुन गएका थिए।

नेपाली सेनाबाट अवकाश रोजेका सुन्दर २०८० भदौमा मानव तस्करको सहयोगमा भिजिट भिसामा दुबई हुँदै मस्को पुगेका थिए। त्यहाँ पुगेर रुसी सेनामा भर्ती भएपछि उनी युक्रेनको युद्धक्षेत्रमा पठाइएका थिए। “म बिरामी थिएँ। क्रोएसिया जान्छु भन्थ्यो, मलाई ढाँटेर युद्ध लड्न गएछ,” पवित्रा भन्छिन्।

सुन्दर २०८० मंसिरसम्म परिवारको सम्पर्कमै थिए। उनी युद्ध क्षेत्रको अवस्था सुनाइरहन्थे, आमा ‘फर्केर आऊ’ भनिरहन्थिन्। सुन्दर ‘यहाँबाट भाग्न सम्भव छैन’ भन्थे।

मंसिर अन्तिम सातापछि सम्पर्क टुट्यो। केही दिनसम्म त छोराको खबर आउला भनेर पर्खेकी पवित्रा महिना बित्दासम्म पनि बेखबर रहिन्। एक महिनापछि, पुस १३ गते मलेसियमा रहेका माइला छोरा सञ्जबहादुर मोक्तानले भाइको मृत्युको खबर पठाए। सुन्दरसँगै गएका साथी कुमार तामाङले सञ्जबहादुरलाई भाइको मृत्यु भएको खबर दिएका थिए।

सुन्दर मोक्तान।

त्यसपछि बिथोलिएको पवित्राको दैनिकी अझै सामान्य बनेको छैन। परदेशमा छोरा गुमाएको भन्दा धेरै पीडादायी बनेको छ, उनको शवसम्म नपाउनु। उनी भन्छिन्, “अब छोरो छैन भन्ने खबर आयो, शव आएन।” 

कुमारले माघ ५ गते सुन्दरको शव र अस्पतालको मृत्यु प्रमाणपत्रको फोटो पठाइदिए। २०८० चैतमा सरकारले पनि उनको मृत्यु भएको पुष्टि गर्‍यो। तर पवित्राले शव नपाएसम्म छोराको मृत्यु भएको विश्वास नगर्ने र अन्तिम संस्कार पनि नगर्ने अडान लिइन्।

त्यसका लागि रसुवाबाट पटक–पटक काठमाडौँ आइन्। रुसी दूतावास, परराष्ट्र मन्त्रालय, मन्त्री, नेता सबैकहाँ पुगिन्। आँसु खसालिन्। महिनौँ बिते, तर शव आउने टुंगो लागेन। अन्ततः कुशको शव बनाएर दासंस्कार गरियो। “अन्तिम पटक छोरोको अनुहार हेर्न मन छ,” पवित्राले अझै आशा मारेकी छैनन्।

त्यहीताका अर्थात्, २०८० मंसिरमै कञ्चनपुरको वेदकोट नगरपालिका–९ का दाजुभाइ विराजन र निराजन विष्ट पनि दुबई हुँदै रुस पुगेर त्यहाँको सेनामा भर्ती भए। त्यसपछि युक्रेनको युद्धग्रस्त क्षेत्रमा खटाइएका विराजनको २०८१ वैशाख २२ गते बंकरभित्र बम विस्फोटमा मृत्यु भयो।

भाइलाई बाहिरै बस्न लगाएर उनी बंकरभित्र छिरेका थिए। त्यहीँ विष्फोटमा परेर विराजनको मृत्यु भएको खबर निराजनले नै घरमा पठाए।

खबर पाएपछि ५७ वर्षीया आमा कमलादेवी विष्ट मुर्छा परिन्। जसोतसो त्यो पीडाबाट उठ्न खोज्दा छोराको शव पनि नआएको पीडा थपियो। सद्गत् गर्न ढिला गर्न हुन्न भन्ने मान्यताका कारण खबर आएको पाँच दिनपछि परिवार र आफन्तले कुशको शव बनाएर गाउँकै भुजेला घाटमा विराजनको दाहसंस्कार गरे।

तर कुशको शवले दाहसंस्कार गरे पनि परिवारको मन बुझेन। शव ल्याइदिन गुहार माग्दै परिवार कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालय र मन्त्रीहरूसम्म पुगे। तत्कालीन गृहमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र रवि लामिछानेसम्मलाई भेटे।

डेढ वर्ष बित्यो, विराजनको शव आएको छैन। कमलादेवी भन्छिन्, “शव नदेखेसम्म छोरो छैन भनेर कसरी पत्याउँ? एकपल्ट उसको अनुहार हेर्न चाहन्छु।”

७३ जनाको मृत्यु, डेढ सय बेपत्ता
रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७३ पुगेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। २०७९ सालदेखि नै मानव तस्करको सहयोगमा नेपालीहरू रुसी सेनामा भर्ना हुन थालेका थिए। २०८० कात्तिकबाट उनीहरूको मृत्युको खबर आउन थालेको थियो।

सरकारले २०८१ पुस ९ गतेपछि मात्र नेपालीको मृत्यु भएको पुष्टि गर्न थाल्यो। मस्कोस्थित नेपाली दूतावासले शव पहिचानका लागि भनेर डीएनए परीक्षण गर्न नमूना संकलन गरी पठाएकामध्ये अझै ५० जनाको रिपोर्ट आउन बाँकी भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन्। रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या अझ बढी हुनसक्ने उनको भनाइ छ।

‘रुसी सेनामा भर्ना भएकाका परिवार र आफन्तको सञ्जाल’की अध्यक्ष कृतु भण्डारी पनि मृत्यु हुने नेपालीको संख्या अझ धेरै भएको बताउँछिन्। भण्डारी भन्छिन्, “सरकारबाहेक रुसबाट सिधै परिवारलाई मृत्युको खबर आएका छन्। योबाहेक रुसी सेनामा भर्ना भएर लामो समयदेखि हराइरहेका नेपालीको अवस्था पनि अन्योलमा छ।” 

पराराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएर आफन्त हराएको भन्दै उद्धार गरिदिन २५० परिवारले निवदेन दिएका छन्। यी निवेदनमध्ये कति सम्पर्कमा आए र कति उद्धार गरिए भन्ने व्यवस्थित विवरण नभएको मन्त्रालयका अधिकारी बताउँछन्। यस्तो निवेदन मन्त्रालयको कन्सुलर सेवा विभागले लिँदै आएको छ।

एकातिर मृत्युकै आँकडा प्रष्ट नहुनु, अर्कोतर्फ शवसमेत नपाउँदा परिवार झन् ठूलो पीडामा छन्। तिनैमध्ये हो, काठमाडौँको कीर्तिपुरमा बसिरहेको विनोद सुनारको परिवार। २०८० असोजमा रुसी सेनामा भर्ती भएका विनोदको मृत्यु भएको खबर ह्वाटएसपबाट उनका कमान्डरले २०८१ माघको दोस्रो साता परिवारलाई पठाएका थिए।

विनोदले १६ वर्ष नेपाली सेनामा काम गरेका थिए। मृत्युको खबर आउनुभन्दा तीन महिना अघिदेखि उनीसँग परिवारको सम्पर्क टुटेको थियो। श्रीमती सिर्जनाका अनुसार अन्तिम पटक परिवारसँग सम्पर्क हुँदा उनले युद्ध क्षेत्रमा जानलागेको बताएका थिए। 

“बेला–बेला फोनमा कुरा भइरहन्थ्योे। युद्ध चर्किरहेको छ, जे पनि हुनसक्छ भन्नुहुन्थ्यो,” सिर्जनाले भनिन्, “मैले घर फर्कनुस् भनेँ, उहाँ फर्कनु छैन भन्नुहुन्थ्यो।” 

विनोदको मृत्युको खबर आए पनि शव पठाइएन। परिवारले प्रयास गर्दा पनि शव नपाएपछि २०८१ माघ २१ गते कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार गरे। सिर्जनालाई एउटै पीडाले घोचिरहन्छ– शव पनि देख्न पाइएन।

२०८० कात्तिक ६ गते साढे आठ लाख रुपैयाँ दलाललाई बुझाएर रुस पुगेका धादिङका पूर्णबहादुर गुरुङको मृत्युको खबर डेढ महिनापछि, मंसिर २२ गते आएको थियो। रुसी सेनामै रहेका एक नेपाली कमाण्डरले उनको मृत्यु भएको खबर पठाएका थिए।

परिवारलााई शुरूमा विश्वास गर्नै कठिन भयो। उनीहरूले शवको फोटो मागे। केही दिनपछि पूर्णबहादुरको फोटो त आयो, असाध्यै विभत्स। हात र टाउको काटिएको फोटो हेर्नै नसकिने खालको भएपछि परिवारका सदस्यले श्रीमती लिलुलाई देखाएनन्। पछि सरकारले पनि मृत्यु भएको पुष्टि गर्‍यो। परिवारसामु मृत्यु स्वीकार्नु र दाहसंस्कार गर्नुको विकल्प भएन।

२०८० मंसिरमा रुस–युक्रेन युद्धमा मारिएका कैलालीका भरतबहादुर शाहीको परिवार पनि अहिलेसम्म शवको पर्खाइमा छ। साउनमा रुस पुगेका भरतबहादुरको मंसिरपछि परिवारको सम्पर्क टुटेको थियो।

१५ दिनपछि, मंसिर २३ गते सँगै रहेका साथीले मृत्युको खबर पठाउँदा घरमा भर्खरै उनको बच्चा जन्मेको खुशीको माहोल थियो। “बच्चा जन्मेका बेला त्यस्तो खबर आयो। मेरो त होसै गुम्यो, पाँच दिनपछि मात्र होस फर्किएछ,” श्रीमती भद्राले भनिन्।

भद्राले शव नदेखेसम्म श्रीमानको मृत्युको खबर पत्याउनै सकिनन्, केही दिन बाटो हेरिन्। तर केही उपाय नदेखेपछि मंसिर अन्तिम साता कुशको शव बनाएर दाहसंस्कार गरियो। “उपाय पनि त थिएन,” उनले भनिन्, “अनि काजकिरिया गर्‍यौँ।”

सरकारले अझै पनि श्रीमानको शव ल्याइदेला भन्ने आश भने उनले मारिसकेकी छैनन्। रुसी सेनामा भर्ती भएका र सरकारले मृत्यु भइसकेको पुष्टि गरेका ७३ नेपालीका परिवारले नै अहिलेसम्म शव पाएका छैनन्। तीमध्ये धेरैजसोले कुशको शव बनाएर दाहसंस्कार गरेको रुसी सेनामा भर्ती भएकाका परिवारहरू जोडिएको सञ्जालकी अध्यक्ष भण्डारी बताउँछिन्।

उनका अनुसार सरकारले पुष्टि नगरिसकेका कतिपय मृतकका परिवारले पनि कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन्। “रुसी सेनाका कमान्डरबाट आएको खबर, साथमा रहेका साथीहरूले पठाएको मृतकको फोटो, अस्पतालको मृत्यु प्रमाणपत्रको आधारमा पनि परिवारले मृत्यु स्वीकार गरिसकेका छन्,” उनले भनिन्। 

आफन्त होइन, खबर र शव पर्खिरहेछन्
नुवाकोटका रामजी राई डेढ वर्षअघि रुसी सेनामा भर्ती भएका छोरा दिनेश राई (२४) जीवित छन् कि छैनन् भन्ने अन्योलमा छन्। २०८० कात्तिक पहिलो साता घरबाट निस्केका दिनेश रुस पुगेको दुई महिनासम्म परिवारको सम्पर्कमै थिए। ह्वाट्स्एपमा कुराकानी भइरहन्थ्यो। दिनेश युद्धक्षेत्रतर्फ लागेपछि भने सम्पर्क टुट्यो।

शुरूमा त उनी चिन्तित थिएनन्। तर महिनौँ बित्दा पनि दिनेशको खबर आएन। करिब ६ महिनापछि सँगै गएका साथीहरूले मृत्युको खबर पठाए। तर रामजीलाई विश्वास नै लागेन। “यति लामो समयसम्म न सरकारले भनेको छ, न रुसबाट आधिकारिक खबर आएको छ,” उनी भन्छन्, “सास नभए लाश त देख्नुपर्‍यो नि। अहिले पनि फर्केर आइहाल्छ कि भन्ने लाग्छ।” 

छोराको अवस्था बुझ्न उनी फोटो बोकेर रूसी दूतावासदेखि परराष्ट्र मन्त्रालयसम्म पुगे। आफूजस्तै पीडित परिवारहरूसँग शान्ति बाटिकामा १९ दिन आमरण अनसन बसे। सिंहदरबार अगाडि धर्ना दिए। “जति गरे पनि सरकार गम्भीर देखिएन,” उनी भन्छन्, “हाम्रा छोरा परदेशको युद्धमा मरे, बाँचेको थाहा छैन। यस्तो अवस्थामा सरकार–राज्य पनि छ भन्नु कि छैन भन्नु?”

शवसमेत नपाएपछि मृतक र बेपत्ता भएकाका परिवारले विभिन्न चरणमा आन्दोलन गरिसकेका छन्। उनीहरूले काठमाडौँस्थित रुसी दुतावास, कन्सुलर सेवा विभाग र सिहंदरबारअघि पटक–पटक धर्ना दिए। २०८० माघमा पीडित परिवारहरू शान्ति बाटिकामा १८ दिनसम्म आमरण अनसन नै बसे।

कतिपय परिवारजनले आफन्तको मृत्युको खबर पाएको दुई वर्ष बितिसकेको छ। दुई वर्षसम्म पनि शव नपाएपछि केही परिवार शव र क्षतिपूर्ति दाबी गर्न रुस नै पुगेका छन्।

परराष्ट्र मन्त्रालय अन्तर्गत्को कन्सुलर सेवा विभागका निर्देशक लेखनाथ गौतमका अनुसार अहिलेसम्म १८ जनाका परिवारले रुस जान अनुमति लिएका छन्। त्यसमध्ये ११ जना मृतकका परिवार र सात जना बेपत्ताका परिवार रहेको उनले बताए।

रुसी सेनामा भर्ती भएकाका परिवारलाई एकीकृत गरिरहेकी कृतु भण्डारी आफन्तको मृत्यु भएको दुई वर्ष बित्दा पनि शव नपाएपछि परिवारहरू रुस पुगेको बताउँछिन्। “सरकारले शव ल्याइदिन्न भन्ने भएपछि पीडित परिवार आफै रुस जानुपर्ने अवस्था आयो,” उनले भनिन्।

रुस–युक्रेन युद्ध शुरू भएसँगै मानव तस्करहरूले प्रत्यक्ष युद्ध लड्नु नपर्ने, मासिक तीन लाख रुपैयाँ तलब हुने र रुसको पिआर समेत पाइनेजस्ता प्रलोभन देखाएर थुप्रै नेपाली युवालाई रुस पुर्याउन थालेका थिए। यो गिरोहबारे अनुसन्धान गरेका एक प्रहरी अधिकृतका अनुसार त्यसक्रममा नेपालबाट मात्र नभई वैदेशिक रोजगारमा युएई, कुबेत, साउदी अरब लगायत देशमा पुगेका नेपालीसमेत त्यहाँबाट रुस पुगेर रुसी सेनामा भर्ती भएका थिए।

अहिलेसमम कति नेपाली रुसी सेनामा भर्ती भए भन्ने यकिन आँकडा छैन। रुसी सेनामा भर्ती भएकाका परिवारहरूको सञ्जालका अनुसार कम्तीमा १ हजारदेखि २ हजारसम्म नेपाली रुसी सेनामा भर्ती भएको अनुमान छ।

कूटनीतिक कमजोरी, फितलो पहल 
रुस–युक्रेन युद्धमा कैयौँ नेपाली मारिएको र अरू धेरै हराइरहेको विषयमा अन्तर्राष्ट्रिय मिडियाहरूले प्राथमिकतासाथ समाचार प्रकाशन गर्न थालेपछि नेपालमा यो विषय उठ्नथालेको हो। त्यसको लामो समय बितिसक्दा पनि रुसी सेनामा पुगेका नेपालीलाई फिर्ता ल्याउने, मृतकका शव फर्काउने, हराइरहेकालाई खोजी गर्ने लगायत वषयमा सरकारको पहल फितालो देखिएको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू रुसी सेनामा मृत्यु भएका नेपालीको शव ल्याउन कूटनीतिक पहल भए पनि तत्काल ल्याउन सम्भव नभएको बताउँछन्। “कम्तीमा परिवारलाई शव दिनुपर्छ भनेर हामीले आफ्नो च्यानलबाट रुसलाई भनिरहेका छौँ,” परराष्ट्रका एक अधिकारीले भने, “तर हाम्रो कूटनीतिक पहुँच पुगिरहेको छैन। शव आउने कुरा अझै अनिश्चित देखिन्छ।”

ती अधिकारीले अहिलेसम्म आठ जना मृतकका परिवारलाई अस्तु मात्र पठाइएको बताए।

परराष्ट्र मामिलाका जानकारहरू भने शव फिर्ता ल्याउन नेपाल सरकारले प्रभावकारी कूटनीतिक पहल नै गर्न नसकेको बताउँछन्। नेपाल सरकारले कूटनीतिक नोट पठाउने र रुसी अधिकारीसँग भेट हुँदामात्र यो कुरा उठाउने गरेको उनीहरूको टिप्पणी छ।

पूर्वराजदुत जयराज आर्चायले त यो विषयमा नेपालले कूटनीतिक बेवास्ता नै गरेको टिप्पणी गरे। “रुससँग कुनै सैन्य सन्धी नहुँदानहुँदै पनि नेपालीलाई भर्ती गरिएको छ,” उनले भने, “त्यसरी अनधिकृत रुपमा सेनामा भर्ती गराइएका आफ्ना नागरिकलाई फिर्ता ल्याउने, मृतकका शव ल्याउने जस्ता विषयमा सरकारले रुसलाई दबाब सिर्जना गर्न सक्नुपर्थ्यो। तर यो कुरालाई वेवास्ता गरेको देखियो।”

परराष्ट्र मामिला जानकार चन्द्रदेव भट्ट पनि रुससँग दौत्य सम्बन्ध हुँदाहुँदै पनि नेपालले आफ्नो नागरिकको पक्षमा बलियो कूटनीतिक पहल गर्न नसकेको बताउँछन्। उनले नेपालबाट कूटनीतिक पहल पुग्न नसके पनि विभिन्न कूटनीतिक च्यानलहरू प्रयोग गर्न सकिने बताए। “हाम्रो कूटनीतिक पहल नपुगेको हो भने पनि भारत, चीन जस्ता रुससँग राम्रो सम्बन्ध भएका देशहरूको सहयोगबाट यो विषयमा बलियो पहल गर्न सकिन्थ्यो,” उनले भने।