मोटरसाइकलमा ढुवानी: चालकले नै नबुझे कसले बुझ्ने?

अग्ला प्लाइउड, सिसा, झ्यालका चौकोस, खसीबोका, सुँगुर, कुर्सीका थाक, ठूला सुटकेश बोकेका यात्रुलाई पछाडि राखेर मोटरसाइकल कुदाउँदा दुर्घटनाको जोखिम बढेको छ।

काठमाडौँ– उपत्यकाका सडक अपवादबाहेक दिउँसो खाली हुँदैनन्। बिहानदेखि साँझसम्म चापाचाप हुन्छ। अन्यत्रभन्दा सवारीसाधन दुर्घटना पनि बढी छ। तर चालकहरूले विवेक नपुर्‍याउँदा न्यून चाप हुँदासमेत दुर्घटना भएका छन्।

कार्यालय समयमा धोबिखोला करिडोर घुइँचो हुन्छ। मूल सडकको जाम छल्न धेरैले यो बाटो रोज्छन्। यो करिडोरमा रातोपुल मुनिबाट जाने सडक पहेँलो, कालो र सेतोपुलको तुलनामा होचो र साँघुरो छ। पुलमुनि सडक भत्किएर उवडखावड छ।

केही दिनअघि दिउँसो चाप कम भएकै बेला यो सडकमा मोटरसाइकल पल्टियो। कालोपुल तिरबाट हुइँकिएर आएको रातो रङको मोटरसाइकलमा सवार दुई जना दुर्घटनामा परे।

मोटरसाइकलको पछाडि बस्नेले प्लाइउड ठड्याएर बोकेका थिए। पुल होचो भएको ख्याल नगर्दा प्लाइउड माथि ठोक्कियो र मोटरसाइकल लड्यो। दुवैलाई ठूलो चोट नलागे पनि खोलामा खस्नबाट थोरैले मात्र बचेका थिए।

एकछिनमा दुवै जना ज्यान अररो बनाउँदै उठे। बाइक उठाएर डोर्‍याउँदै पुलपारि लगे। पछाडि बस्नेले प्लाइउडलाई पहिलाको जस्तै ठाडो पारेर बोके, अनि फेरि सेतोपुलतर्फ हुइँक्याए।

सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार मोटरसाइकल र स्कुटरको क्षमता चालकसहित बढीमा दुई जनाको हो। तर कतिपयले बालबालिकासहित ५–६ जनासम्म राखेर पनि चलाउँछन्। यसले गर्दा बालबालिकासमेत दुर्घटनाको जोखिममा परेका छन्।

अग्ला प्लाइउड, सिसा, झ्यालका चौकोस, खसीबोका, सुँगुर, कुर्सीका थाक, ठूला सुटकेश बोकेका यात्रुलाई पछाडि राखेर मोटरसाइकल कुदाइरहेको प्रशस्तै देखिन्छ। कतिपयले मोटरसाइकल मोड्नसमेत अप्ठ्यारो हुनेगरी अगाडि, पछाडि र छेउमा समेत ठूला पोका बाँधेका हुन्छन्।

यस्ता गतिविधि नियन्त्रण नहुँदा दुर्घटनाले प्रश्रय पाएको सडक सुरक्षाविद् भगवती सेढाई बताउँछिन्। वस्तुभाउ र ठूला सामान ओसारपसार गर्दा बाइक असन्तुलन हुने र पल्टिने हुन्छ। उनी भन्छिन्, “दुई पांग्रे साधन मालसामान ढुवानीका निम्ति होइन। यसरी बोक्दा बाइकका पांग्रा असन्तुलन हुन्छन्। तर पनि कसैले टेरिरहेका छैनन्।”

मोटरसाइकलले मानिसको यात्रालाई सहज र छिटोछरितो बनाएको छ। ठूला गाडी नपुगेको कतिपय ठाउँका मानिसले मोटरसाइकल पुर्‍याइसकेका छन्। शहरी क्षेत्रमा मध्यम वर्ग र कामकाजीका मानिसको छिटो सवारीसाधन मोटरसाइकल नै हो। तर यात्राबाहेक सामान ओसारपसारमा पनि प्रयोग गर्दा दुर्घटना बढेको सेढाई बताउँछिन्।

अन्य सवारीसाधनको अवस्था पनि बाइकको भन्दा फरक छैन। साना पिकअप भ्यानले गाडीभन्दा लामालामा डण्डी, बाँस र अन्य सामग्री बोकेका हुन्छन्। कतिपयले त त्यसलाइ बाँधेका पनि हुँदैनन्।

काठमाडौँजस्तो व्यस्त सडकमा यस्ता सामान बोक्ने गाडीले जोखिम बढाएका छन्। नजिकै भएर गुड्ने गाडीका चालक र यात्रुले पनि डराउनुपर्ने अवस्था छ।

क्षमताभन्दा बढी सामान बोक्दा यसै पनि जोखिम हुन्छ, त्यसैमाथि काठमाडौँका सडक जथाभावी खनिएको हुन्छ। भित्री गल्लीसमेत सद्धे हुँदैनन्। सवारी चालकहरूले त्यसलाई समेत बेवास्था गरेर सामान बोक्छन्।

यस्ता नियमविपरीत क्रियाकलापले चालक यात्रु दुर्घटनामा पर्ने र ज्यानै पनि जाने सडक सुरक्षाविद् पुष्पराज पन्त बताउँछन्। तर सडकलाई सुरक्षित बनाउन भौतिक पूर्वाधार, सडकमा सूचना र चालकका लागि निर्देशक संकेतको अभाव पनि भएको उनको भनाइ छ।

विद्यमान नियमको प्रभावकारी कार्यान्वयन नहुँदा पनि मोटरसाइकल चालकहरूले तीव्र गतिमा दौडाउने, दुईभन्दा बढी व्यक्ति यात्रा गर्ने, मालसामान बोकेर हिँड्ने गरेको पन्त बताउँछन्। उनी भन्छन्, “सवारी चालक अनुमतिपत्र दिने फितलो प्रणाली र चालक प्रशिक्षण तालिमको अभावमा धेरैले सडक र ट्राफिकसम्बन्धी नियमको उचित ज्ञान पनि पाउन सकेका छैनन्।”

क्षमताभन्दा बढी सामान बोक्नेलाई बेलाबेला कारबाही भए पनि त्यस्ता सवारीसाधन अहिले पनि सडकमा देखिने सडक सुरक्षाविद् सेढाई बताउँछिन्। उनी भन्छिन्, “कतैकतै कारबाही भएको हुन्छ, तर कहिलेकाहीँ छुट पनि दिइन्छ। कसैलाई माया गरेर छाडिदिँदा अर्कोतर्फ सडक दुर्घटनाको जोखिम बढेको छ।”

ट्राफिक प्रहरी प्रवक्ता एसएसपी दिपक गिरी क्षमताभन्दा बढी सामान बोकेका सवारीसाधनलाई आफूहरूले कारबाही गरेको बताउँछन्। उनी भन्छन्, “त्यस्ता बाइक हामीले भेटेका छौँ र हामीले त्यस्ता साधनलाई कारबाही गर्छौं। कारबाही भए पनि पूर्णरूपमा नियन्त्रणमा आएको छैन।”

ट्राफिक प्रहरीको तथ्यांक हेर्ने हो भने, नेपालमा सवारी दुर्घटना निम्त्याउने प्रमुख साधन मोटरसाइकल हो। जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदनअनुसार नेपालमा सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारण हुन्छ।

विगत पाँच वर्षको तथ्यांक तुलना गर्दा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना आर्थिक वर्ष २०८०/८१ मा भएको छ। यस आर्थिक वर्षमा करिब २० हजार मोटरसाइकल दुर्घटना भएका थिए। यीमध्ये साढे सात हजार मोटरसाइकल काठमाडौँमा दुर्घटना भएका थिए।

आर्थिक वर्ष २०७९/८० मा पनि करिब साढे १९ हजार मोटरसाइकल दुर्घटना भएका थिए। २०७८/७९ मा लगभग २० हजार मोटरसाइकल दुर्घटना भए। यीमध्ये करिब साढे आठ हजार मोटरसाइकल काठमाडौँमा दुर्घटना भए। आर्थिक वर्ष २०७७/७८ मा १७ हजार मोटरसाइकल दुर्घटना भएको प्रहरीको तथ्यांक छ।