Sunday, July 13, 2025

-->

संसद्‍मा थरीथरीका विरोध, कति मर्यादित?

रास्वपा सांसदहरूले गत मंगलबार प्रतिनिधिसभा बैठकमा निलो स्कार्फ बाँधेर गएपछि कतिपयले मर्यादाको प्रश्न उठाएका छन्। नाराबाजी, तोडफोड र धक्कामुक्कीसम्म भइरहने संसद्‍मा विरोधको नयाँ शैली अमर्यादित हो त?

संसद्‍मा थरीथरीका विरोध कति मर्यादित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू गत मंगलबार प्रतिनिधिसभा बैठकमा नियमितभन्दा भिन्न शैलीको भेषमा देखा परे। उनीहरू सबैले गलामा निलो स्कार्फ बाँधेका थिए। बैठकको शुरूदेखि अन्त्यसम्मै सबैले स्कार्फ लगाएरै नाराबाजी गरे।

निलो रिबनको अर्थ सन्दर्भअनुसार फरक–फरक हुन्छ। मानव बेचबिखनविरुद्ध सचेतना जगाउन पनि विश्वभर निलो रिबन प्रयोग हुन्छ। भिजिट भिसा प्रकरणको विरोध गर्न रास्वपाले त्यस्तो स्कार्फ बाँधेका थिए।

त्यही स्कार्फका कारण विपक्षी दल रास्वपाको पोसाकलाई लिएर सत्तारूढ दल कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मर्यादाको प्रश्न उठाए। “यो संसद्‍मा मर्यादित पोसाकमा आउनुपर्छ भनिएको छ। यो नियमावलीमा गरिएको व्यवस्था हो। केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन?” उनले भनेका थिए, “भोलि जथाभाबी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने?”

घिमिरेले अमर्यादित पोसाक लगाउने सांसदलाई सभामुखले चेतावनी दिनुपर्ने र संसद्बाट निष्कासनसमेत गर्नुपर्ने बताए। यो विषय सोसल मिडियामा समेत चर्चा भइरहेको छ। कसैले यसलाई सिर्जनशील विरोध मानेका छन्, कसैले संसद्को मानमर्दन भएको बताएका छन्।

संसद्‍मा मौलिक संस्कृति, परम्परा वा पहिचान झल्किने कपडा लगाउनुपर्ने नियम छ। प्रतिनिधिसभा नियमावलीअनुसार सांसदको पोसाक कार्यव्यवस्था परामर्श समितिमा सभामुखले तोके बमोजिम हुन्छ। रास्वपाले लगाएको स्कार्फको सन्दर्भमा विभिन्न दलका नेताको धारणा फरक छ।

पूर्वसभामुख ओनसरी घर्ती रास्वपा सांसदले स्कार्फ लगाएर गरेको विरोधलाई असामान्य ठान्दिनन्। उनी भन्छिन्, “यस्ता विषयलाई ठूलो बनाउनु हुँदैन। स्कार्फ लगाएर जानु सामान्य हो, विरोधको शैली हो। सांसदहरूले बेलाबेला सिर्जनात्मक ढंगले विरोध गर्नुहुन्छ, संसद्‍मा त्यस्तो हुन्न।”

संसद्‍मा प्रायः विरोध गर्दा वेल घेराउ, नाराबाजी, टेबुल ठोकठाक गरेको देखिन्छ। माओवादीका सांसदले कुर्सी भाँचेकोसम्म उदाहरण छन्। तत्कालीन संविधानसभा प्रक्रियाबाट संविधान निर्माण गर्ने चरणमा प्रवेश गरेपछि २०७१ माघ ५ गते माओवादी सभासद्हरूले हंगामा गरेका थिए। उमेश यादव र अमनलाल मोदीले सांसद बस्ने कुर्सी नै भाँचेका थिए।

२०४८ सालपछिको संसद्‍मा पनि यस्ता हंगामा हुने गरेको थियो। २०५० चैतमा खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया शुरू भएपछि प्रतिनिधिसभामा झडप भएको थियो। एमाले र तत्कालीन संयुक्त जनमोर्चासहितका विपक्षी सांसदले सभा चलाइरहेका उपसभामुख महन्थ ठाकुरमाथि हातपात नै गरेका थिए।

अहिले पनि सरकारको ध्यानाकर्षण गराउन सांसदहरूले विभिन्न ढंगका प्रतीकात्मक विरोध गरिरहेका हुन्छन्। कहिले त्यसले प्रशंसा पाउँछ, कहिले आलोचना।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि २०७९ जेठ १४ मा प्रतिनिधिसभामा छलफल चलिरहेको थियो। माओवादीका तत्कालीन सांसद गजेन्द्रबहादुर महत तालाचाबी लिएर रोष्ट्रममा पुगे। त्यस दिन उनले एमालेले संसद्‍मा पुर्‍याइरहेको अवरोधलाई विरोध गर्न तालाचाबी लगेका थिए र त्यो सभामुखलाई हस्तान्तरण गर्ने बताए।

एमालेलाई व्यंग्य गर्दै उनले भनेका थिए, “ताला लगाउन खोज्नुहुन्छ, त्यसो हुनाले मैले ताला र चाबी ल्याएको छु। तपाईंहरू धित मरुञ्जेलसम्म बोल्नुहोला। त्यसपछि हामी बोल्ने बेला तालाचाबी लगाइदिनुहोला। जति बेला बोल्न मन लाग्छ, आउनुहोला र यो तालाचाबी खोल्नुहोला अनि बोल्नुहोला।”

अघिल्लो दिन जेठ १३ गते प्रतिनिधिसभामा तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले तत्कालीन प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकारले कमिसन लिएर आयल निगम खारेज गर्न खोजेको र निजी क्षेत्रलाई दिन लागेको आरोप लगाएका थिए। एमालेले नियमापत्ति गर्दै सदनमा अवरोध गरेको थियो।

त्यसअगाडि पनि एमालेले बेलाबेला सदन अवरोध गरिरहेको थियो। संसद् अवरोध भइरहेको र बोल्न नपाएको भन्दै महतले व्यंग्य स्वरूप तालाचाबी लगेका थिए।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २०८० वैशाख २५ गते प्रतिनिधिसभा बैठकमा बोल्न समय मागेका थिए। तर सभामुख देवराज घिमिरेले समय नदिएपछि विरोधस्वरूप सदनमै लुगा फुकाले।

त्यसदिन बैठक शुरू हुनासाथ सिंहले बोल्न खोजेका थिए। तर सभामुख घिमिरेले नियमित कामकारबाहीमा प्रवेश गर्ने भन्दै शून्य समय शुरू भएको घोषणा गरे। लगत्तै सिंहले आफ्नो सर्ट र गन्जी खोलेर अगाडि टेबलमा राखे।

सभामुख घिमिरेले सांसद सिंहलाई अशिष्ट र आपत्तिजनक व्यवहार नदेखाउन पटकपटक अनुरोध गरे। उनले नियमावलीको प्रावधान सम्झाउँदै ठीक ढंगले बस्न चेतावनी दिए।

“माननीय सदस्य तपाईं अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरू नदेखाउनुस्, त्यस्तो अभिव्यक्ति नगर्नुस्,” घिमिरेले भनेका थिए, “माननीय अमरेशकुमार सिंह, जुन व्यवहारहरू देखाइरहनु भएको छ, त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा तपाईंलाई चेतावनी दिन चाहन्छु। तपाईं ठीक ढंगले बस्नुस्।”

सभामुखले कारबाहीको चेतावनी दिएपछि लुगा लगाएर उनी आफ्नो आसनमा बसेका थिए। अन्य केही सांसदले सिंहलाई कारबाही गर्नुपर्ने माग पनि गरेका थिए।

कतिपय सांसद भने संसद्‍मा आफूले पाएको समयमा मौन बसेर पनि विरोध जनाउँछन्। यस्ता उदाहरण धेरै छन्। गत वैशाखमा सत्तारूढ दल एमालेकै सांसद चन्द्रबहादुर विश्वकर्मा मौन बसेर सरकारको नीति तथा कार्यक्रमको विरोध गरेका थिए।

सांसद विश्वकर्मा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा रोष्ट्रम पुगेर मौन बसिदिए। मौन बस्नुअघि उनले भनेका थिए, “राष्ट्रपतिले वैशाख १९ गते यस सदनमा नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको थियो। त्यो सम्बोधनपश्चात् यो गरिमामय संसद्‍मा आफ्ना क्रियाप्रतिक्रिया व्यापक रूपमा अगाडि बढिरहेको छ, छलफल भइरहेको छ। मैले पनि त्यो प्रतिक्रिया दिनको लागि यहाँ उपस्थित भएको छु। त्यसैले प्रतिक्रिया दिन चाहन्छु।”

त्यसपछि उनी चुपचाप खडा भए। सभामुखले उनलाई बोल्नका लागि पाँच मिनेटको समय दिएका थिए। उनी केही मिनेट मौन खडा भएपछि आफ्नो सिटमा फर्किए।

अन्य देशका संसदमा पनि यस्ता भिन्न शैलीका विरोध हुने गरेको छ। सन् २०१९ मा युरोपेली संसद्ले आफ्नो नयाँ सत्र शुरू गर्दा ब्रेक्जिट पार्टीका २९ सांसदले आफूहरू युरोपियन युनियनको विरूद्ध रहेको देखाउन ईयूको गान बजिरहँदा आफ्नो पिठ्यूँ फर्काएर बसेका थिए। अर्कातिर, सोही दिन लिबरल डेमोक्य्राटका सबै सांसदले ‘ब्रेक्जिट रोकियोस्’ लेखिएको पहेँलो टी–शर्ट लगाएका थिए।

न्युजिल्यान्डको संसद्‍मा एक सांसदको विरोध शैली भने अझै संसारभर चर्चित छ। गत नोभेम्बर १४ मा न्युजिल्यान्डको संसद् बैठकमा त्यहाँको आदिवासी माओरी समुदायसँग सम्बन्धित विधेयक पारितका लागि प्रस्ताव गरिएको थियो। उक्त विधेयकको विरोधमा माओरी समुदायकी युवा सांसद हाना–रविती माइपी–क्लार्कले हाका नाचेकी थिइन्। 

सभामुख गेरी बाउनलीले २२ वर्षीया सांसद हानालाई विधेयकबारे उनको पार्टीको धारणा सोध्दा उनले आफ्नो स्थानबाट उठेर विधेयकको प्रति च्यात्दै हाका शुरू गरिन्। हाका नाच्दै बिस्तारै आफ्नो स्थानबाट बाहिर निस्किएकी उनलाई अरू दुई सांसदले पनि साथ दिएका थिए। यो घटनाको भिडियो क्लिपले अन्तर्राष्ट्रिय मिडियामा मात्र ठाउँ पाएन, सामाजिक सञ्जालमा भाइरलै भयो। त्यही विरोधका कारण संसद् बैठक अस्थायी रूपमा स्थगित गरिएको थियो।

सभामुख ब्राउनलीले यसलाई ‘अनादरपूर्ण’ भन्दै हानालाई २४ घण्टाको लागि निलम्बन नै गरे। त्यो विषय त्यही सकिएन। महिनौँपछि गत जुन ५ मा हाका नाच्ने तीन सांसदलाई निलम्बनको निर्णय गरिएको छ। हानालाई सात दिन र अन्य दुई सांसदलाई २१ दिनको निलम्बन गरिएको छ।

नेपालमा पनि कांग्रेस प्रमुख सचेतक घिमिरेले निलो स्कार्फ लाएर संसद् प्रवेश गर्ने रास्वपा सांसदलाई निम्बनको माग गरे। तर राजनीतिक विश्लेषक कृष्ण पोखरेल संसद्‍मा रास्वपाले गरेको विरोधप्रति टाउको दुखाउनुपर्ने कारण नभएको बताउँछन्।

संसद्‍मा कुर्सी भाँच्ने, ब्रिफकेश खोस्ने, चप्पल हान्ने जस्ता उदण्ड क्रियाकलाप रास्वपाले नगरेको भन्दै उनी अहिले भइरहेको विरोध प्रदर्शनलाई शालीन ठान्छन्। “रास्वपासँग संसद्को लामो अनुभव छैन, तर अहिलेको विरोधको प्रतिकात्मक शैलीमा आपत्ति जनाउनुपर्दैन,” उनले भने।

संसारभर संसदमा विरोध गर्ने आ–आफ्ना शैली हुने पोखरेलको भनाइ छ। उनी भन्छन्, “वेल भनेकै विपक्षीले आफ्नो विरोध दर्ज गर्ने ठाउँ हो। सरकार वा सदन चलाइरहेको सभामुखले उनीहरूको चासोलाई सम्बोधन गर्नुपर्छ तर हाम्रोमा ‘काग कराउँदैछ, पिना सुक्दैछ’ भन्ने ढंगले अगाडि बढिन्छ।”


सम्बन्धित सामग्री