प्रिसा मृत्यु प्रकरण: कक्षामा साथीलाई ‘भाइभा जानु छ’ भनेकी थिइन्

दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रिसाको शव अहिले एमएस अस्पतालमा राखिएको र परिवारका सदस्य पुगेपछि मात्रै पोस्टमार्टम गरिने ओडिशा प्रहरीले जानकारी गराएको छ।

काठमाडौँ– भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा बिहीबार मृत फेला परेकी नेपाली छात्रा प्रिसा साहलाई बिहान क्लास लिँदासम्म तनावमा नदेखेको उनीनिकट विद्यार्थीले बताएका छन्।

साथीहरूसँग कमै घुलमिल हुने स्वभावकी प्रिसाले बिहानको क्लासमा ‘भाइभा’का लागि राम्रो तयारी गरेको आफूनिकट साथीलाई सुनाएकी थिइन्। तर दिउँसो २ बजे भएको भाइभामा उनी उपस्थित भइनन्।

बेलुकी ७ बजेतिर हाजिर गर्ने समयमा मात्रै प्रिसा अनुपस्थित रहेको थाहा भएपछि उनको खोजी शुरू भएको थियो। खोज्दै जाँदा उनी आफ्नो कोठामा मृत भेटिइएकी थिइन्।

बीटेक पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीका अनुसार २ बजे उनलाई साथीले बोलाउन जाँदासमेत उनको ढोका खुलेको थिएन। उनका साथीले पछि आउँदै गर्छिन् भनेर त्यहाँबाट गएको ती विद्यार्थीको भनाइ छ।

“उसको ईडी विषयको भाइभा थियो। उसले ईडीका सबै फाइल पनि मिलाएर राखेको थियो,” ती विद्यार्थी भन्छिन्, “पहिलादेखि नै उसको सुसाइड गर्छु भन्ने योजना भएको भए ऊ त्यसरी भाइभाका लागि जानु छ किन भन्थ्यो?”

प्रिसा केआईआईटी विश्वविद्यालयको ‘क्वी सी ४’ होस्टेलमा बस्थिन्। उनी बस्ने कोठामा उनीभन्दा सिनियर दुई विद्यार्थी बस्दै आएकी थिइन्। ती दुवै भारतीय नै थिए। तर अहिले ती दुवै होस्टेलमा छैनन्। उनीहरूको छुट्टी भएका कारण घर गएका छन्।

दुई दिन पहिला प्रिसा मेसमा खाना खाइरहेको बेला आफ्नी अर्की साथीलाई भने आफूलाई ‘चिकेन पक्स’ भएको बताएकी थिइन्। “हेर हातभरी चिकेन पक्स भएको छ। अहिले त क्लास पनि जान सकेको छैन। तर अब भोलिदेखि जान्छु भनेको थियो,” प्रिसाकी साथी भन्छिन्।

दोस्रो र तेस्रो वर्षको वार्षिक परीक्षा सकेका कारण अहिले केआईआईटीको होस्टेलमा नेपाली विद्यार्थी कमै संख्यामा छन्।

परिवार पुगेपछि मात्रै पोस्टमार्टम
दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दासका अनुसार प्रिसाको शव अहिले एमएस अस्पतालमा राखिएको छ। परिवारका सदस्य पुगेपछि मात्र पोस्टमार्टम गर्ने गरी ओडिशा प्रहरीले जानकारी गराएको शर्मा बताउँछन्।

“साँझसम्म केही न केही जानकारी आउला। परिवारका सदस्य आएपछि मात्रै पोस्टमार्टम गर्ने र मोबाइलको लक खोल्ने स्थानीय प्रहरीले बताइरहेको छ,” शर्मा भन्छन्, “तर हामीसँगै कुरा भएको छैन। बिहान पर्साको एसपी साहबलाई पनि फोन गरेको थिएँ। खै के गर्नुभयो उहाँले। कोही हिँडिसक्यो भन्छ, कोही छैन भन्छ।”

शर्माका अनुसार ओडिशा प्रहरीले प्रिसाको कोठाबाट मोबाइल, ल्यापटप र डायरी लगायतका सामग्री बरामद गरेको छ।

ओडिशा प्रहरी कमिसनर एस देव दत्त सिंह पनि अनुसन्धान शुरू भए पनि परिवार नआएसम्म पोस्टमार्टम नहुने बताउँछन्। उनका अनुसार परिवारले आफैले एकपटक प्रिसालाई हेरेपछि मात्रै थप अनुसन्धान अघि बढ्छ।

“हामीलाई हिजै प्रिसाको परिवार बिहानै आउने जानकारी गराइएको थियो। तर मौसमले हो कि अरू कुनै कारणले हो थाहा भएन, अहिले फेरि साँझसम्म आउने जानकारी आएको छ,” सिंहले उकालोसँग भने, “परिवार आएपछि उनीहरूको के बयान आउँछ, उहाँहरूको सम्पर्कमा थियो कि थिएन। र, पञ्चनामा पनि उहाँहरूकै अगाडि गरेर थप अनुसन्धान अगाडी बढाउँछौँ।”

बीटेक तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीका अनुसार केआईआईटी विश्वविद्यालय प्रशासनले अहिले सबै होस्टेलको वाई फाई बन्द गरेको छ। यस्तो घटना हुँदा प्रायः प्रशासनले वाई फाई बन्द गरिदिने र होस्टेलबाहिर जान नदिने गरेको उनी बताउँछन्।

प्रिसा यसअघि केआईआईटीमै मृत भेटिएकी प्रकृति लम्साल र सिरहाको सामूहिक बलात्कारपछि मृत भेटिएकी रिंकु सदाको न्यायका लागि वीरगन्जमा भएको प्रदर्शनमा समेत सहभागी भएकी थिइन्।