रिटायर्ड शिक्षकको साझा बस यात्रा

बसमा जति यात्रु बढ्दै जान्थे, रामबहादुरको सकस झन् बढ्थ्यो। उनका खुट्टा गलेर लखतरान भएका थिए। बसले ब्रेक लगाउँदा उनी अगाडि हुत्तिन पुग्दथे। जीर्ण शरीरले यो सबै सहन सकिराखेको थिएन।

हरियो रङले पोतिएको पछाडिपट्टि ‘म बिजुली’ लेखिएको र टाउकोमा राखिएको डिस्प्लेमा ‘साझा बस’ चम्किएको गाडी बानेश्वर चोकमा रोकियो। एक हुल मान्छे तँछाडमछाड गर्दै बसमा चढ्न खोजे। बसभित्र पहिला नै मान्छे भरिभराउ थिए। सिटमा नअटाएर उभिनेको संख्या उत्तिकै थियो। माइतीघर, सुनधारा, त्रिपुरेश्वर, कालीमाटी र कलंकी भन्दै कन्डक्टर चिच्याइरहेका थिए। ढोकामा भीड लागेको देखेर ‘छिटो चढ्नु, कति ढिलो गरेको’ भन्दै उनी यात्रुलाई हप्काइरहेका थिए।

यात्रु चढ्दै गर्दा नै गाडी घुइँक्क अगाडि बढिहाल्यो। अन्दाजी ७० वर्षका, कपाल सेतै फुलेका, पछाडि झोला बोकेका निवृत्त शिक्षक रामबहादुर गाडी चल्दाचल्दै बसमा चढे। उनी ढोकानिर नै उभिन पाए। सम्भवतः स्वचालित प्रणालीको ढोका आफै बन्द भयो। घर्‍याक्क ढोका लाग्यो। ढोका लाग्दा रामबहादुरको कुहिनोमै ठोकियो। रामबहादुरको कुहिनोमा चार भोल्टको करेन्ट लागेझैँ भयो र मुखबाट निस्कियो—ऐया! आँखाबाट अलिकति नै आँशु नै झर्‍यो। बसको डन्डी समातेर उभिएका केही मान्छेले सोधे, ‘‘के भयो बा?’’ 

कन्डक्टरले हपारे, ‘‘ए बाजे, ढोकामा उभिनुहुन्न भन्ने थाहा छैन? बुढाले झोला पनि कत्रो बोकेको छ।’’ रामबहादुरलाई मुखभरि जवाफ आएको थियो। गुडिरहेको बसमा आफ्नै जीर्ण शरीर सन्तुलनमा राख्न धौ परिरहेका उनले जवाफ फर्काउन सकेनन्। कन्डक्टरतिर आक्रोशपूर्ण नजर मात्र लगाए।  

बसका सबै सिट युवायुवतीले ओगटेका थिए। प्रायजसो युवायुवतीको कानमा एयर बड र हत्केलामा फोन थियो। तिनको एक हातको चोरऔँला मोबाइलको स्क्रिनमा छिटो छिटो चलिरहेका थिए। मोबाइल चलाइरहँदा तिनको मुखाकृति तीव्र रूपमा परिवर्तन भइराखेका थिए। आफ्नै ध्यानमा मग्न तिनलाई कुनै अमुक वृद्धको अत्यास र असन्तुलनबारे प्रवाह हुने कुरो पनि भएन।

बस दौडिरह्यो। जति ठाउँमा बस रोकिन्थ्यो, बसबाट झर्ने भन्दा चढ्नेको संख्या बढी हुन्थ्यो। २६ सिटे बिजुली बसको प्यासेजमा यसअघि नै दुई लाइनमा यात्रु उभिइसकेका थिए। 

कन्डक्टर कराउँदै आए, ‘‘तपाईंहरू तीन लाइनमा उभिनुस्।’’ 

दुई लाइनमा उभिँदा त अप्ठ्यारो भएको थियो। अब तीन लाइनमा उभिनु पर्दा झनै कस्तो होला? रामबहादुरले सम्भावित कष्टको कल्पना गरे। 

कन्डक्टर तीन वटा लाइन बनाउँदै र भाडा उठाउँदै आए। 

रामबहादुरको नजिक आएर सोधे, ‘‘ए बाजे, कहाँ जाने हो?’’

रामबहादुर ढलमल गर्दै भने, ‘‘टेलिकम जाने बाबु।’’

‘‘त्यसो भए ३५ रुपैयाँ दिनू।’’

‘‘३५ रुपैयाँ त हैन होला नि!’’

‘‘खुरुक्क ३५ रुपैयाँ देऊ, नत्र झर।’’ 

लामो कपाल पालेको गेरुवस्त्रधारी ड्राइभर कराए, ‘‘पैसा छैन भने झार्दे केटा!’’ 

रामबहादुरले झन्डै अढाई दशकअघि हरिवंशले 'फिलिम' चलचित्रका लागि अभिनय गर्दै गीत गाएका थिए, ‘‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपैयाँको टिकट काट्दछ।’’

रामबहादुरले समय धेरै बदलिएछ भन्ठाने। यद्यपि, उनलाई यो पनि थाहा थियो कि उ बेलाको निलो रङको साझा बस र अहिलेको हरियो रङको साझा बस फरक हुन्।

असन्तुलित अवस्थामा नै रामबहादुरले दाहिने हातले खल्तीमा भएको पैसा निकाल्न लागे। बसले जोडले ब्रेक लगायो। ब्रेकका कारण रामबहादुर असन्तुलित भएर पछाडि धकेलिए। उनको पछाडि युवती सिटमा बसेकी रहिछन्, तिनै युवतीको काखमा ढेसिन पुगे। शायद युवती प्रेमीसँग मोबाइलमा प्रेमालापमा मग्न थिइन्। आफ्नो काखैमा वृद्ध व्यक्ति ढेसिन आइपुगेपछि उनमा चण्डी चढ्यो। उनले रामबहादुरलाई भए भरको बल लगाएर धकेलिन्। 

‘‘मर्न नसकेको बुढो, राम्री केटी त देख्नै नहुने!’’

युवतीको धक्काले गर्दा रामबहादुर अगाडि उभिएको अर्को युवकसँग ठोकिन पुगे। त्यो युवकले एउटा हातले डन्डी समातेका थिए। अर्को हातको हत्केलामा फोन थियो। उनको दुवै कानमा एयर बड थिए। सायद उनी केही सुनिरहेका थिए। बुढा मान्छे आफूमा ठोकिएपछि युवकले अंग्रेजीमा नै केही अश्लील शब्द ओकले। त्यति नै खेर रामबहादुरले आफ्नो सन्तुलन गुमाए र थचक्कै भुईंमा बस्न पुगे। तैपनि युवकको प्रतिवाद अंग्रेजीमा नै गरे, ‘‘माइन्ड योर ल्याङ्ग्वेज।’’ उनी पनि रिटायर्ड शिक्षक जो थिए। 

त्यसपछि क्रोध या पश्चात्तापपूर्वक युवकले रामबहादुरतिर हेर्‍यो, बुझ्न सकिएन।

बसमा घन्केको कर्कसलाग्दो कुनै गीतले रामबहादुरलाई उल्टी होलाझैँ भयो। बसभित्र कोचाकोच भएर भरिएका यात्रुका कारण हावाको कमी र ती युवायुवतीले गरेको व्यवहारले रामबहादुरको टाउको भनन्न घुमाएको थियो। खुट्टा थररर काँप्नै थालेका थिए। उल्टी आउलाझैँ भयो। बसको भुइँमा उनी थचक्क बसेको धेरै बेर भइसकेको थियो।          

उति खेरसम्म बस शहीद गेट हुँदै त्रिपुरेश्वरतिर मोडियो। त्यहाँ निकै बेर जाममा पर्‍यो। जाम खुलेपछि बस त्रिपुरेश्वर स्टपमा पुग्यो। बसको मनिटरको डिस्प्लेमा भने 'अघिल्लो स्टेसन माइतीघर' लेखिएको थियो, त्यसका साथै अटोमेटेड आवाजले पनि माइतीघर नै सुनायो। यात्रुहरू गलल्ल हाँसे। त्यहाँ फेरि एक हुल मान्छे बसमा चढे।

कन्डक्टर कराउँदै आए र भने, ‘‘पछाडि सर्नुस्, पछाडि।’’

रामबहादुर भुइँमा बसेको देखेर कन्डक्टरको पारो तातेछ। 

कन्डक्टर कराए, ‘‘ए बुढा, भुइँमा किन बसेको? उठ।’’ 

रामबहादुर उठ्ने अवस्थामा थिएनन्। 

पछाडिबाट कसैले बोल्यो, ‘‘यस्तो बुढो मान्छे किन बसमा चढ्नु?’’ 

रामबहादुरले समाचारमा सुने र पढेका थिए–राष्ट्रपति र प्रधानमन्त्रीले साझा बस चढेका।

उनलाई लाग्यो, ‘‘सायद मेरै उमेर र अवस्थामा तिनीहरू साझा बस चढ्न सक्लान्? उनीहरू त पूरै साझा बस खाली गराई, सुरक्षा निकाय खटाई वरी, चारैतिर मिडियाले घेरिएर बस चढ्छन्। अनि सेलिब्रिटी बन्दै साझा बसको प्रचारक बन्छन्।’’

बस टेकु पुग्यो। तर मनिटरमा अगाडीको स्टेसन ‘शहीद गेट’ देखाएको थियो र आवाज पनि सुनाएको थियो। केही यात्रु भन्दै थिए ‘‘साझाको हविगत यस्तो छ।’’

बस कालीमाटी पुग्यो। बस चढ्ने यात्रुको संख्या बढेको बढ्यै थियो। ट्राफिक प्रहरीहरूले बाटातिर गाडीहरूको चेकजाँच गरिरहेका थिए। सामान्य खालका निजी गाडी र मोटरसाइकल रोक्दै जाँच लाइसेन्स र ब्लुबुक मागिरहेका थिए, कतिपयलाई चिट काटिरहेका थिए। तर अलि महँगा निजी गाडी बेरोकतोक दौडिरहेका थिए।

जति यात्रु बढ्दै जान्थे, रामबहादुरको सकस झन् बढ्थ्यो। उनका खुट्टा गलेर लखतरान भएका थिए। बसले ब्रेक लगाउँदा उनी अगाडि हुत्तिन पुग्दथे। जीर्ण शरीरले यो सबै सहन सकिराखेको थिएन।

बस कलंकी पुग्यो। त्यहाँ पनि यात्रु चढे। कलंकी पारी पनि यात्रु चढे। बसले झिल्टुङ झिल्टुङ पार्दै नैकाप पुर्‍यायो। त्यहाँ केही यात्रु झरे। एउटा सिट खाली भयो। उक्त सिटमा एक युवक हतार हतार बस्न आइपुगे। रामबहादुरले त्यो सिटमा बस्न पाइन्छ कि भनी आस गरेका थिए। सतुङ्लमा अलि बढी यात्रु झरे। सिट त खाली हुन्थ्यो। तर युवायुवती फुर्तिलो हुने भएका कारण उनीहरूले नै सिट ओगटिहाल्थे। अब रामबहादुरले सिट पाउने आशा मारिसकेका थिए। कतिखेर टेलिकम पुगौंझैं भएको थियो उनलाई। सिजी गेट, सशस्त्र गेट र सानो मन्दिर हुँदै बस गुर्जुधारा पुग्यो। त्यहाँ पुग्दासम्म उभिने यात्रुको संख्या निकै कम भएको थियो।

अब कन्डक्टर भनिरहेका थिए, ‘‘पछाडिबाट होइन, अगाडिबाट झर्नुस्।’’ तिनलाई कसैले टिकट नलिईकन पो झर्छन् कि भन्ने पिर थियो। रामबहादुर आफ्नो थकित शरीर घिसार्दै अगाडि पुगे। टेलिकम आइपुग्यो। सुरुङ मार्ग निर्माणका कारण बाटो अहिले त्यहाँको सडक अलि साँघुरो छ। अरू यात्रुहरू पनि पछाडिबाट अगाडि आइरहेका थिए। बस निमेस भरका लागि त्यहाँ रोकियो। 

कन्डक्टरले भने, ‘‘ए बुढा छिटो झर।’’

रामबहादुर लर्‍याङ लर्‍याङ गर्दै झर्दै थिए। कन्डक्टरले धकेल्दा रामबहादुर भुईँमा जोतिन पुगे। धन्न कुनै चोट भने लागेन।

बस हुइँकिएर अगाडि बढ्यो। पछाडिबाट माता तीर्थ लैजाने गरी अर्को कुनै बस सेवा तयार रहेछ। रामबहादुरको नजिकै आएर बस रोकियो। बसका कन्डक्टरले ‘‘’कहाँ जाने हो बा?’’ भन्दै सोधे। रामबहादुरले माता तीर्थ भनेपछि कन्डक्टरले रामबहादुरको हात समाएर उठाउँदै बसमा राखे। बस होलो भएका कारण रामबहादुरले लामो सास फेरे। बसले रामबहादुरलाई कालो गेटमा पुर्‍याएर झारिदियो। उनी ओर्लने बित्तिकै सडकको किनारामा थुचुक्क बसे र लामो सास फेरे।

अनि, खल्तीबाट मोबाइल निकाल्दै आफ्नी श्रीमती नैनालाई फोन लगाए। उताबाट आवाज आयो, ‘‘हैन तिमी अहिलेसम्म कता हो?’’

‘‘म कालो गेटमा छु लिन आउनु।’’ 

‘‘हैन, के भयो र?’’

‘‘केही भएको छैन। हिँड्न नसकेर बोलाको।’’ 

केही बेरमा तील चामले कपालकी पातली महिला रामबहादुरलाई लिन आइन्। 

रामबहादुरले आफूले पाएको हैरानीबारे पहिलो झमटमै सकिनसकी उनैसँग बयान गरे। नैना आफ्नै तालमा फतफताउन थालिन्। 

‘‘यस्तो बुढो र कमजोर मान्छेलाई दुःख दिने? मर्न नसकेकाहरू!’’

रामबहादुरले मनमनै सोचे सार्वजनिक यातायातका साधन पनि वर्गीय हुँदा रहेछन्। 

डेरामा गएर गएर उनले मोबाइलको 'पात्रो' हेरे–त्यो दिन त ज्येष्ठ नागरिक दिवस पो रहेछ।

(कुनै ज्येष्ठ नागरिककै अनुभवलाई आधार बनाएर यो कथा तुनिएको हो। उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)