काठमाडौँ– गत नोभेम्बर १४ मा न्युजिल्यान्डको संसद् बैठकमा बेग्लै दृश्य देखियो। एउटा विधेयक पारितका लागि प्रस्ताव गरिएको थियो, त्यहीबीच युवा सांसद हाना–रविती माइपी–क्लार्क जुरुक्क उठिन् र हाका नाच्न थालिन्।
बिस्तारै परम्परागत हाका नृत्यको लय समातिन्, हातलाई थर्रर्र कपाइन्। ठूलो आवाजमा हुंकार भरिन् र विधेयकको एक प्रति झ्यार्र च्यातिन्। त्यही रवाफमा उनी संसद् हलको खाली स्थलमा पुगिन्। उनको त्यस कदमलाई संसद्मा उपस्थित माओरी समुदायको प्रतिनिधित्व गर्ने अन्य सांसदले पनि साथ दिए। अरू दुई सांसद त हानाले हाकाको लय समाउन थालेपछि नै नाच्दै आफ्नो स्थानबाट बाहिर निस्किसकेका थिए।
आदिवासीसहित विपक्षी सांसदले हातको द्रुत चाल र मुट्ठी कस्दै जिब्रो निकालेर विरोधको संकेत प्रकट गरे। त्यही घटनाको भिडियो क्लिपले अन्तर्राष्ट्रिय मिडियामा मात्र ठाउँ पाएन, सामाजिक सञ्जालमा पनि छायो। त्यस घटनाको कारण हो संसद्बाट पारित हुन लागेको एक विधेयक, जो न्युजिल्यान्डका आदिवासी माओरी समुदायसँग सम्बन्धित छ।
२२ वर्षीया सांसद हाना स्वयम् माओरी समुदायकी हुन्। सरकारले प्रस्तुत गरेको विरोधमा उनको पार्टीको धारणाबारे सभामुख जेरी ब्राउनलीले सोध्दा हानाले विरोधस्वरूप माओरी संस्कृतिमा शक्ति, एकता र साहसको प्रतीक मानिने युद्धनाच ‘हाका’ नाचेकी हुन्। त्यही विरोधका कारण संसद् बैठक अस्थायी रूपमा स्थगित गरिएको थियो। सभामुख ब्राउनलीले यसलाई अनादरपूर्ण भन्दै हानालाई २४ घण्टाको लागि निलम्बन नै गरे।
आदिवासी माओरी र अंग्रेज शासकबीच भएको वैतांगी सन्धिसँग जोडिएको त्यस विधेयकको विरोध किन भयो त? के हो बैतांगी सन्धि? यो बुझ्नुभन्दा पहिले न्युजिल्यान्डको इतिहासलाई नियाल्नुपर्छ।
टापुको खोज र वैतांगी सन्धि
न्युजिल्यान्ड दक्षिण–पश्चिम प्रशान्त महासागरमा अवस्थित छ। अस्ट्रेलियाबाट १५ सय किलोमिटर दक्षिण–पूर्वमा अवस्थित यस टापु देशको खोजी कसले र कहिले गरे होलान्? गुगलमा खोज्ने हो भने एबेल तस्मान र जेम्स कुकको नाम शुरूमा आउँछ।
डच (नेदरल्यान्डवासी) यात्री तस्मानले समुद्री यात्राका क्रममा सन् १६४२ डिसेम्बरमा यस टापुलाई देखेका थिए। उनले टाढैबाट यसको भूमिलाई चित्रमा उतारे। केही दिन त्यहाँ बसे। आफ्नो भूभागमा नयाँ मान्छे आएको देखेपछि त्यहाँका आदिवासी माओरीहरू तस्मानको टोलीमाथि जाइलागे। त्यहाँ युद्ध भयो, जुन ठाउँलाई तस्मानले हत्याराको खाडी अर्थात् ‘मडरर बे’ भनेर उल्लेख गरे।
नेदरल्यान्डको पश्चिमी भूमिको नाम जिल्यान्ड थियो, त्यसैले उनले यस भूमिको नाम नयाँ जिल्यान्ड अर्थात् ‘न्युजिल्यान्ड’ राखे। समुद्रको बीचमा नयाँ जमिन भेटिएको खबर युरोपभर फैलियो। तत्कालीन समयका युरोपेली सबै शक्ति राष्ट्रहरू (बेलायत, फ्रान्सलगायत) त्यो जमिन आफ्नो होस् भन्ने चाहन्थे। तर यति लामो दूरीको यात्रा गर्न त्यति सहज थिएन। त्यसको १२७ वर्षपछि सन् १७६९ मा बेलायती नेभीका क्याप्टेन जेम्स कुक यस टापुमा पुगे।
कुकले त्यहाँको हावापानी, आदिवासीको जीवनशैलीलगायत थुप्रै कुरामाथि खोज गरे। त्यसैले इतिहासका पानामा तस्मानलाई झैं जेम्स कुकलाई पनि न्युजिल्यान्डको खोजकर्ता भनेको पाइन्छ। यदि उनीहरूले पहिलोपटक त्यो भूमि खोजेका थिए भने त्यसअघि नै माओरी आदिवासी कसरी त्यहाँ पुगे त?
माओरीहरू तस्मान र जेम्स कुकले न्युजिल्यान्ड खोजेको कुरालाई अस्वीकार गर्छन्। प्रशान्त महासागरमा अवस्थित पोलिनेसिया टापुहरूमध्ये एक हवाइकीमा बस्ने आदिवासी समुदायका नाइके कुपेले यस भूमिको खोज गरेको उनीहरूको विश्वास छ।
माओरीहरूका अनुसार एक हजार वर्ष पहिले एक विशाल अक्टोपसलाई पछ्याउने क्रममा कुपे यस टापुमा पुगे। बास्नादार जमिन र सेता लामा बादल देखे र त्यही आधारमा उक्त जमिनको नाम ‘आवोटेर्वा’ राखे। हवाइकीबाट आफ्नो दललाई त्यहाँ ल्याएर बसाए। त्यसैले माओरीले न्युजिल्यान्डलाई आवोटेर्वा भन्छन् र कुपेलाई आफ्नो पुर्खा ठानेर पूजा गर्छन्।
यसरी सेता लामा बादल र बास्नादार जमिनमा आफ्नै धुनमा रमाइरहेका माओरी समुदाय तस्मान र जेम्स कुकका कारण सन् १८४० मा बेलायती उपनिवेशको ‘शिकार’ बन्न पुगे। त्यही वर्षको फेब्रुअरी ६ मा ब्रिटिस क्राउन र ५०० माओरी नेताहरूबीच त्यहाँको वैतांगी भन्ने ठाउँमा एक सन्धि भयो। उक्त सन्धिलाई न्युजिल्यान्डको संस्थापक दस्ताबेज पनि मानिन्छ। माओरीले यसलाई ‘टे–टिरिटी वैतांगी’ भन्छन्।
त्यही सन्धिमार्फत माओरी र बेलायती उपनिवेशबीच शासन व्यवस्था तय भएको थियो। उक्त सन्धिले माओरीहरूलाई तिनीहरूको जग्गा, सम्पदा, वन र मत्स्य पालनको सधैँका लागि सुनिश्चिता गरेको छ। वैतांगी सन्धिमा माओरीहरूलाई आफ्नो जग्गा कायम राख्ने र अंग्रेजहरूलाई शासन गर्ने सट्टामा उनीहरूको हितको रक्षा गर्ने व्यापक अधिकारको प्रतिज्ञा गरिएको थियो। तर प्रस्तावित विधेयकमा ती अधिकारहरू सबै न्युजिल्यान्डवासीका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख छ। माओरी समुदायलाई प्रवर्धन गर्ने नीतिहरूले गैर–माओरी नागरिकको अधिकार उल्लंघन गरेको यसका समर्थकहरूको तर्क छ।
यस्तै, सन्धिलाई माओरी र ब्रिटिसबीचको भिन्नता समाधान गर्ने उपायको रूपमा प्रस्तुत गरिएको भए पनि यसको अंग्रेजी र टे–रियो (माओरी भाषा) संस्करणहरूमा केही स्पष्ट भिन्नताहरू छन्, जसले बेलाबेला विवाद निम्त्याइरहन्छ। टे–रियो संस्करणले माओरी प्रमुखहरूलाई ‘रंगातिरतंगा’ अर्थात् सार्वभौम अधिकारको सुनिश्चितता दिन्छ। त्यहीअनुरूप माओरी समुदायमा अहिले पनि सांस्कृतिक रूपमा आफ्नो राजा चुन्ने परम्परा छ।
अंग्रेजी संस्करणले माओरी प्रमुखहरूले बेलायती महारानीलाई पूर्णरूपमा सार्वभौमसत्ताका सबै अधिकार र शक्तिहरू सुम्पन्छ। साथै, यसले माओरीहरूका लागि स्वशासनको कुनै उल्लेख नगर्ने बताउँछन्, माओरी समुदायका आयोजक र सामुदायिक अभियान संगठन एक्सन स्टेसन एओटेरोआका निर्देशक कासी हार्टेन्डर्प।
“अंग्रेजी मस्यौदाले सम्पूर्ण देशमा माओरीमाथि पूर्ण अधिकार र नियन्त्रण भएको ब्रिटिस बसोबास गर्नेहरूको बारेमा कुरा गर्छ,” अलजजिरासँगको कुराकानीमा उनी भन्छन्, “ब्रिटिस बसोबास गर्नेहरूलाई आफ्नै जनतालाई शासन गर्न आफ्नै सरकारी संरचना स्थापना गर्ने अवसर दिन्छ तर तिनीहरूले आदिवासीहरूको सार्वभौमिकतालाई सीमित गर्दैनन्।”
आफूहरूले कहिल्यै अंग्रेजको हातमा आफ्नो सार्वभौमसत्ता हस्तान्तरण नगरेको उनी बताउँछन्। “बरु हामीले नयाँ बसोबास गर्नेहरूलाई उनीहरूको आफ्नै सरकार बनाउन उदार निमन्त्रणा दिएका हौँ, किनभने तिनीहरू त्यति बेला अनियन्त्रित र कानूनविहीन थिए,” हार्टेन्डर्पले भने।
न्युजिल्यान्ड सन् १९४७ मा बेलायती साम्राज्यबाट स्वतन्त्र भएको थियो। उपनिवेशको १०० वर्षको अवधिमा माओरीले आफ्ना नागरिकको सामूहिक हत्या, भूमि कब्जा र सांस्कृतिक उन्मूलनको सामना गर्नु पर्यो। अहिले पनि विशेष योजनाबाहेक यो समुदाय सरकारी योजनाबाट वञ्चित रहेको छ। अन्य न्युजिल्यान्डवासीको तुलनामा माओरी समुदायमा बेरोजगारी तथा गरिबी धेरै छ। उनीहरूमा हृदयाघात तथा मधुमेहजस्ता रोगको जोखिम पनि धेरै छ। साथै, बाँकी जनसंख्याको तुलनामा माओरी समुदायका मानिसको औषत उमेर सात वर्ष कम छ।
यद्यपि, अहिले माओरीको संख्या त्यहाँको कुल जनसंख्याको १९ प्रतिशत अर्थात्, ९ लाख ७८ हजारभन्दा धेरै छ। त्यहाँको राजनीतिमा पनि उनीहरूको उपस्थिति बढिरहेको छ। त्यसैको प्रतिबिम्ब हुन् जोसिली युवा सांसद हाना।
संसद्मा हानाको विरोधको अर्थ
न्युजिल्यान्डको संसद्मा गत हप्ता (नोभेम्बर १४) प्रस्तावित विधेयक वैतंगी सन्धिको आधारभूत मर्मविपरीत भएको बताइएको छ। त्यसैले माओरी समुदाय आक्रोशित छन्। विरोधस्वरूप हानाले संसद्मा गाएको हाकामा माओरीको हडपिएको जमिनबारे पनि उल्लेख छ।
यही विधेयकलाई लिएर गत मंगलबारसम्म चलेको ९ दिने प्रदर्शनमा दशौँ हजार माओरी न्युजिल्यान्डका सडकमा उत्रिएका थिए। यो प्रदर्शन अहिलेसम्मकै वृहत भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
“यो प्रदर्शन विधेयकको विरोधका लागि मात्रै नभएर माओरी समुदायको हितका लागि हो,” हाना भन्छिन्, “सन्धिले सबै उमेर–जातिलाई एकताबद्ध गर्छ। तर विधेयकले हामीलाई देशको रूपमा विभाजन गर्छ। त्यसैले यो प्रदर्शन माओरी पुस्तौँपुस्ताको लागि हो।”
यसअघि पनि माओरीले आफ्ना अधिकारको लागि आन्दोलन र प्रदर्शन गर्दै आएका थिए। सन् १९७५ मा भूमिसम्बन्धी अधिकारका लागि र २००४ मा समुद्र र समुद्री किनारको स्वामित्वसम्बन्धी अधिकारका लागि प्रदर्शन गरेका थिए। सन् २००४ मै उनीहरू राजनीतिक रूपमा एकजुट हुन र सरकारमा प्रत्यक्ष हस्तक्षेप गर्न आफ्नै पार्टी ‘ते पाती माओरी’ खोले।
हाना माओरी समुदायको अधिकारको मुखर समर्थक हुन्। उनले प्रधानमन्त्री क्रिस्टोफर लक्सनको नीतिको कडा आलोचना गर्दै आएकी छन्। लक्सनले आदिवासी समुदायको हितविपरीत काम गर्ने गरेको आलोचना हुने गरेको छ।
प्रधानमन्त्री लक्सन नेतृत्वको नेसनल पार्टी, उपप्रधानमन्त्री विन्स्टन पिटर्स नेतृत्वको न्युजिल्यान्ड फर्स्ट र डेभिड सेमोर नेतृत्वको एसीटी पार्टीको गठबन्धन सरकार छ । १२३ सदस्यीय संसद्मा नेसनल पार्टीको ४९, एसीटीको ११ र न्युजिल्यान्ड फर्स्टको ८ सिट छ । यस्तै, विपक्षी दलहरू लेबरको ३४ र ग्रिनको १५ सिट छ । माओरी पार्टीको तर्फबाट हानासहित ६ जना सांसद छन्।
संसद्मा प्रस्तुत विधेयक पहिलो चरणमा पारित भए पनि अर्को चरणमा पारित हुने सम्भावना न्यून छ। नेसनल पार्टी र न्युजिल्यान्ड फर्स्ट जस्ता सहयोगीहरूले यसलाई समर्थन नगर्ने स्पष्ट पारेका छन्। न्यायिक समितिले पनि विधेयक विवादास्पद भएको स्वीकार गर्दै यसबारे थप बहस गराउने बताइएको छ । त्यसका लागि जनमत संग्रहमा जानुपर्ने हुन्छ।
हाना–रविती न्युजिल्यान्डको इतिहासमै सबैभन्दा कान्छी सांसद हुन्। गत वर्ष सेप्टेम्बरमा चुनावमा २० वर्षकै उमेरमा उनी सांसदमा विजयी भएकी हुन्। त्यही वर्ष डिसेम्बरमा संसद्मा आफ्नो पहिलो भाषणमै हाका प्रस्तुत गरेर उनी चर्चामा आएकी थिइन्। हानाको त्यही सम्बोधनदेखि माओरी समुदाय र हाका नृत्यको चर्चा विश्वव्यापी चुलिएको थियो।
माओरी भाषाको समर्थक हाना न्युजिल्यान्डका युवा मतदाताहरूको नयाँ पुस्ताको आवाज पनि हुन्। उनले माओरी अधिकार र संस्कृतिको रक्षा गर्ने वाचा गरेकी छन्। जलवायु परिवर्तनलाई सम्बोधन गर्न आदिवासी ज्ञान तथा अभ्यासहरू प्रयोगको वकालत पनि गर्छिन्। उनी आफूलाई माओरी जनताको रक्षकको रूपमा हेर्छिन्।
उनका हजुरबुबा तैतिमु माइपी माओरी आन्दोलन तामाटोआका सदस्य थिए। हानालाई सामाजिक न्यायको वकालत गर्न उनैले प्रेरित गरेका थिए। उनका हजुरबुवाका पनि हजुरबुवा विरेमु केतानी न्युजिल्यान्डमा पहिलो माओरी मन्त्री थिए। हानाले संसद्को पहिलो बैठकमै यो कुरा सम्झाउँदै भनेकी थिइन्, “मेरा हजुरबुवा यो संसद्का अभिभावक रहिसकेका छन्।”
उनको तात्पर्य थियो– संसद्को अभिभावक रहिसकेका व्यक्तिको समुदायलाई कमजोर सोच्ने आँट कसैको नहोस्। त्यतिबेला उनले सामाजिक सञ्जालमा आफ्ना तिनै हजुरबुवाको तस्वीर राख्दै लेखेकी थिइन्– “मेरो रगत रगतमा हुनुहुन्छ।”
–एजेन्सीहरूको सहयोगमा