इतिहासको छेउकुनामा क्यानभासको हरिप्रसाद–रङ

नेवारी कला, संस्कृति र सभ्यता भनेको ‘नोस्टाल्जिया’ हो, सनातनी ब्राह्मण खेमाका कलाकार हरिप्रसाद शर्माका लागि। पहिचान र गौरवगाथामा नेवारजत्तिको सम्पन्न दुनियाँमै शायद कोही होला भन्छन् उनी।

तस्वीर: मनिष पौडेल/उकालो

काठमाडौँ– साँच्चै, मानिसलाई कति जमिन चाहिन्छ ?

नेपाली इतिहासका रोचक पाना अथवा विश्व साहित्यका अनुपम कथा–कुथुङ्ग्री सुनाइरहने छोरा विष्णुप्रसाद शर्माले एक बिहान आफ्ना ७० नाघेका बाबु हरिप्रसादलाई एउटा रुसी मूलको कथा सुनाउन चाहे— भावभंगिमासहित। कथा थियो— हाउ मच लेन्ड डज अ म्यान निड? कथाकार थिए, विश्वप्रसिद्ध लियो तोल्सतोय।

सम्पत्तिको अति मोह राख्ने किसान पाहोम आफूले पाएसम्मको जमिन ओगट्ने मोहमा कसरी हृदयाघात भएर मर्छ(?) र, कसरी उसको ६ फिट उचाइ बराबरको ज्यानलाई त्यति नै आकारको चिहान(खाल्डो) चाहिएको थियो भन्ने यो कथानकले हरिप्रसादको अन्तश्चक्षु खुलाउने काम गर्‍यो। अनि शुरू भयो एउटा अभिनय जहाँ अर्थशास्त्रका प्राध्यापक छोरा विष्णुप्रसाद पाहोम पात्रकै छटपटाहट राखेर भुइँमा लड्छन्, अनि त्यही बान्कीमा बाबु हरिप्रसाद पेन्सिल–स्केच उतार्न थाल्छन्— रफ कागजमा। 

एउटै स्केच कोर्दै, मेट्दै गर्छन्। फेरि कोर्छन्, फेरि मेट्छन्। मान्छेको जीवनका अनन्त तिर्सना, मैँ लाऊँ मैँ खाऊँको छटपटी र कमिसन, भ्रष्टाचारदेखि भाग–भोगसम्मका अनेक दृष्टान्त आँखैमा आइरहँदा हरिप्रसादलाई त्यही ६ फिटको खाडल चित्रमा उतार्नै पनि निसास भइरहेको थियो। किनभने, एउटा मानिसलाई कति जमिन चाहिन्छ भन्ने यथार्थ रुसी किसान पाहोमको मात्रै कथा थिएन, यो त नेपालकै अधिकांश नेता–व्यापारी–उद्यमी र नेतागणका आसेपासेमाझ देखिएकै कुरा थियो।  

“कहिलेकाहीँ कुनै विषयले यसरी घोचिरहन्छ कि त्यसले न राम्ररी निदाउन दिन्छ, न ब्युँझेरै पनि आफू जागा रहेको भान दिलाउन सक्छ,” उमेरमा ८८ हिँड्दै गरेका कलाकार हरिप्रसाद शर्मा थोरै पृष्ठभूमि सुनाउन लालायित थिए, “मैँले १०० जति मात्रै चित्र बनाएको छु तर, लियो तोल्सतोयको कथामा आधारित यो चित्रले मलाई सधैँ झस्काइरहन्छ, जीवनको यथार्थ भुल्नै दिँदैन।”
⁎⁎
नेपालको इतिहासमा एक आँटिला, जब्बर र रसरङी शासक थिए—श्री ३ जंगबहादुर राणा। जीवित छँदै वा मरेपछि पनि उनका बारेमा जेजति कथा बनेका छन्, त्यो उदेकलाग्दो छ। त्यसमध्येको एउटा कथा हो— जंगबहादुर र लाउरा प्रेम। 

यो २०६५ सालतिरको घटना हो जुनबेला ‘हिमाल’ वा ‘नेपाल’ जस्ता खबरपत्रिका छापिने गर्थे, रङीन कलेवरमा। यिनै पत्रिकामध्ये कुनैको आवरण कुनोमा लाउरा बेलको सुन्दर हुटी तस्वीरसहित जंगबहादुरसँगको प्रेमकथा छापिएको थियो। चाबहिल, मैजुबहाल भित्रको घरमा बसेर बिहानी नित्य पाठपूजा सकेपछि हरिप्रसादको हातमा त्यो पत्रिका आइपरेको थियो। यसो हेर्दा निकै आकर्षक सात समुद्र पारकी युवती, त्यो पनि हाम्रा शासक जंगबहादुरसँगको पिरती–कथा ! हरिप्रसादले त्यो आवरण पेज सुटुक्क च्याते अनि, कोटको खल्तीमा हाले। त्यसपछि हरिभजन गाइरहे, सबै माहोल ठीकठाकै भएको भान दिलाउन।

पत्रिकाको गुदी सहीसलामत छ, तर आवरण छैन। कता गयो त? श्रीमती सुनिता अर्याल र बुबा हरिप्रसादलाई पनि सोधिहेरे छोराले— खोइ त आवरण पेज? अहँ भेटिएन। अचम्म, ति सुन्दरी लाउरा बेलको तस्वीर कुच्चिएको अवस्थामा पेजको डल्लो डस्टबिनमा पो भेटियो, भोलीपल्ट। अनि, छोरा विष्णुप्रसादले आग्रहको स्वरमा बाबु हरिप्रसादलाई भनिहाले, “बुबा, अब जंगबहादुर र लाउराको प्रेमबारे एउटा प्रेमिल चित्र बनाउनु है, निकै महत्त्वपूर्ण हुनेछ। म यसको इतिहास खोज्नेछु।”

शुरूमा बाबुले मान्दै मानेनन्। ‘भैगो, त्यो छाडा आइमाईका बारेमा के बनाउनु? त्यसले हाम्रो जंगेलाई फसाइछ क्यारे’ भन्दै तर्किरहे। तर, पछि कुरा मिल्यो बा–छोराको। अनि छोराले खोज्न थाले— जंगबहादुरको बेलायत यात्राबारेका सामग्री। कमल दीक्षित (जंगबहादुरको बेलाइत यात्रा)देखि जोन ह्वेप्टन (जंगबहादुर इन युरोप)सम्मका पुस्तक। 

इतिहासको खोजीमा पसेपछि थाहा भयो— सन् १८५० अगष्ट १७ तारिकको ‘ब्रिस्टल टाइम्स एन्ड मिरर’ पत्रिकाले समाचार छापेको रहेछ, सुन्दरी  लाउरा बेल लिएर जंगबहादुर नेपाल जाँदैछन् भनेर। बेलायत भ्रमणमा जंगबहादुर पुगेका बेला उनले २ लाख ५० हजार पाउन्ड रकम लाउरामाथि खर्चेका थिए भन्ने बदनामी–चर्चासमेत छाएको रहेछ।

“अब त्यस्ती सुन्दरीसँगको प्रेम प्रस्ताव अलिक कामुक मुद्रामा झल्किनैपर्‍यो। अनि मैले इरोटिक–मुड (भंगिमा), गार्डेन अफ इडेन र बेलायती सुन्दरीका ड्रेस, आभूषण पनि सर्च गर्दै बुबालाई अवगत गराएँ। हाम्रा जंगबहादुरको अनुहारका लागि भद्रकालीमा भएको उनैको शालिकको अनुहार पनि तस्वीर खिचेर ल्याएँ। अनि बुबाले केही दिन घोरिएर उतार्नुभयो— जंगबहादुर र लौराबेल!,” कलाकार बुबा हरिप्रसादको जीवनमा कथा, पटकथा र सोच भरिदिने छोरा विष्णुप्रसाद सुनाइरहेका थिए, “कला सिर्जना तयार भएपछि बेलायत भित्रका धेरै अन्तर्वस्तुमा जानकार डा.रमेश ढुंगेललाई यो कला देखाउने बिचार बनायौँ। अनि थाहा भयो, बेलायतमा युवतीहरूले र त्यसमा पनि अलिक सम्भ्रान्त (फरक) वर्गका केटीले जहिल्यै हातमा पन्जा लगाउने रहेछन्। अनि मात्रै, त्यसअघि बनाइएको नगरवधू लाउराको नांगो हातमा पन्जा लगाइयो, अनि उनको औँलाबाट हिराको औँठी पनि खोलियो।”

यसरी हरेक चित्रमा एउटा कथा र चित्रमाझैँ यथार्थवादी अन्तर्वस्तु खोजेर मात्रै कल्पना मिसाउने विशेषता हरिप्रसादसँग रहेछ। फेरि यो चित्रकारिता र यथार्थवादी शिल्पी खोज्ने कथामा पनि आफ्नै इतिहास छ। 

गजब त के भने लगनटोलमा जन्मे–हुर्केको एउटा ब्राम्हण ठिटोलाई चण्डी–पुराणको कथा–गाथाले कहिल्यै तान्न सकेको थिएन। बरु आफ्नो टोलमा दिनरात चलिरहने जात्रा–पर्वदेखि नङिनीसम्मका कथा वा लगनटोलको साँढे जुधाइदेखि मार्खजात्राको इतिहाससम्म रुचि राख्ने ती बालक थिए— हरिप्रसाद शर्मा पौडेल।

एकरितको जीवन थियो, चलेकै थियो। यो संसार भन्नु लगनकै कसाइ टोलदेखि इनाखा वारिपारि मात्रै थियो। घरमा आमाले बुन्ने चर्खा र कात्ने जनैडोराको बिक्रीबाट दुःखले चलिरहेको परिवारमा कहीकतै मनोरञ्जनको उपाय भनेको एउटै थियो— कल्याण पत्रिका। “हो, कृष्णलिलादेखि धार्मिक अनेक चित्र–चरित्र छापिएर आउने कल्याण पत्रिकाको प्रभावले धेरै काम गर्न सक्यो,” हरिप्रसाद भन्छन्, “म पनि कुनै दिन यस्तै चित्रकार बनौँला भन्ने धोको मनमा खिलसरी बसेकै थियो। त्यहीकारण मैँले सानैदेखि आफै टोलटोलमा घुम्दै नेवारी जात्रा, मठमन्दिर, रहनसहन आदिका पेन्सिल–स्केच उतार्न थालेको थिएँ।”

यो आजभन्दा ८० वर्षअघिको कुरा हो। 
⁎⁎
यसरी हरिप्रसादले रोजेको बाटो अलग थियो। टोलमा जता गए पनि कपी र पेन्सिल बोकेर हिँड्ने स्वभाव देखेरै हरिप्रसादलाई उनका बुबा विश्वनाथले लगनटोलकै कलाकार जीवरत्न शाक्यकहाँ कलाचित्र सिकाउन लगिदिएका रहेछन्, ११ वर्षको उमेरमा। सिकाइको शुरूआतमै उनै गुरु जीवरत्नले हरिलाई जुद्धकला पाठशालामा भर्ना गरिदिएका रहेछन्। त्यहाँ पढाउनेमा कालिदास श्रेष्ठ, जीवरत्न शाक्य, चन्द्रमान मास्के, केशव दवाडी, देवीबहादुर चित्रकार आदि जस्ता पारङत चित्रकर्मी थिए। त्यहाँ स्केच बनाउने, रङ भर्ने काममा उनले हात बढाए जहाँ पाँच वर्ष पढेपछि कलाकुशल सर्टिफिकेट पाएका थिए।

हरिप्रसाद १२ वर्षको नहुँदै उनका बाबुको निधन भएको थियो। त्यसकारण आमाले गरेको दुःखजिलो र भरथेग नै हरिको जीवनमा सम्पूर्ण थोक थियो। तर, उमेर र रहरको बाध्यतामाझ चेपिएपछिको कुरो अर्कै हुन्छ। सधैँ पेन्सिल र कागज बोकेर हिँड्दैमा जीवन धान्ने उपाय निस्कनेवाला थिएन। 

त्यही कठिनाइमाझ घरेलु तालिम केन्द्रमा अघिल्लो एक वर्ष ‘तालिमे’ बनेका थिए र, त्यसपछिको एक वर्षजति ज्यालादारी कामदार बनेका थिए। कलाकार अमर चित्रकार हाकिम रहेको केन्द्रमा हरिप्रसादले आर्ट–डिजाइनको काम गर्नुपर्थ्यो। २०१५ सालतिरको त्यो कामबाट उनले मासिक ७५ रुपैयाँ तलब पाउँथे।  

“घरेलुपछि मैँले २०१८ छाउनी म्युजियममा काम थालेँ, महिनाको ८० रुपैयाँ तनाखा थियो। मेरो काम भने सम्पदा सामग्रीबारेमा टिपोट लेख्ने, क्युरेटरसँग काम गर्ने आदि थियो,” उनले सुनाए, “त्यहाँ काम गरिरहेकै बेला तत्कालिन शाही नेपाल वायुसेवा (आरएनएसी)मा जागिर खुलेको थाहा भयो। त्यहाँ कलाकार चाहिएको सूचना गोरखापत्रमा पढेपछि मैँले त्यहाँ आवेदन दिएँ।”

त्योबेला आरएनएसीमा घोष, चटर्जी, बेनर्जी, गुप्ता आदि भारतीय नागरिक कर्मचारीको बोलवाला थियो। धेरैजसो हिन्दीमै बोलीचाली चल्थ्यो। एकदिन अन्तर्वार्तामा बोलाइएपछि मेहता थरका हाकिमले प्रश्न गरेका रहेछन्, ‘सबसे इम्पोर्टेन्ट रङ क्या है, कौन है?’ 

हरिले जवाफ फर्काएका रहेछन्—“रेड, येलो एन्ड ब्ल्यू। ये तीन मिल्नेसे बहुत(सभी) कलर आजाएगा...।” 

त्यसपछि आकाश भैरवको स्केच बनाउन अह्राइएको रहेछ। त्यो पनि तत्कालै पुरा भएपछि हरिप्रसादले नियुक्ति पाएका रहेछन्, मासिक १८० रुपैयाँ तनाखामा। त्यसपछिका २६ वर्ष ४ महिना उनी आरएनएसी कलाकार–कर्मचारी बने। ‘ओ शर्मा ये करो, वो करो’को दैनिकीमाझ हरिप्रसाद ०४८ कात्तिकसम्म वायुसेवा जागिरे बने। 

जागिरे दैनिकी र व्यस्तता छँदा त ठीकै थियो। त्यसपछि के गर्ने? आफ्नो रुचि र सौखको कलाकर्म पनि जागिरे जीवनमै टाक्सिएर सकिने हो कि भन्ने चिन्ता उनीभित्र लुकेकै थियो। तैपनि उनी काठमाडौँ उपत्यकाभित्रका नेवारी चाडबाड, पर्व र जात्राहरूमा भने सकेसम्म पुगिरहेकै हुन्थे। नेवारी परम्परा र इतिहासका किताब पढ्ने गरेका थिए। मठ–मन्दिर र सत्तलको बुढापाका गफगाफ बीचमा घुस्रिरहेकै हुन्थे। त्यो दैनिकीमाझ २०५२ सालमा हरिप्रसादले उनकी जीवनसंगिनी राधालाई गुमाएपछि भने उनी पुरै एकान्तिक बने, साधु–योगीझैँ चिन्तनशील पनि !

“त्यसपछि लु यसरी त भएन भनेर बुबालाई मैँले उहाँलाई कलाकर्ममै दत्तचित्त भएर लाग्न अनुनय गरेँ, घरकै माथिल्लो तलामा आमाको नाममा राधाकुटी चित्र आर्ट ग्यालरी खोल्ने काम भयो। अनि लेखक मदनमणि माडसापबाट त्यो ग्यालरी उद्घाटन गराएपछि बुबा दिनरात चित्रकलामै लाग्नुभयो,” छोरा विष्णुप्रसाद भन्छन्। अन्धकार कतिसम्म थियो भने सधैँ सामान्य कागजमा स्केच उतार्ने, रङ भर्ने हरिप्रसादका लागि ‘क्यानभास’को आजको स्वरूप पनि पत्तो थिएन। क्यानभासबारे बुझ्नका लागि कलाकार अमर चित्रकारकहाँ उनीहरू बाछोरा सँगै पुगेका थिए। कलासँग जोडिएका अरू कतिपय प्राविधिक कुरा पनि अनि मात्रै थाहा हुँदै गयो। यसरी हरिप्रसादले लगभग ६० वर्षको उमेरमा चित्रकलाको दुनियाँमा पुनर्जन्म लिएका थिए। 

“म वैदिक सनातन धर्मको अनुयायी हुँ। तर, नेवार परम्परा र संस्कृतिको फ्यान हुँ। म नेवारी बोल्छु, पढ्छु। तर, रक्सी भने एक थोपो मुखमा हालेको छैन,” आफ्नो मनमा उब्जिएको कुरा मनमिल्तीका बेला भनिहाल्ने स्वभावका हरिप्रसादले सुनाए, “खासमा जर्ज बनार्ड साको जीवनी पढेपछि र उनले २३ वर्षकै उमेरमा रक्सी/मासु छाडेर पाएको ऊर्जा सम्झिँदै मैले पनि यस्तो खानपिन नचाहेको हुँ।” उनलाई नेवार जातीको जत्तिको जीवन्त चाडबाड र जातीय एकता अरूमा शायदै नहोला भन्ने लागिरहन्छ। कतिसम्म भने बाबु हरिप्रसाद र छोरा विष्णुप्रसाद दुबैलाई नेवारी समाज भन्नासाथ एउटा ‘नोस्टाल्जिया’ हुने रहेछ, जिउँदोजाग्दो जीवन–जगत् जस्तै!
⁎⁎
कलाकार हरिप्रसाद आफ्नो कलाकर्मको शुरूआती दिनमा पानी रङमा रमाउने गर्थे। पछि भने उनले तैल रङ रुचाए। चित्रमा छाया (स्याडो) वा संयोजन (कम्बिनेसन) तय गर्नमा भने उनले थोरबहुत युरोपियन शैलीको सिको गरेका रहेछन्, अथवा एकप्रकारको प्रभाव देखिन्छ। इटालियन कलाकार माइकल एन्जेलोको कामको उनी प्रशंसा गरिरहन्छन्, प्रभावस्वरूप। उनलाई कुनै चित्रमा स्केच गर्न खासै समय लाग्दैन। बरु रङ भर्नमा उनी दिनरात लगाउँछन्। चित्रमा उनले गर्ने अनुहार र आकृतिको रौंचिरा गजबको देखिन्छ, उनको ‘ह्युमन–एनाटोमी’ र ‘पोस्चर’ गजबकै देखिन्छ। ‘क्राफ्ट’ कस्तो मिहिन देखिन्छ भने एउटा चित्रमा दर्जनौँ मानिसको चेहरा र शिल्पी पनि भिन्न–भिन्न तर स्पष्ट देखिन सक्छ। जस्तो— १५ सय बर्षअघिको कैलाशकुट दरबार जहाँ १० हजार मान्छे अटाउने कक्ष छ, हिरामोती जडित कलाकौशल, साततले दरबार आदि। पृथ्वीनारायण शाहका सहस्र भाइभारदारको चेहरा। कलाकार अरनिको ल्हासा जाँदै गर्दाको लावालस्कर। 

“मुख्य कुरा म इतिहास पढ्छु। अनि सत्यतथ्यमा आधारित मात्रै रेखांकन गर्छु, अरूभन्दा पनि यो यथार्थवादी चित्रमा ह्युमन–एनाटोमी मिल्नुपर्छ। यसका लागि निकै धैर्य चाहिन्छ,” उनी भन्छन्। हरिप्रसादका अनुसार, कुनै ऐतिहासिक सामग्री वा व्यक्ति–कृतिको चित्र कोर्नुपर्दा सबैभन्दा शुरूमा त्यसको इतिहास, भावभूमी र यथार्थ जोडिनैपर्छ। कल्पना मात्रैले यथार्थवादी रङ भर्न मुस्किल हुन्छ। जस्तो, कलाकार अरनिको माथि काम गर्नुपर्दा कस्तो शिल्पी उतार्ने? कुन रङ भर्ने? “अनि म लेखक सत्यमोहन जोशीकहाँ पुगेको थिए, अरनिको बारे बुझ्न,” हरिप्रसादले सम्झिए, “उहाँले लेखेको अरनिको किताबमा धेरै बयान छ भन्ने थाहा पाएपछि त्यो किताब किनेँ। त्यसले मलाई अरनिको उतार्न खुबै मद्दत गर्‍यो। यस्तै, उदयदेवकी छोरी भृकुटीको आकृति (एनाटोमी) उतार्न पूर्व राजदूत निरञ्जन भट्टराईले लेखेको पुस्तकको मद्दत लिएँ।”

आफूले गरेको कलाकर्म र आफ्नो साधनालाई ‘स्वान्त सुखाय’ भने पनि यसको मूल्य र महत्ताबारे हरिप्रसाद सचेत छन्, जानकार पनि। यी कलाकृति बेचेर पैसो कमाउँला, धनी बनौँला भन्ने सोचाइसमेत छैन उनीसँग। उनी झट्टै सम्झिहाल्छन् तोल्सतोय ! साँच्चै, मानिसलाई कति जमिन चाहिन्छ ? उनको बबरमहल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा कलाको मूल्य तोकिएको छैन, बरु लेखिएको छ—प्राइस अन रिक्वेस्ट !

यो भनेको कति हो ? यो अनुरोध सामान्यतया ५ लाख रुपैयाँबाट सुरु हुने रहेछ। “ती एकजना पप गायक छन् नि, उनले साढे ६ लाख रुपैयाँ तिरेर जयप्रकाश मल्लले पगरी साटेको ऐतिहासिक चित्र लगे। ती मनकारी गायक योगेश्वर अमात्य हुन् क्यार”,हरिप्रसाद सम्झिँदै थिए—“पशुपति शमशेर, पृथ्वीबहादुर पाण्डे आदिले पनि खरिद गरेका छन्।”
⁎⁎
हरिप्रसाद शर्माले इतिहास अध्येता बनेकै आधारमा, ऐतिहासिक परखमा ओझेलमा पारिएका बहादुर शाहदेखि भक्तपुरको स्थापनामा देवलदेवी रानी (१३८३ सम्वत)को योगदान सम्मलाई चित्रमा उतारेका छन्। सिद्धार्थले गृहत्याग गर्नुअघि यशोधरासँग बसेको र जयप्रकाश मल्लले पासा खेलेको चित्रमा जति ऐतिहासिकता छ, त्यति नै लगनटोलको साँढे जुधाइ वा नङिनी पेसा (नङ काट्ने कामको वृत्तान्त) सँग पनि आफ्नै इतिहास हुन्छ भन्ने मान्यतामा हरिप्रसाद अडिग छन्। 

कथा र इतिहास जोडिएका यी सबै चित्रमा अर्थशास्त्रका प्राध्यापक विष्णुप्रसाद शर्मा(छोरा)को ‘थिम’ लुकेको छ, कलाकार हरिप्रसाद शर्मा (बुबा)को कलाकौशल जोडिएको छ। यी दुर्लभ र नेपालको राष्ट्रिय संग्रहालयले संग्रहमा राख्नुपर्ने इतिहासको शृंखलामध्ये ८८ वटा छानिएका चित्र संग्रहको कफी टेबल बुक काठमाडौँ महानगरपालिकाले छापिदिएको छ, आकर्षक रूपमा। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा छापिएको यो कलाकृति पुस्तकमा नेपाली, अंग्रेजी र नेवारी टिपोट समेत राखिएको छ। अहिले मेयर बालेन शाहले महानगरमा आउने विशिष्ट विदेशी अतिथिलाई यही पुस्तक उपहारमा दिने गरेका छन्। 

हरिप्रसादका शुरूआती कामका २० वटा जति कलाको प्रदर्शनी २०३० सालमा ललितकला संस्थानमा आयोजना भएको थियो। तर, तिनमा कतिपय संस्थानमै छाडिए, अरू कति घरैबाट चोरिए। त्यसपछि ०५९ सालमा हिमाल एसोसिएसनको सहयोगमा अर्को प्रदर्शनी पनि भएको थियो। त्यसको पनि सम्पूर्ण अभिलेख राख्न सकिएको छैन।   

नेपाली समाजमा अरू पेसा, विधा र साधक हेरीकन चित्रकर्मी/कलाकारको उति मनितो नरहेको उनलाई भान परिरहन्छ। उनको सबैभन्दा चित्त दुखाइको विषय पनि यही हो। 

“म कलाकार चन्द्रमान मास्केलाई खुबै मान्छु। कम्प्युटर पढ्न विदेश गएका थिए, कला पढेर फर्किए। तर, चन्द्रमानजस्ता उस्तै चेतना र भाव बोकेर कलाकर्ममा लागेका कलाकार भने सधैँ ओझेलमा पर्ने गरेका छन्,” उनले मनको दुखेसो पनि सुनाए, “जस्तो, उही कालखण्डको उस्तै कर्ममा जुटेकामध्ये कवि चित्तधर हृदयको यहाँ सालिक बनेको छ तर, कलाकार चन्द्रमान मास्केको नाम त्यसै हराएर गएको छ। यो निकै दुःखलाग्दो छ। जबकि दुवैजना राजनीतिक कारणले इतिहासमा जेल परेका थिए।” 

यसरी यो उमेरमा पनि चित्र र कलाको दुन्दुभि लिएर ८८ बर्षे हरिप्रसाद शर्मा अझै केही गरौँ कि भनिरहेका छन्। उनले बनाउँदै गरेको वृद्ध दम्पतीको प्रेमिल तस्वीर आर्ट काउन्सिलको माथिल्लो कक्षमा राखिएको छ, कुची–रङको दोछायामा। 

आफ्नै स्वास्थ्यको दीर्घकालको समस्यामा पनि छन् कलाकार हरिप्रसाद। उनलाई १९ वर्षकै उमेरमा क्षयरोगले सताएको थियो। त्यो रोग जेनतेन निको त भयो, तर त्यसले बायाँ आँखामा पारेको असर निकै घातक बन्यो। २० बर्षे उमेरपछि उनी एउटा आँखा देख्न नसक्ने भए। यो बायाँ आँखा अहिले कृत्रिम रूपमा हालिएको छ। 

जीवनमा कुनै पछुतो नराख्ने र कुनै प्रकारको मान–खातिरदारीको पर्खाइमा नबस्ने स्वभाव छ हरिप्रसादसँग। उनका लागि छोरो विष्णुप्रसाद शर्मा सम्पूर्ण कला र सिर्जनाको अन्तिम परिस्कारक हो, उनका लागि उनैको छोरो एउटा कथावाचक समेत हो। “मेरो छोरो भन्छ मैँले तपाईंको ८४ गरेको हुँ बुबा, म ८४ भनेर कुनै पाठपूजा गर्दिन। यो चित्रकला त भएभरका पारखी र सबै इच्छुकजनले हेर्ने चिज हो। मेरा लागि यही नै तपाईंका निम्ति गरिएको पूजा–प्रार्थना हो भन्छ। त्यसकारण मेरो कलाकर्मको अन्तिम सदर वा बदर गर्ने भनेको मेरो छोरो नै हो। अहँ, अरू कोही छैन।”