पाठ्यक्रममै तोकेर गरौँ उच्च शिक्षामा सुधार

नेपालको शिक्षा व्यवस्था पचासौँ वर्षअघिदेखि नै कमजोर छ। विकसित देशको तुलनामा जनशक्ति, स्रोत र साधनको अभाव छ। गुणस्तरीय शिक्षा पाएका शिक्षकहरूकै कमी छ।

नेपालमा उच्च शिक्षामा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। सीमित स्रोत र साधनमा सञ्चालित कति कलेज (‍‍१२ पछिको शिक्षा) बन्द भ‌इसके, कति बन्द हुने क्रममा छन्। काठमाडौँ विश्वविद्यालयमा पनि विद्यार्थीको संख्या घटेको छ। पहिले पहिले भर्ना हुन आएका उल्लेख्य विद्यार्थीसमेत फिर्ता पठाउने कतिपय विभागमा आजकल बल्लबल्ल सिट भरिन्छ। विद्यार्थी विदेश जानुका पछाडि हिजोआज राजावादीहरूले शासन प्रणालीमा दोष थोपर्न थालेका छन्।

तर सजिलै भन्न सकिन्छ दोष कहीँ भ‌ए, त्यो शिक्षा प्रणालीमा छ। शासन प्रणालीमा होइन। कोही–कोही चाहिँ कलेजको राम्रोसँग प्रचारप्रसार नभएर पनि विद्यार्थी न‌आएका भन्ने कुरा ठान्छन्। त्यही कुरा मनन गरेर हुनुपर्छ, काठमाडौँ विश्वविद्यालयले पनि आजकाल अनेक मिडियममार्फत प्रचारप्रसार थालेको छ। काम गर्दै-पैसा कमाउँदै विदेशमा पढ्न पाउने भएकाले पनि विद्यार्थी त्यता लागेका भनेर मान्नेहरू पनि छन्। कतिचाहिँ नेपालका कक्षाकोठा, प्रयोगशालालगायत भौतिक पूर्वाधार आदि कमजोर भ‌एकाले विद्यार्थीको आकर्षण घटेको मान्छन्। कुरा के रहेछ भनेर सही ढंगले ठम्याउन शायद अनुसन्धान नै गर्नुपर्ला।

तर हामीले विद्यार्थी नेपालमै रोक्ने हो भने विदेशी विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ। भन्न सजिलो भए पनि योचाहिँ चुनौतीपूर्ण विषय हो। स्नातक तहमा विश्वका कुनै पनि ठाउँमा विद्यार्थीको ५० प्रतिशतभन्दा बढी समय अध्ययन अध्यापनमै जान्छ। प्रयोगशाला र अनुसन्धानमा समय कम नै जान्छ। यस लेखमा अध्ययन/अध्यापनलाई भ‌एकै स्रोत र साधनबाट कसरी सुधार गर्न सकिन्छ भन्नेबारे चर्चा गरिनेछ। आगामी लेखमा प्रयोगशाला र अनुसन्धान कसरी सुधार्न सकिन्छ भन्नेबारे चर्चा गरौँला। 

नेपालको शिक्षा व्यवस्था पचासौँ वर्षअघिदेखि नै कमजोर छ। विकसित देशको तुलनामा हामीसँग जनशक्ति, स्रोत र साधनको अभाव छ। हामीसँग गुणस्तरीय शिक्षा पाएका शिक्षकहरूकै कमी छ।

मेरो अनुभवमा शिक्षकहरूमा तीन प्रकारका बेथिति व्याप्त छन्। पहिलो, शिक्षकले गर्ने ठगी हो। शिक्षा क्षेत्रमा काम गरेका धेरै जसोलाई थाहा छ, हामीमाझ कति शिक्षकहरू नक्कली 'डिग्री' लिएर आएकाहरू छन्। यिनीहरूबाट गुणस्तरीय शिक्षाको आशा राख्नु मृगतृष्णासमान हुनेछ।

दोस्रो, कतिपय शिक्षक शैक्षिक  प्रमाणपत्र पाएर पनि पढाउने सवालमा असक्षम छन्। आफूले अध्ययन गर्दाताक राम्रोसँग बुझेर नपढेकाहरू यस कोटीमा पर्छन्। त्यसो हुँदा, अहिले पढाउने जागिर पाए पनि आफै पाठ्यपुस्तक पढ्न सक्दैनन्। त्यसैले, १०-११ कक्षामाझैँ विषयवस्तु पढाउँछन्। धेरैजसो विद्यार्थीसमेत यस्तो पढाइबाट सन्तुष्ट हुँदै 'टिचरले सबै बुझ्नेगरी पढाउनु भयो' भन्छन्। किनकि अधिकांश विद्यार्थीलाई पाठ्यक्रमबारे जानकारी हुँदैन। ती केबल 'क्लास' लिन्छन्। परीक्षामा पढ्ने सामग्रीचाहिँ दुई तीन घण्टामै पढेर सकिने खालको हुन्छ। 

शिक्षकले कक्षामा पढाएको कुरा सबै विद्यार्थीले बुझ्ने भन्ने हुँदैन। कति कुरा पछि दोहोर्याएर-तेहेर्यायर पढेपछि मात्र बुझ्ने हुनुपर्छ। त्यसो भ‌ए मात्र विद्यार्थीले अधिकतम सिक्ने प्रयत्न गर्छन् र सिक्ने सामग्री पनि धेरै हुन्छ। दोस्रो प्रकारका कोही कोही असक्षम शिक्षकबारे विद्यार्थीले दशौँ वर्षसम्म माथिल्लो प्रशासनमा गुनासो गरेका हुन्छन्। तर उनीहरू 'स्थायी जागिरे' भएका हुनाले तिनलाई हल्लाउने कसैको सामर्थ्य हुँदैन। 

तेस्रो समस्या हो, शिक्षकको अल्छीपन। बिग्रिएको व्यवस्थामा सक्षम व्यक्तिलाई पनि काम गर्न मन लाग्दैन। जसरी ट्राफिक प्रहरी र बत्ती नभ‌एको ठाउँमा जाम गराउने गरी मोटरसाइकलहरू तँछाडमछाड गर्छन्, त्यसै गरी अव्यवस्थित शिक्षा प्रणालीमा योग्य शिक्षक पनि अल्छीपनको प्रहसन देखाउन पछि पर्दैन‌न्। यिनीहरू तात्त्विक रूपमा असक्षम शिक्षकभन्दा फरक हुँदैनन्। यिनीहरूले दिने परिणाम आखिरमा असक्षमभन्दा खासै फरक हुन्न। 

यस्तो शिक्षा प्रणालीमा बिस्तारै राम्रो शिक्षा हासिल गरेका होनहारहरू प्रवेश गर्छन् र बिस्तारै व्यवस्था परिवर्तन हुन्छ भनेर हामी आशासम्म गर्न सक्छौँ। अथवा, अहिलेकै समयमा, भ‌एकै जनशक्तिबाट सानातिना नीति नियम फेरेर सुधारोन्मुख हुन सक्छौं। 

सुधारका उपायको पहिलो नम्बर, पाठ्यक्रममा 'राम्रा पाठ्यपुस्तक'बाट पेज नम्बर नै तोकेर २०० देखि ४०० पेजको पाठ्यसामग्री निर्धारण हुनुपर्छ। पाठ्यक्रम मात्र तोकेर पर्याप्त छैन। सेल बायोलोजीको पाठ्यक्रमभित्र माइटोकोन्ड्रिया तोकिएला। माइटोकोन्ड्रियाबारे दश वर्ष पढे पनि पर्याप्त छैन। त्यसैले, पाठ्यसामग्री नै निर्धारण गर्नुपर्ने आवश्यकता आउँछ। धेरैजसो पाठ्यपुस्तकहरू ५-१० जना दिग्गज विद्वान् मिलेर लेखेका हुन्छन्। विकसित देशमा शिक्षकलाई पाठ्यसामग्री निर्धारण गर्ने छुट हुन्छ। कति अवस्थामा शिक्षकले विभिन्न पाठ्यपुस्तकबाट एउटा पाठ्यपुस्तक भन्दा राम्रा सामाग्री निकाल्न सक्छन्। तर त्यो अवस्था नेपालमा अहिलेसम्म आउने छाँट देखिँदैन।

पाठ्यक्रम नै तोकिएबाट विद्यार्थीलाई हुने फाइदाका कुरा गरौँ। दशकौँ काम गरेका अनुभवी पाठ्यपुस्तक लेखकबाट विद्यार्थीले सिक्न पाउँछन्। कक्षाकै शिक्षकले पनि सामग्री सहज बनाएर सहयोग गर्न सक्नेछन्। स्लाइडको यो जमानामा पाठ्यपुस्तक पढ्न विद्यार्थीहरू लागिपर्ने छन्। राम्रो भाषामा लेखिएको पुस्तक पढ्दा भाषाको पनि सुधार हुनेछ। 

यसरी पाठ्यसामग्री निर्धारण गर्दा तीनै प्रकारका अकर्मण्य शिक्षकहरूलाई 'तह लगाउन' सकिने छ। पाठ्यसामग्री बुझेर विद्यार्थीलाई बुझाउँदा, पढाएको नमिलेको खण्डमा विद्यार्थीहरूले प्रमाणसहित गुनासो पोख्न सक्नेछन्। ठग शिक्षकहरू जागिरमा विभिन्न तरिकाले छिर्नबाट निरुत्साहित हुनेछन्। असक्षम शिक्षकहरूले बल गरेरै भ‌ए पनि सही, जटिल पाठ्यसामग्री पढाउन बाध्य हुने छन्। उनीहरूको पनि बौद्धिक विकास हुने छ। अल्छीहरू पनि ठेगान लाग्ने छन्।

यसरी प्रणालीको एक ठाउँमा परिवर्तन गर्दा अहिलेकै शिक्षा प्रणालीको समस्याको ५० प्रतिशतभन्दा बढी हिस्सा बोकेको अध्ययन-अध्यापन प्रक्रिया सुधार हुन सक्छ। यो प्रणाली लागू गर्दा कस्ता समस्या र विकृति आउन सक्छन्, पाइलट अध्ययन गर्न सकिन्छ। काठमाडौँ विश्वविद्यालयजस्तो आफ्नो पाठ्यक्रम आफै निर्धारण गर्ने संस्थामा पहिले यसको परीक्षण गर्न सकिन्छ। यो प्रणाली नेपालमा मात्र नभ‌एर मानव संसाधन कमजोर भ‌एका जुनकुनै देशमा लागु गर्न सकिनेछ। 

शिक्षकहरूलाई अनुशासनमा राख्न बेलाबखत पढाएको शैक्षिक विषयको  परीक्षण पनि गर्न सकिन्छ। त्यस्तो परीक्षणमा विषयको विज्ञ र शिक्षाको विज्ञ राख्न सकिन्छ। पाठ्यक्रमका विभिन्न आयाम, जान्नेदेखि नजान्ने विद्यार्थीको अनुभव समेटेर प्रतिक्रिया दिन सकिन्छ। पदोन्नति र ग्रेड त्यसैको आधारमा निर्धारण गर्न सकिन्छ। शिक्षकले पढाएको कक्षामा बसेर विज्ञहरूले जाँच गर्न सक्ने छन्। अर्को अलि सहज प्रक्रियाचाहिँ शिक्षकहरूले पढाएको कुरा माथिका पदाधिकारीलाई बुझाउन सक्छन्। यो पद्धति अहिले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्समा लागु गर्न‌ खोजिँदै छ। तर गलत नियतका शिक्षकलाई कारबाही गर्न अझ पनि धेरै नै गाह्रो हुनेछ। 

विद्यार्थीले गुनासो गरे मात्र, अहिलेको स्थितिमा अकर्मण्य शिक्षकमाथि कारबाही हुने गर्छ। विद्यार्थीहरू धेरै तरीकाले शिक्षकको अकर्मण्यता ठम्याउन र गुनासो गर्न असक्षम हुन्छन्। अकर्मण्य शिक्षक चतुर हुने हुँदा 'सजिलो सजिलो' पढाउँछन्। जाँच पनि सजिलो बनाउँछन्। सबैलाई एकदम राम्रो अंक दिन्छन्। त्यसो भएपछि विद्यार्थी गुनासो गर्न जाने कुरै भ‌एन। यसरी अध्ययन अध्यापनको स्तर कसरी बढ्न सक्छ? अतः नीति नियमकै स्तरमा कडिकडाउ नगरेसम्म समस्याको समाधान हुने देखिँदैन। 

समस्याको चर्चा गरिराख्दा नेपालमै बसेर पढ्दा कति फाइदा हुन्छ भन्नेबारे पनि नभुलौँ। नेपालमा स्नातक पढेको खण्डमा परिवारबाट टाढा रहनु पर्दैन। ठूला चाडपर्व र पारिवारिक उत्सवमा छुट्नुपर्दैन। सायद साथीभाइ नै समेत धेरै बनाउन सकिएला। नेपालका समस्या र रीतिरिवाजको राम्रो ज्ञान होला। परिवारको निगरानी राम्रो भ‌एकोले कुलतमा लाग्ने सम्भावना कम रहला। त्यस्तै, जीवनयापन खर्च पनि कम होला। 

विद्यार्थी नेपालमा बस्दा देशलाई पनि धेरै फाइदा छ। पहिलो त, विदेशी मुद्राको संचय हुन्छ। हरेक वर्ष स्नातक बढ्ने विद्यार्थीले अर्बौं रुपैयाँ विदेश लैजाने गर्छन्। सो खर्च नेपालमै भ‌ए नेपाली अर्थतन्त्रलाई टेवा पुग्नेछ। हालसालै धराशायी भ‌एको शिक्षा क्षेत्रले राहत पाउनेछ। शिक्षा क्षेत्रको विकास भ‌ए समग्रमा देशकै विकास सहज बन्छ। आखिर समृद्धि पनि मानवीय संसाधनको विकासबाट सहज बन्छ। कलकारखानाको विकासमा पनि सही शिक्षाकै आवश्यकता पर्छ। विदेश जाने नै भ‌ए पनि स्नातक तहपछि  विदेश ग‌ए देशको आर्थिक-शैक्षिक आम्दानी बढी हुने थियो।

यी विभिन्न कारणले नेपालको अध्ययन अध्यापनको क्षमता वृद्धि गर्नु जरुरी छ। धेरै पैसा खर्च गरी खाडी राष्ट्रहरूले युरोप र अमेरिकाका 'ख्याक' प्राध्यापकहरू ल्याएर शिक्षामा सुधार गरिरहेका छन्। हामीसँग खर्च गर्न त्यत्रो पैसा छैन। त्यसैले, सजिलो उपाय लगाएर भ‌एकै स्रोत र साधनमा अध्ययन अध्यापनको सुधार जरुरी छ। शायद विद्यार्थीहरू विदेशमा पढे, काम पाउन पछि सजिलो हुन्छ र पैसा धेरै कमाइन्छ भनेर विदेश पढ्न ग‌एका होलान्। 'राम्रो काम पाउने पढाइ' दिलाउन सके सायद उनीहरू नेपालमै पढ्न लालायित हुने छन्।

(भट्टराई काठमाडौँ विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप-प्राध्यापक हुन्।)