प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर कार्यालय फर्किएपछि कर्मचारीसँग बालेनको व्यवहार फेरिएको छ, सामाजिक सञ्जालमा पनि कमै सक्रिय छन्। उनले एक्लो महसुस गरिरहेको कर्मचारीहरू बताउँछन्।
काठमाडौँ– काठमाडौँ महानगरमा चैत २१ गते कर्मचारी र महानगर प्रहरीबीच ठेलमठेल र धक्कामुक्का हुँदै थियो। महानगर प्रमुख बालेन शाहले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जसरी पनि कार्यालय प्रवेश गराउन उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू र कर्मचारी लागिपरेका थिए। यता महानगर प्रहरी भने गुरागाईंलाई रोक्ने कसरतमा थियो।
अन्ततः गुरागाईं आफ्नो कार्यकक्षमा पुगेर हाजिर गर्न सफल भए। तर त्यो दिन गुरागाईंलाई रोक्न महानगर प्रहरीलाई आदेश दिने शाह भने कार्यालयमा उपस्थित थिएनन्। त्यसपछि उनी नौ दिनसम्म कार्यालय गएनन्।
महानगर कार्यालय जान थालेपछि पनि प्रमुख शाह वडाध्यक्ष र अन्य कर्मचारीसँग नरम रूपमा प्रस्तुत भइरहेको कर्मचारीहरूको भनाइ छ। सामाजिक सञ्जालमा पनि पहिलाजस्तो ‘आक्रामक’ देखिइएका छैनन्।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आफूलाई महानगर प्रमुखसहित कसैबाट पनि समस्या नभएको बताउँछन्। आफू काममा फर्किएपछि कर्मचारीको मनोबल पनि बढेको उनको भनाइ छ। “म आएयता कर्मचारी साथीहरूमा भय हटेको देखिन्छ। उहाँहरू सबै खुलेर काम गरिरहनुभएको छ,” उनी भन्छन्, “पहिलाजस्तो वातावरण छैन, सबैले स्वतन्त्रपूर्वक नियमसंगत काम गरिरहेका छन्।”
महानगर उपप्रमुख, अन्य जनप्रतिनिधि र कर्मचारी एकातिर र महानगर प्रमुख अर्कातिर उभिएको चैत २१ गते पहिलो दिन थियो। प्रमुख शाहलाई महानगर प्रहरी प्रमुख शाहको मात्र साथ थियो। उनले त्यसको भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भेटेर आफूले आदेश पालना गरेको तर, दुःख दिने नियत नभएको बताएका थिए।
स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँ महानगरपालिकाको प्रमुखमा विजय भएको तीन वर्षसम्म शाहले कार्यालयमा आफ्नो दबदबा कायम राखेका थिए। महानगरका कर्मचारी र जनप्रतिनिधि उनको विरोधमा फाट्टफुट्ट मात्र सुनिन्थे। तेस्रो वर्षको अन्त्यतिर भने उनको कार्यशैलीमा प्रश्न उठ्न थाल्यो र महानगरमा पनि एक्लिने अवस्था आएको एक कर्मचारी बताउँछन्।
एम्बुलेन्स खरिदमा अनियमितता गरेको भन्दै गएको चैतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख शाह र उनका स्वकीय सचिव भूपदेव शाहविरुद्ध उजुरी पर्यो। महानगरका एक विभागीय प्रमुख आफ्ना सल्लाहकार र सचिवालयलाई मात्र विश्वास गर्दा प्रमुख शाह फस्दै गएको बताउँछन्।
कर्मचारीलाई पनि साथमा लिएर अगाडि बढेको भए यस्तो अवस्था नआउने उनको दाबी छ। “उनले कहिल्यै कर्मचारीलाई गन्दै गनेनन्। सधैँ हल्का लिए,” ती विभागीय प्रमुख भन्छन्, “अहिले त्यसैको परिणाम भोग्नुपरेको हो।”
समर्थन खस्कन थालेको हो?
प्रमुख शाहले चैत ११ गते समाजिक सञ्जालमा एउटा पोस्ट गरे, “काठमाडौँ महानगरपालिकाका सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् सरकारको दम्भले! कोकोले केके आन्दोलन गर्ने हो मलाई थाहा छैन। अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु। त्योपछि हेरौँ तिमीहरूको केके तन्त्र हो!”
उनले यस्तो स्टेटस लेखेको चार दिनपछि चैत १५ गते राजतन्त्र समर्थकको आन्दोलन थियो। उक्त आन्दोलनमा झडप, तोडफोड र आगजनी भए। दुई जनाको मृत्यु भयो। घर र गाडीहरूमा आगो लगाइयो।
भोलिपल्ट चैत १६ गते काठमाडौँ महानगरले सडक र सडकपेटीमा फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति पुर्याएको भन्दै ७ लाख ९३ हजार रुपैयाँ जरिबाना गराउन पूर्वराजा ज्ञानेन्द्रलाई पत्र लेख्यो। पत्र बुझाउन चैत १७ गते महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो। तर उनीहरूलाई गेटबाटै फर्काइएको थियो।
शाहको यो कदमलाई कतिपय गणतन्त्रवादीले प्रशंसा गरे पनि राजतन्त्रका समर्थकले ‘स्टन्ट’को आरोप लगाए। सामाजिक सञ्जालमै भाइरल एक भिडिओमा त गाडीको अगाडि र पछाडि टाँसिएको बालेनको फोटो भएको ‘स्टिकर’ एक समर्थकले हटाइरहेको देखिन्छ। “यतिको युवाले देश बनाउँछ लागेको थियो। फ्यान भएर अगाडि–पछाडि नै बालेनको फोटो राखेँ, तर गद्दार रहेछ,” ती समर्थकले भनेका छन्, “म आजबाट बालेनको फ्यान रहिनँ।”
यता, बालेनले ‘टुकुचामा गाडिदिने’ धम्की दिएको एक साता नाघिसकेको थियो। न उनले गुरागाईंलाई भ्रष्टाचारी भएको प्रमाण दिन सकेका थिए, न त सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएर कर्मचारीलाई तलब बाँड्ने बाटो खुलेको थियो। त्यसको तीन दिनपछि गुरागाईं महानगर प्रवेश गरे।
गुरागाईंलाई कार्यालय प्रवेश गराउन सबैभन्दा ठूलो भुमिका उपप्रमुख सुनिता डंगोलले खेलेको देखिन्थ्यो। कार्यालय प्रवेशमा रोक लगाउने महानगर प्रमुख शाहको आदेश मानेर खटिएका महानगर प्रहरी प्रमुख राजु पाण्डेमाथि पनि डंगोलले प्रश्न उठाएकी थिइन्। “प्रवेश नदिन माथिको आदेश छ? लिखित आदेश छ? छ भने देखाउनुपर्यो,” उनले पाण्डेलाई भनेकी थिइन्, “तपाईं जति प्रमुखप्रति जवाफदेही हुनुहुन्छ, त्यति नै उपप्रमुखप्रति पनि हुनुहुन्छ। यहाँ महानगरकै यत्रो मान्छेहरू हुनुहुन्छ, आदेश नै हो भने यहाँ आएर दिनुपर्यो।”
डंगोल कड्किएपछि महानगर प्रहरी प्रमुख पाण्डेले महानगर प्रहरीलाई बाटोबाट हट्न आदेश दिएका थिए।
प्रमुख शाह र उपप्रमुख डंगोलबीच पहिला सौहार्दपूर्ण सम्बन्ध थियो। तर पछिल्लो एक वर्षयता दुवैबीचको सम्बन्धमा दरार आएको सार्वजनिक रूपमै देखिँदै आएको छ। गएको साता एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा उनले शाह लक्षित अभिव्यक्ति दिइन्। “अहिले हामी देख्छौँ धेरै जनाले स्टन्ट गर्नुहुन्छ। पपुलर बन्नुहुन्छ, अनि पपुलिस्ट भएरै देश बन्छ पनि लाग्छ। अरूलाई गाली गरेरै देश बन्छ जस्तो लाग्छ? स्टन्ट गरेर देश बन्छ? स्टन्ट गरेर देश बन्दैन,” उनले भनेकी थिइन्।
अहिले पनि शाह र डंगोलको सम्बन्ध राम्रो नभएको महानगरका कर्मचारी बताउँछन्। महानगर कार्यालयमा दुवैको भेट हुँदैन। महानगरका कामकाजमा पनि दुवैको तालमेल छैन। “दुवै जना युवा हुनुहुन्छ। दुवैको आ–आफ्नै पारा छ। कोही कसैसँग झुक्न चाहनुहुन्न,” ती कर्मचारी भन्छन्, “यसले त सारा वातावरण बिग्रिरहेको छ। उहाँहरूबीच सहकार्य नभएसम्म त काम पनि प्रभावित हुने भयो।”
महानगरकै कतिपय कर्माचारीहरू मेयर बालेन अहिले एक्लो महसुस गरिरहेको बताउँछन्। प्रायः सामाजिक सञ्जालबाटै आफ्ना कुराहरू राख्ने उनले चैत ३० गते राति १० बजेतिर फेसबुकमा लेखेका थिए, “मेरो माया लाग्छ?”
कर्मचारीहरूका अनुसार उनले महानगरभित्र आफू कमजोर भइसकेको बुझेपछि नै त्यस्तो लेखेका थिए। यद्यपि, भोलिपल्ट उक्त पोस्ट हटाएका थिए।
झन्डै ४० लाख फलओर्स भएको फेसबुक पेज ‘रूटिन अफ नेपाल बन्द’ प्रमुख शाहको समर्थनमा रहेको मानिन्छ। तर पछिल्लो समय उक्त पेजले पनि शाहको समर्थनमा पोस्ट गरेको छैन। यसअघि भने, प्रमुख शाहले सामाजिक सञ्जालमा केही लेख्दा त्यसलाई तुरून्तै आफ्नो पेजमा जस्ताको त्यस्तै राखिदिन्थ्यो। शाहलाई प्रमुखमा जिताउन पनि यो पेजले खुलेरै सहयोग गरेको थियो।
प्रशासकीय अधिकृत गुरागाईं कार्यालय फिर्ता भएको दुई सातापछि वैशाख ८ गते महानगर प्रमुख शाहले ‘गुरागाईं र काठमाडौँ टावर’बारे लामो स्टेटस लेखेका थिए। त्यसमा रुटिन अफ नेपाल बन्दका संचालक भिक्टर पौडेलले कमेन्ट गरेका थिए, “ओहो पोस्ट शेयर गर्न त हुन्थ्यो, तर फेरि म्यानुपुलेट गर्यो भन्छन्, गाह्रो छ भ्रष्टाचारको विरोध गर्न नि!”
रोकियो सल्लाहकारको हस्तक्षेप
कामको सिलसिलामा काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुखहरूसँग कहिल्यै महानगर प्रमुख शाह आफैले ‘डिल’ गरेनन्। बरू उनले विभागैपिच्छे नियुक्त गरेका सल्लाहकारमार्फत कामको प्रगति लिन्थे। प्रमुख शाहलाई ‘रिपोर्टिङ’ पनि विभागीय प्रमुखले नभई उनका सल्लाहकारहरूले नै गर्थे।
तर पछिल्लो एक महिनादेखि सल्लाहकारहरू कर्मचारीका अगाडि पहिला जसरी प्रस्तुत भएका छैनन्। “अहिले महानगरभित्रको वातावरण पहिलाजस्तो छैन। नयाँ वर्षदेखि निकै फेरिएको छ,” महानगरको शिक्षा विभागमा कार्यरत एक कर्मचारी भन्छन्, “अहिले हामी खुशी छौँ। कसैको दबाब प्रभाव आउँदैन। नियमसंगत काम भइरहेको छ।”
शहरी व्यवस्थापन विभागका एक कर्मचारी भने चैत २१ गतेको घटनाले कर्मचारीको मनोबल मात्रै नभई, काम गर्ने वातावरण पनि बनेको बताउँछन्। उनका अनुसार यसअघि बालेनका सचिवालय र सल्लाहकारहरूले प्रक्रिया नै नपुर्याइ काम गर्न दबाब दिने गरेका थिए।
“बल्ल साइजमा आए सबै। अहिले त कोही देखा पनि पर्दैनन्। पहिला यो विभाग, त्यो विभाग गरिरहन्थे,” ती कर्मचारी भन्छन्, “अहिले भित्रमात्रै होइन बाहिर पनि बालेनजी प्रतिको विश्वास खस्किएको छ। खाली कर्मचारीलाई कारबाही गरेर हुन्छ? उसको गल्ती प्रमाणित गर्नुपर्दैन?”
प्रमुख शाहका स्वकीय सचिव भूपदेव शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गरेकै दिन ‘भ्रष्टाचारी कार्यकारीलाई जबर्जस्ती कार्यालय प्रवेश गराएर नाटक मञ्चन गरेको’ अभिव्यक्ति दिएका थिए। तर आफैविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेपछि र आफैविरूद्ध कर्मचारीहरूले कारबाही माग गरेपछि उनी सञ्चारकर्मीहरूसँग सम्पर्कमा आइरहेका छैनन्। उकालोले पनि पटकपटक प्रयास गर्दा उनीसँग सम्पर्क हुनसकेन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
