काठमाडौँ– बिहान झिसमिसे। कुहिरोले ढाकिएको बस्ती। गाउँमा सन्नाटा। रूखको हाँगामा झुन्डिरहेका दुई बालिका। कपाल र हातका औँलाबाट तप्तप् चुहिरहेको शीत।
देख्दै आङ सिरिंग हुने दृश्य छ। भारतको उत्तरप्रदेशस्थित लालगाउँका एसपी आयान रंजन बिनाबर्दी घटनास्थलमा छन्।
उनी लालगाउँ पोस्टिङ भएको २४ घन्टा नबित्दै गम्भीर घटनाको अनुसन्धानको जिम्मेवारी आइलाग्छ। घटनास्थल पुगेपछि उनको बेचैनी बढेको देखिन्छ। सर्कल अफिसर ब्रह्मदत सिंहले एसपी रंजनलाई रिपोर्टिङ गर्न थाल्छन्, “दुवैजना कजन बहिनी थिए। दुवैमा समलैंगिक सम्बन्ध थियो। गाउँलेहरूका अनुसार दुवैलाई बुबाले झुन्ड्याइदिएका हुन्। अर्को एकजना पनि छिन् यिनीहरूकै साथी, जो अझै गायब छिन्।”
रंजन सिधै त्यहाँबाट निस्केर आवास जान्छन् र बर्दी पहिरेर थाना पुग्छन्। यता शवलाई पोष्टमार्टमका लागि अस्पताल पुर्याइन्छ।
दिल्लीबाट रंजनको पोष्टिङ लालगाउँ हुनुभन्दा दुई दिन अघिदेखि नै गाउँका तीन बालिका हराइरहेका हुन्छन्। उनीहरूको परिवारले खोजिदिन पुलिसलाई पटकपटक आग्रह गरेका हुन्छन्। तर दलित समुदायको परिवारको आग्रहअनुसार पुलिसले न एफआईआर लेख्छ, न त घटनाप्रति गाम्भीर्य देखाउँछ।
ब्रह्मदत्तले प्रेसलाई ‘अनर किलिङ’ भएको बताउँछन्। एसपी रंजनलाई पनि भोलिपल्टसम्म पेपरमा अनर किलिङ नै भएको समाचार आउने ब्रह्मदत्तले जानकारी गराउँछन्। रंजन सोध्छन्, “पोष्टमार्टम रिपोर्ट कहिले आउँछ?”
जवाफमा ब्रह्मदत्त भन्छन्, “आइहाल्छ सर, त्यसमा नयाँ केही आउने होइन। सबै क्लियर नै छ।”
“पोष्टमार्टम रिपोर्ट आउनेबित्तिकै जानकारी दिनू,” यति भनेर रंजन आवासतिर लाग्छन्।
त्यहीबेला रंजनको आवासमा मृत दुई बालिकाका बुबा र बेपत्ता तेस्रो बालिकाकी दिदी पुग्छन्। उनीहरूले रूँदै न्यायको याचना गर्छन्, “साहब, हाम्रा छोरीहरू सानु र ममताको हत्या भएको हो। तर हामीमाथि नै केस बनिरहेको छ?”
रंजन समवेदना प्रकट गर्छन् र पोष्टमार्टम रिपोर्ट नआउन्जेलसम्म थामिन भन्छन्। एकछिनपछि सानुकी बुबा मेन्कु फेरि बोल्छन्, “साहब हाम्री छोरीहरूलाई रातभर राखेर छोडिदिए पनि ठीक थियो। तर झुन्ड्याएर मारिदिए।”
अनि जे बाहिरिन्छ...
पोष्टमार्टम रिपोर्ट बनाउने डा. अवधेश मलेरिया लागेर घरमै थला परेका हुन्छन्। त्यसैले पोष्टमार्टम रिपोर्ट उनका सहायक डा. माल्ती राम बनाउँछिन्। उनले बालिकामाथि दुई तीन दिनसम्म सामूहिक बलात्कार भएको र त्यसपछि झुन्ड्याइएको बताउँछिन्। तर उनलाई धेरै भावुक नभई डा. अवधेशको निर्देशनमा चल्न बाध्य बनाइन्छ। माल्तीलाई यस्तो दबाब सर्कल अफिसर ब्रह्मदत्तले दिन्छन्।
सानु र पूजा सडक बनाउने टोलीसँग काम गर्थे, दिनको २५ रूपैयाँमा। उनीहरूसँगै गाउँका अन्य बालिका पनि दैनिक ज्याला बढाउन माग गरिरहेका थिए। तीन रूपैयाँ थपेर २८ रूपैयाँ बनाउनुपर्ने उनीहरूको माग थियो। पैसा नबढाएपछि सानु र पूजाले उक्त काम छोडेर ‘जबरा फ्याक्ट्री’मा दैनिक २८ रूपैयाँमा काम शुरू गर्छन्।
ठेकेदार अंशु नारियाको नाम पहिला पनि दुईपटक आएपछि एसपी रंजनले उनलाई थाना बोलाउन आदेश दिन्छन्। नारियालाई सोधिन्छ, “किन दुई बालिकालाई मारेको?”
नारियाले हाक्काहाक्की ज्याला बढाउन माग गरेका कारण घटना भएको बताउँछन्। उनी भन्छन्, “काम छोडेर गइरहेका थिए। यसो त सबैले भन्न थाल्छन् पैसा बढाउन। उनीहरू गएपछि केही काम नै हुँदैन। दूधको प्याकेट घर पुग्दैन। नल आफैँ बनाउनुपर्छ। जुत्ता आफै सिउनुपर्छ। औकातमा राखेनौँ भने कामै गर्न सक्दैनौँ। औकात सबैको हुन्छ। तर त्यो रात म घरमै थिएँ।”
नारिया ब्राह्मण समूदायका हुन्। उनलाई विधायक रामलाल नेहरीको समर्थन हुन्छ। तर लखनउबाट डीएनए रिपोर्ट आउँदा नारियाले नै बालिकाहरूको बलात्कार गरेको पुष्टि हुन्छ।
ती बालिकाहरूले अन्यत्र काम गरेकै कारण नारियाले उनीहरूलाई आफ्नो घरमा बन्दी बनाउँछ र बलात्कार गर्छ। तेस्रो दिनको साँझ उनीहरू नारियाको घरबाट भाग्न प्रयास गर्छन्। एक जना सफल पनि हुन्छिन्। नारियाका मानिसले भेटाएका दुई बालिकालाई रूखमा झुन्ड्याइएको थियो।
यता अनुसन्धानबाट ती बालिकालाई थप दुई जनाले पनि बलात्कार गरेको खुल्छ, पुलिसद्वय ब्रह्मदत्त र निहाल सिंह। सिंह रंजनकै पीएसओ हुन्छन्।
यो घटना भारतीय निर्देशक अनुभव सिन्हाद्वारा निर्देशित ‘आर्टिकल १५’ फिल्मको हो। भारतीय संविधानको धारा १५ मा जातको नाममा कुनै भेदभाव नगरिने भनिए पनि लालगाउँमा भइरहेको विभेद र दलित समुदायका बालिकामाथि बलात्कार हुँदा पनि समाजलाई कुनै चासो नभएको घटना देखाइएको छ।
सिरहाकी दलित रिंकु
सिरहाको नवराजपुर गाउँपालिकास्थित भगवतिपुर गाउँमा एउटा मुसहर बस्ती छ। यहाँ झन्डै २०० घरधुरी छन्। तीमध्ये करिब २५ घर मुसहरहरूको छुट्टै बस्ती छ। मुसहर बस्ती गाउँको कुनातिर छ।
यो बस्तीभन्दा १०० मिटर पर एउटा झुपडी छ, जहाँ बिजुल सदा, सीतादेवी सदा, वीरेन्द्र सदा, भुला सदा र रिंकु सदा बस्छन्। यो झुपडीमा माघ ३० गतेदेखि १७ वर्षीया रिंकु भेटिन छाडेकी छन्। त्यस दिन साँझ ७ बजे उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
माघ २७ गते करिब ९ बजेतिर रिंकु शौचका लागि घरबाहिर निस्केकी थिइन्। तर उनी तुरुन्तै घर फर्किन पाइनन्। उनी बिहान ३ बजे रुँदै घर आइपुगिन्। आमा सीतादेवीका अनुसार शरीरमा चोट देखिएपछि सोधखोज गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बताइन्।
स्थानीय रूपेश मण्डल, रामविनय मण्डल र चन्दन साहले मुख थुनेर गाउँबाहिर लगेको र पालैपालो बलात्कार गरेको आफूलाई रिंकुले सुनाएको सीतादेवी बताउँछिन्। घटनाको पर्सिपल्ट माघ २९ गते केही स्थानीयको पहलमा गाउँमा ‘पञ्चायती’ बस्यो। मुद्दा मामिलातिर गए झन् बद्नामी हुने र गाउँको कुरा गाउँमै राख्नुपर्ने भन्दै पञ्चहरूले मिल्न आदेश दिएको स्थानीय रामजनम सदा बताउँछन्।
सदाका अनुसार आरोपीहरूले पीडित परिवारलाई डेढ लाख रुपैयाँ दिएर घटना मिलाउनुपर्ने निर्णय पञ्चले सुनाएका थिए। “तर १० हजार छुट गर्नुपर्ने कुरा उठेपछि १ लाख ४० हजारमा कुरा मिल्यो। अर्कोदिन (बुधबार) रुपेश मण्डलको परिवारले घटनामा अरू दुई जना पनि संलग्न भएकाले उनीहरूले पनि पैसा तिर्नुपर्ने भन्दै अर्को पञ्चायती बोलाए,” उनी भन्छन्, “यो कुराले उनीहरूबीचमै विवाद हुनथाल्यो।”
त्यसपछि पञ्चहरू निष्कर्षमा नपुग्दै पञ्चायती टुंगिएको थियो। फेरि पैसा तिर्ने कुरामा विवाद भएपछि पीडित परिवार त्यहाँबाट चाँडै घर फर्किएको थियो। “छोरीलाई घरमा राखेर हामी गएका थियौँ, फर्केर आउँदा रिंकु भित्रै डोरीमा झुन्डिएको अवस्थामा थियो,” सीतादेवी सुनाउँछिन्।
स्थानीय रामसेवक सदाका अनुसार बाहिरबाट ढोका लगाइएको कोठामा रिंकु मृत भेटिइएकी थिइन्। “आत्महत्या गर्नेले भित्र चुकुल लगाएर गर्छ नि! तर बाहिरबाट चुकुल लागेको थियो,” रामसेवक भन्छन्, “पिडकहरू पटकपटक घरै पसेर धम्की दिन आइरहेको पनि थाहा पाएका थियौँ।”
यो घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले फागुन ४ गते एसएसपी शान्तिराज कोइरालाको नेतृत्वको टोली खटाएको छ। सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका चारवटा मुद्दामा आठ जनाविरुद्ध पूरक जाहेरी परेको छ। पीडित परिवारले इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएका हुन्।
पीडित परिवारले कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्रमा जाहेरी दिएका छन्। जाहेरी परेका आठ जनामा सामूहिक बलात्कारमा संलग्न तीन र गाउँमै घटना मिलाउन खोज्ने पाँच जना पञ्च छन्। घटनामा संलग्न पञ्चहरूमा नथुनी साह, रामपुकार मण्डल, रामपृत साह, रामकृपाल मण्डल र विन्देश्वर छन्।
किटानी जाहेरी परेका सबै जना फरार छन्। प्रहरीले फागुन ११ गते शंकास्पद चार जनालाई नियन्त्रणमा लिएको थियो। तर एक जनालाई सोधपुछ गरेर छाडिएको र तीन जनालाई पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनीहरू किटानी जाहेरी परेका अभियुक्त होइनन्।
प्रहरीको अनुसन्धानका विषयमा प्रश्न गर्दा एसएसपी कोइरालाले उकालोसँग भने, “जे जे भइरहेको छ आइरहेकै छ, फरारहरू पक्राउ परेका छैनन्। पोष्टमार्टमको रिपोर्ट पनि कुनै आएको छ, कुनै आउने क्रममा छ। समय लाग्छ, पहिला फरारहरू भेटिनु पर्यो नि।”