संघर्ष मैदानका दुइटा किस्सा: एम्बुस र घुसपैठ

युट्युबरले अचानक ‘ज्ञान परीक्षण’ गर्ने प्रवृत्तिले शिक्षण पेसाको गरिमा र प्रभावलाई कमजोर बनाउँछ। ‘भाइरल’ कार्यका लागि छनोट गरिएका अज्ञानताका ‘क्लिप्स’ले छेडछाड गरिएका अवास्तविक कथा सिर्जना गर्छन्।

काठमाडौँका सडकमा हजारौँ शिक्षक एक महिना लामो आन्दोलनमा उत्रिँदै गर्दा नेपालको शिक्षा प्रणाली एक महत्त्वपूर्ण चौबाटोमा उभिएको प्रतीत हुन्छ। युवा हुन् वा प्रौढ, शहरबाट आएका हुन् वा दुर्गम गाउँबाट झरेका– सबै शिक्षक एकठाउँ उभिएर शैक्षिक सुधारका लागि आवाज उठाउन एकजुट दृश्यले राष्ट्रिय ध्यान खिचेको छ। तथापि, व्यावसायिक एकता र अर्थपूर्ण सार्वजनिक बहसका निम्ति प्रेरक हुनुपर्ने यो क्षण सार्वजनिक अपमानको कष्टकर दृश्यमा परिणत भएको छ। 

विरोधका स्वरहरूले गुञ्जायमान काठमाडौँका सडकमा, सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’ र युट्युबर माइक्रोफोन र क्यामेरा तेर्स्याउँदै शिक्षकका भीडमा घुस्छन्। तिनीहरू मनखुसी हिसाबले शिक्षकको विषय ज्ञानबारे परीक्षा लिन थाल्छन्। शिक्षकलाई चुनौती दिन्छन्– ‘उच्चारण गर्नुस्, हिज्जे मिलाउनुस्’ वा ‘यो गणितीय समीकरण हल गर्नुहोस्…’। शिक्षकलाई क्यामेरा अगाडि उभ्याएर ढिपी गर्छन्। अर्थपूर्ण विरोधको वातावरणको बीचमा थापिएका यसप्रकारका ‘एम्बुस’ले गम्भीर शैक्षिक चिन्ताहरूलाई भाइरल मनोरञ्जनमा परिणत गरिदिन्छन्। प्रणालीगत सुधारको बारेमा राष्ट्रिय छलफल के हुनुपर्छ भन्ने चासोलाई सतही हुइयाँले विस्थापित गरिदिन्छ। शिक्षकहरूको व्यावसायिक पहिचानलाई लज्जित पारिन्छ।

यसैबीच, राजधानीका सडकभन्दा टाढा, मिडिया घुसपैठको अर्को रूप देखा पर्छ। क्यामेरा टोली र शिक्षाका स्वघोषित रक्षकहरू बिना सूचना गाउँका स्कुलमा घुस्छन्। तिनले कक्षामा वाधा गर्छन्, शिक्षकलाई कक्षाकोठामै घेर्छन् र आकस्मिक परीक्षाका लागि तयार हुन आदेश दिन्छन्। यस्ता घुसपैठ रोक्ने कानूनी बाटो मिचेर, यी डिजिटल शिकारी आफ्नो अर्को भाइरल शिकार खोज्दै स्कुल कोरिडोरमा स्वतन्त्र रूपमा घुम्छन्। गल्तीलाई ‘हाइलाइट’ गर्न सावधानीपूर्वक काँटछाँट गरिएका भिडियो क्लिप्स सामाजिक सञ्जालमा छरपस्ट भए। यस्तो कार्यले नेपालको सिंगो शिक्षक समूहको बदनाम हुनेगरी चित्रण भएको छ। 

** 

मिडिया व्यक्तित्व र युट्युबरले अचानक ‘ज्ञान परीक्षण’ गर्ने प्रवृत्तिले शिक्षण पेसाको गरिमा र प्रभावलाई कमजोर बनाउँछ। ‘भाइरल’ कार्यका लागि छनोट गरिएका अज्ञानताका क्लिप्सले छेडछाड गरिएका अवास्तविक कथा सिर्जना गर्छन्। जबकि, सडक आन्दोलन जस्तो प्रतिकूल परिस्थितबीच छायांकन गरिएका दृश्यले प्रायः वास्तविक योग्यता प्रतिबिम्बित गर्दैनन्। विद्यालयमा अनधिकृत प्रवेशले सिकाइ वातावरणमा बाधा पुर्‍याउने मात्र होइन, विद्यार्थीको सुरक्षा र गोपनीयताको बारेमा गम्भीर चिन्ता पनि खडा गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, सार्वजनिक अपमानले न त शिक्षण गुणस्तर सुधार हुन्छ, न हाम्रा विद्यार्थीको सर्वोत्तम हितमा काम गर्छ।

प्रभावकारी शिक्षणको आधार भनेकै विषयवस्तुको गहिरो ज्ञान हो भन्ने कुरालाई अस्वीकार गर्न सकिँदैन। विषयवस्तुलाई गहिरो रूपमा बुझेका शिक्षकले केवल सूचना दिने काम मात्र गर्दैनन्, उनी सिकाइका शिल्पकार बन्छन्।  विषयवस्तुको व्यापक ज्ञान भएको शिक्षकले जटिल अवधारणालाई पनि विविध दृष्टिकोणबाट व्याख्या गर्न सक्छ, विद्यार्थीमा रहेको गलत अवधारणालाई बुझेर त्यसको सही सम्बोधन गर्न सक्छ, जिज्ञासु बन्न प्रेरित गर्छ, र आफ्नो शिक्षण रणनीतिलाई विद्यार्थी अनुकूल गर्न सक्छ। विषयवस्तुको गहिरो बुझाइले उनीहरूलाई गतिशील सिकाइ वातावरण सिर्जना गर्न सक्षम बनाउँछ। यसबाट विद्यार्थीहरूले अवधारणा त बुझ्छन् नै, यसका अतिरिक्त उनीहरूमा आलोचनात्मक चेतनाको समेत विकास हुन्छ। 

सडक आन्दोलन र ग्रामीण विद्यालयमा भएका घुसपैठका भाइरल भिडियो नैतिक रूपमा अमान्य छन्। तथापि, ती भाइरल भिडियोले नेपालका केही शिक्षकको दक्षताको वास्तविक स्तर उजागर भएको छ। यो चिन्ताजनक विषय हो। जब कुनै शिक्षक आफ्नो विषयसँग सम्बन्धित आधारभूत प्रश्नमा अलमलिन्छ, यसले हाम्रो शिक्षा प्रणालीमा विषय विशेषज्ञतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई संकेत गर्दछ। यी डिजिटल एपिसोडका सनसनीपूर्ण प्रकृतिको बाबजुद, अन्जानमै भए पनि हाम्रो शिक्षण शक्तिमा सुधार गर्नुपर्ने पक्ष स्पष्ट भएको छ। यद्यपि, यो चुनौतीलाई सम्बोधन गर्न व्यवस्थित सुधार आवश्यक छ, सार्वजनिक अपमान होइन।

** 

उत्कृष्ट शिक्षणको शुरूआत शिक्षक कक्षाकोठामा प्रवेश गर्नुभन्दा धेरै अघिदेखि नै हुन्छ। शिक्षक छनोट निकायले विषयवस्तुमा आधारित छनौट परीक्षण लागू गर्नुपर्छ र आधुनिक शिक्षाको जटिलतालाई सम्बोधन गर्नसक्ने न्यूनतम मापदण्डको निर्माण गर्नुपर्छ। अध्यापन अनुमतिपत्र प्रदान गर्नका लागि विषयवस्तुको विशिष्ट मूल्यांकन समावेश गर्नुपर्छ। यसले गर्दा अध्यापन अनुमतिप्राप्त प्रत्येक शिक्षकसँग आवश्यक विषय विशेषज्ञता छ भनी सुनिश्चित गर्न सकिन्छ।

शिक्षण तालिम प्रदायक निकायले प्रशिक्षण कार्यक्रमको स्तर बढाउनुपर्छ। त्यस्ता कार्यक्रममा शिक्षण सिकाइ सँगसँगै विषयसम्बद्ध पाठ्यक्रमलाई समावेश गर्नुपर्छ र कार्यक्रमभरि नियमित रूपमा प्रशिक्षार्थीको सिकाइको मूल्यांकन गरिरहनुपर्छ। विषयवस्तुका विशेषज्ञ र शैक्षिक संस्थासँगको साझेदारीले तालिमको गुणस्तर बढाउन सकिन्छ। त्यसैगरि, प्रशिक्षार्थीलाई के कस्तो थप सुदृढीकरण आवश्यक छ भन्ने पहिचान गर्न र सम्बोधन गर्ने प्रणाली निर्माण गर्नुपर्छ।

व्यावसायिकताको व्यवस्थित विकास र सबल गुणस्तर नियन्त्रणबाट मात्र सुधार सम्भव छ। तालिम कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्छ र यस कार्यका लागि निरन्तर सिकाइलाई प्रोत्साहन गर्ने वातावरण हुनुपर्छ। विषय ज्ञानमा अब्बल भएको देखिएमा मात्र शिक्षण अनुमतिपत्र प्रदान गर्नुपर्छ। र, शिक्षण अनुमतिपत्रलाई निश्चित अवधिमा नवीकरण गर्नुपर्ने र विशेषज्ञताको आवश्यक विकास भएको सुनिश्चित भएपछि मात्र अनुमतिपत्र नवीकरण हुने व्यवस्था मिलाउनुपर्छ।

शिक्षा सुधारमा मिडियाको महत्त्वपूर्ण भूमिका छ, तर मिडियाले यो सनसनीबाट बाहिर निस्केर अर्थपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। ‘एम्बुस’ पत्रकारिता त्यागेर प्रणालीगत मुद्दाहरूको अनुसन्धान गर्नुपर्छ। सफलताका कथाहरू हाइलाइट गर्नुपर्छ, नीति कार्यान्वयनको जाँच गर्नुपर्छ र शिक्षाको गुणस्तरको बारेमा अर्थपूर्ण छलफललाई सहजीकरण गर्नुपर्छ। यो रचनात्मक दृष्टिकोणले व्यावसायिक सम्मान कायम राख्दै सकारात्मक परिवर्तन ल्याउन सक्छ।

अबको बाटो
उचित संस्थागत माध्यमबाट काम गर्ने, शिक्षकलाई ज्ञान वृद्धिमा सहयोग गर्ने र निरन्तर सिकाइको लागि अनुकूल वातावरण सिर्जना गर्ने कार्यबाट शिक्षा प्रणालीको रूपान्तरण गर्न सकिन्छ। तालिम प्रदायक, अनुमतिपत्र प्रदायक र शिक्षा अधिकारीबीचको सहकार्यले सुधार सम्भव छ।

यो वर्तमान संकटलाई दक्षता विकास र व्यावसायिक आत्मसम्मान सुधार गर्ने अवसरका रूपमा हेर्नुपर्छ। यस क्षणलाई शैक्षिक विकास र व्यावसायिक मर्यादा निर्माणको अवसरमा रूपान्तरण गरौँ। हाम्रो शिक्षाको भविष्य भाइरल भिडियोमा निर्भर गर्दैन। यसको भविष्य त शिक्षण गुणस्तर र व्यावसायिक हैसियतको एकसाथ उत्थानमा निर्भर गर्छ। शैक्षिक सीपलाई निरन्तर परिष्कृत गरेर, विषयगत विशेषज्ञतालाई गहिरो बनाएर र बलियो नैतिक चरित्र प्रस्तुत गरेर मात्र शिक्षक समुदायले व्यावसायिक र सामाजिक सम्मान दुवै कमाउन सक्छ। शिक्षक संघहरूले निरन्तर समर्थन गर्नुपर्ने अजेन्डा पनि यही नै हुनपर्छ।

(शिक्षाविद् विष्टको शैक्षिक पाठ्यक्रम र सिकाइसम्बन्धी अंग्रेजी तथा नेपालीमा प्रकाशित कृतिहरूबाहेक ‘साला पहाडमें क्या है’ कविता संग्रहसमेत चर्चामा छ।)