सीटीईभीटीमा अनुत्तीर्णलाई उत्तीर्णको प्रमाणपत्र बनाइदिने धन्दा

परीक्षामा पटकपटक असफल भएका विद्यार्थीलाई सीटीईभीटीका उच्च तहका कर्मचारीकै मिलेमतोमा उत्तीर्णको प्रमाणपत्र बनाइए पनि कसैलाई कारबाही गरिएको छैन। कसरी बनाइयो प्रमाणपत्र?

काठमाडौँ– तनहुँकी मञ्जु क्षेत्रीले कञ्चनपुरस्थित ‘फार वेस्ट स्कुल अफ मेडिसिन’बाट सन् २०१२ मा ‘डिप्लोमा इन फार्मेसी’ अध्ययन शुरू गरिन्। तीन वर्षे यो कार्यक्रममा पहिलो वर्ष उनले नौ विषय अध्ययन गर्नुपर्ने थियो।

नेपाली, अंग्रेजी र सामाजिक अध्ययनबाहेकका विषयहरूमा सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षा हुन्थ्यो। पहिलो वर्ष उनले जियोलोजी, फिजिक्स र म्याथ स्टाटिस्टिक्स एन्ड कम्प्युटर स्किल्स विषय उत्तीर्ण गर्न सकिनन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को परीक्षा शाखाको अभिलेखअनुसार मञ्जुले जियोलोजीमा २२ अंक मात्र ल्याएकी छन्। त्यस्तै, फिजिक्समा १३ र म्याथ, स्टाटिस्टिक्स एन्ड कम्प्युटर स्किल्समा ११ अंक मात्र ल्याएकी छन्। यी विषयमा उत्तीर्ण हुन ३२ अंक ल्याउनुपर्छ।

दोस्रो वर्ष मञ्जुले सात वटा विषय अध्ययन गर्नुपर्ने थियो। फार्मेसिटेक्स, फार्माकोलोजी एन्ड थेरापिटेक्स, फार्मासिटिकल केमिस्ट्री, फार्माकोग्नोसी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी एन्ड पाथोलोजी, फार्मास्युटिकल म्यानेजमेन्टका सैद्धान्तिक र प्रयोगात्मक दुवै परिक्षा हुन्थे।

यीसँगै स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा प्रणाली (हेल्थ केयर सिस्टम) र प्राथमिक उपचार (फस्र्ट एड) सम्बन्धी विषयसमेत थिए। यो वर्ष मञ्जु दुई विषय फार्मासिटिकल केमिस्ट्री र  फार्माकोग्नोजीमा फेल भइन्।

फार्मासिटिकल केमिस्ट्रीमा २९ र फार्माकोग्नोजीमा १८ अंक ल्याइन्। दुवै विषयमा उत्तीर्ण हुन ४० अंक ल्याउनुपर्छ। कलेजले लिने आन्तरिक परीक्षामा पनि उनी सहभागी छैनन्।

तेस्रो वर्ष पनि मञ्जु सातमध्ये दुई विषयमा फेल भइन्। आन्तरिकतर्फको परीक्षामा सात विषयमा नै ‘योग्य’ भइनन्। उनले उत्तीर्ण गर्न धेरैपटक कोशिश गरेको सीटीईभीटीको अभिलेखले देखाउँछ।

सीटीईभीटीमा भएको मञ्जु क्षेत्रीको लब्धांक अभिलेख।

पहिलो वर्ष उत्तीर्ण गर्न नसकेका विषयहरूको परीक्षा उनले पाँच पटकसम्म दिएकी छन्। दोस्रो वर्षका विषय उत्तीर्ण गर्न चार पटक र तेस्रो वर्षका विषय उत्तीर्ण गर्न तीनपटक प्रयास गरेकी छन्। सीटीईभीटीको पेन्डिङ शाखाको अभिलेखअनुसार सन् २०१३ देखि २०१६ सम्म उनले पटकपटक मौका परीक्षा दिएकी छन्।

मञ्जु अहिलेसम्म उत्तीर्ण भएकी छैनन्। तर उनले ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण भएको प्रमाणपत्र पाइसकेकी छन्। सीटीईभीटीले २०७५ वैशाख २६ गते उनलाई प्रमाणपत्र जारी गरिदियो।

कसरी दिइयो प्रमाणपत्र?
मञ्जुको प्रमाणपत्र सीटीईभीटीबाट उनी आफैले बुझेकी छैनन्। उनको प्रमाणपत्र गोविन्द पौडेलले बुझेका छन्। पौडेल सीटीईभीटीका उच्च तहका कर्मचारी हुन्।

पौडेल २०७५ सालमा सीटीईभीटीको परीक्षा शाखा प्रमुख थिए। मञ्जुको ट्रान्स्क्रिप्ट, माइग्रेसनलगायत प्रमाणपत्रमा तीन जनाको हस्ताक्षर छ। ती तीन जना प्रमाणपत्र तयार गर्ने, रुजु गर्ने र प्रमाणित गर्ने हुन्।

प्रमाणपत्र सीटीईभीटीका परीक्षा शाखाका प्रशासकीय अधिकृत हरिनारायण श्रेष्ठले तयार गरेका थिए। त्यसको रुजु परीक्षा शाखाका तत्कालीन प्रमुख पौडेलले गरेका थिए र प्रमाणपत्रमा उनको पनि हस्ताक्षर छ। प्रमाणपत्र प्रमाणितका लागि तत्कालीन परीक्षा नियन्त्रक मणि भट्टले हस्ताक्षर गरेका छन्।

गोविन्द पौडेल (बायाँ) र हरिनारायण श्रेष्ठ।

मञ्जुलाई उत्तीर्ण भएको प्रमाणपत्र दिलाउन पौडेलको भूमिका बढी देखिन्छ। प्रमाणपत्रमा हस्ताक्षर गर्ने प्रशासकीय अधिकृत हरिनारायण श्रेष्ठ अहिले सीटीईभीटीको राष्ट्रिय सीप परीक्षण समितिमा छन्। नक्कली प्रमाणपत्र बनाउन संलग्न भएको देखिएपछि सीटीईभीटीले गत वैशाख ११ गते उनीसँग स्पष्टीकरण सोधेको थियो।

श्रेष्ठले दुई दिनपछि स्पष्टीकरण बुझाएका थिए। सीटीईभीटी स्रोतबाट प्राप्त पत्रमा उनले नक्कली प्रमाणपत्र बनाउन आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। मञ्जुलाई पेन्डिङ रेकर्ड शाखा प्रमुख पौडेलले नै उत्तीर्ण भएको प्रमाणपत्र बनाइदिएको उनले उल्लेख गरेका छन्।

रेकर्ड शाखा प्रमुख पौडेलले नै आफ्नो कम्प्युटरबाट प्रमाणपत्रको रेकर्ड लिएर मञ्जुको ट्रान्स्क्रिप्ट र माइग्रेसन प्रमाणपत्र तयार गरेको श्रेष्ठले उकालोसँग बताए। “मेरो रिटायर्ड हुन तीन वर्ष जति मात्र बाँकी छ। मैले यस्तो अवैध काम गर्दिनँ। हाकिम साब (गोविन्द पौडेल)ले विद्यार्थीलाई जुनजुन विषय लागेका थिए, त्यसमा पास गराएर कागजातहरू बनाउनुभयो,” श्रेष्ठ भन्छन्, “मैले थाहा नपाउने गरेर सर्टिफिकेटहरूको च्याङमा राखिदिएपछि मेरो दस्तखत भएको हो।”

प्रमाणपत्र बनाइएको विद्यार्थीसँग आफ्नो व्यक्तिगत सम्बन्ध नभएको पनि उनले बताए। “सबै कुरा हाकिमसाबको निर्देशनमा भएको हो,” उनी भन्छन्, “मैले उहाँको निर्देशन अस्वीकार गर्ने कुरा हुँदैन। उहाँले मेरो कम्प्युटरबाट प्रमाणपत्रको ढाँचा लिएर फेल भएका विद्यार्थीलाई नम्बर दिएर पास गराउनुभयो।”

कर्मचारीको मिलेमतोमा तयार गरिएको माइग्रेसन र ट्रान्स्क्रिप्टको प्रमाणपत्र।

यसअघि पनि ४० जनाभन्दा बढीको नक्कली प्रमाणपत्र यसरी नै बनेको श्रेष्ठको दाबी छ। “गोविन्द सरभन्दा पहिलाका हाकिम हुँदा जाँचका क्रममा विद्यार्थीको फेलपासमा यस्ता डकुमेन्ट भेटाएपछि कारबाहीका लागि फार्मेसी काउन्सिलमा सिफारिस गरेको छु,” श्रेष्ठ भन्छन्।

अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गराएपछि सीटीईभीटीमा उजुरीसमेत परेको थियो। सीटीईभीटीका एक कर्मचारीका अनुसार अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण बनाउन पैसा लिइन्छ। नाम खुलाउन नचाहने उनी सीटीईभीटीका उच्च तहका कर्मचारीहरूकै मिलेमतोमा पैसा खाएर यस्तो काम हुने बताउँछन्।

“डिप्लोमा इन फार्मेसी भनेको औषधि वितरण, सल्लाह र स्टक व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारी हो। फेल विद्यार्थीलाई पास गराउनु कतिसम्मको अपराध हो?” उनी भन्छन्।

सेटिङमा बन्छ प्रमाणपत्र
अनुत्तीर्ण विद्यार्थीलाई नक्कली प्रमाणपत्र बनाइदिएको भनिएका पौडेल अहिले बीपी कोइराला प्राविधिक शिक्षालय धनुषाका प्रमुख छन्। पौडेलसँग सम्पर्क गर्न खोज्दा तीन महिनादेखि सम्पर्क हुन सकेको थिएन।

उनी जेठ १२ गते उकालोको सम्पर्कमा आए। शुरूमै उनले जेठ ११ गते आफ्नो सरूवा भएको र तनावमा रहेको बताए। उनले मञ्जुको प्रमाणपत्र बनाएको, तर आफूले पैसाको लेनदेन नगरेको बताए।

“विद्यार्थीले हराएको छ भनेपछि सर्टिफिकेट दिएको हो। मैले सर्टिफिकेट बुझेको हुँ, एक पैसा खाएको छैन,” पौडेलले भने।

मञ्जुको प्रमाणपत्रमा आफ्नो मात्र संलग्नता नभएको उनले बताए। आफूले रूजु गरेको, तयार अरू कसैले गरेको उनको भनाइ छ। “अरू सरहरूले तयार पार्नुभएको हो, मैले त रूजु गर्ने मात्रै हो,” उनले भने।

तर उनले रुजु मात्र गरेको नभई बनाउन भूमिका खेल्ने, रुजुमा हस्ताक्षर गर्ने र आफैले बुझ्नेसम्म गरेका छन्। सीटीईभीटीका अर्का कर्मचारी भन्छन्, “सर्टिफिकेट बनाउने कुरा तल्लो तहबाट मात्र सम्भव हुँदैन। माथिल्लो तहबाट हुने गर्छ।”

पौडेलले उकालोसँगको कुराकानीमा प्रमाणपत्र बनाउन मधुसूदन लोहनीले पैसा खाएको बताए। तर लोहनी को हुन् भनेर बताउन चाहेनन्। लोहनीबारे सोध्दा फोन काटेर मोबाइल स्वीच अफ गरे। सीटीईभीटीका सदस्यसचिव महेश भट्टराईले लोहनी त्यहाँको कर्मचारी नभएको र उनीबारे पत्ता लगाउने प्रयास भइरहेको बताए।

सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्र मञ्जुको प्रमाणपत्र नक्कली भएको जानकारी सीटीईभीटीमा पठाइसकेको बताउँछन्। उनी भन्छन्, “जो विद्यार्थी हुनुहुन्छ, फेक तरिकाले जारी भएको भनेर परिषद् पठाइसकेका छौँ। हामीले केही गर्न सक्दैनौँ, जे गर्छ परिषद्ले गर्छ।”

कर्मचारीहरूको मिलेमतोमा नक्कली प्रमाणपत्र बनेको सम्बन्धमा आन्तरिक रूपमा छानबिन गरिरहेको सीटीईभीटीका सदस्यसचिव भट्टराई बताउँछन्। उनी भन्छन्, “सबै कुरा मलाई थाहा हुँदैन, हामी छानबिन प्रक्रियामा छौँ। कानूनले जे भन्छ त्यसमा अगाडि बढ्छौँ।”

तर उनी उच्च तहका कर्मचारीहरूको मिलेमतोबारे बोल्न चाहेनन्। नक्कली प्रमाणपत्रमा संलग्न देखिएका कर्मचारीविरुद्ध कारबाही पनि गरिएको छैन। सीभीईभीटीभित्र कारबाहीको विषय उठेको लामो समय बितिसक्दा पनि छानबिनको निष्कर्ष सार्वजनिक नगरिएको र कसैलाई कारबाही पनि नभएको एक कर्मचारी बताउँछन्।