युरोपमा गएर धन कमाएको देख्नेहरूले त्यहाँका सडकमा भौँतारिएका हजारौँ सञ्जय अनि आफ्नो पहिचान र स्वाभिमान लुकाएर बसेका लाखौँ गैरकानूनी आप्रवासीको दुःख देखेनन् वा अनदेखा गर्दै थिए, खुट्ट्याउन सकिनँ।
‘कसको ल्यापटप हो यो? अगाडि लिन आउनुहोस्।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय टर्मिनल, सेक्युरिटी चेक छेउबाट आएको भोइस अनाउन्समेन्ट सिस्टमको आवाजले म झस्किएँ। हत्तपत्त झोला खोलेर हेरेँ, त्यहाँ मेरो ल्यापटप थिएन। हतार हतार सेक्युरिटी चेक हुने ठाउँमा गएँ; छुटेको आफ्नो ल्यापटप लिनको लागि।
पहिलोपटक विदेश जान लागेको, त्यो पनि युरोप— खुशीले भुइँमा खुट्टा थिएन। त्यो खुशी र उत्तेजनाले नै होला, स–साना कुराहरू बिर्सने अनि कताकता आत्तिएझैँ भान भइरहेको थियो। काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडिजमा मास्टर्स गर्दै गरेको म, ‘इरास्मस ग्लोबल मोबिलिटी’अन्तर्गत एक सेमेस्टर अध्ययनका लागि नर्वेको क्रिस्टियनस्यान्डस्थित युनिभर्सिटी अफ एगडर जाँदै थिएँ।
विमान अनि विमानस्थल
काठमाडौँबाट दिल्ली–एम्स्टर्डम हुँदै नर्वेको क्रिस्टियनस्यान्ड पुग्ने यात्राको पहिलो सारथी थियो इन्डिगो एअरलाइन्स। उडानको केही समयमा विमान परिचारिकाले केही खाने कुरा दिइन्; मेरो छेउमै बसेका अन्य दुई नेपालीले भने खानेकुरा पाएनन्। खानासँगै दिइएको न्यापकिनमा लेखिएको थियो, ‘दाने दाने पर लिखा हैं खानेवालाका नाम।’ शुरूमा मलाई झनक्क रिस उठ्यो, कसैले हेपेर भनेजस्तो लाग्यो, तर फेरि सोचेँ, आखिर साँचो नै त हो यो कुरा।
सायद उक्त खानाको दानामा मेरा छेउका ती नेपालीको पनि नाम लेखिएको थिएन होला, तर हामीले बाँडेरै खायौँ। कुरा गर्दै जाँदा तराई क्षेत्रका ती व्यक्ति रोजगारीका लागि दुबई जाँदै रहेछन्। म गलत हुन सक्छु, तर अन्य देश जानेलाई भन्दा खाडी जानलाई एअरलाइन्सले विभेदको नजरले हेरेको हो कि झैँ लाग्यो।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र देखेको म दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको भव्यता देखेर पुलकित भएँ। साच्चै विदेश आएझैँ लाग्यो। शुरूका केही घण्टा यताउता हेर्दैमा बिते पनि ९ घण्टाको ट्रान्जिट बिताउन भने कठिनै हुने रहेछ। धन्न सँगै नर्वे जाने साथी समीर गौतम अनि दिल्ली एयरपोर्टमै भेटिएका होटल म्यानेजमेन्ट पढ्दै गरेका एक विद्यार्थी (जो इन्टर्नसिपका लागि दुबई जाँदै थिए) साथमा थिए र त त्यो पर्खाइ त्यति कठिन भएन। उनीहरूसँग गफगाफ गर्दै, आउने यात्राका योजनाहरू बनाउँदै समय बितायौँ।
दिल्ली एयरपोर्टको शौचालय भने निकै सफा लाग्यो। जुनसुकै बेला जाँदा पनि कोही न कोहीले सफाइ गरिरहेकै हुन्थे। केही घण्टाअघि मात्र गएको त्रिभुवन विमानस्थलको शौचालय सम्झेँ। शायद हामीलाई सफा कुरा मनपर्छ तर त्यस पछाडिको मिहिनेत? शौचालय सफा गरिरहेका व्यक्तिलाई हेरेर मुसुक्क हाँसेँ, उनी पनि हाँसे। शायद सफा राम्रो माहोलले मानिसलाई मुस्कुराउन प्रेरित गर्छ कि?
बिहान ३ बजेर ५५ मिनेट जाँदा दिल्लीबाट एम्स्टर्डमका लागि विमान उड्यो। यो मेरो जीवनको सबैभन्दा लामो उडान थियो, करिब आठ घण्टाको। मेरो छेउको सिटमा एम्स्टर्डम हुँदै क्यानाडा जान लागेका दुई जना भारतीय थिए। उडानको केही घण्टापछि, आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान भएकाले झ्यालको सिटमा बस्न दिन आग्रह गरेँ तर झ्यालमा बसेका व्यक्तिले मानेनन्।
यात्रामा विरलै निदाउने बानीले, म कहिले सिटअगाडिको स्क्रिन हेर्दै त कहिले मोबाइलमा गीत सुन्दै आफूलाई बोर हुनबाट बचाउँदै थिएँ। विमानमा वाईफाईको सुविधा पनि रहेछ तर त्यसका लागि २० युरो तिर्नुपर्ने। सित्तैमा उपलब्ध वाईफाईबाट मुस्किलले टेक्स्ट म्यासेज भने पठाउन मिल्थ्यो। छेउका भारतीय यात्रु उनीहरूको फोनमा वाईफाई जोडिदिन आग्रह गर्दै थिए, मैले सघाएँ। यसबाहेक सिटअगाडिको स्क्रिनमा भारतीय चलचित्र अनि संगीत खोजीदिन पनि आग्रह गर्थे ती बेलाबेलामा; आफूले जानेको सघाइदिन्थेँ। भाषा फरक भए पनि, मानवीय सम्बन्ध र सहयोगको भावनाले हामीलाई जोडेको थियो।
केहीबेरमा झ्यालको सिटमा बसेका यात्रु शौचालय गए। फर्किएपछि खै के सोचेर हो, उनले झ्यालको सिटमा बस्छस् भने बस भने; मलाई ‘लोटरी’ लागेझैँ भयो। बाँकी यात्रा अगाडिको स्क्रिनमा प्लेन उडिरहेको ठाउँका बारेमा पढ्दै अनि झ्यालबाट तल हेरेरै बित्यो। युरोपको सम्म फाँट अनि यसअघि नाम मात्र सुनेको ठाउँ, उचाइबाटै भए पनि हेरेर रम्दै थिएँ म।
विश्वका विभिन्न देशबाट युनिभर्सिटी अफ एगडरमै एक्सचेन्ज स्टुडेन्टको रूपमा आएकाहरूको ह्वाट्सएप ग्रुप थियो। एकै दिन एकै फ्लाइटमा एम्स्टर्डम हुँदै क्रिस्टियनस्यान्ड जाने ९–१० जनाको हाम्रो छुट्टै ह्वाट्सएप ग्रुप थियो अनि सबै सँगै एयरपोर्टमै भेट्ने योजना थियो। एम्स्टर्डम एयरपोर्टमा २–४ जना गर्दै साथीहरू थपिँदै थिए। विभिन्न देशका मानिसहरू, फरक संस्कृति र भाषाहरूका बाबजुद एउटै उद्देश्यले जोडिएका हामी सबैमा एक प्रकारको उत्साह र नयाँपनको अनुभूति थियो।

अन्तिममा आइपुग्यो जर्मन साथी, नोहा। जर्मनीबाट प्लेनमा सिधै नर्वे जानुभन्दा ट्रेनमा एम्स्टर्डम आएर जान सस्तो पर्ने भएकाले नोहा अघिल्लो रात नै एम्स्टर्डम आएको रहेछ। एम्स्टर्डम अनि त्यहाँको गाँजा पाइने क्याफेबारे गफ दिँदै थियो नोहा। उसको कुरा सुनेर हामीलाई अचम्म लाग्यो, किनभने नेपालमा यस्तो कुरा सार्वजनिक रूपमा गर्ने चलन थिएन। हाम्रो नेपालमा त गाँजा खाने देवता नै छन् भन्दा ऊ भन्दै थियो ‘सिट, आई जस्ट रियलाइज्ड आई वाज बर्न टु रङ्ग फेथ’ सबै गललल हाँसे।
साँझको समय क्रिस्टियनस्यान्ड एयरपोर्ट पुगेका हामीलाई लिन साथीहरू बस लिएर आएका रहेछन्। युनिभर्सिटीमा अध्ययन गर्दै गरेका विद्यार्थीमध्ये केही ‘स्टुडेन्ट बड्डी’ ग्रुपमा रहेछन् जसको मुख्य काम नै अन्तर्राष्ट्रिय स्टुडेन्टलाई सहजीकरण गर्ने रहेछ।
एकै स्टुडेन्ट हाउजिङमा बस्ने विद्यार्थी जम्मा भएर समूहमा जाँदै थिए तर म बस्ने ठाउँमा जाने म मात्रै रहेछु। मलाई आफू बस्ने ठाउँसम्म पुर्याउनका लागि यानिक आउने भन्दै एकछिन कुर्न भने साथीले। यसअघि पनि यानिकसँग २–४ पटक इमेलमा कुराकानी भएको थियो। बसेको २–४ मिनेटमै कालो गाडी आयो अनि बाहिर निस्किइन् एक अधवैंशे महिला। यानिक नाम सुनेरै पुरुष होलान् भनी अनुमान गरेको म छक्क परेँ। उनको न्यानो मुस्कान र स्वागत गर्ने तरिकाले मलाई थप सहज महसुस भयो। यानिकाले मेरा लागि भनेर सिरक अनि सिरानी पहिल्यै किनेर राखिसकेकी रहिछन्, म कृतज्ञ भएँ।
बस्ने ठाउँ पुग्दा अँध्यारो भइसकेको थियो। आफू बस्ने कोठाको ढोका खोलेर हेर्नासाथ मन कताकता कटक्क भयो। खाट, स्टडीटेबल, मेच, सानो किचन, फ्रिज अनि अट्याच्ड बाथरुमजस्ता आवश्यक आधारभूत सबै कुरा भए पनि खाली खाली लाग्यो मलाई त्यो कोठा। घरभन्दा बाहिर लामो समय नबसेको म करिब छ महिना एक्लै यो कोठामा कसरी बस्लाँ? सम्झिँदै अत्यास लाग्यो।
भोक अनि निद्राले हत्तु भइसकेको म हतार हतार वाईवाई पकाएर खाएर सुत्ने तरखरमा थिएँ, तर विडम्बना, स्टोभ कसरी अन गर्ने खुट्याउन सकिनँ। बल्लतल्ल १५–२० मिनेटमा स्टोभ कसरी बाल्ने भन्ने पत्ता लगाए। यो सानो कुरा पनि नयाँ ठाउँमा कति चुनौतीपूर्ण हुन सक्छ भन्ने अनुभव भयो। वाईवाई उमालेर खाएँ अनि घुप्लुक्क सुतेँ। शायद थकाइले होला, कुनै नयाँ खाटमा निदाउन गाह्रो पर्ने म एकछिनमै भुसुक्कै निदाएँ।
नर्वेमा पहिलो बिहानी
भोलिपल्ट करिब १० बजेतिर युनिभर्सिटी जानुपर्ने थियो। नेपालबाटै डाटा रोमिंग अन नगरी गएकाले मसँग इन्टरनेट थिएन, अनि यहाँबाट बोकेको डलर कार्ड पनि चल्छ, चल्दैन दोधारमा थिएँ।
हिँड्दै जाँदा एक टनेलको मुखसम्म पुगेँ। अघिल्लो दिन यानिकाले सोही टनेलबाट गाडी छिराएकी थिइन् अनि टनेलको अर्को मुखबाट २–३ सय मिटरको दूरीमै युनिभर्सिटी थियो। गाडीहरू गुड्ने टनेलभित्र पैदल यात्री हिँड्ने ठाउँ नै थिएन, अब फसाद पर्यो। यत्तिकैमा वर्षा हुन थाल्यो। यो अप्रत्याशित वर्षाले मलाई थप असहज बनायो। बाटोमा भेटेका मानिसलाई गुगल म्याप बनाउँदै युनिभर्सिटी जाने बाटो सोध्न थालेँ। अधिकांश मानिसले जवाफ दिए, त्यो पनि अंग्रेजीमै। उनीहरूको सहयोग र मैत्रीपूर्ण व्यवहारले मलाई केही राहत दियो। पहिलो दिन नै ढिलो हुन थिएन मलाई त्यसैले १ घण्टाअघि नै आफू बस्ने ठाउँबाट निस्किएको थिएँ। २० मिनेटको बाटो धन्न एक घण्टा लगाएर भए पनि ठाउँमा भने पुग्न सफल भएँ।
सडक अनि सार्वजनिक यातायात
युनिभर्सिटी जाने आउने बाटा निकै रमाइला थिए, वरिपरि हरियाली, एकै किसिमका १–२ तल्ले घरहरू अनि सफा वातावरण, हिँड्नै आनन्द आउने। बाटो काट्न भने शुरूका केही महिना अलिक अप्ठ्यारो भयो।
नेपालमा जेब्रा क्रसिङमा पनि गाडीले हान्ला कि भन्ने डरले बरु गाडीलाई पहिला जान दिने बानी परेको म, यहाँ भने जेब्रा क्रसिङमा यात्रुको पहिलो पाइला पर्नासाथ दुवै लेनका गाडी रोकिने; अझ कोही त हिँडिरहेको मानिस जेब्रा क्रसिङतिर फर्कियो मात्र भने पनि गाडी रोक्थे। कहिलेकाहीँ त म गाडीलाई पहिला जा भनेर इसारा गर्थेँ अनि गाडीको मान्छेले मलाई पहिला जा भनेर इसारा गर्ने। अन्त्यमा मुस्कुराउँदै म नै अघि बढ्थेँ अनि गाडीवाला पनि मुस्कुराउँथे। त्यहाँको सडकमा पनि बेलाबेलामा गाडी जाममा पर्थे अनि अर्को लेन पुरै खाली भए पनि सबै गाडीहरू आफ्नै लेनमा अनुशासित भएर बस्थे।

म बस्ने ठाउँबाट युनिभर्सिटी करिब २०–२५ मिनेटको दूरीमा थियो। नेपालमा घन्टौँ मज्जाले हिँड्ने म त्यहाँ यो दूरी हिँड्दा पनि थाकेको महसुस हुन्थ्यो। शायद नयाँ परिवेश भएर शरीर अभ्यस्त नभएको पो हो कि वा उत्तरी ध्रुवको नजिक भएर पो हो?
नर्वेको सार्वजनिक यातायात प्रणाली निकै सहज अनि भरपर्दो रहेछ तर पनि मानिसहरू साइकलमा यात्रा गरेका देखिन्थे, बच्चालाई पनि बेबी क्यारियर साइकल पछाडि जोडेर सँगै गुडाउँदा रहेछन्। ६०० नर्वेजियन क्रोन (करिब ८ हजार नेपाली रुपैयाँ) तिरेर बस कार्ड बनाएपछि, म बसेको एगडर काउन्टीभर महिना दिनसम्म जति सार्वजनिक बस चढे पनि पाइने, अनि बस आफ्नो ठाउँमा कति बजे आइपुग्छ, रियलटाइममा कहाँ छ, सबै अनलाइनबाटै हेर्न मिल्ने।
विश्वासमा अडिएको समाज
युगान्डाबाट आएकी साथी जुली, एक रात घरको ढोकैमा भेटिइन्, आत्तिएको स्वरमा उनले भनिन् ‘मेरो फोन गाडीमै छुट्यो, के गर्ने होला?’ मैले उनको नम्बरमा कल गरेँ, फोन लागिरहेको थियो। सिटी सेन्टरतिरबाट आएको उक्त बस युनिभर्सिटी छेउको बसपार्कमा रोकिएर पुनः सिटी सेन्टरतिरै फर्किन्थ्यो। जुलीलाई मैले नआत्तिन भनेँ अनि बस फर्किने समय अनलाइनमा हेरेर नजिकैको बसस्टपमा पुग्यौँ। एक्कैछिनमा बस आयो, जुली आत्तिँदै भित्र छिरिन्। अचम्मको कुरा बस एक फन्को घुमेर आउँदा पनि जुलीको मोबाइल उनी बसेको सिटमै रहेछ।
सार्वजनिक बसमा बसपासबिना यात्रा गर्दा राम्रै जरिबाना लाग्ने कुरा साथीले बताए; करिब पाँच महिना यात्रा गर्दा गाडीमा मेरो बसपास एकपटक पनि कसैले चेकजाँच गरेन। नर्वेजियन साथीलाई यो कुरा सुनाउँदा उसले भन्यो, ‘नर्वेजियन समाजमा धेरै कुराहरू विश्वास (फेथ) को आधारमा चलेको छ।’ अझ कतिपय ठाउँमा यस्ता स्टोर पनि छन् जहाँ कोही पसले नै हुन्न, आफूलाई चाहिने सामान किन्ने, रकम तिर्ने अनि निस्कने।
सिटी सेन्टरकै छेउमा कम्युनिटी गार्डेन पनि रहेछ, त्यहाँ फलेका तरकारी अनि फलफूल जसले पनि लान पाउने। मैले पनि त्यहाँको लेमनग्रास अनि मिन्ट टिपेर थुप्रै पटक चिया बनाएर खाएँ। सोचेँ, काठमाडौंको खोला किनारमा पनि यस्तै कम्युनिटी गार्डेन बनाउन पाए? साथी समीरले भने, "काठमाडौंमा कति दिन पो टिक्ला र यस्तो गार्डेन?" हामी दुवै हाँस्यौँ।
बिरामी केटी
एक रात केटी मानिस रोएको जस्तो आवाजले झसङ्ग बिउँझिएँ। कमन हलमा बेलाबेलामा रातिसम्मै पार्टी हुन्थ्यो, शायद यस्तै पार्टीमा रक्सी खाएर रोए होलान् भनि खासै ध्यान दिइनँ। करिब ५–७ मिनेटसम्म पनि आवाज नरोकिएपछि के भएछ हेर्न बाहिर निस्किएँ।
म बस्नेभन्दा ५–७ कोठा पर एक केटी भुइँमा बसेर रुँदै थिइन् अनि उनको साथी उनलाई सम्हाल्न खोज्दै थिइन्। उनलाई सास फेर्न गाह्रो भएको रहेछ। मैले हतार हतार एक गिलास पानी दिँदै उनलाई खुवाउन आग्रह गरेँ।
इमर्जेन्सी नम्बरहरू शुरूको दिनमै आफ्नो फोनमा राखेको थिएँ, फोन गरेँ। एकैछिनमा एउटा एसएमएस आयो, त्यसमा आएको लिंक थिचेपछि भिडियोकलमा उताबाट दुई जना स्वास्थ्यकर्मीले बिरामीको अवस्था हेरे अनि एम्बुलेन्स पठाइदिँदैछौँ भने।
बिरामी केटीलाई सास फेर्न निकै गाह्रो हुन थाल्यो। हामी दुई जना मिलेर उनलाई मुख्य ढोकाबाहिर लगेर राख्यौँ। यसैबीच एक युवक बाहिरबाट आए, उनले रोइरहेकी केटीको खुट्टा हटाए, ढोका खोले अनि भित्र गए तर एक शब्द पनि बोलेनन्।
केहीबेरमा एम्बुलेन्स आइपुग्यो, म पनि आउनुपर्छ कि भनी सोधेँ, बिरामीको साथीले आइज भनिन्। हामी अस्पताल गयौँ। ती केटीलाई प्यानिक अट्याक भएको रहेछ।
उनको उपचार सकेर फर्किँदा बिहानको ५ बजिसकेको थियो। कोठामा आएर निदाउन खोजेँ तर डर लाग्न थाल्यो, यो बिरानो ठाउँमा एक्लै म, कसैलाई कसैको खासै मतलब नहुने; ती बिरामी केटी त आफ्नो साथीसँग एकै कोठामा बस्थिन्, म एक्लै छु, राति केही भइहाल्यो भने, यस्तै सोच्दै कोल्टे फेर्दै निदाउने प्रयासमा थिएँ म।
नेपालमा छरछिमेकमा सानो केही हुँदा पनि, केके भएको हो भन्ने उत्सुकतामा वरिपरिका मानिस भेला भएका देख्दा रिस उठ्थ्यो मलाई, ‘के सारो अनावश्यक चासो हो मानिसलाई’ भनेर। त्यस घटनापछि मलाई लाग्यो त्यो चासो मैले सोचेजस्तो नराम्रो रहेन रहेछ, त्यो त हाम्रो समाजको विशेषता पो रहेछ।
विश्वविद्यालयको अनुभव
विश्वविद्यालय जाँदै गर्दा शुरूका केही दिन त कुन ढोका अटोमेटिक, कुन ढोका धकेलेर खोल्ने, कुन तानेर अनि कुन बटन थिचेर खोल्ने भन्दै सिक्दैमा बित्यो। यो सामान्य कुराले पनि नयाँ वातावरणमा कति फरक पर्छ भन्ने महसुस भयो। विश्वविद्यालयमा मुख्यतया तीन किसिमका शौचालय हुँदा रहेछन्— महिला र पुरुष जाने शौचालय अनि जुनसुकै लिंगका व्यक्ति जान मिल्ने अर्को शौचालय। शौचालयमा यौन शिक्षा अनि यौनजन्य दुर्व्यवहारसम्बन्धी सचेतनात्मक पोस्टर, पेन्टिङ थिए भने कुनै कुनै शौचालयमा त कन्डम डिस्पेंस गर्ने मेसिन पनि थिए। यौनका विषयमा अझै त्यति खुलेर कुरा नगर्ने समाजबाट गएको म यो देखेर छक्क परेँ।
युनिभर्सिटीको अध्ययन अध्यापनको शैली नेपालको भन्दा निकै पृथक् लाग्यो। हप्तामा तीन दिन मात्र कक्षा हुन्थ्यो, त्यो पनि लेक्चर बस्नैपर्ने बाध्यता थिएन, विद्यार्थीहरू पढ्दै काम पनि गर्थे। प्राध्यापकहरूले सहजीकरण गर्थे, पढ्नुपर्ने सामग्री उपलब्ध गराउँथे। यहाँजस्तो प्राध्यापकले घोकाएर पिलाउँदैन थिए, स्वअध्ययन धेरै गर्नुपर्थ्यो। यो प्रणालीले विद्यार्थीलाई बढी जिम्मेवार र आत्मनिर्भर बनाउँथ्यो। सबैले सबैलाई नामले नै बोलाउने, प्रोफेसरहरूलाई नामैले बोलाउन मनले नमान्ने, केही हप्तामा विस्तारै अभ्यस्त भइयो। कक्षाकोठामै खानेकुरा पनि खान मिल्ने रहेछ। यसबाहेक कोही कोही कक्षामै स्नुस (ओठको मुनि राखेर खाइने स्विडिस सुर्ती) पनि खाँदा रहेछन्।

युनिभर्सिटीमा एक नेपाली प्रोफेसर पनि हुनुहुँदो रहेछ, नाम देवेन्द्र थापा अनि उनकै सुपरभिजनमा पीएचडी गर्दै रहेछन् अर्का नेपाली, प्रज्ञान थापा। गएको केही हप्तामै उहाँहरूसँग राम्रो दोस्ती भयो। उहाँहरू पोडकास्ट शुरू गर्ने तयारीमा हुनुहुँदो रहेछ। केही वर्ष टेलिभिजन पत्रकारिता गरेको हिसाबले, केही सघाउन सक्छु कि भन्ने प्रस्ताव गरेँ, उहाँहरूले हाँस्दै भन्नुभयो, ‘यु आर द पार्ट अफ टिम’
टेलिभिजन पत्रकारिताको अनुभव भए पनि मलाई लाइटिङको कुरा सधैँ चुनौतीपूर्ण लाग्छ। मैले चिनेको सिनेम्याटोग्राफर दाइ चन्द्रमान डंगोललाई फोन गरेँ, लाइटिङको टिप्स लिनका लागि। भोलिपल्ट पोडकास्ट छायांकनका लागि स्टुडियो पुग्दा भने छक्क परेँ म। लाइट, क्यामेरा सबै अटोमेटेड, न क्यामरापर्सन चाहिने, न प्रोड्युसर नै, केही बटन थिचेरै सबै आफैँले मिलाउन मिल्ने। यसबाहेक नेपालका टेलिभिजन स्टुडियो बराबरकै थप अर्को स्टुडियो, अनि अडियोमा मात्र काम गर्ने अर्को स्टुडियो। पत्रकारिताको अध्ययन नहुने उक्त युनिभर्सिटीमा भएको प्रविधि र स्रोत अनि हाम्रो देशमा पत्रकारिताकै अध्ययन हुने क्याम्पसमा भएका स्रोत र प्रविधि सम्झेँ, अवाक् भएँ। देशमा शिक्षाको क्षेत्रमा लगानीको आवश्यकता महसुस गरायो।
नर्वेजियन समाजमा कक्षाकोठामै छलफलको क्रममा एक दिन थाहा पाएको कुरा मलाई रोचक लाग्यो। कुराकानी वा मिटिङको बेलामा फोन चलाउनुलाई निकै नराम्रो मान्दा रहेछन्। कतिपय मानिस स्क्रिन टाइम घटाउने भन्दै स्मार्टफोन अनि सामाजिक सञ्जाल चलाउन छोडेको कुरा सुनाउँदै थिए। रोचक त यो लाग्यो कि हामी अहिले डिजिटलाइजेसनको वकालत गर्दै, स्कुल कलेजमा पनि किताब कापीको सट्टा ल्यापटप, ट्याब्लेट लगायतका अन्य प्रविधिमा जोड दिँदै गर्दा त्यहाँ भने ठीक विपरीत काम भइरहेको छ। उनीहरू भने डिजिटलाइजेसनबाट किताब कापीतिरै फर्किने अभ्यासमा रहेछन्।
बाटामा भेटिएका दुई पाका मानिस
म बस्ने ठाउँ वरिपरि प्रायः हर घरमा स्याउ अनि नास्पाती प्रजातिका फलफूलका रूख थियो। कति त त्यसै भुइँमा झरेका हुन्थे भने कतिपयले भने आफ्नो पर्खाल छेउको झोलामा ती फल राखेका हुन्थे, बाटोमा हिँडेको जोसुकैले पनि उक्त फल खान मिल्ने।
एक दिन युनिभर्सिटीबाट फर्किँदै थिएँ, एक वृद्ध आफ्नो घरछेउको रुखबाट नास्पाती प्रजातिको फल टिपेर बाल्टिनमा हाल्दै रहेछन्, उनी अर्को हाँगाको फल टिप्न स्टिलको भर्याङ मुस्किलले सार्दै थिए। मलाई मेरा बुढा भएका बाको याद आयो अनि भर्याङ आफूले सारी दिने आग्रह गरेँ।
उनले के–के भने मैले बुझिनँ, शायद मैले बोलेको कुरा पनि उनले बुझेनन्; उनलाई अंग्रेजी नआउने, मलाई नर्वेजियन। नास्पाती माग्यो भन्ने सोचे कि, उनले मलाई बाल्टिनतिर देखाउँदै नास्पाती लैजा भन्ने इसारा गरे। म बाल्टिनबाट दुई वटा नास्पाती झिकेर हिँड्नै लागेको मात्र थिएँ, हातले आइज भन्ने इसारा गर्दै के–के भने खै, छेउमै गएँ, उनले थप १०–१५ वटा नास्पाती मेरो हातमा राखिदिए। मक्ख पर्दै कोठामा आएँ, चाट मसलामा चोप्दै नास्पाती खाएँ, नास्पाती रसिलो थियो। सोचेँ, बोल्नलाई भाषा नै चाहिने रहेनछ, भावले पनि धेरै कुरो बोल्दो रहेछ। अनि मिसकम्युनिकेसनको फल पनि स्वादिलो हुँदोरहेछ कहिलेकाहीँ।
एक बिहान युनिभर्सिटी जाँदै गर्दा, एक वृद्धा भुइँमा ढलिरहेकी देखेँ, उनको छेउबाटै थुप्रै मानिस हिँडेर गए तर कसैको ध्यान पुगेन ती वृद्धातिर। नजिकै पुगेर सोधेँ, ‘डु यु निड अ हेल्प?’ ‘यस प्लिज’ उनले भनिन्। मुस्किलले हिँड्न सक्ने उनी, स्ट्रोलरको सहायताले फोहोर फाल्न आएकी रहिछन्। चाबी खसेर टिप्न खोज्दा लडेकी उनी उठ्ने संघर्षमा रहिछन्।
उनलाई उठ्न सहयोग गर्दै गर्दा अर्का दुई जना मानिस पनि आए, हामी दुई जनाले उनलाई उठाएर स्ट्रोलरको सहायतामा उभ्याउँदै गर्दा अर्का व्यक्ति उनले ल्याएको फोहोरको झोला फोहोर फाल्ने भाँडोमा हाल्दै थिए। उठ्ने संघर्षमा हात र घुँडामा चोटपटक लागेकी महिला, आफू उभिन पनि नपाउँदै, त्यो झोला कुहिने फोहोर हो अनि अर्को प्लास्टिकजन्य फोहोर फरक फरक भाँडोमा राख्न सुझाउँदै थिइन्। एकातिर मुस्किलले हिँड्न सक्ने अवस्थामा पनि सहयोगी कोही नभएको तिनको अवस्था देख्दा टिठ लाग्यो भने फेरि, आफू त्यस्तो नाजुक अवस्थामा पनि फोहोर छुट्याएर राख्नुपर्छ भन्ने उनको दायित्वबोध देख्दा उनीप्रति अगाध सम्मान पनि जाग्यो।
विदेशको दशैँ
दशैँ पनि आयो; यसअघि यति लामो समय घर बाहिर नबसेको, चाडपर्वमा एक्लै हुँदा नरमाइलो लाग्दो रहेछ। दशैँ आउनै लाग्दा मलाई परिवारको, साथीभाइको र नेपालको सम्झनाले सताउन थाल्यो। यसैबीच प्रज्ञानजीले, क्रिस्टियनस्यान्डमा रहेका नेपाली समुदायले युनिभर्सिटीमै आयोजना गरेको दशैँको कार्यक्रमको निम्तो पठाउनुभयो।
कार्यक्रममा एक अग्रज आमाले सबैलाई टीका लगाइदिनुभयो। २५–३० जना नेपाली एकै ठाउँमा जमघट, मिठो–मिठो नेपाली खाना, लङ्गुरबुर्जा अनि नेपाली गीतमा नाचगान, परदेशको दशैँ पनि घरदेशको भन्दा कम लागेन।
सम्झनामा विदेशी साथी
नर्वे पुगेपछि नर्दर्न लाइट्स हेर्ने रहर कसलाई नहोला र? युनिभर्सिटी छेउमै बस्ने साथीहरूले नर्दर्न लाइट देखेँ आज भनेर ह्वाट्सएप ग्रुपमा राखेको फोटो देख्दा लोभ लाग्थ्यो। एउटै हाउजिङमा बस्ने, फ्रान्सबाट आएका मार्टिन फेरारी शुरूको दिनबाटै मसँग नजिक थिए, महिना दिनमा त हामी मिल्ने साथी भइसकेका थियौँ। मार्टिन अनि उसको साथी गोथेले आज नर्दर्न लाइट्स देखिन्छ हेर्न जाम् भने, हामी समुद्र किनार गयौँ तर दुर्भाग्यवश हामी बसेको ठाउँबाट नर्दर्न लाइट्स भने देखिएन।
मार्टिन र गोथे, दुवैजना फ्रेन्च प्रायः सँगसँगै नै हिँड्थे तर खानेकुरा बाँडेर खाएको मैले कहिले देखिनँ। अरू साथीहरूलाई पनि चकलेट खान्छन् भनेर सोध्दा ‘इज इट फर फ्री?’ भनेर सोध्थे, म अचम्ममा पर्थेँ। आफूलाई भने सँगै भएपछि नबाँडी एक्लै खान सारै अप्ठ्यारो लाग्ने।
नर्वेमै जन्मेका, कक्षामा सँगै पढ्ने, एक जना पाकिस्तानी अनि भारतीयको जोडी अनि जति खेर पनि सँगै हुने जर्मन नोहा अनि उसको पोलिस साथीको दोस्ती देख्दा रमाइलो लाग्थ्यो, राजनीति, इतिहास, समाजले नमाने पनि उनीहरू एकअर्कासँग खूब मिल्थे।
नर्वेमै जन्मेको इराकी मूलको दाना पनि मेरो मिल्ने साथी भइसकेको थियो। पहिलो एसाइनमेन्टमा निकै कम नम्बर ल्याएको उसलाई बाँकी एसाइनमेन्टमा सघाउन थालेँ मैले। गुगल म्यापबाट एकअर्काको घर, शहर हेर्थ्यौँ हामी। मैले बनाएको नेपाली चिया एकदमै मन परायो दानाले। नर्वेमा जन्मेको, इराकी कुर्दिस दाना अमेरिकाले आक्रमण गर्नुअघि इराक स्वर्ग थियो, पछि कस्तो भयो भनेर दुखेसो पोख्थ्यो, अन्त्यमा फेरि इराक पुनर्निर्माण हुँदैछ राम्रो हुँदैछ भनेर उत्साहित पनि हुन्थ्यो।
एक दिन हाउजिङ बाहिर बसेर बियर पिउँदै थिएँ, एक जना अर्को केटा पनि मेरो छेउमै आयो; ऊ पनि बियर पिउँदै रहेछ। कुराकानी गर्दै गर्दा ‘तिमी नर्वेजियन हौ?’ भनि सोधेँ; उसले आफू मिडल इस्टबाट भएको अनि कुन देश तँ आफैँ अनुमान गर भन्यो; जति प्रयास गर्दा पनि खाली मिलेन मात्र भन्थ्यो ऊ; हार मानेर मैले उसैलाई भन्न भनेँ, उसले आफू प्यालेस्टिनी भएको बतायो। मेरो जिउमा काँडा उम्रे, आफ्नो अधिकार अनि पहिचानका लागि प्यालेस्टिनीले गर्दै आएको संघर्षबारे थोरबहुत जानकार म, एक प्यालेस्टिनीकै मुखबाट प्यालेस्टाइनको कथा सुन्न पाउँदै थिएँ।
अहिले त नर्वेले पनि प्यालेस्टाइनलाई आधिकारिक रूपमै चिन्छ भन्दै मुस्कुराउँदै थियो ऊ। मैले आफूले अघिल्लो सेमेस्टरमा प्यालेस्टाइनमाथि इजरायलको युद्धलाई ग्लोबल मिडियाले कसरी कभरेज गरे भन्ने विषयमा शोधपत्र लेखेको बताएँ, ऊ खुशी भयो; अनि प्यालेस्टिनीमाथिको ज्यादतीको बारेमा प्यालेस्टिनी कवि ‘रफिफ जियादाको’ ‘वी टीच लाइफ सर’ भन्ने कविता पनि उसलाई देखाएँ। पछि पनि यसै सेरोफेरोमा कुरा गर्ने सर्तमा हामी छुट्टियौँ।
युरोपमा बढ्दो ‘राइट विङ’ राजनीति
‘इन्टरनेशनल पब्लिक पोलिसी एन्ड एडमिनिस्ट्रेसन’ विषयको कक्षामा गेस्ट लेक्चररको रूपमा नर्वेका लागि युरोपियन युनियनका राजदूत आए। लेक्चर पछिको प्रश्नोत्तर कार्यक्रममा मैले उनलाई युरोपमा बढ्दो ‘राइट विङ पोलिटिक्स’ अनि यसले युरोपियनको मूल्यमान्यता र अस्तित्वमा पार्न सक्ने प्रभावबारे सोधेँ। उनले उक्त कुरा दुखद सत्य भएको तर ‘राइट विङवाला’ चर्को कराउने मात्र हुन् व्यवहारमा केही गर्न सक्दैन भन्ने तात्पर्यमा जवाफ दिए।

औपचारिक कार्यक्रम सकिएपछि एक नर्वेजियन विद्यार्थी, आप्रवासीले गर्दा युरोपको अस्तित्वमा समस्या आएको भनेर बहस गर्दै थिए भने राजदूत भने त्यसरी सोच्न नहुने भनि उनलाई सम्झाउँदै थिए। नर्वेमै जन्मिएका तर युरोपबाहिर ओरिजिन भएका साथीहरूलाई उनीहरूले हुर्कँदै गर्दा कुनै विभेद भोग्नुपर्यो भनि सोध्दा प्रत्यक्ष विभेद त नभोगेको तर पछिल्लो समय गैरयुरोपियनलाई हेर्ने नजर अलिक फरक हुँदै गएको अनुभूति गरेको चाँहि धेरैले बताए।
नफर्की भन्ने साथीभाइ अनि आफन्त
एक दिन युनिभर्सिटीबाट फर्किएर युट्युब सर्ट्स हेर्दै बसिरहेको थिएँ, एक भिडियो देखापर्यो जहाँ एक व्यक्ति पोर्चुगलको लिस्बनमा भ्लगरसँग पैसा माग्दै थिए। नियालेर हेरेँ, मेरै स्कुल पढेका सञ्जय भाइ पो रहेछन्। साथीभाइ सबै विदेश गएको देखेर जसरी नि विदेश जाने लक्ष्य राखी सन् २०१७ तिर युक्रेन गएका उनी, युक्रेन-रसियाको द्वन्द्वले गर्दा पोर्चुगल भासिएका रहेछन्।

नेपालमा रहेका उनका परिवारलाई खबर गरेँ, लागुपदार्थ दुर्व्यसनमा फसेका उनी, पछिल्लो केही वर्षदेखि यस्तै सडके जीवनशैलीमा रमेका रहेछन्, ‘जे गर्छ गरोस् हामीले सकेनौँ’ भनेर हात उठाएका रहेछन् परिवारले। स्कुल पढ्दा आफ्नो कक्षाको फस्ट ब्वाइ ती भाइ कुनै उद्देश्यबिना ‘एनी हाउ विदेश जाऊँ’ भन्ने लहडले लिस्बनको सडकमै पुगेका रहेछन्।
भिडियोकलमा नेपाल अनि युरोपमै भएका साथी, ‘नफर्की, कानूनी वा गैरकानूनी रूपमा भए पनि युरोपमै बस’ भनि उक्साउँथे। गैरकानूनी रूपमा इटालीमा जैतुन टिप्दै बसेको भाइ सुनाउँदै थियो, “म त यत्रो दुःख गरेर आएँ, अब केही वर्षमा कार्ड बन्छ, पछि केही होला कि? अहिले दुःख भए पनि भोलि सुख हुन्छ तँ पनि यतै आइज।”
फेरि बेलाबेलामा गुनासो गर्थ्यो, “अझ ५–७ वर्ष त जे भए पनि नेपाल जान मिल्दैन, हाम्रो गाउँमै हुन्छ होला यो जैतुन रोप्यो भने त, बरु गाउँमै जैतुन रोपेर बस्नुपर्ने रहेछ।”
कुराकानी गरेका अधिकांश साथीभाइ, आफन्त लुकेरै भए पनि उतै बस यता आएर के काम भन्ने अर्ती सुनाउँथे। अन्धाधुन्ध युरोप आए दुःख पाउन सक्ने कुरा उनीहरूले थाहा पाएका थिएनन् कि थाहा पाएर पनि अनदेखा गरिरहेका थिए, थाहा भएन। युरोपमा गएर धन कमाएको देख्ने तिनका आँखाले युरोपका सडकमा भौँतारिएका हजारौँ सञ्जय अनि आफ्नो पहिचान र स्वाभिमान लुकाएर युरोपमा बसेका लाखौँ गैरकानूनी आप्रवासीको दुःख देखेनन् वा अनदेखा गर्दै थिए, खुट्याउन सकिनँ।
फर्किने दिनहरू
मध्य रातमा पनि सूर्योदय हुने देश नर्वे, म बसेको दक्षिणी भागमा भने शुरूका केही महिना त रातको ९–१० बजेसम्म पनि दिनको उज्यालोझैँ हुन्थ्यो। कति खेर रात हो, कतिबेला सुत्ने भन्ने ज्यानले मेसो नै नपाउने।
सेमेस्टरको पढाइ सकेर परीक्षाको पर्खाइमा थिएँ म। नर्वेको मौसम पनि बदलिइसकेको थियो। बिहानको ५–६ बजेदेखि, राति ९–१० बजेसम्म घाम लाग्ने अवस्थाबाट, दिउँसो ३–४ बजे नै अँध्यारो हुने अनि बिहान ९ बजेसम्म अँध्यारो हुन थालिसकेको थियो। प्रायः पानी परिरहने अनि मुस्किलले घाम देखिए पनि राप नै नहुने। तापक्रम १–२ डिग्री झन् कहिले त माइनसमै पनि पुग्ने।
घुम्न कतै निस्कौँ भने पनि बेजोडको हावा चल्ने, हावा बहेको विपरीत दिशामा हिँड्नु पर्दा त पूरै झुक्न पर्ने। सानैदेखि दुब्लो पातलो म, साथीहरूले ‘ढुंगा गोजीमा बोकेर हिँड नत्र हावाले उडाउला’ भन्दै जिस्क्याउँथे, तर किन त्यसो भने बल्ल बुझ्दै थिएँ। मौसमको प्रभाव हो वा अरू केही, नेपाल फर्किने दिन निकै आतुर भएर कुर्दै थिएँ।
शुरूका दिनमा सँगै खेल्न आएझैँ लाग्ने सिगलको धोत्रो आवाजले मलाई गिज्याएझैँ लाग्न थाल्यो। परीक्षा पनि सकियो अब परीक्षाफलको प्रतीक्षामा थिएँ म। यत्तिकैमा लन्डनमा बस्ने सिंगापुर मूलका एक जना साथीसँग कुराकानी भयो। उनले मेरो पेशा र आम्दानीको बारेमा सोधिन्। आफू नेपालमा टेलिभिजन पत्रकार भएको अनि मासिक तलब करिब ५०० डलर रहेको सुनाएँ। “महिनाभर काम गरेर जम्मा त्यति?” उनी भन्दै थिइन्, “५०० डलर त लन्डनमा एक छाक डिनर खाँदैमा सकिन्छ।”
सहमति स्वरूप टाउको हल्लाउँदै मुस्कुराएँ म। नेपालमा पछिल्लो संस्थामा काम गर्दा एक वर्षभन्दा बढीको तलब अझै नपाएको कुरा बिचरा साथीलाई के थाहा? उनी पनि यतै केही गरेर सेटल हुन सुझाव दिँदै थिइन् मलाई। नेपाल फर्कने बेलासम्म पनि उनले भनेको एक वाक्य भने मस्तिष्कमा गुन्जिरहेथ्यो, “द वर्ल्ड इज बिग प्लेस माई फ्रेन्ड, डोन्ट कन्फाइन योर सेल्फ, एक्सप्लोर।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
