डेब्यू म्याचमै ‘जादू’ देखाएका १४ वर्षीय वैभव

सबैभन्दा कम उमेरमा आईपीएल खेल्ने खेलाडी हुन्, वैभव सूर्यवंशी। लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा आफ्नो टिम राजस्थान रोयल्स पराजित भए पनि आक्रामक ब्याटिङ गरेका वैभवको भने तारिफ भइरहेको छ।

काठमाडौँ– गए राति इन्डियन प्रमियर लिग (आईपीएल)मा लखनउ सुपर जाइन्ट्सविरुद्ध राजस्थान रोयल्सको खेल थियो। शुरूमा लखनउले ब्याटिङ गर्दै राजस्थानलाई १८१ रनको लक्ष्य दियो। पछि ब्याटिङ गर्न मैदान उत्रिएको राजस्थान भने शुरूआतमा सहजै जित्ने छाँट देखाए पनि २० ओभर खेलेर १७८ रन मात्रै जोड्न सक्दा दुई रनले पराजित भयो।

यद्यपि, राजस्थानका ओपनर ब्याटर १४ वर्षीय वैभव सूर्यवंशीले आफ्नो कलात्मक ब्याटिङमार्फत सबैको मन जिते। उनले आईपीएलको पहिलो म्याचमै २० बल खेलेर ३४ रन बनाए।

उनै वैभवबारे पूर्वक्रिकेटर एवं भारतीय टिमका तीव्र गतिका बलर इरफान पठानको प्रतिक्रिया थियो, “१४ वर्षको युवक। पहिलो पटक आईपीएल खेल्छ। सामुन्ने अनुभवी खेलाडी सार्दुल ठाकुर र अवेश खान। दुइटैलाई पहिलो बलमै छक्का हान्छन्। ओभर कभर र स्ट्रेटमा। सबैलाई अचम्मित पारिदिन्छन्। १४ वर्षको उमेरमा मैले पनि यू१५ खेलेको थिएँ। शुरूमा अलि नर्भस भए पनि पछि ह्याट्रिक लिएँ। त्यो बेला सबै जुनियर खेलाडी मात्रै थिए। तर यहाँ त वैभवले सबै अन्तर्राष्ट्रिय खेलाडीसामु आफ्नो ट्यालेन्ट देखाए। उनमा सचिनको झल्को देखियो।” 

वैभवमा प्रतिभा देखेरै उनलाई राजस्थानले मौका दिएको हुनसक्ने पठानको भनाइ थियो। “उनको खेल हेर्दा लाग्छ, उनी भविष्यमा हामीलाई धेरै इन्टरटेन (मनोरञ्जन) गराउनेछन्,” पठानले भनेका छन्।

खेल कमेन्टेटर विक्रान्त गुप्ताले पनि वैभवको खुलेर प्रशंसा गरेका छन्। उनले शुरूमा वैभवलाई सामान्य रूपमा लिए पनि अहिले उनीभित्रको प्रतिभालाई देखिसकेको बताएका छन्। “अक्सनमा वैभवलाई किन्दा १४ वर्षको न हो, अझै बच्चै छ जस्तो लागेको थियो। तर ऊ बच्चा होइन रहेछ, धेरैको बाउ भएर निस्कियो,” गुप्ता भन्छन्, “उनी आज २५ हजार दर्शकसामु जसरी खेलेर गए, त्यो असामान्य थियो।”

हालसम्म सबैभन्दा कम उमेरमा आईपीएल खेल्ने खेलाडी हुन्, वैभव। ‘अक्सन’मा उनलाई खरिद गर्न प्रतिस्पर्धा चले पनि राजस्थान रोयल्सले एक करोड १० लाखमा खरिद गरेको थियो। उनी भारतीय यू१९ का खेलाडीसमेत हुन्। अस्ट्रेलिया यू१९ सँगको खेलमा उनले ५८ बलमै शतक बनाएका थिए।

आईपीएलमा वैभवको ‘पिच टाइम’
लखनउ सुपर जाइन्ट्सले दिएको १८१ रनको लक्ष्य पछ्याउन राजस्थानले ओपनिङ गर्न यशयशवी जयसवाल र वैभव सूर्यवंशीलाई पठायो। जयसवालले आक्रामक ‘सट’बाटै शुरूआत गरे। अर्को साइडमा रहेका वैभव पनि थामिएनन्, यही म्याचबाट आईपीएलमा डेब्यू गरेका उनी पहिलो बलमै लामो छक्का प्रहार गरिदिए। उनले छक्का हान्नेबित्तिकै ‘क्राउड’ उत्साहित बनेको थियो भने १४ वर्षीय बालक भन्दै परिचय दिइरहेका कमेन्टेटर स्तब्ध ।  

उनले तीव्र गतिको बलर अवेश खान र सार्दुल ठाकुरले थ्रो गरेका बललाई मात्रै छक्का हानेनन् अरू अनुभवी बलरहरूको बलमा पनि आक्रामक सट प्रहार गर्दै तीन छक्का, दुई चौकासहित ३४ रन जोडेका थिए। दुवै ओपनर ब्याट्सम्यानकै आक्रामक शुरूआतले बिनाक्षति राजस्थानले ‘पावर प्ले’मै ६१ रन बनाइसकेको थियो। आठ ओभर पुग्दासम्म टिमको स्कोर ८५ पुगिसकेको थियो।

नवौँ ओभरको तेस्रो बलमा किपर एवं लखनउका कप्तान रिशब पन्तले वैभवलाई स्टम्पिङ गरेका थिए। मैदान छोडेर ड्रेसिङ रुमतिर फर्किँदै गर्दा वैभवको आखाँभरी आँसु थियो। 

उनको खेलको उनकै प्रारम्भिक प्रशिक्षक ब्रजेश झा पनि प्रशंसा गरेका छन्। उनका अनुसार वैभवको क्षमता उनले देखाएभन्दा कैयौँ गुणा धेरै छ। “उसको खेल देखेर म खुशी नै छु। तर ऊ अझै धेरै समयसम्म टिक्नुपर्ने थियो,” झा भन्छन्, “यद्यपि यो उसको पहिलो म्याच थियो। त्यसैमा राम्रो गरेर देखायो। बाँकी खेलमा अझै राम्रो गर्नेछ भन्नेमा मलाई पूरा विश्वास छ।”

जितिसकेको खेल हारे पनि वैभवको खेललाई धेरैले सराहना गरेका छन्। राजस्थानका कोच राहुल द्रविडले वैभवलाई मैदानमै अँगालो मारेका थिए भने लखनउका मालिक सञ्जीव गोइन्काले पनि उनलाई मैदानमै स्याबासी दिएको देखियो।

बिहार क्रिकेट एसोसिएसन (बीसीए)का अध्यक्ष राकेश तिवारीले पनि बीसीएका खेलाडी आईपीएलजस्तो मञ्चमा उम्दा प्रदर्शन गरेको भन्दै खुशी व्यक्त गरेका छन्। “बीसीए पहिला क्रिकेटमा पछाडि थियो, अब छैन,” उनले भनेका छन्, “हाम्रो खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय सबै ठाउँमा राम्रो गरिरहेका छन्। हरेक सिजनमा केही न केही रेकर्ड बनाइरहेका छन्।”

वैभव राजस्थानका तर्फबाट ‘इम्पाक्ट प्लेयर’का रूपमा खेलेका थिए। उनी कप्तान सन्जु स्यामसन घाइते भएपछि उनको स्थानमा ओपनिङ गर्न आएका थिए।

आईपीएल खेल्नुअघि नै चर्चित थिए
वैभव भारतको बिहारस्थित समस्तीपुरका हुन्। उनी १३ वर्षकै उमेरमा भारतको चर्चित लिग ‘रन्जी ट्रफी’मा पाँच खेल खेलिसकेका छन्। उनी एक दिवसीय र टी२० मात्रै होइन, यू१९को एशिया कपमा टेस्ट म्याच पनि खेलिसकेका छन्। जहाँ उनले शतक प्रहार गरेका थिए। ‘ईसपीएन क्रिक इन्फो’का अनुसार हालसम्म उनले विभिन्न स्तरका लिगमा २० पटक शतक प्रहार गरिसकेका छन्।

आईपीएल अक्सनबाट उनी छनोट भएपछि भारतीय सञ्चारमाध्यम लल्लन टपको एक अन्तर्वार्तामा उनलाई सोधिएको थियो, “यसपटक तपाईं आईपीएल खेल्दैहुनुहुन्छ, उत्साहित पनि पक्कै हुनुहुन्छ होला। तपाईंको मनमा प्रश्न पनि खेलिरहेकै होला। सबैभन्दा बढी कुन बलरमाथि ‘टफ’ हुन्छु जस्तो लागेको छ?”

जवाफमा वैभव भन्छन्, “टफ केही पनि होइन। यदि तपाईं त्यो स्तरको तयारी गरेर जानुभयो भने किन केही टफ लाग्छ? कडाभन्दा कडा तयारी गर्नुछ। ताकी त्यहाँ राम्रो गर्नु सकुँ भनेरै मन बनाएको छु। बाँकी केहीको चिन्ता लिएको छैन।”

स्पोर्टस् तकका एक पत्रकारले उमेर विवादबारे सोधेको प्रश्नमा वैभवले भनेका छन्, “मेरो उमेरबारे कतिले भन्छन् धेरै होला, काफी ठूलो केटा होला। तर होइन, वास्तवमा म जन्मेकै २७ मार्च २०११ मा हो। यही सत्य हो। २०१९मा बीसीसीआई मेरो रजिस्ट्रेसन हुँदादेखि नै यही हो।”